आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

के तिमी रूपान्तरित हुन्छौ?

आइतबार, ३१ भदौ २०८०, ११ : ५३
आइतबार, ३१ भदौ २०८०

तिमी आँफुले आफैँलाई
खुब ठुलो सम्झिन्छौ
तिमी ठुलो भइरहँदा
एकथरी मानिसहरु
अपमानित भइरहेको
तिमी किन बुझ्दैनौ?

तिमी आफुलाई
बडो विद्वान ठान्छौ
तिम्रो विद्वताले
एकथरी मानिसहरु
मरिरहेको किन देख्दैनौ?

तिमी आफुलाई
बह्मज्ञानी
सर्वज्ञानी ठान्छौ
तिम्रो ज्ञानले
मानिस-मानिसबीचको विभेद किन स्वीकार
गर्छ?
पर्ख-पर्ख
हुन्छ-हुन्छ
समाज विस्तारै
परिवर्तन हुन्छ...
अझै कति अपराध गर्न मन छ तिमीलाई
अझै कति जीवनहरू
मास्न मन छ तिमीलाई?
र,
बडो विस्तारै चाल्दैछौ
परिवर्तनका पाइलाहरू.....

के तिमीलाई तिमीले गरेको
अपराधको बोध छ।
तिमीले गरेको विभेदको पिडा
अलिकति पनि बुझ्न सक्छौ?
खासमा मानिस
ठुलो-सानो हुन्छ भन्ने
तिम्रो ज्ञानको स्रोत के हो?
मनुस्मृति,पुराण,स्वस्थानी कथा?
यिनै विभेदकारी शास्त्र!

यदि तिमी साँच्चै
ज्ञानी हुन्थ्यौ भने
यदि तिमी साँच्चै
विद्वान हुन्थ्यौ भने,तिमीमा साँच्चै विवेक
भएको भए
तिमीले मानिसलाई विभेद गर्ने थिएनौ
मानिसलाई अपमान गर्ने थिएनौ
कसरी तिमीले
मान्छे-मान्छेमा भेद देख्यौ
साँच्चै तिमीसँग अलिकति चेतना भएको भए
यो समाज बडो सुन्दर हुन्थ्यो।

तिमी मानिसलाई
मानिसका रूपमा
स्वीकार्न कहिले तयार हुन्छौ?
तिमी अन्धविश्वासलाई छोडेर
विज्ञानलाई अँगाल्न कहिले तयार हुन्छौ?
एउटै आकाश
एउटै धरती
एउटै आँगनमा
एउटै प्रक्रियाबाट
जन्मिएका,हुर्किएका
मानिसलाई तिमी कसरी फरक देख्न सक्छौ?
कसरी विभेद गर्न सक्छौ?

तिमीले ढुङ्गालाई देवता देख्यौ
मानिसलाई मानिस देखेनौ
तिम्रा विषाक्त दृष्टिकोण
झनै विषाक्त बनिरहेकाछन्
विभेदलाई संस्कार ठान्ने
अपराधलाई ठिक मान्ने
तिम्रो दृष्टिकोण तिमी किन फेर्न चाहन्नौ?
सचेत प्राणी भएर तिमी किन बाँच्न चाहन्नौ?
विभेदरहित समाज बनाउन किन चाहदैनौ?

कहिलेसम्म तिमी
मानिसको जीवनलाई
विभेदको जाँतोमा पिँधीरहन्छौ?
धर्म,संस्कार, परम्पराको नाममा
कतिको जीवन धुलोपिठो पार्छौ?
अपमान विभेदले भरिएको
जीवनलाई एकपटक
जातको चस्मा फुकाएर  हेर त ती
मानिसहरूलाई
जस्ले गर्भदेखी
मृत्युसम्म विभेदमा बाँच्नु परेको छ।

जब मानिसको मष्तिष्कमा
अन्धविश्वासको अन्त्य हुन्छ
तब मानिस सबैभन्दा स्वस्थ हुन्छ।
सबैखाले विभेदको अन्त्यपछि मात्रै
समाज सुन्दर हुन्छ।
यी अन्धविश्वासका जराहरु उखेल्न
विभेदका घाउहरू पुर्न
मानिस-मानिसको मन जोड्न
तिमी तयार छौ?
विभेदमुक्त समाज निर्माण गर्न
सद्भावयुक्त जीवन बाँच्न
मानिसलाई मानिसकै रूपमा स्वीकार्न
तिमी तयार छौ?
आफ्नै जीवनकालमा
आफ्नै मृत्युअघि
आफुले गरेका अपराधहरूलाई
सच्याउन तयार छौ?

आफ्ना सारा अहङ्कारलाई छोडेर
टाउकाको जातिवादी मष्तिष्कलाई बदलेर
विभेदयुक्त समाजलाई
विभेदमुक्त समाजमा
रूपान्तर गर्न
तिमी, के तिमी यही जुनीमा रूपान्तरित हुन्छौ?
या यो समाजलाई कलङ्कित बनाएर मात्र मरि
जान्छौ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रविन परियार
रविन परियार

rabin

लेखकबाट थप