सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
चिकित्सकमाथि आक्रमण घटना

आवासीय चिकित्सक आन्दोलित हुँदा स्वास्थ्य सेवा प्रभावित

बुधबार, १० असोज २०८०, १७ : १४
बुधबार, १० असोज २०८०

काठमाडौँ । चिकित्सक तथा स्वास्थ्य संस्थामाथि श्रृंखलावद्ध रुपमा भइरहेको आक्रमणका विरुद्ध आवासीय चिकित्सकहरू आन्दोलित हुँदा दुई दिनदेखि ओपीडी सेवा प्रभावित भएको छ । 

स्वतस्फूर्त आन्दोलनमा काठमाडौँ, पोखरा, लुम्बिनी, नेपालगञ्जलगायत देश भरका आवासीय चिकित्सक आन्दोलित हुँदा ओपीडी सेवा प्रभावित भएको अस्पतालहरूले जनाएका छन् । 

न्याम्सका आवासीय चिकित्सक आन्दोलनमा सरिक भएकाले ओपीडी सेवा प्रवाह प्रभावित भएको सूचना अधिकारी बावुराम घिमिरेले बताए । ओपीडी सेवा केही प्रभावित भएपनि आकस्मिक सेवा विगतमा निर्धारण गरिएका अप्रेशन भने भइरहेको उनले जनाए । आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि कन्सल्ट्यान्टले मात्रै धान्न गाह्रो हुने उनको भनाई छ । 

उता त्रिवि शिक्षण अस्पतालमा ५०० जना आवासीय चिकित्सक आन्दोलनरत छन् । जसले गर्दा ओपीडी सेवा प्रभावित भएको अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दास बताउँछन् । आकस्मिक सेवा र पूर्वनिर्धारित अत्यावश्यक सेवा भने प्रवाह भइरहेको उनले बताए । 

यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य प्रभावित भएको छ ।आकस्मिक आईसियू अन्य आवश्यक सेवावाहेक अरु सेवा आवासीय चिकित्सकहरू नदिएको  डा. सेराज अहमद खानले बताए ।  

उता, पोखराका लगायतका अन्य स्थानका मुख्य अस्पतालहरूमा आवासीय चिकित्सक आन्दोलित हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । 

पोखराको मणिपाल अस्पतालमा लमजुङकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले डा.अनिल शाहमाथि हातपात गरेका थिए । त्यसपछिआवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । 

मणिपालको घटना र गत साता यता हेटौंडा, चितवन,लमजुङ लगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट, दुर्व्यवहार गर्ने श्रृंखला नरोकिएपछि आवासीय चिकित्सकहरू कुनै पनि सेवामा सरिक नभई आन्दोलनमा उत्रिएका हुन् । 

आवासीय चिकित्सकहरूले सुरक्षित कार्यस्थल संघर्ष समिति गठन गरी चार वटा आफ्ना माग पुरा नभएसम्म आन्दोलन स्थगित नगर्ने घोषणा गरेको हुन् ।

देशभरि नै स्वास्थ्य संस्थाहरूमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसकेको  भन्दै उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको तत्काल राजीनामा माग गरेका छन्  । 

यस्तै, जेल वीद आउट बेल प्रभावकारी कार्यान्वयन गर्न पनिआवासीय चिकित्सकहरूले माग गरेका छन् ।

विभिन्न स्थानमा भएका घटनाहरुका दोषीहरुलाई पक्राउ गरी तत्काल कारबाहीको पनि माग गरिएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई थुनामा राखेर छानबिन गर्न दफा १५ (क) मा संशोधन गर्ने सुनिश्चितता हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ मा व्यवस्था भएको कसुर र सजाय दफामा “कैद वा रकम सजाय’ लेखिएकोमा “कैद र रकम सजाय’ रहने गरी संशोधन गर्ने सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । 

यस्तै, अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभूति गराउन अस्पतालभित्र सशस्त्र प्रहरी बलको टोली रहने व्यवस्था गर्न माग गरेका छन् ।

आवासीय चिकित्सकहरूको ड्यूटी वैज्ञानिक बनाउन र सातामा कम्तीमा एक र वर्षमा कम्तीमा १५ दिन अनिवार्य बिदा दिने प्रावधान कार्यान्वयन गर्न माग गरेका छन् । 

उता, स्वास्थ्य तथा जनसङख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । चिकित्सक र स्वास्थ्य संस्थामाथि भएका आक्रमण गर्नेविरुद्ध गृह मन्त्रालसँग शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेकाले  आवासीय चिकित्सकहरूलाई काममा फर्कन आग्रह गरेका छन् । 

मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री बस्नेत, चिकित्सक संघ लगायतका प्रमुखहरूबीच भएको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । 

छलफलमा चिकित्सक र स्वास्थ्य संस्थामाथि जहाँ आक्रमण भएको हो, त्यहाँ कानुनअनुसार कारबाही गर्ने सहमति भएको उनले बताए । तर, आवासीय चिकित्सकहरूको अन्य मागमा प्रष्ट सम्बोधन नभएपछि आन्दोलन आज बुधवार पनि रोकिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप