सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीसँग आक्रामक देखिएको एमाले कांग्रेससँग किन नरम ?

बिहीबार, ३२ साउन २०८०, २० : ३७
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पछिल्लो समय माओवादी केन्द्रसँग आक्रामक र कांग्रेससँग नरम देखिएको छ । एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा दिएको पछिल्ला केही अभिव्यक्तिलाई केलाउँदा पनि एमालेको निसानामा माओवादी बढी र कांग्रेस कम रहेको देखिन्छ ।

राष्ट्रपतिको निर्वाचनअघि एमाले अहिलेको तुलनामा ठिक उल्टो माओवादीसँग नरम र कांग्रेससँग आक्रामक देखिन्थ्यो । २०७९ पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाएर देउवा नेतृत्वको वाम–लोकतान्त्रिक गठबन्धन भत्काउन एमाले सफल भएको थियो । तर, माओवादीसँगको सहकार्य तीन महिना पनि टिकेन ।

पुस ११ मा प्रचण्ड सरकारमा सहभागी भएको एमाले २ महिना ५ दिनमै सरकारबाट बाहिरियो । पूर्वसहमति तोडेर फागुन १२ मा प्रचण्डले पुनः कांग्रेससँग सहकार्य गरेपछि अहिलेसम्म यी दुई पार्टीको  सम्बन्ध सुधार भएको छैन ।

त्यतिबेला प्रधानमन्त्री माओवादीलाई दिएर राष्ट्रपति र सभामुख  आफ्नो पोल्टामा पार्ने एमालेको रणनीति थियो । यद्यपि सभामुख हात पार्न सफल भए पनि राष्ट्रपति पाउन एमाले असफल भयो ।  

त्यस यता सार्वजनिक कार्यक्रममार्फत माओवादी नेतृत्वमाथि एमालेका अध्यक्ष ओलीले दर्जनांै संगीन आरोप लगाएका छन् । सार्वजनिक कार्यक्रमा ओलीले माओवादीमाथि विभिन्न आरोप लगाए पनि कांग्रेसतिर त्यति आक्रामक ढंगले प्रस्तुत भएका छैनन् ।

ओलीले माओवादी र प्रचण्डमाथि लगाएका केही आरोप

२०७९ फागुन १ मा सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि त्यसको पक्ष र विपक्षमा धेरै प्रतिक्रिया आए । त्यतिबेला एमाले र राप्रपा सरकारमै थिए । त्यतिबेला एमाले र राप्रपाका मन्त्रीहरूले समेत खासै विरोध गरेनन् । ११ दिनपछि एमाले अध्यक्ष ओलीले माओवादी आन्दोलनमा लागेका नेता तथा कार्यकर्ताहरूमाथि ठेस पु¥याउने गरी ‘जनयुद्ध दिवस’लाई ‘हिंसा दिवस’ भनेर अभिव्यक्ति दिए ।

‘अहिलेको सरकारमा हिंसाको धङधङी कायमै देखिन्छ । हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउने भनेर सरकारले क्यालेन्डरमा राख्ने दुःखद निर्णय ग¥यो । हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन’, २०७९ फागुन ११ मा ७२ औं जन्मदिवसको अवसरमा आफ्नै निवास बालकोटमा ओलीले भनेका थिए ।

यसैगरी नक्कली शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेपछि असन्तुष्टि जनाएका ओलीले सरकारले ‘स्टन्टबाजी’ गरेको आरोप लगाएका थिए । प्रधानमन्त्री प्रचण्डले शरणार्थी प्रकरण ‘रिहल्सल’ मात्र भएको र वास्तविक ‘फिलिम’ सुरु हुन बाँकी रहेको अभिव्यक्ति दिएपछि ओलीले व्यङ्ग्य गर्दै ‘फिलिम कहिले सुरू हुन्छ ?’ भनेका थिए ।  

‘मसँग भेटेपछि मिडियामा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्डले स्टन्टबाजी गरे । प्रचण्डको छवि कस्तो हो भन्ने दुनियाँलाई थाहा छ । प्रचण्डलाई नेपाली जनताले पछिल्लो ३० वर्षदेखि राम्रोसँग चिनेका छन् । अन्त त फिलिम चलिरहेको छ । उहाँको हल किन बन्द छ ? प्रधानमन्त्रीज्यू, फिलिम कहिले चल्छ ?’, वैशाख १५ मा राष्ट्रिय युवा संघको कार्यक्रममा प्रचण्डमाथि ओलीको कटाक्ष थियो ।

ओलीले अर्को एक कार्यक्रममा प्रचण्डले एकता गर्न नचाहेको तर फाइदा लिएको आरोप लगाए ।

‘प्रचण्डले नेकपा एकता गर्नै चाहेनन् । आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे’, साउन १२ गते काठमाडौंमा जनसंगठन समन्वय संयन्त्रको बैठकमा ओलीको आरोप थियो ।

यस्तै ६० किलो सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा पनि ओलीले आपत्ति जनाए । साउन २६ मा बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ज्वालाकुमारी साहले शर्मा पक्राउको विरोध गरिन् भने सोही दिन राजाधानीमा ओलीले सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गरेका थिए ।

‘गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी । दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने ? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् । अब त कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई । बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाड्दिन्छ,’ साउन २६ गते राजधानीको एक कार्यक्रममा सरकारमाथि ओलीको व्यङ्ग्य थियो ।

कांग्रेससँग किन नरम छ एमाले ?

माथिका यी सबै प्रकरणमा ओलीले प्रचण्ड सरकार, माओवादीमाथि जति आक्रोश पोखेका छन्, कांग्रेस र उसको नेतृत्वमाथि नरम नीति लिएकोमा राजनीतिक वृत्तमा विभिन्न आशंका गरिएको छ । राजनीतिक विश्लेषकका अनुसार कांग्रेसको सहयोग बिना प्रचण्ड सरकार ढल्ने देखिँदैन । त्यसका लागि कांग्रेससँग सम्बन्ध विस्तार गर्न नरम नीति लिएको हुन सक्ने अनुमान गरिएको छ ।

सरकार ढाल्ने विभिन्न योजना असफल भएपछि कांग्रेसको समर्थन जुटाउन ओलीले कूटनीतिक प्रयास गरे पनि त्यसमा सफल नहुने विश्लेषक शंकर तिवारीको बुझाइ छ । ओली सरकारबाट विमुख भएपछि विक्षिप्त भएकाले कांग्रेसलाई प्रयोग गर्न खोजेको हुनसक्ने उनी बताउँछन् ।

‘ओली सत्ताबाट विमुख भएपछि विक्षिप्त भएका छन् । त्यसपछिका सबै घटनाक्रम ओलीको विक्षिप्त मानसिकताको उपज हो । राजनीति सम्भावनाको खेल हो । त्यस हिसाबले मात्र उनले बोलेका हुन सक्छन् । उपनिर्वाचनपछि एमालेको जुन किसिमको गिरावट छ । त्यहाँभित्र फरक मतलाई दबाएपछि अन्य पार्टीमा जाने लहर कांग्रेसमा भन्दा एमालेमा धेरै छ । ग्रासरूट रिपोर्ट, ग्रासरूट अभियान यी सबै असफलतापछि ओलीले बचेका कार्यकर्ताहरूलाई आशावादी बनाउनका लागि कांग्रेसलाई इनगेज गर्न खोजेका हुन्’, तिवारीले भने । 

ओलीले पनि कांग्रेससँग सहकार्य नकारेका छैनन् । राष्ट्रपति निर्वाचनको दिन संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले कांग्रेससँग एमालेको सहकार्य असम्भव नभएको प्रतिक्रिया दिएका थिए । दोस्रो तहका नेताहरूले बलियो र स्थिर सरकार बनाउनका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक रहेको मत राखेका छन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई निकास दिन कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए ।

‘वर्तमान सरकारले निकास नदिएसम्म राजनीतिक स्थायित्व हुने छैन । अहिलेको गतिरोध अन्त्य गर्न एमाले र कांग्रेसबीच सहकार्य अपरिहार्य छ’, उनले भने, ‘एमालेको आवश्यकता सरकार होइन । कांग्रेसबाट जोसुकै प्रधानमन्त्री भए पनि हुन्छ । एमाले बाहिरै बसेर सहयोग गर्न तयार छ । यो सरकारको विकल्प खोज्नुपर्छ ।’

माओवादीका उपमहासचिव मातृका यादवले सरकारले थालेको सुशासनबाट आत्तिएर एमालेले सरकार ढाल्न विभिन्न प्रपञ्च रचेको आरोप लगाएका छन् । सरकार ढाल्न एमालेले जुनसुकै षड्यन्त्र गरे पनि भ्रष्टाचारको अभियान नरोकिने उनले जिकिर गरे ।

‘सत्ता छोड्नुपरेको छटपटाहट एमालेमा छ । सरकारले थालेको सुशासनको अभियानबाट आत्तिएको छ । त्यसैले सरकार ढाल्न उसले विभिन्न षड्यन्त्र गरिरहेको छ । गठबन्धन भत्काउन विभिन्न तिकडम गरिरहेको छ । एमालेको योजना सफल हुँदैन । सत्ता गठबन्धन एक ढिक्का छ’, यादवले भने ।

एमाले र कांग्रेसबीच सहकार्य सम्भव छ ?

गत फागुन १६ गते समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको एमालेले प्रचण्ड सरकार ढाल्न विभिन्न योजना बनाए पनि सफल भएको छैन । तीन महिना नपुग्दै प्रतिपक्षमा पुग्नु परेको एमाले बदला लिने पर्खाइमा छ । तर संसदीय अंकगणित अहिलेसम्म मिलेको छैन । ओलीकै गतिविधिका कारण कांग्रेस र एमालेबीच सहकार्य गर्ने विषयले पनि कुनै गति लिन सकेको छैन । सहकार्य हुने सम्भावना पनि नरहेको विश्लेषक तिवारीको भनाइ छ ।

कांग्रेस र एमालेको सहकार्य सम्भव छैन, देखिँदैन । सैद्धान्तिक रूपमा जुन मितिसम्म ओलीले दुईदुई पटक संसद् विघटन गर्नु गल्ती थियो भन्दैनन्, त्यतिबेलासम्म सहकार्य सम्भव छैन,’ उनले भने, ‘कांग्रेसको दायित्व संविधान, देश र जनताप्रति हो, ६÷६ महिनामा सरकार फेर्ने बिजनेस होइन । प्रचण्डले गल्ती गरेँ भनेर स्वीकारेपछि सहकार्य भएको हो ।’

पहिले एमालेले राष्ट्रपतिलाई दुरुपयोग गरेर संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै उनले अहिले पनि सभामुखलाई दुरुपयोग गरेर ओलीले संसदमाथि प्रहार गरेको जिकिर गरे । कांग्रेसको प्रधानमन्त्री भए पनि सभामुखमार्फत हलो अड्काउने काम गर्ने भएकाले ओली नेतृत्वको एमालेसँग कुनै दीर्घकालीन सौदाबाजी हुन्छ भन्ने आफूलाई नलागेको उनको बुझाइ छ ।  

ओलीले सस्तो लोकप्रियताका लागि सुनिल शर्मालाई प्रयोग गरेकाले ओलीसँग कांग्रेस झनै झस्किएको उनको जिकिर छ ।  

आर्थिक वर्ष २०८०/८१ बजेट पारित हुन नदिने सत्तापक्षको चेतावनीपछि ओलीले इतिहासमै पहिलो पटक बजेट पारित गर्न मत विभाजनको प्रस्ताव टेबुल गराए । यद्यपि बजेट बहुमतले पारित भएपछि सरकार ढाल्ने योजना तुहियो । त्यस्तै प्रधानमन्त्री भारत भ्रमणको क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्यो । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान लियो ।

यसमा पनि एमाले सफल भएन । त्यसपछि आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक सरदार प्रितम सिंहले भूमिका खेलेको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै फेरि संसद् अवरोध ग¥यो तर सफल भएन । एमालेले उठाएका मुद्दा एकपछि अर्को असफल भएपछि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राख्दै अहिले लगातार संसद् अवरुद्ध गरेको छ ।  

माओवादीसँग काम गर्नुभन्दा एमालेसँग काम गर्न धेरै कठिन हुने कुरा कांग्रेसलाई राम्रोसँग थाहा छ । संविधान जारीदेखि अहिलेको अनुभवसम्म ओलीसँगको कटु अनुभव कांग्रेसले सँगालेको छ । ओलीले यसबीचमा जुन संवैधानिक र राजनीतिक गल्ती गरे, तिनलाई नस्वीकारेसम्म कांग्रेसको ठूलो पंक्तिले एमालेसँग कुनै प्रकारको सहकार्य नस्वीकार्ने कांग्रेसका नेता–कार्यकर्ता बताउँछन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप