इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
सारांश
- इरानले अमेरिकाको विरोधाभासी अडान र बदलिरहने धारणालाई वार्ताको मुख्य समस्या बताएको छ ।
- इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकाले इरानका अधिकारहरू स्वीकार गर्नुपर्ने र प्रतिबन्ध हटाउनुपर्ने माग गरेका छन् ।
- बाघेईले अमेरिकाले युद्धविरामको सम्मान नगरेको र इरानी ड्रोन खसालेकोमा कडा जवाफ दिने चेतावनी दिएका छन् ।
तेहरान । इरानले अमेरिकासँगको वार्तामा सबैभन्दा ठुलो समस्या वासिङ्टनको बदलिरहने र परस्पर विरोधाभासी अडान रहेको बताएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आइतबार तेहरानमा दिएको एउटा अन्तर्वार्तामा अमेरिका र इरानबिच सन्देश आदानप्रदान अझै पनि पाकिस्तानी मध्यस्थमार्फत जारी रहेको जानकारी दिएका छन् ।
‘यो प्रशासनसँग वार्ता गर्दा मुख्य समस्या भनेको लगातार बदलिने धारणा, लक्ष्य परिवर्तन गर्ने प्रवृत्ति, विभिन्न अधिकारीहरूबाट आउने फरक–फरक तथा विरोधाभासी अभिव्यक्तिहरू हुन् । यसले सम्पूर्ण वार्ता प्रक्रियालाई अत्यन्त जटिल बनाएको छ,’ उनले भने । वार्तामा विवादित विषय धेरै भए पनि मुख्य मुद्दा अमेरिकाले इरानका अधिकारहरू स्वीकार गर्नुपर्छ भन्ने भएको बाघेईले बताए । उनले इरानलाई अन्तर्राष्ट्रिय आणविक अप्रसार सन्धिअन्तर्गत शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम संवर्द्धन गर्ने अधिकार रहेको दाबी गरेका छन् ।
उनले विदेशस्थित बैंकहरूमा रोक्का गरिएका इरानी सम्पत्तिबारे पनि असन्तुष्टि व्यक्त गरे । ‘अमेरिकाले हाम्रो रोक्का सम्पत्तिको विषयमा कुनै छुट दिन चाहेको छैन,’ उनले भने । इरानले विदेशी बैंकहरूमा रोक्का गरिएका अर्बाैं डलर बराबरका आफ्ना सम्पत्ति फुकुवा गर्न अमेरिकाले सहमति जनाउनुपर्ने माग गर्दै आएको छ । अमेरिकालाई इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउन पनि बाघेईले आग्रह गरे । अमेरिकाले केवल प्रतिबन्ध अन्त्य गर्नुपर्ने र इरानी सम्पत्ति इरानी जनताका लागि उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
अप्रिल महिनादेखि लागू भएको युद्धविरामलाई पनि अमेरिकाले पूर्ण रूपमा सम्मान नगरेको आरोप उनले लगाए । उनका अनुसार अमेरिकी गतिविधिका कारण स्ट्रेट अफ होर्मुज र अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा तनाव कायम रहेको छ । ‘अहिलेको अवस्था अत्यन्त संवेदनशील र खतरनाक छ । यसको मुख्य कारण क्षेत्रप्रति तथा युद्धविरामप्रति अमेरिकाले अपनाएको लापरवाह नीति हो,’ बाघेईले भने ।
यसैबिच अमेरिकी सेनाले शनिबार राति समुद्री यातायातका लागि खतरा बनेका दुई इरानी ड्रोन खसालेको जनाएको छ । अमेरिकी सेनाले खाडी क्षेत्रमा इरानी आक्रामकताविरुद्ध प्रतिरक्षा जारी राख्ने पनि भनेको छ । इरानी सशस्त्र बलहरू कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिन दृढ र तयार रहेको चेतावनी बाघेईले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण