आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
न्यायालय

उपप्राध्यापक चलाउनेको मुद्दामा तर्किँदै न्यायाधीश, ‘हेर्दाहेर्दै’को अवस्थामा पनि अन्य आदेश

४३ तारेख र ३८ पेसीमा २० पटक स्थगित !
बिहीबार, ११ असोज २०८०, ०७ : २०
बिहीबार, ११ असोज २०८०

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा धेरैपछि गत सोमबार इजलासमा सुनुवाइ सुरु भयो । खाजा समयपछि सुरु भएको सुनुवाइमा समय अभाव भएपछि सोमबार बहस सकिएन र मंगलबारका लागि उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखियो ।

४३ पटक तारेख र ३८ पटक पेसीमा चढेपछि असोज ८ गते सोमबारबाट काठमाडौँ जिल्ला अदालतमा उनको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर टुङ्ग्याउने तयारी थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा चलाउनेको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । उक्त मुद्दाको सुनुवाइ मंगलबार नै वा ढिलोमा बुधबार सकिएर फैसला आउने अपेक्षा गरिएको थियो ।

त्यसो त मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएर छिटो टुङ्ग्याउन भनेपछि सरकार र विपक्षी नै भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । सोमबारकै सुनुवाइका क्रममा उक्त भ्याकेट निवेदन सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेको भनेर प्रतिवादीतर्फका वकिलले जिकिर लिए पनि न्यायाधीश सिलुवालले भ्याकेटमा गएकै कारण सुनुवाइ गर्न समस्या नहुने भन्दै सोमबार उक्त मुद्दाको सुनुवाइ गरेका थिए ।

मंगलबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको उक्त मुद्दामा सुनुवाइ गर्न नमिल्ने भन्दै मंगलबार पनि प्रतिवादीतर्फका वकिलहरुले बखेडा झिके । पीडित उपप्राध्यापक प्रेम चलाउनेको तर्फबाट बहसका लागि पनि उत्तिकै सङ्ख्यामा वरिष्ठ अधिवक्ता र अधिवक्ता उपस्थित भएका थिए । तर भ्याकेटमा गए पनि सुनुवाइमा असर नपर्ने भन्दै सुनुवाइ अघि बढाएर सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको उक्त मुद्दामा मंगलबार घाउचोट फारममा हस्ताक्षर गर्ने डाक्टरको बकपत्र नभएको भन्दै विशेषज्ञ बुझ्ने आदेश गरेर न्यायाधीश पन्छिएका छन् ।

२०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा ३ वर्ष पूरा हुन लाग्दा पनि अझै फैसला हुने गरी सुनुवाइ हुन सकेको छैन । राजनीतिक दबाब लगायतका कारणले उक्त मुद्दामा ढिलाइ भइरहेको छ ।

भएको के थियो ?

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा समाजशास्त्र विषयको प्राध्यापन गर्ने उपप्राध्यपक हुन् प्रेम बहादुर चलाउने । उनीमाथि २०७७ असोज २० गते बिहान अन्दाजी ९ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमै रहेको नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखाबाट पैसा झिकेर फर्किने क्रममा ३ जनाले कुटपिट गरे । उनीहरूले ज्यान मार्ने उद्देश्यले बाँसका भाटा प्रयोग गरी चलाउनेमाथि आक्रमण गरेका थिए ।

आक्रमणबाट टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट पुगेका चलाउनेले त्रिभुवन विश्वविद्यालयमै अध्ययनरत नेपाल विद्यार्थी संघका नेता हरि आचार्य र योगेन्द्र रावल समेतका व्यक्तिहरूको योजनामा आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए ।

किटानी जाहेरी लगत्तै फरार रहेका उनीहरूबारे खोजी गर्ने क्रममा प्रहरीले आक्रमणमा संलग्न रुपेश साह, रविन कुमार लामा, निरज राना मगर र सयुश भन्ने सयुज श्रेष्ठलाई पक्राउ गरेको थियो । सीसीटीभी फुटेजमा देखिएको मोटरसाइकल र व्यक्तिको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनीहरूले हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा कुटपिट गरेको बयान दिएका थिए ।

उनीहरूको मौकाको बयानकै आधारमा प्रहरीमार्फत् जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हरि आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविन कुमार लामा, निरज राना मगर र सयुज श्रेष्ठलाई प्रतिवादी तथा उनीहरूलाई सहयोग गर्ने दिपक राज ओझालाई मतियारका रुपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता ग¥यो । प्रतिवादीहरूलाई १० वर्ष कैद र जनही एक लाख जरिवानाको मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

काठमाडौँ जिल्ला अदालतले भने प्रतिवादीहरूलाई सामान्य कुटपिट भन्दै न्युन धरौटी लिएर तारेखमा छाडिदिएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले प्रतिवादीसँग २० हजारदेखि ८० हजार रुपैयाँसम्म धरौटी लिएर छाडिदिएका थिए ।

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत पाटन गएको थियो । तर उच्च अदालतले भने जिल्ला अदालतले माग गरेको धरौटी अपराधको प्रकृति र पीडितको स्वास्थ्य अवस्था प्रतिकुल रहेको भन्दै जनही ५ लाख रुपैयाँ धरौटी लिइ प्रत्येक प्रतिवादीबाट उपचार खर्चका लागि तत्कालै जनही एक–एक लाख रुपैयाँ भराउने आदेश दिएको थियो । यद्यपि सरकारी वकिल कार्यालय भने प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म निवेदन लिएर गएको थियो ।

भाडामा ल्याइएका अभियुक्तले स्वीकारेका थिए अपराध

उपप्राध्यापक प्रेम बहादुर चलाउनेलाई ज्यान मार्ने उद्योगले कुटपिट गर्ने प्रमुख व्यक्ति रुपेश साहले चलाउनेमाथि कुटपिट गरिएको र कुटपिटमा कुन कुन व्यक्तिको कस्तो कस्तो संलग्नता थियो भनेर बयान दिएका थिए ।

मौकाको बयानमा साहले नेपाल विद्यार्थी संघका नेता हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा आफूले कुटपिट गरेको र त्यसबापत २० हजार रुपैयाँ लिएको बताएका थिए ।

यस्तो थियो रुपेश साहको बयान :

म आफू आवद्ध रहेको नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट अनलाइन कक्षाहरू राम्रोसँग नगरेको र विद्यार्थीहरूको पठनपाठनका लागि कुनै योजना नबनाएको भन्ने समेतका विषयहरूमा छलफलको माग राखी आन्दोलन गर्दै आइरहेको र उक्त विरोध कार्यक्रममा विगत १ महिना अगाडिदेखि म आफूसमेत साथीहरूसँग सहभागी हुँदै आइरहेको थिएँ । यसै क्रममा त्रिभुवन विश्वविद्यालयको नेविसंघ सभापति हरि आचार्यले मलाई मिति २०७७ असोज १९ गते बेलुकाको अन्दाजी ८ बजेको समयमा निजको मोबाइल नम्बर ९८५७०XXXXX बाट मेरो ९८४२४XXXXX मा फोन गरी विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक पदमा कार्यरत प्रेम बहादुर चलाउनेले हाम्रो संगठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लगाएको ताल्चा तोडेको छ, त्यसलाई ठिक पार्नु पर्छ, त्यसका लागि मद्दतसहित प्रहारसमेत गर्न तिमीलाई के के र कति जना मानिस चाहिन्छ, सम्पूर्ण काम कुरा तिमीले मिलाउनु र प्रेम बहादुर चलाउनेलाई चिन्ने, निज आउने ठाउँ देखाउने र अन्य सहयोगका लागि भोलि बिहान योगेन्द्र रावललाई त्रिभुवन विश्वविद्यालयमा गई भेट्न भनेको हुँदा मैले सोही कुरा योगेन्द्र रावललाई फोन गरी जानकारी गराएको र निजले मलाई कम्तीमा ४ जना केटाहरू लिई भोलि बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको गेट अगाडि रहेको चिया पसलमा आउनु भनेको हुँदा मैले मेरो साथी रविन कुमार लामा, निरज राना मगर, सयुस श्रेष्ठलाई भोलि बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक पदमा कार्यरत प्रेम चलाउनेलाई ठिक पार्नु पर्नेछ, तिमीहरू पनि मसँग जानु पर्छ भनी मिति २०७७ असोज १९ गते नै फोन सम्पर्क गरी जानकारी गराएको हुँदा मिति २०७७ असोज २० गते साथी स्वर्णिमको नम्बर याद नभएको स्कुटर लिई सोही स्कुटर आफूले चलाई सयुस श्रेष्ठलाई साथमा लिई जिल्ला काठमाडौँ कीर्तिपुर नपा वडा न. १० त्रिभुवन विश्वविद्यालयको गेट अगाडि पुग्यौँ ।

