मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अझै ३० प्रतिशत बाँकी

सम्झौताको म्याद गुज्रिएको डेढ महिना बित्यो
बुधबार, ०२ जेठ २०८१, १३ : ४६
बुधबार, ०२ जेठ २०८१

बारा । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइनको परियोजनाको दोस्रो चरणको काम अझै ३० प्रतिशत बाँकी छ । सम्झौता अवधि गुज्रिएको डेढ महिना बितिसक्दा पाइपलाइनको काम ७० प्रतिशतमात्रै सम्पन्न भएको हो ।

पछिल्लो समय पाइप जडानको काम ५० देखि ६० प्रतिशत सम्पन्न भएको छ भने भर्टिकल ट्याङ््कीको जडान, परीक्षणको काम भइरहेको छ । आन्तरिक पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

पेट्रोलियम पदार्थ भण्डारण गर्ने ६ वटा ट्याङ्कीमध्ये नेपाल आयल निगमले निर्माण गरेको वटा २ वटा ट्याङ्की भने रङरोगनसमेत सकिएको छ ।

नेपाल आयल निगम अम्लेखगञ्ज डिपो प्रमुख विनितमणि उपाध्यायले अहिलेसम्म करिब ७० प्रतिशत काम सम्पन्न भएको जनाए । ‘अब सरसर्ती हेर्दा अझै ३ देखि ४ महिना लाग्ने देखिन्छ तर, भारतीय पक्षको भनाइ त्यति समय नलाग्ला भन्ने छ,’ उपाध्यायले भने, ‘यो बाँकी रहेको ३० प्रतिशत काम मसिना छन् । समय घर्किसक्यो, हामीले भारतीय पक्षसँग सम्झौता गरेको समय मार्च अन्तिमसम्म मात्रै हो ।’

o6

पाइपलाइन निर्माणको सम्पूर्ण काम भारतीय आयल कर्पोरेसनसँगको सम्झौता अनुसार लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । पाइपलाइनको दोस्रो चरण अन्तर्गतको काममा सिभिल, मेकानिकल, इलोक्ट्रोनिक काम बाँकी रहेकाले समय लाग्ने निगमको भनाइ छ ।

पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४ वटा पेट्रोल ट्याङ्की निर्माण भएको छ । जसमा २ वटा भारतीय आयल कर्पोरेसनले र २ वटा नेपाल आयल निगमले निर्माण गरेको हो ।

आईओसीले ४१–४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ भने नेपाल आयल निगमले ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण गरेको छ ।

६ वटा ट्याङ्कीमध्ये साना २ वटा २५० लाख किलोलिटरको ट्रान्समिक्स ट्याङ्की (एउटै पाइपबाट पेट्रोल र डिजेल आउँदा मिक्स भएको पेट्रोलियम पदार्थलाई राख्न बनाइएको ट्याङ्की), पीएमसीसी भवन (विद्युतीय प्रवाह गर्ने रुम), ट्याङ्करहरूलाई चेकिङ गर्न गार्ड हाउस, कन्ट्रोल रुम, एकैपटक २४ वटा ठाउँबाट पेट्रोल ट्याङ्कीमा तेल भर्न मिल्ने ‘बटम लोडिङ्ग हाउस’ निर्माणको काम तीव्र गतिमा भएको निगमले जनाएको छ ।

o1

अहिले आयल निगम अम्लेखगञ्ज डिपोसँग एकैपटक २१ वटा ट्याङ्कीमा तेल भर्न मिल्ने पुरानो प्रविधिको स्टेसन छ, जहाँ मिटरको प्रयोग गरेर तेलको परिमाण पत्ता लगाउनुपर्छ ।

‘पाइप लाइनबाट पेट्रोल आयात हुन थालेपछि पेट्रोलियम ट्याङ्करहरु भारतको बरौनीसम्म पुग्न परेन । ढुवानी भाडा कम पर्दा मुलुकलाई आर्थिक बचत हुुने भएकाले यो आयोजना छिटोभन्दा छिटो सम्पन्न हुनु मै हामी सबैको कल्याण छ,’ अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले भने ।

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइप लाइनबाट डिजेल आयात सुरु भएको थियो । दोस्रो चरणको काम भने सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो ।

पाइप लाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १५ करोड भारतीय रुपैयाँ लगानी हुने निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५५ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी छ ।

हालसम्म नेपाल सरकारले भारतीय आयल निगमलाई ७६ करोड भारु भुक्तानी गरिसकेको छ । दोस्रो चरणकोे सम्झौता अवधि सकिएको डेढ महिना भए पनि म्याद थपको आधिकारिक निर्णय भने भएको छैन । निगम अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले भारतीय पक्षबाट म्याद थपको प्रस्ताव आए पनि कहिलेसम्म समय थप गर्ने भन्ने निर्णय नभएको जनाएका छन् ।

o18

पछिल्लो समय तोकिएको समयमा काम सम्पन्न नभएपछि भारतीय आयल निगम पाइपलाइन परियोजनाको उच्चस्तरीय टोलीले दैनिकजसो स्थलगत अनुगमन गरिरहेको निगमले जनाएको छ ।

विगत ५ वर्षदेखि भारतको बरौनीबाट पाइपलाइन मार्फत डिजल आयात भइरहेको छ । बरौनी अम्लेखगञ्जबाट करिब २५० किलोमिटर दक्षिणतर्फ पर्दछ । आयोजनाको नाम मोतिहारी–अम्लेखगञ्ज पाइपलाइन भनिए पनि तेल भने बरौनीबाट आउने गर्दछ ।

अहिले २५० किलोमिटर टाढा बरौनी पुगेर पेट्रोल ल्याउँदा प्रतिट्याङ्कर २० हजार लिटर पेट्रोलका लागि ४ सय लिटर डिजेल खर्च हुने गरेको छ । साथै पेट्रोल लिनका लागि बरौनी पुगेका नेपाली गाडीहरूले भारतीय दूतावास, बिहार सरकारको अनुमति लिनुपर्नेजस्ता अनेक शुल्क, सवारी चालक र सहयोगीको खाने बस्ने खर्चका कारण सवारी धनीको मात्रै दैनिक ५ हजार खर्च हुने निगमको भनाइ छ ।

पाइपलाइनबाट पेट्रोल आउन थालेपछि तेलको अवैध चोरी, तेल उडेर जाने लगायतका समस्या समाधानका हुने उपाध्यायको भनाइ छ । हाल दैनिक १ सय ट्याङ्कर पेट्रोल वीरगञ्ज भन्सार हुँदै आउने गर्दछ । मुलुकको कुल खपतको ७० प्रतिशत डिजल अम्लेखगञ्ज डिपोबाट लोड भएर देशभरका ठुला सहरमा पुग्ने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप