बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

अर्जेन्टिना र मेस्सीका अन्धसमर्थक राजनीतिज्ञको अवसान

फुटबल र राजनीति दुवैमा फरवार्डको भूमिकामा स्थापित थिए नेम्वाङ
मङ्गलबार, २६ भदौ २०८०, १३ : ५४
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । भनिन्छ, नेपाली नेताहरू राजनीतिका चतुर खेलाडी हुन्छन् । तर, वास्तवमै खेलप्रति भने नेपाली नेताहरूको लगाव निकै कम देख्न पाइन्छ । प्रमुख अतिथिका रूपमा विभिन्न खेलकुद प्रतियोगिता उद्घाटन गर्ने मञ्चमा उपस्थित हुनु र खेलकुद क्षेत्रको विकासबारे दुई—चार औपचारिक शब्द बोल्नु । 

अनि, बेलाबखत कुनै ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले महत्त्वपूर्ण सफलता हात पार्दा राज्यको तर्फबाट पुरस्कार दिने आश्वासनसम्म बाँड्नु । केवल यतिमै सीमित छ, अधिकांश नेपाली राजनीतिज्ञको खेलकुदसँगको सम्बन्ध ।

तर खेलकुदका सन्दर्भमा अन्य राजनीतिज्ञभन्दा केही फरक थिए, सुवासचन्द्र नेम्वाङ । उनमा खेलकुदप्रति गहिरो लगाव थियो । खासगरी उनी विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलका पारखी थिए । जबजब विश्वकप फुटबलको माहौल सुरु हुन्थ्यो नेपाली खेलकुद पत्रकारहरूको पहिलो रोजाइमा पर्थे, नेम्वाङ ।

फुटबलप्रतिको उनको चेतका कारण नै खेलकुद पत्रकारहरू विश्वकप फुटबलअघि नेपाली राजनीतिज्ञका रूपमा उनको विचार जान्न उत्सुक हुन्थे । यस्तै एउटा सन्दर्भ जोडिएको छ, एक वर्षअघि कतारमा आयोजित विश्वकपसँग पनि । 

सन् २०२२ को नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म एसियाली भूमि कतारमा विश्वकप फुटबलको २२औँ संस्करण आयोजना हुँदै थियो । त्यतिबेला नेपालमा पनि विश्वकपको गतिलै चहलपहल थियो । नेपाली खेल पत्रकारहरूले पनि विभिन्न क्षेत्रका व्यक्तिसँग विश्वकपको बारेमा जिज्ञासा राख्न थालेका थिए, आफ्ना पाठकलाई फुटबलसँग जोडेर फरक स्वाद पस्कने उद्देश्यसहित । 

यसैक्रममा अधिकांश खेलकुद पत्रकारको रोजाइमा परेका थिए, नेम्वाङ । यसअघिका विश्वकपमा पनि उनी चाख मानेर खेल पत्रकारहरूसँग फुटबलको विषयमा कुरा गर्थे । विश्वकपमा सहभागी टोलीहरूको बारेमा विश्लेषण गर्थे र उनीहरूको खेल्ने शैलीको बारेमा पनि चर्चा गर्थे ।   

कतार विश्वकपमा भने अधिकांश सञ्चारकर्मीलाई उनले एउटै जवाफ दिएका थिए, ‘यसपटकको विश्वकप अर्जेन्टिनाले जित्छ ।’ खासमा उनी आफै पनि अर्जेन्टिनाको ठूलो समर्थक थिए । त्योभन्दा पनि बढी उनी अर्जेन्टिनी टोलीका कप्तान लियोनेल मेस्सीको खेलबाट निकै प्रभावित थिए । 

त्यसैले कतार विश्वकपअघि आयोजित एक सार्वजनिक कार्यक्रममै उनले यसपटक विश्वकपमा अर्जेन्टिनाको विकल्प नरहेको ठोकुवा गरेका थिए । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसको स्थापना दिवसको उपलक्ष्यमा आयोजित फुटबल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा यस्तो ठोकुवा गरेका थिए । 

सफल र सरल राजनीतिकर्मीको पहिचान बनाएका संविधानसभाका अध्यक्ष नेम्वाङ कुनै समय आफै पनि फुटबल खेलाडी थिए । इलाम बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उनले स्थानीय स्तरका विभिन्न फुटबल टोलीमा कप्तानको भूमिका समेत निर्वाह गरेका थिए । 

उनले कतार विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने दाबी गर्दा धेरैले त्यसलाई हल्का रूपमा लिएका थिए । उनको भनाइबाट अर्जेन्टिनाका समर्थक खुसी हुनु त सामान्य थियो । खासमा त्यतिबेला अर्जेन्टिनाले विश्वकपको उपाधि जित्न नसकेको ३६ वर्ष पुगिसकेको थियो । सन् १९८६ मा विश्वकप जितेयता अर्जेन्टिनाका लागि विश्वकपको उपाधि सधैँ आकाशको फल साबित हुँदै आएको थियो । 

सन् १९८६ पछि अर्जेन्टिना दुई पटक विश्वकपको फाइनलमा पुगेर पनि पराजित भएको थियो । त्यसमाथि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी राष्ट्रिय टोलीबाट सधैँ अभागी साबित हुँदै आएका थिए । सन् २०१४ को विश्वकपमा मेसी नेतृत्वको अर्जेन्टिना फाइनलमा पुगेर पनि जर्मनीसँग पराजित भएको थियो । 

त्यसैले पनि धेरै फुटबल समर्थकले एउटा राजनीतिज्ञले गरेको दाबीलाई गम्भीर रूपमा लिएका थिएनन् । तर, त्यसपछि पनि नेम्वाङले विभिन्न सञ्चारमाध्यममार्फत कतार विश्वकपको उपाधि अर्जेन्टिनाले नै जित्ने आफ्नो दाबी दोहोर्‍याई रहे । 

अन्ततः नेम्वाङले गरेको दाबीलाई सत्य साबित गर्दै अर्जेन्टिनाले नै कतार विश्वकपको उपाधि जित्यो । फाइनलमा मेसी नेतृत्वको अर्जेन्टिनाले बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराएको थियो । निर्धारित समयको खेल ३—३ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

खासमा अर्जेन्टिना र मेसी नेम्वाङको पहिलो रोजाइमा पर्थे । यसका बाबजुद उनी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको खेलसमेत आफूलाई मन पर्ने बताउँथे । विश्वकप, युरोकपजस्ता ठुला प्रतियोगिता मात्र होइन, उनी फुर्सदको समयमा युरोपियन लिगहरू पनि उत्तिकै चाख मानेर हेर्थे । सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनी आफैले धेरैपटक यो कुरा बताएका छन् । 

कतार विश्वकपभन्दा करिब चार महिनाअघि ल क्याम्पसद्वारा आयोजित कार्यक्रममा पनि उनले भनेका थिए, ‘विश्वकप मात्र होइन, युरोपियन लिग पनि मेरो रोजाइमा पर्छ । अहिले पनि राति १२÷१ बजेतिर उठेर फुटबल हेर्छु । इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगाजस्ता युरोपियन लिग मलाई बढी मन पर्छ । तर, आजकल मलाई निकै मन पर्ने खेलाडी फ्रान्सेली लिग खेल्न पीएसजी पुगेकाले बार्सिलोनाको खेल हेर्न छाडेको छु । अर्जेन्टिना र पीएसजीको फुटबल हेर्छु । त्यो लिग नेपाली समयअनुसार, कतिबेला हुन्छ यहाँहरूलाई थाहै छ ।’

त्यो कार्यक्रममा उनले कतार विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने दाबी गरेका थिए । उनले भनेका थिए, ’यो ताली अर्जेन्टिना, मेस्सीले विश्व फुटबल जित्छन् भन्ने लाग्छ । त्यसैले कतारमा चार महिनापछि हुने विश्वकप फुटबल तपाईं हामी आ–आफ्नो घरमा बसेर होस् वा सकिएछ भने कतार पुगेर हेरौँला ।’ सायद कार्यव्यस्तताले होला, विश्वकप हेर्न उनी कतार त पुगेनन् तर उनले चार महिनाअघि नै ठोकुवा गरेजस्तै विश्वकपको उपाधि भने अर्जेन्टिनाले नै जित्यो । 

नेकपा एमालेको संसदीय दलका उपनेता भएकाले नेम्वाङको दिनचर्या निकै व्यस्त हुनु स्वाभाविक थियो । उनी अधिकांश समय राजनीतिक गतिविधिमा व्यस्त रहन्थे । दिनभरको थकानपछि साँझ घर पुग्दा त्यहाँ पनि उनलाई पर्खिरहेका कार्यकर्ताको लाम हुन्थ्यो । ‘यसका बाबजुद म फुटबल हेर्न समय निकाल्छु । फुटबलका लागि त जसरी भए पनि समय निकाल्नै पर्छ । युरोपियन लिगहरू मेरै लागि भनेजस्तो राति नै पर्छन् । मैले त्यसका लागि सुत्ने समयसँग मात्र सम्झौता गरे पुग्छ,’ फुटबलका वास्तविक पारखी नेम्वाङ भन्थे । 

यसअघि सन् २०१८ को विश्वकप रुसमा आयोजना भएको थियो । त्यतिबेला पनि उनले सञ्चारकर्मीसँग मन खोलेर फुटबलको विषयमा कुरा गरेका थिए । त्यतिबेला उनलाई एउटै डरले सताएको थियो, ‘कतै अर्जेन्टिना विश्वकपमै छनोट नहुने हो कि ?’

रुस विश्वकप जारी रहँदा उनले भनेका थिए, ‘त्यो वास्तवमै पिडादायी क्षण थियो । त्यतिबेला सोच्थेँ, अर्जेन्टिना रुस पुगेन भने ? मेस्सीले खेल्न पाएनन् भने ? अर्जेन्टिना र मेस्सी रुस पुगेनन् भने त विश्वकप नै के हेर्नु जस्तो पनि लाग्थ्यो ।’ त्यतिबेला उनले अर्जेन्टिनापछि विश्व फुटबलमा आफ्नो दोस्रो रोजाइको टोली ब्राजिल भएको बताएका थिए । 

मेस्सीको कारणले उनको रोजाइमा ब्राजिल दोस्रो नम्बरमा पुगेको रैछ । उनको तेस्रो नम्बरको रोजाइमा पर्ने टिम भने स्पेन थियो । तर, उनी जसरी भए पनि अर्जेन्टिनाले रुस विश्वकप खेलोस् भन्ने चाहन्थे । त्यतिबेला विश्वकप छनौटमा अर्जेन्टिना निकै समस्यामा थियो । चार टोलीमध्ये उरुग्वे र ब्राजिल विश्वकपमा छनोट भइसकेका थिए । 

चिली र कोलम्बिया पनि अर्जेन्टिनाभन्दा अगाडि थिए । पेरु पनि अर्जेन्टिनासँगै थियो । बाँकी दुई टिममात्र सिधै विश्वकपमा छनोट हुने अवस्था थियो । अर्जेन्टिनाले ईक्वाडरसँग मात्र खेल्न बाँकी थियो । त्यो पनि इक्वेडरकै मैदानमा । पहिलो मिनेटमै गोल खाए पनि अर्जेन्टिनाले उक्त खेलमा अविश्वसनीय नतिजा निकालेको थियो । खेलमा मेस्सीले ह्याट्रिक गरेका थिए । 

उनी छनोट प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका थिए । यसरी नेम्वाङले चाहेजस्तै अर्जेन्टिनाले रुस विश्वकपको यात्रा तय गरेको थियो । बल्लतल्ल रुस विश्वकपमा छनोट भएपछि मेस्सीले भनेको कुरा नेम्वाङलाई निकै घत परेको रैछ । त्यसैले उनले रुस विश्वकपका क्रममा आफूलाई प्रश्न सोध्ने सञ्चारकर्मीसँग धेरैपटक मेस्सीको उक्त भनाई दोहोर्‍याएका थिए, ‘हामी उत्कृष्ट टिम होइनौ तर, उपाधिको दाबेदार भने पक्कै हौं ।’

राजनीतिक मञ्चमा उभिएर भाषण गर्दा पनि उनी पटक÷पटक फुटबलको उदाहरण दिन्थे । उनी भन्थे, ‘फुटबलका पनि आफ्नै नियम छन्, मूल्य मान्यता छन् । ती मूल्य मान्यता गेम सुरु हुनुभन्दा पहिले नै निर्धारण हुन्छन् । यही कुरा राजनीतिमा पनि लागू हुनुपर्छ । राजनीतिमा पनि जसलाई जे मन लाग्यो त्यही गर्ने छुट हुनु हुँदैन ।’

उनले पटक—पटक आफ्नो फुटबल मोहको बारेमा सञ्चारकर्मीसँग खुलेर कुरा गरेका थिए । खासमा उनी सानैदेखि फुटबलमा निकै चाख राख्थे । क्याम्पस पढ्दा क्याम्पसको टोलीबाट र गाउँमा हुँदा गाउँको टोलीबाट फुटबल खेल्थे । इलाम बहुमुखी क्याम्पस र मालापथका कप्तान पनि थिए उनी । उनी फुटबल मैदानमा स्ट्राइकरको भूमिकामा हुन्थे ।

समयसँगै उनको जीवनले नयाँ मोड लियो । उनले फुटबल खेल्न छाडे । स्नातक तहको अध्ययन पुरा गरेपछि बाध्यताले खेलबाट टाढिए पनि फुटबलप्रतिको उनको मोहमा भने कुनै कम आएन । काठमाडौँ आएपछि पनि उनी विभिन्न खेल हेर्न रंगशाला धाउँथे ।  

कुनै समय फुटबल मैदानमा फरवार्डको भूमिकामा देखिने नेम्वाङ कालान्तरमा नेपाली राजनीतिमा पनि फरवार्डकै रूपमा स्थापित भए । २०६२÷०६३ सालको जनआन्दोलनपछि सभामुख बनेका नेम्वाङ पहिलो र दोस्रो संविधानसभामा पनि निरन्तर त्यही भूमिकामा रहे । संविधानसभाले वर्तमान संविधानलाई मूर्तरूप प्रदान गर्दा पनि उनी संविधानसभाको अध्यक्षकै भूमिकामा थिए । उनै फुटबल प्रेमी राजनीतिज्ञको मंगलबार हृदयाघातका कारण ७१ वर्षको उमेरमा निधन भयो । यी फुटबल प्रेमी राजनीतिज्ञप्रति भावपूर्ण श्रद्धाञ्जली ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप