आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी दलको नेता बन्ने कति गुण छ देउवामा ?

मङ्गलबार, ०६ चैत २०७४, ११ : ०३
मङ्गलबार, ०६ चैत २०७४

पुरञ्जन आचार्य काँग्रेसका बौद्धिक चिन्तक मानिन्छन् ।
 

आचार्यले काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठाइरहेका छन् ।
 

पछिल्लो समयमा देउवा संसदीय दलको नेतामा चुनिएपछि काँग्रेसको भूमिका प्रतिपक्षमा निरिह हुने उनले  दाबी गर्छन् ।
 

देउवाको प्रतिपक्ष दलमा भूमिका र छायाँ सरकार लगायतका विषयमा लिलु डुम्रेले आचार्यसँग कुराकानी गरेका छन् ।

संसदमा देउवाको भूमिका जिरो हुन्छ
शेरबहादुर देउवा काँग्रेसभित्र सभापति र प्रतिनिधि सभामा संसदीय दलको नेताका रूपमा छन् । संसदीय प्रणालीमा प्रतिपक्ष दलको हैसियतले खेल्नुपर्ने भूमिका के हो ? सुरुमा त्यसको जानकारी हुनुपर्यो । काँग्रेस सभापतिको र प्रतिपक्ष दलको नेताको हैसियतमा पनि उनको जिम्मेवारी छ । यी दुवै भूमिका पृथक् हुन् ।

एउटा भूमिकासँग उनी नेपाली जनता र देशसँग जोडिएका छन् । नेपाली जनताले देउवाले प्रभावशलाी भूमिका खेलेको हेर्न चाहन्छन् । सत्ता पक्षले गरेका कमीकमजोरी, सत्ता पक्षले गर्ने जनविरोधी काम प्रतिपक्षको बेन्चबाट कडारूपमा प्रतिवाद गर्नसक्ने हैसियत हुनुपर्छ । काँग्रेस संसदीय दलले उनीमाथि भरोसा वा विश्वास गर्यो । एउटा प्रणालीबाट देउवा चुनिए ।

जसरी मलाई थाहा छ, सबै काँग्रेसलाई के थाहा छ भने देउवा प्रमुख प्रतिपक्षको हैसियतको नेतामा उनको भूमिका औसतभन्दा पनि तल हुन्छ ।

देउवाको विगत हेरेर  अबको भूमिका आँकलन गर्न सकिन्छ । काँग्रेस सांसदहरूले देउवालाई किन छाने होलान् भन्ने सन्दर्भमा बलियो नेताको आवश्यकता नदेखेर उनलाई निर्वाचित गरे होलान् ।

काँग्रेस सभापतिले अहिलेको समयमा संसदीय दलको भूमिकामा खेल्न सक्छन् भनी तल्लो ग्रामीण तहको कार्यकर्ताले पनि पत्याउन सक्ने अवस्था छैन । तर पनि उनी नेता त छानिए । नेता सबै गुटको स्वार्थको हुन्छ । अहिले काँग्रेसमा के चलेको छ भने कमजोर व्यक्तिलाई गुटको नेता बनाउने ताकि कमजोर नेतालाई आसेपासेले खेलाउन सकून् । काँग्रेसभित्र यो विडम्बना छ । एमाले र माओवादी केन्द्रका ओली र प्रचण्ड दुवै आफ्ना दलमा प्रभावशाली नेता छन् ।

काँग्रेसभित्र प्रभावशाली नेता शेरबहादुर देउवा हुँदै होइनन् । तर पनि पार्टी सभापति र संसदीय दलको नेता पनि छन् । काँग्रेसभित्र एउटा सिन्डिकेट छ । त्यो सिन्डिकेटलाई देउवाजस्तो नेता हुँदा उपयुक्त हुन्छ । काँग्रेसको आकार सानो हुँदैछ । राष्ट्रिय राजनीतिबाट काँग्रेस ओझेल पर्ने भय पनि छ । यस्तो  दुर्दिनमा पनि काँग्रेसले नयाँ सोचसहितको संसदमा नेतृत्व किन छानेन होला प्रश्न स्वभाविक रूपमा उठ्छ ।

काँग्रेसभित्र एउटा सिस्टम छ– फाइल बढुवा । काँग्रेसभित्र नोकरशाही प्रणाली छ । त्यो नोकरशाहीले स्थापित गरेका व्यक्ति छन् काँग्रेसमा । राजनीतिक प्रणालीबाट काँग्रेस कर्मचारीतन्त्रमा परिणत भएको छ । त्यो कर्मचारीतन्त्रले काँग्रेसमा न्यून योगदान गरेको छ । सडकमा निस्केको छैन । वर्तमानमा सदनमा काँग्रेसको भूमिकासहितको उपस्थिति हुनुपर्ने छ ।  देउवा संसदीय दलको नेता भएर काँग्रेसको भूमिका संसदमा सम्भव नै छैन । जसले संसदमा ठीक तरिकाले संवाद गर्न सक्दैनन् ।


सत्ता पक्षका जनपक्षीय काममा रचनात्मक सहयोग गर्ने तर सत्ता पक्षका खराब गतिविधिलाई सदनमा पनि उठाउने र सडकमा पनि उठाउने हैसियत विपक्ष दलको हुनुपर्छ । प्रतिपक्षको बेन्च बलियो बनाउने खाँचो काँग्रेसमा छ । विपक्षको दलले सत्ता निरङ्कुश नबनोस् र भोलिको जनमत पनि काँग्रेसको पक्षमा आओस् र त्यो नेतृत्व भावी प्रधानमन्त्री पनि बनोस् । यी भूमिकामा देउवा कहीँ पनि फिट हुन सक्दैनन् ।
संसदीय दलको नेतामा धेरैले मत दिए । त्यसको अर्थ उनको प्रभावकारिता तथा भूमिका देखेर होला । उनले मत धेरै ल्याउनुको कारण छ । काँग्रेस पार्टीबाट नोकरशाही हुँदैछ । काँग्रेसमा एक प्रकारको प्रणाली छ । त्यो प्रणालीले जे भन्छ वा गराउँछ, त्यही नेता हुन्छ । सिस्टममा प्रावधिक रूपमा खेल्न सकेकाले नेतृत्व पाइरहेको छ ।

संसदीय दलको नेता हुनुको पृष्ठभूमि टिकट वितरणसँग जोडिन्छ ।  आफू नजिककालाई टिकट वितरण गरे । आफ्ना शुभचिन्तक मध्येबाट धेरैलाई समानुपातिकमा समेटेका थिएँ । मतदाता वा जनतासँग जोडिएर होइन कि गुट चलाएका कारण फेरि पनि दलको नेता भए । मेरिटको आधारमा  काँग्रेस अघि बढेको छैन ।

नेपालको संसदीय इतिहासमा काँग्रेसको तर्फबाट देउवा जुुन समयमा नेता भएको समयमा वामपन्थीहरूको झण्डै दुई तिहाइ सङ्ख्या छ । तीन चौथाइको प्रयत्न भएको छ ।

काँग्रेसका लागि कठिन समयमा देउवा हालको समयलाई अनफिट नेता हुन् । उनी कुनै बेला मेरो हिरो थिए । वर्तमान चुनौती फेस गर्न नसक्ने नेता भएकाले मेरा लागि उनी अब मेरा लागि जिरो हुन् । उनी हिजो पनि क्षमतावान र प्रभावशाली भएर हिरो भएका होइनन् । विगतको समयको भूमिकामा त्यसैमा उनी हिरो हुने समय थियो । वर्तमानमा पनि हिरो हुन उनीमा क्षमता र शैली अपर्याप्त छ । संसदमा देउवाको भूमिका अब जिरो नै हुन्छ ।

केन्द्रमा रचानात्मक र जुझारु नेतृत्व देखिँदैन भने त्यसको नकरात्मक असर सातै प्रदेशमा पनि पर्छ । सातै प्रदेशमा काँग्रेस विपक्षमा छ । पाँच वर्ष पछि हुने चुनावका लागि विपक्षमा बसेर रचनात्मक, सिर्जनशील र प्रभावशाली भूमिका खेले मात्रै जनतासँग जोडिने हो ।

भूमिका भनेको– सत्ता पक्षका कमीकमजोरी, अपार्दशिता, अक्षमतालाई संसद र जनताका बीचमा उजागर गर्ने हो । जनतासँग संवाद गर्ने शैली विकसित गर्ने हो । सातै प्रदेशका विपक्षी दलका नेता केन्द्रको विधिले छानिने हो भने चुनौती मुकाविला गर्न सकिँदैन ।

लोकतान्त्रिक विधि त मतदान मार्फत चुनिनु हो । तर विपक्षी दलको नेता चुनौतीलाई फेस गर्ने हुनुपर्यो नि । वर्तमानमा विकसित भएका चुनौतीलाई फेस गर्न सक्ने गरी नयाँ नेतृत्व निर्माण गर्ने प्रणालीको खाँचो छ ।

पुरानै प्रक्रियाले आउनेहरू त फेरि पनि शेरबहादुर जस्तै नेता हुन् । यही प्रक्रियाले काँग्रेसको पुनर्ताजगी हुन्छ कि हुँदैन अर्थात जनता माझ स्थापति हुन्छ कि हुँदैन भन्ने हो । केन्द्रमा देउवालाई छानिएको प्रक्रिया प्रदेशमा पनि अपनाइए त्यहाँ पनि संसदमा उसको भूमिका गौण हुन्छ ।

आफू नेता हुने समय र कालमा आफ्नो नेता हुने हैसियत छ कि छैन निक्र्यौल गर्ने जिम्मेवारी पनि उसैको हुन्छ । गणेशमानले प्रधानमन्त्री खान किन नसकेका ? गणेशमान एक दृष्टान्त हुन् । प्रधानमन्त्री बन्न अस्वीकार गरे । यसको अर्थ ऊनले समय बुझे, त्याग गरे ।

किन कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको पद दिए ? पदको भूमिकालाई न्याय गर्न सक्दिनँँ भन्ने उनको बुझाइ थियो । सशक्त प्रतिपक्ष दलको नेता बन्न सक्दिनँ भन्ने देउवालाई थाहा छ ।

०५१ सालमा स्वर्गीय गिरिजाप्रसाद कोइराला  संसदीय दलको नेतामा उठेनन् । देउवा उठे, जिते । पछि प्रधानमन्त्री पनि भए । बीपी, गणेशमान र गिरिजासँग देउवाले सिक्नै सकेनन् । नयाँ नीतिसहितको भूमिकामा हुँदा बीपीले नेतृत्व हस्तान्तरण गरेका थिए । आदर्श, सिद्धान्त, सत्याग्रह कुनै पनि विषय देउवाले सिक्नै सकेनन् । काँग्रेसको संस्कार एक प्रतिशत पनि विगतका नेताहरूबाट देउवाले सिकेनन् । देउवाले बीपी, कृष्णप्रसाद, गणेशमान वा गिरिजाको अनुयायी भन्छन् भने त्योभन्दा झुठ अरू केही हुँदैन ।


तर्क गर्न नसक्ने व्यक्ति नेता हुन सक्दैन । देउवामा तर्क गर्न सक्ने क्षमता  नै छैन । संवाद गर्न नसक्ने व्यक्ति नेता हुनु हुँदैन । तर्क भनेको आइडिया पनि हो । भारतमा नरेन्द्र मोदी किन प्रधानमन्त्री भए ? जनतासँग संवाद गर्न सक्ने नेतै नेसलन काँग्रेसमा छैन । त्यसकारण भाजपा अघि बढेको छ । तर्क गर्न नस्कने रिसाउँछ । देउवामा तर्क गर्ने शैली पनि छैन । ज्ञान, अध्ययन र खोजले हो तर्कशील बनाउने । देउवाको प्रस्तुति संसदमा कमजोर सावित हुनेछ । देउवामा अलिकति सामन्तशाही सोच पनि छ ।

तार्किक विषयलाई निष्कर्षमा पुर्याउन छलफल गर्नुपर्ने हुन्छ । त्यसका लागि देउवा सक्षम हुनैसक्दैनन् । उनको आवरण नै सामन्ती देखिन्छ । निष्ठाले नेता भए होलान् । क्षमताले भएका होइनन् । तर्कशीलता नभएपछि रिस उठ्नु स्वभाविक हो ।

प्रतिपक्षको काँग्रेस कमजोर छ । देउवाको ठाउँमा प्रकाशमान आएको भए पनि तात्विक अन्तर केही पर्ने थिएन । प्रकाशमान छाताधारी नेता हुन् । बाउको छाताको आडमा आएर उनले पनि प्रतिपक्षमा जिम्मेवार भूमिका खेल्न सक्दैनन् ।

काँग्रेसका नेतृत्वमा फाइल वढुवा काँग्रेस छन्, जो सुब्बा हुन्छ, फाइल बढेर अधिकृत हुन्छ । अनि, बढ्दै गएर सत्ताको स्वाद चाख्न पाउने ।  अर्को छाताधारी काँग्रेस– जसले बाउको विरासत बोकेका छन्  ।

सरकार बाहिर हुनुको पीडा छायाँ सरकार
छायाँ सरकार विशुद्ध संसदीय सरकारको अभ्यास हो तर बेलायतमा वर्तमानमा  भएजस्तो लाग्दैन । भोलिको समयमा सरकारमा जानका लागि गरिने तालिम वा अभ्यासका रूपमा पनि यस प्रक्रियालाई बुझ्न सकिन्छ । काँग्रेस नेतृत्वमा सरकारमा नगएका वा जान नपाएका केही पनि छैनन् ।

छायाँ सरकार आर्फैमा नराम्रो चाहिँ होइन । छायाँ सरकारको भूमिकाको प्रधानता खास छैन । लामो समय सरकार बाहिर हुनुपर्दाको पीडाको कारणले पनि छायाँ सरकारको अवधारणा ल्याइएको होला ।

जनतासँग गुमेको साख बचाउनका लागि पनि काँग्रेसले छायाँ सरकारको पहल गरेको होलाजस्तो लाग्छ । नेपालमा  यदाकदा विषय उठान भए पनि वैधानिकता, प्रभावकारिता छैन । एक प्रकारको रहर हो ।

काँग्रेस सभापति देउवा चार पटक प्रधानमन्त्री भइसकेका व्यक्तिले छायाँ सरकार हुन किन परेको बुझ्न सकिएन । प्रधानमन्त्रीको अनुभव भएको व्यक्तिले  छायाँ सरकारको प्रधानमन्त्रीको अनुभव लिनु बेतुकको विषय हो । राजकाजको अनुभव नभएको व्यक्ति भएको भए केही ज्ञान प्राप्त हुने थियो ।

काँग्रेसमा प्रदीप गिरी भन्छन्– ‘काँग्रेस गिरोहबाट सञ्चालित छ ।’ उनकै बोलीलाई आधार मान्दा देउवाका आसेपासेलाई आफू छायाँ प्रधानमन्त्री छु है भनी देखाउनलाई छायाँ प्रधानमन्त्री बन्न लागेका होलान् ।


 
काँग्रेस मरेतुल्य छ
निर्वाचनमा पराजय भइसकेपछि देउवाले आफ्नो नेतृत्वमा काँग्रेस पराजय भएको जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने थियो । संसदीय इतिहासको पहिलो चलनमा हत्तपत्त पार्टी हार्दैन । दलको नेता हार्छ  । दलको प्रमुखले लिएको नीति र कार्यक्रम फेल हुन्छ । देउवा हरेक हिसाबले अनुत्तीर्ण नेता हुन् । अब पनि कस्तो पार्टी सभापति?

काँग्रेस मरेतुल्य छ । मात्रै काँग्रेसको केन्द्रीय कार्यालय ठूलो छ । विशाल भवन छ तर प्रवेश गर्नेहरू छैनन् । सङ्गठनका नायक पनि छैनन्, जीवन्त छलफल पनि हुँदैन । जसको कारण हो, देउवाले काँग्रेसलाई परिचालन गर्नै सकेनन् । काँग्रेसका लागि सडकमा निस्कने कोही पनि छैनन् । जनतासँग संवादमा निस्कने नेताहरूको काँग्रेसमा खडेरी पर्दै गएको छ । निष्ठावान नेता, कार्यकर्ताहरूलाई पाखा लगाएर तथाकथित केही बुद्धिजीवी, डनहरूले काँग्रेसलाई कब्जा गरिरहेका छन् ।

सभापति तथा दलको नेताले जनताका बीचमा पुग्ने नेतृत्वको खोजी गर्नुपर्छ । अन्यथा काँग्रेसले कम्युनिस्टसँग प्रतिस्पर्धा गर्नै सक्दैन । विचार, सङ्गठन र नेतृत्वको समायोजन नै नयाँ काँग्रेस हो । यी  तिनै विषयको समायोजन देउवाको नेतृत्वमा हुनै सक्दैन । देउवा मात्रै होइन, प्रकाशमान वा सशाङ्कको नेतृत्वमा पनि हुन सक्दैन ।
काँग्रेसको पुनर्जागरणका लागि फाइल बढुवा, वंश सत्तावाला काँग्रेसबाट पनि हुँदैन र छाताधारी काँग्रेसबाट पनि हुँदैन । अहिलेकै प्रक्रियाबाट भएका  नेताहरूबाट होइन कि नयाँ प्रक्रियाबाट आएका युवापुस्ताले मात्रै काँग्रेसलाई नेतृत्व दिन सक्छन् ।

आफैले बाँडेको महाधिवेशन प्रतिनिधि, आफैले बाँडेको क्रियाशील सदस्यता आफैले बाँडेको महासमिति सदस्य, आफैले टिकट दिएका उम्मेदवारहरूबाट छानिएका नेताहरूले  काँग्रेस पार्टी डुबाउँछन् ।
गगन, विश्वप्रकाश वा प्रदीपले सुदृढ काँग्रेस खोज्छन् भने फाइल बढुवा काँग्रेसहरूसँग हिमचिम गर्न हँुदैन ।

मर्यादित रूपमा सके मर्यादित रूपमा होइन भने पुरानो पुस्तालाई अर्मायादित भए पनि विस्थापन गर्नैपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुरञ्जन आचार्य
पुरञ्जन आचार्य
लेखकबाट थप