हामी दुई जना त्यहाँ पुग्दा मेरो साथीहरू रविन कुमार लामा र निरज राना मगरसमेत त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको चिया पसलमा आइसकेको हुँदा निजहरूलाई भेटेको र सोही चिया पसलमा योगेन्द्र रावलसमेत भएको हुँदा निजलाई भेटिसके पश्चात निजले मलाई जाहेरवाला प्रेम चलाउनेको फोटो मोबाइलमा देखाई यसैलाई हान्नुपर्ने हो, ढुङ्गा मुढा र भाटा समेतले सकेसम्म चुट्नु, मरेमा केही फरक पर्दैन, जे परेको हामी ब्यर्होछौँ भनेपछि प्रेम चलाउनेको फोटो मैले योगेन्द्र रावलको मोबाइलबाट मेरो मोबाइलमा खिची म तथा मेरो साथीहरू रविन कुमार लामा, निरज राना मगर, सयुस श्रेष्ठ समेत चारै जनाले फोटो हेरी म र रविन कुमार लामाले त्रिभुवन विश्वविद्यालयको कम्पाउण्ड छेउबाट ल्याइएका बाँसका गोलगिंडहरू समेत साथमा लिई फोटोमा भएका मानिसलाई ठिक पार्न भनी जाँदै गर्दा योगेन्द्र रावलले निजको ९८५११XXXXX बाट मेरो मोबाइल नम्बर ९८४२४XXXXX मा फोन गरी प्रेम चलाउने बैंकबाट निस्कियो, आफ्नो काम गर भनी मलाई जानकारी गराए पश्चात फोटोमा भएका मानिसलाई सोही ठाउँमा भएको नेपाल बैंक लिमिटेड अगाडि सार्वजनिक ठाउँमा भेटेको हुँदा निजलाई सोही ठाउँमा रोकी म लगायत मेरो साथीहरू रविन कुमार लामा, सयुज श्रेष्ठ, निरज राना मगर समेत ४ जना भई निजलाई किन ताल्चा फुटाएको भनी सँगै लिएर गएको बाँसले मैले निजको टाउको तथा अनुहारको भागमा, रविन कुमार लामाले निजको कम्मरको भागमा, सयुज श्रेष्ठले लात्ती र मुक्काले निजलाई कुटपिट गरेको हो । हामी ३ जनाले कुटपिट गर्दा निरज राना मगर नजिकै भाग्ने तयारी तथा प्रहरीसमेत आएको हेर्नका लागि स्कुटर स्टार्ट गरी स्कुटरमै बसेका थिए र हामीले प्रहार गर्दागर्दै बाटोमा यात्रा गरिरहेका ३–४ वटा मोटरसाइकलमा आएका मानिसहरूले समेत मोटरसाइकल रोकी हामीहरूलाई हेर्न थालेकोमा मानिसहरूले समाउछन् कि भन्ने डर लागेको र हामीहरूले प्रहार गरेका मानिस रगताम्य भई रोडमा ढलेपछि म लगायत सयुज श्रेष्ठ, निरज राना मगर र रविन कुमार लामा सो ठाउँबाट भागी हिँडेका हौँ । म उक्त वारदात पश्चात भागी मिति २०७७ असोज २० गते काठमाडौँको तिलगंगाको होटलमा गई बसेको, मिति २०७७ असोज २१ गते बेलुका काठमाडौँबाट रात्रि बसमा रुपन्देहीको बर्दघाटमा गई सो दिन होटलमा बसेको, मिति २०७७ असोज २३ गते बिहान सो ठाउँबाट जिल्ला चितवन नारायणघाटमा गई होटलमा बसेको र मिति २०७७ असोज २४ गते सो ठाउँबाट सिरहा हुँदै दिदीको घर जिल्ला मोरङ विराटनगरमा गई बसेको र मिति २०७७ असोज २५ गते विराटनगरबाट दिदीको स्कुटर लिई काठमाडौँ आएकोमा सोही दिन म पक्राउमा परेको हुँ ।

हामीहरूले लिई गएको गोलगिंड भएको बाँसले निज जाहेरवालालाई प्रहार गर्दा बाँस फुटी टुक्रा भएको हुँदा सोही टुक्रा प्रहरीले बरामद गरी ल्याएको हो । उक्त बाँसका भाटा हेरी चिनी सनाखत गरिदिएँ । जाहेरवालालाई प्रहार र हमला गर्ने र सो बाट ज्यान मरे पनि आफैँले जिम्मा लिने भनि मलाई निर्देशन दिने हरि आचार्य हुन् । जाहेरवालालाई प्रहार र हमला गर्ने कार्यका लागि म समेतलाई जाहेरवालाको फोटो देखाई चिनाउने, जाहेरवालाको निगरानी र रेकी गर्ने तथा अन्य सहयोगको लागि वारदात स्थलमा खटिने योगेन्द्र रावल हुन् भने निजहरू दुवैको निर्देशन बमोजिम जाहेरवालालाई प्रहार र हमला गर्ने कार्यमा रविन कुमार लामा, सयुज श्रेष्ठ, निरज राना मगर र म स्वयं हौँ । यस कार्यका मुख्य योजनाकार हरि आचार्य र योगेन्द्र रावल भएकोले निजहरूको जाहेरवालासँग अन्य के के रिसईवी थियो मलाई थाहा छैन । निजहरू दुवैको निर्देशन बमोजिम म समेतले जाहरवालालाई प्रहार गरेका हौँ । प्रहरी प्रतिवेदन साथ मिसिल संलग्न भएको जाहेरबाला प्रेम चलाउनेको अनुहारमा घाउ चोट भएको फोटो मलाई देखाउँदा देखी पाएँ, फोटो जाहेरवाला प्रेम चलाउने कै हो, यिनै जाहेरवालाको फोटो मलाई योगेन्द्र रावलले निजको मोबाइलबाट मलाई देखाई मैले मेरो आफ्नो मोबाइलमा निजको फोटो खिचेको हुँ । म समेतले निजलाई बाँसको गोलोगिंडले प्रहार गर्दा निजको अनुहारमा उक्त घाउचोट लागेको हो । वारदात पश्चात भाग्नका लागि आफूसँग रकम नभएको हँुदा मैले हरि आचार्यलाई फोन सम्पर्क गरेको र निजले पठाएको एक जना मानिसले मलाई जिल्ला ललितपुर पाटनमा भेटी जम्मा रकम २० हजार ल्याइदिएका हुन् । रकम ल्याइदिने मानिस को हुन्, निजको फोन नम्बर मलाई याद भएन ।’

यसरी मौकाको बयानमै अभियुक्तले कसुर स्वीकार गरिसकेको, कल डिटेल्स, म्यासेज आदिको प्राविधिक परीक्षणबाट अभियोग पुष्टी जस्तै भए पनि करिब ३ वर्षदेखि यो मुद्दालाई राजनीतिकरण गरेर पर धकेलिँदै आएको छ । फौजदारी कसुरमा संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता लिने निर्णय गरे पनि पीडित चलाउने सर्वोच्च अदालत पुगेर मुद्दा फिर्ता लिन नदिन माग गरेपछि सर्वोच्चले माग बमोजिमकै आदेश जारी गर्दै उक्त मुद्दालाई शीघ्र सुनुवाइ गर्न आदेश दिएको थियो ।

४३ तारेख, ३८ पेसी तर २० पटक स्थगित र हेर्न नभ्याउनेमा

उपप्राध्यापक प्रेम बहादुर चालउनेको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा हालसम्म ४३ पटक तारेख दिइएको छ । ४३ पटक तारेख दिइ ३८ पटक उक्त मुद्दा सुनुवाइका लागि पेसीसमेत चढेको थियो । यद्यपि उक्त मुद्दामा २० पटक त सुनुवाइ नै हुन पाएन भने सुनुवाइ भएको समयमा पनि न्यायाधीश पन्छिने मात्रै गरेका छन् ।

सुरुमा २०७७ कात्तिक २१ गतेदेखि २३ गतेसम्म भएको बकपत्र र सुनुवाइपछि तत्कालीन जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाले कात्तिक २३ गते प्रतिवादीसँग धरौटी माग गरी छाड्ने आदेश गरेका थिए । न्यायाधीशले मुद्दाको गम्भीरता नबुझेको र प्रतिवादीसँग बिकेको आरोप लगाई पीडितले उक्त मुद्दा अम्बिकाले हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि न्यायाधीश निरौलाले उक्त मुद्दाको पेसी आफूबाहेकको इजलासमा पेस गर्न भन्दै आदेश दिएका थिए ।

त्यसपछि साक्षी बुझ्ने, विशेषज्ञ बुझ्ने, विशेषज्ञ झिकाउने, उच्च अदालतबाट भएको आदेश बमोजिम अन्तरिम क्षतिपूर्ति भराउने लगायतका आदेशमा अदालत अल्झिएको थियो । पटकपटकको पेसीमा २० पटक उक्त मुद्दामा सुनुवाइ भएन । १८ पटकको पेसी विपक्षीका कानुन व्यवसायी, सरकारी वकिल र अदालतबाटै हेर्न नभ्याउने भन्दै स्थगित भएको छ ।

असोज ८ गते सोमबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखेपछि अब सुनुवाइ हुन्छ र फैसला हुन्छ भन्ने अपेक्षा विपरीत विपक्षीका कानुन व्यवसायीको दबावसामु न्यायाधीश सिलुवाल निरीह बने र फेरि पनि ‘अन्य आदेश’ गर्दै विशेषज्ञ बुझ्ने आदेश गरेर पन्छिए । जबकि यसभन्दा अगाडि ४ पटक विशेषज्ञ बुझ्ने आदेश भएर त्रिवि शिक्षण अस्पतालबाट जवाफ र चिकित्सकको बकपत्र भइसकेको छ । तर फेरि पनि त्यही प्रकृतिको आदेश गरेर न्यायाधीश फैसला गर्नबाट पन्छिएका छन् ।

तत्कालीन काँग्रेस नेतृत्वको सरकारले मुद्दा फिर्ता लिन खोजे पनि तत्कालीन कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)ले मुद्दा फिर्ता लिन अस्वीकार गरेका थिए । तर पछि सरकार परिवर्तन भएलगत्तै उक्त मुद्दा फिर्ता लिने निर्णय भएको थियो । हाल कानुनमन्त्री रहेका धनराज गुरुङ यो मुद्दा फिर्ता लिएर आफ्ना कार्यकर्ताले गरेको अपराधलाई राजनीतिक घटना भन्दै बचाउने प्रयासमा छन् । उपप्राध्यापक चलाउने भने अपराधको राजनीतिकरण स्वीकार्य नहुने भन्दै दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप