मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

ओलीले खाना खाने समयमा बालुवाटार र बालकोट पुग्थे नेम्वाङ !

बिहीबार, २८ भदौ २०८०, १६ : ३२
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बाक्लो भेटघाट, लामा छलफल तथा अन्तरङ्ग गफगाफ गर्ने नेतामध्येमा पर्थे, संविधानसभा अध्यक्ष तथा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ । उसो त पार्टी अध्यक्षसँग मात्रै होइन, अन्य पार्टी र शीर्ष नेतासँगको संवाद र छलफलमा समेत नेम्वाङको उपस्थिति अनिवार्यजस्तै हुन्थ्यो ।

सरल स्वभाव र शालीन व्यक्ति भएका नेम्वाङलाई राष्ट्रिय राजनीतिमा देखापर्ने वा निम्तिन सक्ने संकटका बेला समन्वयकारी भूमिकाका लागि आवश्यक पात्र ठानिन्थ्यो । यही क्षमताकै कारण नेपाली राजनीतिमा नेम्वाङको ओजमाथि हतपत प्रश्न उठाउने हिम्मत कमैले गर्थे । अर्थात् नेम्वाङ एमालेका मात्र नेता नभएर साझा नेता जस्तै थिए । 

पछिल्लो कालखण्डमा गम्भीर र जटिल राजनीतिक वा कानुनी निर्णय गर्नुपर्दा अध्यक्ष ओली पनि उनलाई एकपटक सोधेर मात्रै अगाडि बढ्थे । ‘कहिलेकाहीँ त राति १२–१ बजेसम्म सुवास कमरेड अध्यक्ष ओलीसँगको भेटवार्तामा बस्नुहुन्थ्यो । उहाँहरूबीच छलफल र कुराकानी हुँदा दुई–तीन घन्टा यसै बित्थ्यो,’ ओलीको सचिवालयमा लामो समय काम गरेका पत्रकार चेतन अधिकारी भन्छन्, ‘अध्यक्षसँग एमालेका दुई–तीनजना नेतामध्ये धेरै समय लिएर गफगाफ गर्नेमा नेम्वाङ एक हुन् ।’

चेतनका अनुसार, सुवास नेम्वाङ र विष्णु पौडेल अध्यक्ष ओलीलाई भेट्न छिरेपछि अरुको हतपत पालो आउँदैन भनेर एमाले नेता तथा कार्यकर्ताहरू आफैँ बुझ्ने गर्थे । अध्यक्ष ओलीले नेम्वाङलाई खासगरी राजनीतिक वा कानुनी प्रसंगमा खोजिरहन्थे । चेतन भन्छन्, ‘अध्यक्ष ओलीले खोजिरहने भएकाले प्रधानमन्त्री भएका बेला सुवास नेम्वाङ अधिकांश समय बालुवाटारमै हुनुहुन्थ्यो । प्रधानमन्त्री नहुँदा पनि उहाँ बालकोटमा धेरै आउजाउ गर्नुहुन्थ्यो ।’

‘म अध्यक्षलाई भेट्न प्रायः बिहानको समय, त्यो पनि उहाँले खाना खाने समयमा जान्थेँ । कहिलेकाहीँ बेलुका पनि भेट्थेँ । मैले उहाँलाई भन्ने गरेको थिएँ — मलाई तपाईंले समय छुट्ट्याउनुपर्दैन, बरु तपाईंले खाना खाने समयमै भेट्न आउँछु,’

ओली निकटस्थका अनुसार, ओली–नेम्वाङ भेटघाट वा छलफल बिहान र साँझमा मात्रै हुन्थ्यो । बिहानमा ९ देखि ११ बजेसम्म र बेलुका ६ बजेदेखि ८–९ वा कहिलेकाहीँ त १२–१ बज्दासम्म ओली–नेम्वाङको छलफल चल्थ्यो । 

बेलुकाको भेटमा ढिलो हुने छनक देखिएपछि नेम्वाङले आफ्ना सवारी चालकलाई फिर्ता पठाउने गर्थे । यस्तो बेला नेम्वाङलाई निवास फर्कनका लागि ओलीको सचिवालयले नै गाडीको व्यवस्था गथ्र्यो ।

‘म अध्यक्षलाई भेट्न प्रायः बिहानको समय, त्यो पनि उहाँले खाना खाने समयमा जान्थेँ । कहिलेकाहीँ बेलुका पनि भेट्थेँ । मैले उहाँलाई भन्ने गरेको थिएँ — मलाई तपाईंले समय छुट्ट्याउनुपर्दैन, बरु तपाईंले खाना खाने समयमै भेट्न आउँछु,’ नेम्वाङले अनौपचारिक भेटका क्रममा यो पंक्तिकारसँग भनेका थिए, ‘उहाँले पनि मेरो प्रस्ताव स्विकार्नुहुन्थ्यो र प्रायः हाम्रो औपचारिक मिटिङ र कार्यक्रमबाहेक धेरैजसो भेटघाट बिहान र बेलुकाको समयमा हुन्थ्यो ।’

अध्यक्ष ओलीले बिहानको खाना ११ बजेपछि खाने गर्छन् । लामो समय लगाएर थोरै खाना खाने ओलीको बानी छ । ‘यही बेला अध्यक्षज्युसँग धेरै कुरा गर्न सकिन्छ । सकभर अरुसँगको भेटघाटमा डिस्टर्ब नहोस् भनेर म त्यो समय रोज्थेँ,’ नेम्वाङले अध्यक्ष ओलीसँगको भेटवार्ताबारे सुनाएका थिए ।

संविधान निर्माणका बेला अनेक पक्षको व्याख्या गर्नदेखि त्यसयताको घडीमा कुनै संवैधानिक संकट आइलाग्दा नेम्वाङले नै ओलीलाई कानुनी पाटो प्रस्ट्याउने र सुझाव दिने गरेका थिए ।

पछिल्लोपटक २०७९ को निर्वाचनमा नेम्वाङ चुनाव लड्ने कि नलड्ने भन्ने एक किसिमको दुविधामा थिए । त्यतिबेला कांग्रेस, माओवादीसहितको चुनावी अलाइन्स एकातिर र अर्कोतिर एमाले–राप्रपासहितको अलाइन्स थियो । हुन सक्छ, चुनावमा पराजय भोग्ने भय नेम्वाङमा थियो । 

‘२०७९ मा मलाई चुनाव लड्न खासै रुचि थिएन । यो कुरा मैले अध्यक्षलाई पनि भनेको थिएँ । तर उहाँले अप्ठेरो अवस्थामा तपाईंले चुुनाव लड्नुपर्छ, तपाईंबाहेक इलाम–२ मा अरु उठ्दा एमालेले चुनाव जित्दैन भन्नुभयो, त्यही भएर म चुनाव लड्न तयार भएँ,’ नेम्वाङले हामीलाई सुनाएका थिए, ‘अब मलाई रहर पुग्यो । संविधानसभा अध्यक्ष भइगएँ । त्योभन्दा ठुलो पदमा पुगौँला भन्ने पनि छैन भन्दा होइन तपाईंजस्तो मान्छे संसद्मा चाहिन्छ भनेर अध्यक्षले नै जोड गर्नुभयो त्यसपछि म चुनावका लागि तयार भएँ ।’

राजनीतिक टकराबभन्दा पर...

२०७९ को निर्वाचनमा नेम्वाङको क्षेत्रको चुनावी नतिजा आउँदै गर्दा यता गोरखामा हालका प्रधानमन्त्री प्रचण्डको नतिजा आइसकेको थियो । प्रचण्ड निर्वाचित भएको खबर सञ्चारमाध्यममा आएलगत्तै नेम्वाङले इलामबाटै फोन गरेर प्रचण्डलाई बधाई दिए, ‘तपाईं त निर्वाचित हुनुभयो तर मेरो निश्चित छैन ।’ प्रचण्डले भनेछन् – तपाईं पनि जित्नुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । 

त्यसको भोलिपल्ट नेम्वाङ झिनो मतले निर्वाचित भएछन् । प्रचण्डले आफूलाई फोन गरेर बधाई दिएको नेम्वाङले सुनाएका थिए । त्यसबेलाको चुनावमा एमाले र माओवादी फरक राजनीतिक समीकरणमा थिए । निर्वाचनमा एमाले दोस्रो ठुलो दल र माओवादी तेस्रो ठुलो दलका रूपमा आए । नतिजापछि पुनः कम्युनिस्ट नेताकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर नेम्वाङले केही भेटवार्ता र छलफल समेत गरेका थिए । पुस १० गते एमाले अध्यक्ष ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भए, तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा एमाले र माओवादीबीचको समीकरण पुन बदलिन पुग्यो ।

२०७७ मा नेकपा विवाद निकै उत्कर्षमा पुगेर नेताहरू एक–अर्काविरुद्ध छेडखानीमा उत्रेका थिए । त्यो देखेका बुझेका नेम्वाङले ठट्ट्यौली शैलीमा टिप्पणी गरेका थिए — तपाईंहरू यी ठुला नेताकोे छेडखानी सुनेर अचम्म मान्नुहुन्छ होला, मान्नुपर्दैन । सार्वजनिक कार्यक्रममा कुटाकुट नै गरौँला जसरी चर्कने नेताहरू केही समयपछि आपसमा हाई–हेल्लो, ख्याल–ठट्टा गर्छन् ।

सरल, शालीन, मृदुभाषी र सबैका प्रिय रहेका उनै नेम्वाङको ७१ वर्षको उमेरमा भदौ २६ गते हृदयघातबाट निधन हुन पुग्यो । निधनपछि मंगलबार एमाले पार्टी कार्यालय र बुधबार नेम्वाङको निजी निवासमा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो । तेस्रो दिन बिहीबार (आज) बिहान उनको शवयात्रासहित पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरियो । नेम्वाङको निधनको शोकमा सरकारले आज एक दिन सार्वजनिक बिदा दिनुका साथै नेपाली सेनाको एक टुकडीले सलामी अर्पणसहित अन्त्यष्टि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप