एमालेको पुनर्गठन किन र कसरी ?
सारांश
- पार्टीभित्र व्यक्तिवाद, गुटबन्दी र सत्ताकेन्द्रित प्रवृत्ति हावी हुँदा पार्टी कमजोर भएको छ ।
- पार्टीमा नीति र सिद्धान्तभन्दा नेतालाई प्राथमिकता दिने प्रवृत्ति बढेको छ ।
- पार्टीलाई पुनर्गठन गरी नीति र विधिमा आधारित नेतृत्व निर्माण गर्नुपर्ने आवश्यकता छ ।
नयाँ समाज निर्माणको सपना पूरा गर्ने सङ्घर्षमा हामीले पुरानो समाजलाई बदल्ने मात्र होइन, त्योभन्दा प्रमुख कुरा आफैलाई बदल्न सक्नुपर्छ । यस सन्दर्भमा कार्लमार्क्सले भनेका थिए, ‘नयाँ समाज निर्माणका लागि स्वयम् आफैलाई तयार पार्नुपर्छ ।’
नेकपा (एमाले), शान्त, समृद्धि, सुखी र समतामूलक नयाँ नेपाल निर्माणका लागि गठन भएको राजनीतिक शक्ति हो । नेपाली समाजलाई भ्रष्टाचार, गरिबी र शोषणबाट मुक्त गर्नका लागि यो पार्टीका हजारौँ नेता तथा कार्यकर्ताहरूले रगत र पसिना बगाएर निर्माण गरेको पार्टी हो यो ।
यो पार्टी कुनै अमुक नेताको ‘पुरुषार्थ’ बाट व्यक्तिगत स्वार्थ र महत्त्वाकाङ्क्षा पूरा गर्ने हतियार होइन, केवल देश र जनताको सेवा गर्ने माध्यम मात्रै हो । कुनै पनि राजनीतिक पार्टी र सरकारको माध्यमबाट आफ्ना तमाम आवश्यकता र इच्छा पूरा होस् भन्ने, विश्वभरकै आम जनताको मानवीय स्वभाव हो ।
तर समाजवादलाई आफ्नो राजनीतिक लक्ष्य मान्ने पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो भन्दा बढी जनताको हितलाई प्राथमिकतामा राखेर आजीवन काम गर्न सक्ने अरूभन्दा गुणात्मक रूपले नै भिन्न चरित्र निर्माण गर्नुपर्छ ।
कम्युनिस्ट पार्टीको सिद्धान्त, नीति र सम्पूर्ण क्रियाकलापसँगै सरकार र सिङ्गो राज्यसत्ता पनि समाज रूपान्तरणका साधनहरू हुन् । साध्य भनेको जनताको सुख, समृद्धि र खुसी नै हो ।
त्यसका लागि पार्टीले सही दृष्टिकोण, नीति, कार्यक्रम र कार्ययोजना मात्र होइन सोही अनुसारको आचरण, कार्यशैली र त्यसलाई व्यवहारमा रूपान्तरण गर्नु अनिवार्य हुन्छ । नेपाली समाजको विगतको पृष्ठभूमि र वर्तमान आर्थिक–सामाजिक परिस्थितिको कारणले विभिन्न पार्टीमा जस्तै एमाले भित्र पनि आत्म केन्द्रित व्यक्तिवादी चिन्तन र प्रवृत्ति कम–बेसी मात्रामा रहनु स्वाभाविक हो । तर पछिल्लो कालमा आइपुग्दा त्यो प्रवृत्ति अत्यन्त खतरनाक रूपमा देखा पर्न थालेको थियो । मुख्यतः जति–जति माथि गयो त्यत्ति नै व्यक्तिवाद बढ्दै गयो ।
पार्टी सञ्चालन गर्दै अघि बढ्ने क्रममा, अन्ततः सरकार र राज्यसत्ताको माध्यमबाट जनताका तमाम समस्याहरूको समाधान गर्दै समग्र मुलुकको विकास र समृद्धिमा अगुवाइ गर्नु स्वाभाविक हो । लोकतन्त्र, जनवाद, समाजवाद भनेको पनि जनताको सेवा गर्ने राजनीतिक माध्यम हो ।
एमाले सरकारमा सामेल भएर या त्यसको आफै नेतृत्व गरेको अवस्थामा देशको विकास र जनताको समृद्धिका लागि अधिकतम काम गर्ने महत्त्वपूर्ण अवसर बेलामौकामा प्राप्त भएको थियो र त्यसबेला केही राम्रा कामहरू पनि भए । तर त्योसँगै नयाँखाले समस्याहरू पनि पार्टीभित्र देखा पर्न थाले ।
एमाले सरकारमा सामेल भएर या त्यसको आफै नेतृत्व गरेको अवस्थामा देशको विकास र जनताको समृद्धिका लागि अधिकतम काम गर्ने महत्त्वपूर्ण अवसर बेलामौकामा प्राप्त भएको थियो र त्यसबेला केही राम्रा कामहरू पनि भए । तर त्योसँगै नयाँखाले समस्याहरू पनि पार्टीभित्र देखा पर्न थाले ।
आफ्नो जीवनको लामो कार्यकालमा अत्यन्त दुःख–कष्ट र अभावको सामना गर्दै जनताको सेवामा समर्पित कतिपय नेता र कार्यकर्ताहरूमा, सत्तामा पुगेपछि प्राप्त सुख, सुविधा र मान–सम्मानको नयाँ अवसरले उनीहरूका आचरण र व्यवहारमा मात्र होइन चिन्तन र प्रवृत्तिमा समेत गलत किसिमको परिवर्तन देखा पर्न थाल्यो ।
उनीहरूले सत्ता र सरकारमा रहेको पुरानो ढाँचा, प्रवृत्ति र कार्यशैलीलाई लोकतान्त्रिक चरित्रमा रूपान्तरण गर्नुको बदला, पुरानो ढाँचाले उनीहरूलाई आफ्नो चरित्र अनुसार बदल्न थाल्यो । विभिन्न बिचौलिया र भ्रष्ट व्यक्तिहरूसँगको बढ्दो सङ्गतले गलत प्रवृत्तिहरू झाँगिँदै गए । बेलामौकामा कतिपय नेताहरूको बारेमा अनेक प्रश्नहरू उठ्न थाले । पार्टीभित्र त्यस्ता विषयमा प्रश्न गर्ने, छानबिन गर्ने, सही र गलत छुट्याउने काम हुन सकेन ।
विधानतः पार्टीमा शक्तिशाली अनुशासन आयोग बनेको भए पनि त्यो व्यवहारतः निरीह बन्दै गयो । त्यसमा पनि पार्टीभित्रको गुटबन्दीले निष्पक्ष छानबिन गर्ने र कार्यवाहीको सिफारिस गर्ने वातावरण बन्न सकेन । प्रश्नको घेरामा रहने जो कोही पनि गुटको छातामुनि सुरक्षित रहने परिस्थिति तयार भयो । जतिसुकै अपराधपूर्ण काम गरेको भए पनि आफ्नो गुटको मान्छेलाई संरक्षण गर्ने प्रवृत्ति बढ्यो । यसरी पार्टीले आफूलाई सच्याउने प्रक्रिया नै अवरुद्ध हुन पुग्यो ।
पञ्चायतकालीन नेकपा (माले) र ०४८ देखि ०५१ को एमाले कार्यकालसम्म पार्टीको मूल जनआधार श्रमजीवी वर्ग नै थियो । तर सत्ताकेन्द्रीत राजनीति हाबी हुँदै जाने क्रममा मूलभूत वर्गसँगको सम्बन्ध क्रमशः टुट्दै जान थाल्यो । देशका लाखौँलाख श्रमजीवी वर्गले एमालेलाई आफ्नो पार्टीको रूपमा विश्वास गरेर आस्थाको मत व्यक्त गर्दै आए । ०७४ मा दुई पार्टीबिचको एकताले सबैखाले कमजोरीलाई बिर्सेर जनताले कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार बनाउन सहयोग गरे ।
तर असंवैधानिक रूपले संसद् विघटन र पार्टी विभाजनपछि जनताको एउटा महत्त्वपूर्ण पङ्क्तिमा पुरानो विश्वास डगमगाउन थाल्यो । वास्तवमा इतिहासको सर्वोच्च शिखरमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलनको यात्रा संसद् विघटनको उक्त बिन्दुबाट ओरालो लाग्न थाल्यो । उक्त महान् ऐतिहासिक उपलब्धिलाई जुनसुकै उपायबाट पनि जोगाउने र नयाँ नेपाल निर्माण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने थियो । त्यसबेलाको नेतृत्व त्यो उपलब्धिलाई सहजै समाप्त गर्ने दिशामा किन गयो ? गम्भीर प्रश्न रहिरहेको छ ।
इतिहासको लामो कालसम्म जनआधारित कार्यकर्ता पङ्क्ति पछि आएर आवधिक निर्वाचनको समयमा बाहेक अन्य समय जनताबाट अलग्गिएर सत्ताकेन्द्रित हुँदै गयो । समाजको गरिब, दुःखी र गरिखाने वर्ग, हरेक निर्वाचनमा अमुक पार्टीलाई भोट हाल्ने हतियार मात्र हुँदै गयो । उनीहरूलाई सचेत र सङ्गठित गर्ने कम्युनिस्ट पार्टी नै आफूहरूबाट अलग बन्दै गएको देखेपछि त्यो वर्गले निर्वाचनको अन्तिम समयतिर आएर क्षणिक लाभमा आधारित स्वविवेक प्रयोग गर्न थाल्यो ।
पार्टीभित्रको एउटा पङ्क्तिमा क्रमशः ‘सत्ता, शक्ति र पैसा’ सबै हो, बाँकी सिद्धान्त र विचार भनेको भावना र आडम्बर बाहेक केही होइन भन्ने मनोविज्ञानले घर गर्दै गयो । सत्ताको विभिन्न स्तरमा पुग्नका लागि पार्टीको महत्त्वपूर्ण पद आवश्यक पर्ने भएकाले बलियो गुट बनाएर सत्ता हत्याउने प्रवृत्ति निरन्तर रूपमा बढेर गयो । पार्टीमा नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध, समाज, देश र जनताप्रति इमानदार व्यक्तिभन्दा अमुक नेताको गुणगान गाउने व्यक्तिको छनोटले प्राथमिकता पायो ।
पार्टीमा चरम व्यक्तिवादी प्रवृत्ति बढेर गयो । अन्ततः ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भन्ने ठाउँमा ‘नीति प्रधान होइन नेता प्रधान हो’ भन्ने मान्यतालाई स्थापित गर्दै लगियो । यसरी पार्टी पङ्क्तिमा विचारप्रतिको आस्था गौण हुँदै गयो ।
पार्टीमा आलोचना–आत्मालोचना चलाउनु भनेको अनाहकमा अन्तर्विरोध सिर्जना गर्ने तरिका भएकाले त्यसको सान्दर्भिकता समाप्त भएको हाकाहाकी घोषणा गर्न थालियो । यसरी पार्टीभित्र आलोचनाको विषय हराउँदै गयो । यो, कम्युनिस्ट र लोकतान्त्रिक पार्टीमा अस्तित्व र विकासका लागि अनिवार्य विषय थियो । तर त्यसलाई व्यवहारिक रूपमा पार्टीको विधिबाटै हटाएपछि विविध क्षेत्रमा समस्याहरू बढ्दै जानु स्वाभाविक थियो ।
पार्टी काम र सरकार सञ्चालनको क्रममा भएका कतिपय गल्ती, कमजोरीहरूप्रति प्रश्न गर्ने प्रवृत्ति कमजोर भयो । जसले प्रश्न गर्थे उनीहरूलाई पार्टी विरोधी बिल्ला लगाउने, किनारामा धकेलिदिने प्रवृत्ति माथिदेखि तलसम्म बढ्यो ।
०७७ को संसद् विघटनपछि कुनै अमुक पार्टीको बहुमतको सरकार बन्ने सम्भावना समाप्त भयो र राजनीतिक अस्थिरता बढ्यो । त्यसपछि पार्टीका केही प्रमुख नेताहरू प्रधानमन्त्री बन्ने र अरू केही मन्त्री बन्ने खेल–तमासा बढ्दै गयो । यसै क्रममा उब्जेको भदौ २३–२४ को काण्ड र ०८२ फाल्गुण २१ को निर्वाचनको परिणामसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलन मात्र होइन, लोकतान्त्रिक आन्दोलनका र पुराना पार्टीहरूले चुनावमा सबभन्दा ठुलो पराजय भोग्नुपर्ने अवस्था सिर्जना हुन पुग्यो ।
पार्टीमा ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भन्ने मान्यतालाई पुनर्स्थापित गर्नु आवश्यक छ । एउटा नेता जतिसुकै सक्षम भए पनि कमजोरी बिनाको मान्छे हुँदैन भन्ने हमेसा ख्याल गर्नुपर्छ । पार्टीमा प्रत्येक पार्टी सदस्य नीति र विधिको आधारमा चल्नुपर्छ । त्यसमा पनि नीति बनाउनेहरू बढी प्रतिबद्ध हुनु जरुरी छ ।
पार्टीभित्र देखा पर्दै आएका उपर्युक्त तमाम प्रवृत्तिहरू र विभिन्न राजनीतिक घटनाक्रमले पार्टीलाई आज जुन ठाउँमा पुर्याएको छ, त्यसको गम्भीर र तथ्यपूर्ण समीक्षा गरेर माथिदेखि तलसम्मको पार्टीभित्र व्यापक रूपान्तरण गरी पुनः नयाँ किसिमले अघि बढ्नुको विकल्प छैन । पार्टीसँग सम्बन्धित सरकारका महत्त्वपूर्ण उपलब्धि र भएका कमजोरीप्रति आत्मालोचित बन्दै त्यसलाई दृढतापूर्वक सच्याउने काम गर्न सकियो भने पुनः नेपाली कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुग्न सक्ने सम्भावनाहरू विद्यमान छन् । त्यसका लागि एमालेले तत्काल केही काम गर्नु जरुरी छ ।
सर्वप्रथम गएको आम निर्वाचनको मात्र होइन अहिलेसम्म समग्र रूपमा पार्टी सञ्चालन र सरकार सञ्चालनमा रहेका तमाम कमजोरीहरूको तथ्यसंगत समीक्षा गर्नु जरुरी छ । विगतका सकारात्मक विषयलाई आत्मसात् गर्दै गल्तीहरू सच्याउने दृढ अठोट गर्नु पर्छ ।
वर्तमान नेपाली समाज मात्र होइन आजको युगले सबै ठाउँमा नयाँ नेतृत्वको आवश्यकता महसुस गरेको छ । नयाँ भन्नुको अर्थ विगतको भन्दा हरेक क्षेत्रमा उन्नत र सक्षम नेतृत्वको आवश्यकता छ । त्यसो नगरी आम जनतामा पार्टीप्रति विश्वास जगाउन सकिँदैन । ठोस रूपमा भन्ने हो भने नेतृत्वदायी स्थानमा पार्टी सञ्चालन र सरकार सञ्चालनका लागि अधिकतम उमेरको सीमा र निश्चित कार्यकाल तोक्नुपर्छ । यसले नयाँ पिँडीमा आशा र विश्वास जगाउँछ ।
सामूहिक नेतृत्वको आधारमा कम्युनिस्ट पार्टी सञ्चालन गर्नुपर्छ भन्ने मान्यता दस्ताबेजमा लेख्दै आएको विषय हो । तर व्यवहारमा एकल नेतृत्व प्रणाली स्थापित गर्ने काम हुँदै आयो । कम्युनिस्ट पार्टी मात्र होइन सामूहिक नेतृत्वको मान्यता स्थापित नगरी कहिले पनि लोकतन्त्र सुदृढ हुन सक्तैन । वास्तविक लोकतन्त्रका लागि यो विषय एक अनिवार्य तत्त्व हो । त्यस्तै सामूहिक बुद्धि र सामूहिक प्रयत्नको मान्यतालाई व्यवहारमा कसरी लागु गर्ने ? यस सम्बन्धमा नयाँ उपायहरू खोज्नु जरुरी छ । तबमात्र सिङ्गो पार्टीमा उन्नत चेतनाको विकास हुनसक्छ ।
पार्टीमा ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भन्ने मान्यतालाई पुनर्स्थापित गर्नु आवश्यक छ । एउटा नेता जतिसुकै सक्षम भए पनि कमजोरी बिनाको मान्छे हुँदैन भन्ने हमेसा ख्याल गर्नुपर्छ । पार्टीमा प्रत्येक पार्टी सदस्य नीति र विधिको आधारमा चल्नुपर्छ । त्यसमा पनि नीति बनाउनेहरू बढी प्रतिबद्ध हुनु जरुरी छ ।
पार्टीमा आवधिक रूपमा स्वस्थ आलोचना र कर्तव्य बोध सहितको आत्मालोचनाको परिपाटी स्थापित गर्नुपर्छ । अनि मात्र स्वच्छ र सुदृढ पार्टी निर्माण हुनसक्छ । यसले पार्टीभित्रको फोहर मैला हटाउन सघाउ पुर्याउँछ ।
पार्टीमा हरेक गलत कुरासँग असहमति राख्ने र सहीको समर्थन गर्ने परिपाटी स्थापित गराएर गुटबन्दीको अन्त्य गर्नुपर्छ । पार्टीका हरेक कार्यकर्तालाई सानै भए पनि कामको ठोस जिम्मेवारी तोक्नुका साथै कामको परिणामको आधारमा उनीहरूको मूल्याङ्कन गर्ने वैज्ञानिक प्रणाली स्थापित गर्नुपर्छ ।
पार्टीमा अहिलेसम्म कायम तलदेखि माथिसम्मका पार्टी कमिटीहरूलाई विधिसम्मत तरिकाले पुनर्गठन गर्नु जरुरी छ । अहिलेसम्मको अनुभवबाट शिक्षा लिएर कुनै पनि नेताले बलियो गुट बनाएर होइन योग्य र इमानदार व्यक्तिहरू रहेको पार्टी बनाएर मात्र लक्ष्यमा पुग्न सकिन्छ भन्ने गम्भीर शिक्षा लिनु जरुरी छ । गुटबन्दी नगरीकन पार्टी काम गर्न नसक्ने अत्यन्त खतरनाक आत्मघाती आदतलाई पूर्ण रूपमा बदल्नै पर्छ ।
पार्टी भित्र र बाहिर पनि भिन्न विचारप्रति सहिष्णुता र सम्मान, जनताको बहुदलीय जनवादको एउटा अत्यन्त महत्त्वपूर्ण मान्यता हो । यो मान्यता पार्टीमा मर्दै गएको छ । त्यसैले उक्त मान्यता बमोजिम हाम्रो दिमागलाई नै पुनर्गठन गर्नुपर्छ । पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले आफ्नो फरक मतलाई पार्टीभित्र मात्र होइन आवश्यक ठानेमा पार्टी कमिटीलाई जानकारी गराएर सार्वजनिक रूपमा बोल्न पाउने वैधानिक परिपाटी स्थापित गर्नु जरुरी छ । तर यसो गर्दा पार्टीको बहुमतको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्नैपर्छ । होइन भने अराजकता सिर्जना हुन्छ ।
कुनै पनि तहको जनप्रतिनिधिको लागि उम्मेदवार छनोट गर्दा सम्बन्धित तहका पार्टी सदस्यहरूको सुझावलाई आधार मानेर मात्र उपल्लो कमिटीले अन्तिम निर्णय गर्नुपर्छ ।
नयाँ विधि अनुसार नयाँ नेतृत्व निर्माण हुने भएकोले पुराना नेता तथा कार्यकर्ताहरूलाई विभिन्न तहका परामर्शदाता समितिमा सङ्गठित गरेर केन्द्रमा वर्षको एक पटक र तलका कमिटीमा दुई पटक सम्बन्धित कमिटीका सचिवालय सदस्य सहितको संयुक्त बैठक बसी राय–परामर्श लिने र त्यसलाई सम्बन्धित कमिटीको औपचारिक बैठकमा विषयवस्तु सहित प्रस्तुत गर्ने परिपाटी कायम गर्नु उपयुक्त हुन्छ ।
केन्द्रदेखि वडासम्मका सम्बन्धित कमिटीमा आफ्नो सरकारका कामको आवधिक समीक्षा गर्ने वैधानिक परिपाटी स्थापित गर्नुपर्छ । एमालेमा यो परिपाटी कमजोर हुँदै गएको थियो । विगतमा पार्टी कमिटी र सरकारबिच सही किसिमको समन्वय हुन सकेन ।
यतिबेला, एमालेलाई सम्पूर्ण रूपमा पुनर्गठन गर्नुपर्ने पहिलो दायित्व भएकाले पुनर्गठन विना अन्य वामपन्थी पार्टीसँग पार्टी एकता गर्नु प्रत्युत्पादक हुन्छ । त्यसैले तत्काल विभिन्न साझा विषयमा कार्यगत एकता र सहकार्य गर्दै आगामी प्रदेश र स्थानीय तहमा चुनावी तालमेल गर्ने र स्थिति परिपक्व भएपछि समान विचार भएका वामपन्थी पार्टीहरूबिच पार्टी एकता गरेर अघि बढ्ने लक्ष्य अपनाउनु उपयुक्त हुन्छ ।
आजको उन्नत खालको विज्ञान र प्रविधिको युगमा सिङ्गो पार्टी पङ्क्तिलाई सर्वप्रथम जीवन र जगतको परिचालन सम्बन्धी वैज्ञानिक मार्क्सवादी विचारद्वारा प्रशिक्षित गर्दै प्रविधिको प्रयोगको लागि सक्षम जनशक्ति निर्माण गर्नु जरुरी छ । देशभित्रका विभिन्न शैक्षिक संस्थासँगै विदेशमा गएर प्राप्त गरेको उनीहरूको दक्षतालाई उपयोग गर्नका लागि मार्क्सवादी र समाजवादी दृष्टिकोण, लोकतान्त्रिक मूल्य–मान्यता, देशभक्तिको भावना, देश र जनताको सेवा गर्ने अठोट र ‘देश बनाउनको लागि राम्रो पार्टी बनाउनु जरुरी छ’ भन्ने मान्यताको विकास गर्नु आवश्यक छ ।
माथि उल्लिखित विषयसहित अन्य तमाम विषयको बारेमा पार्टीभित्र गहन छलफल र विचार विमर्श सहित बदलिएको एमाले पार्टी निर्माण गर्न सकियो भने निर्वाचनमा बहुमत मात्र होइन उन्नत र समृद्ध नेपाल सहित सुखी र खुसी नेपालीको सपना साकार पार्न अवश्य सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण