शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
निबन्ध

भगवान् भरोसामा उत्सवको उल्लास

बिहीबार, ११ असोज २०८०, १३ : ५४
बिहीबार, ११ असोज २०८०

सांस्कृतिक विविधता हाम्रो समाजको विशेषता हो। यही विशेष र मौलिक संस्कृति हाम्रो पहिचान बन्दै आएको छ । चिनारीको पृथक् पाटो बनेर रहेका सांस्कृतिक गौरवहरू हामीकहाँ गनी नसक्नु छन् । 

हरेक दिनजस्तो कुनै न कुनै पर्व आइरहेको हुन्छ । कुनै न कुनै उत्सवको उल्लासले उमङ्ग फैलिरहेको हुन्छ । प्रत्येक टोल, चोक र मन्दिर–चैत्यहरूमा परम्परागत बाजा बजिरहेको हुन्छ । मादल घन्किरहेको हुन्छ । मुरली र बाँसुरीका धुन गुन्जिरहेका हुन्छन् । शङ्ख र घण्टीको तीव्र स्वर, सुरिलो, खिरिलो, चर्को तैपनि मीठो सुनिन्छ ।

मृदङ्ग बाजाको अर्कै आवाज । धिमे र दाफा बाजाको उत्तिकै मिठासयुक्त स्वर । प्रत्येक स्वरमा हाम्रै समाजका गुञ्जन । हाम्रै सुख दुःखका सम्मिश्रण । हाम्रै आँसु र हाँसोका छचल्कन । तिनमा कति पीडा मिसिएका हुन्छन् । तैपनि तिनको गुञ्जनमा आनन्दको आभास समेटिएको हुन्छ ।

तिनैमा हर्ष–मिलनका रमाइला पाटाहरू खुल्छन् । प्रत्येकमा नेपाली अनुहार र आवाजको मिलन हुन्छ । प्रत्येकमा जीवन, प्रकृति र प्रेमको मिठास भेटिन्छ । साँघुरा गल्लीदेखि व्यस्त सहरका सडकसम्म आवाजको साङ्गीतिक गुञ्जन फैलिन्छन् । 

उत्सवमा उल्लासको उमङ्ग छचल्किन्छ ! एक दिव्य–प्रेरणा र प्राप्ति हुन्छ । खाएर, पिएर, नाचेर, गाएर गल्ली चोक, सहर घुमेर थाकेको ज्यान । तथापि मस्तले मातेर सबै तनाव बिर्सिँदै हाँसिरहेका निर्दोष जीवनहरू । कति पनि अल्छी छैन । अलिकति पनि नैराश्य छैन । खुसीले उन्मुक्त पाइला हिँडिरहेकाहरू । खुसीले निस्फिक्री पाइला चालिरहेकाहरू । बाजा बजाएर नथाकेका हात, पाखुरा । खट बोकेर नगलेका काँधहरू । परम्परागत रागमा स्वर दिँदा नसुकेको घाँटी ।

धन्न कति खट्न सकेको ज्यान–प्राण । जात्रालुहरूलाई मज्जैले जात्राको मात लागेको छ । घामले पसिना बगाएर पनि । पानीमा निथ्रुक्क भिजे पनि । संस्कृतिप्रति कति गहिरो माया । कति धेरै श्रद्धा र कति थुप्रै विश्वासहरू । भगवान्कै भक्तिले शक्ति मिलेको हो कि !

हरेक पर्वमा अनेक बाजाहरूको तुमुल ध्वनि–तरङ्गले गुञ्जायमान वातावरण । उस्तै सुमधुर झङ्कार ती आवाजहरूको । उस्तै गुञ्जन ती संयुक्त सङ्गीत सुसेलीको । आफैँमा आकर्षक र मौलिक आवाजहरूको जुलुस । नृत्य मञ्चनको उत्तिकै रोमाञ्चक प्रदर्शन । बाजाको तालमा कति नाच । गीतको भावमा कति नाच । फेरि नाचका कति ताल, भावभङ्गी, मुद्रा र मुहारहरू । कति आभूषण र वस्त्रहरू । सजावटको सुन्दरता उस्तै सुन्दर । खानपानको व्यञ्जनमा उस्तै मिठास ।

यसैबीच, अहिले काठमाडौँ उपत्यकामा इन्द्रजात्राको रौनक छाएको छ । काठको अग्लो लिङ्गोमा स्वर्गका राजा इन्द्रलाई प्रतिस्थापन गरेर राखिएको छ । टोलका चोकमा, चौबाटाहरूमा यसरी इन्द्रलाई विराजमान गराई जात्राको उत्सव प्रारम्भ गरिन्छ । उज्यालोको पर्व मित्रता, भाइचारा र सामाजिक सद्भावको सुन्दर संयोजनले मन प्रफुल्लित भइरहेको हुन्छ । धूप र दीपको प्रज्वलित लावालस्कर ‘उपाकु परिक्रमा’ को निर्धारित मार्ग हिँड्छन् । वर्षभरि दिवङ्गत भएका आफन्तजनको स्मृतिमा शान्तिको कामना गर्दै बाटोमा लस्करै माटोको पालामा घिउ, जौ र तिल मिसाएर जमाएको दियो राख्दै बालिन्छ । आध्यात्मिक अनुष्ठानको अभियानमा सहरै उर्लिएको जस्तो लाग्छ ।

वास्तवमा काठमाडौँको एक अनुपम मौलिक सांस्कृतिक उत्सव हो– ‘इन्द्रजात्रा’ । काठमाडौँवासी यस पर्वलाई ‘येँ याः’ जात्राका नामले चिन्छन् । यो जात्रामा टोल–टोलमा विधिपूर्वक पूजा गरी इन्द्रको मूर्ति सजाएर राखिन्छ । जात्राका अवसरमा हल्चोक भैरव, लाखेनाच, दश अवतार नाच, भक्तपुरको महाकाली नाच, पुलुकिसी नाचलगायत अनेक सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ । 

यसका साथै  परम्परागत बाजागाजा बजाउँदै रथजात्राका साथ तल्लो र माथ्लो निश्चित टोलसहित नगर परिक्रमा गरिन्छ । इन्द्रजात्राका अवसरमा हनुमानढोकास्थित श्वेत भैरवलाई खुल्ला राखिन्छ । साथै श्री आकाश भैरवनाथ आजुद्यः लाई मन्दिरबाट बाहिर निकाली फूलमालाले झकिझकाउ पारी सजाएर प्रदर्शन गरिन्छ ।

इन्द्रजात्राको अन्तिम दिन ‘नानिचाः याः’ ! श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको जात्रासँगै लाखेनाच र पुलुकिसी नाचको रोमाञ्चक प्रदर्शन हुन्छ । जात्राको यो आकर्षक पक्ष हो । ‘नानिचाः याः’ जात्रामा साँझ महिलाले मात्र रथ तानिन्छ । सोही साँझ राष्ट्रपतिबाट श्रीकुमारीको दर्शन र प्रसाद ग्रहणपछि जात्रा विसर्जन गरिन्छ । यस अवसरमा मन्दिर–मूर्तिहरूमा पूजापाठ, भजन, कीर्तनको मौसम छाउँछ । भगवान्प्रति हार्दिक भक्तिभाव प्रस्तुत हुन्छ ।

उत्सवको उल्लासमा भगवान् भरोसाको विम्ब कति ‘दार्शनिक’ लाग्छ । यही भरोसामै छ ‘भरथेग’ । परन्तु, विडम्बना र अफसोस पनि छ यहाँ । भगवान्प्रति आस्थासँगै भगवान्को बिक्रीले विकृति ल्याएको छ । भगवान्को नाममा रहेका जग्गा अलपत्र पारिएको छ । भगवान्लाई नै विदेशको अज्ञात ठाउँमा बेचेर हामीले सायद सन्तुष्टि कमाइरहेका छौँ । सत्य र इमान्दारिताको अन्त्य गराइरहेका छौँ । भगवान्प्रति विश्वास र श्रद्धा गुमाइरहेका छौँ ।

गुठी व्यवस्था, चन्दा दानका खोजीमेली अनुदानका भरमा टिकिरहेका हाम्रा पर्व परम्पराहरू । भगवान्का नाममा स्थापित उहिल्यैका गुठी जग्गाहरू थाहा छैन कति र कहाँ–कहाँ छन् । तिनै गुठी जग्गाका आयस्रोतले भगवान्को पूजाआजा, उत्सवको उल्लास कति भव्य, सभ्य र व्यवस्थित हुन्थ्यो भन्न सकिन्न । 

बिस्तारै ती गुठीका जग्गाहरू हराउँदै, मासिँदै, बेचिँदै, टुक्रिँदै, छिन्नभिन्न हुँदै गए । यसरी भगवान्को नाममा धर्मात्मा दाताहरूले राखेका गुठीजग्गा जालीफटाहा, लोभीपापी मनहरूले सुटुक्क खाइदिए । अनि भगवान्को दैनिक, मासिक र वार्षिक पूजापाठमा आर्थिक समस्या उत्पन्न हुन थाल्यो । जात्रा व्यवस्थापनमा पनि कठिनाइ आयो । स्थानीय सरकार, टोलबासी, संघसंस्थाहरूसँग सहयोगको माग गर्नुपर्ने भयो । स्मरणीय छ, स्थानीय तहले केन्द्रबाट र आफ्नो वडाका स्थानीय संस्कृतिको जगेर्नामा आवश्यक सहयोग गरिरहेको छ ।

मुस्किल–मुस्किलले पुख्र्यौली गौरवलाई बचाउँदै हरेक पर्वहरू चलिरहेछन् । भावी पुस्तालाई चिनो–चिनारी राख्दै हाम्रा स्थापित मूल्य–मान्यताहरू बचिरहेछन् । भगवान्प्रति आस्था स्थापित गराइ राख्न धौ धौ हुँदै गइरहेछ । फलतः लोभीपापी मन धेरै बढेर भगवान् रिसाउन थालेका छन् । अनेक दैवीविपत्तिको बर्बादी निम्तिन थालेको छ । मानिस, पशुपंक्षी र प्रकृति नै प्रलयको पीडाले घाइते भइरहेको छ । तैपनि भगवान् पुकार्न हामीले बिर्सेका छैनौँ । भगवान् पुज्न छाडेका छैनौँ ।

अन्ततोगत्वा भगवान् भनेको आस्थाको धरोहर । विश्वासको स्तम्भ । सम्पूर्ण आशा, भरोसा, विश्वास भगवान्मै हुने रहेछ । कतिसम्म भने ‘भगवान् मलाई बचाऊ’ भन्छौँ । ‘भगवान् मलाई केही नहोस्’ भन्छौँ । केही भयो कि भगवानै पुकार्छाैँ । दुःख पर्दा भगवान्कै नाम जप्छौँ । खुसी हुँदा पनि भगवान् सम्झन्छौँ । भगवान्प्रति कृतज्ञता टक्राउँछौँ । ‘दुःख र दुष्टले साथ नदेओस्’ भन्छौँ । ‘रोगव्याधीले थला नपारोस्’ भन्छौँ । ‘मित्र महोदयहरूको साथ नछुटोस् तर शत्रु कहिल्यै नलागोस्’ भनी कामना गर्छौँ । अनेक ‘भाकल’ गर्दै भगवान्सँग ‘भरोसा’ माग्छौँ । आत्मबलको आशा राख्छौँ ।

यसरी भगवान्प्रति हाम्रो हार्दिक प्रार्थना सधैँ भइरहन्छ । भगवान् भक्ति कति महान् छ हाम्रो । भगवान् प्रार्थना कति विशिष्ट छ हाम्रो । मानिस जन्मिदा पनि ‘भगवान् छैटीमा यो बच्चाको भाग्य राम्रो लेखिदिनुहोस्’ भन्छौँ । मानिस मर्दा पनि ‘भगवान् स्वर्गमा यो मृतकलाई सुखमय बास दिनुहोस्’ भन्छौँ ।

‘भगवान् भरोसा’ को सुन्दर विम्ब उद्घाटित हुन्छ, हाम्रा बोली र व्यवहारमा । प्रायः दुःखमा भगवान् सम्झेर भरोसाको आशा राख्छौँ । पूजापाठ, पर्व, परम्परा, संस्कार, संस्कृतिमा भगवान् पुकार्ने, आराधना गर्ने, गरिने सनातन हाम्रो पद्धति छँदै नै छ । 

देवीदेवताहरूले बास गरेको पवित्र हाम्रो भूमि । प्रत्येक प्राणीको मुटुको स्पन्दनमा भगवान्को धड्कन धड्किन्छ । समतल भूमिमा पनि देवताले बास गरेका छन् । हिमाल र पहाडका अप्ठ्यारो स्थानमा पनि भगवान् विराजमान । अगणनीय हाम्रा आराध्यदेव गनी साध्य छैन । 

भनिन्छ, तेत्तीसकोटी देवताले बास गरेको हाम्रो देश । उपत्यकामा त जता हेर्‍यो, त्यतै मन्दिर र गुम्बा । जहाँ पुग्यो, त्यहीँ देवताका मन्दिर र मूर्ति । ती पनि कलात्मक, भव्य र वास्तुकलाले भरिपूर्ण सीप–सिर्जनाका सुन्दर नमुना ।

भगवान् भरोसामा बाँचेको जीवन । हरेक दिनको सुरूवात पूजापाठ, योगध्यान । ॐ शान्तिको प्रार्थनाबाट प्रारम्भ जीवनका कर्महरू । खानुअघि, बाहिर निस्किनु पूर्व भगवान्को पूजापाठ । भक्तिको हार्दिक समर्पण स्वभाव र संस्कार हाम्रो ।

भनिन्छ– ‘भगवान् सधैँ दाहिना रहून् । भगवान्ले हामी सबैको कल्याण गरुन् ।’

यात्रामा भगवान् भरोसा । बाटोको बिजोगमा भगवान् भरोसा । सास हत्केलामा राखेर बामे सर्दै पाइला सुस्तरी घिसार्दै भगवान् पुकार्दै हिँड्नुपर्ने ।

धन्य भगवान् भरोसाले ज्यान ठुलो जोखिमबाट बाँचेको । त्यही भरोसा पाएर निर्धक्क जीवन हाँसेको । घरमा, बजारमा कार्यालय र काममा भगवान्को नाम पुकारा गरिन्छ । भनिन्छ, नेपालका बाटाघाटा र गाडीयात्रा भगवान् भरोसाले चलेका छन् । 

श्रद्धा, विश्वासमा दुःख बिर्सिने चेष्टा गरिन्छ । शान्ति र सुखको खोजीमा हरपल अध्यात्म–अनुष्ठानको अभ्यास गरिन्छ । आस्था, आराधनामा समर्पित जीवन रोजिन्छ । भक्तिभावमा शक्ति सञ्चय गर्दै एक अनुपम जीवनधामको यात्रा हिँडिन्छ ।

महशिकारीको कति जोखिम ज्यान भगवान् भरोसामा अडिएको छ । यात्रामा जाने कस्ता डरलाग्दो अक्करे भिरको बाटो धन्न बाँचेका छन् यात्री । काठको डुङ्गाबाट नदी तार्ने माझीहरूले भगवान् भरोसामा मान्छेलाई नदी पार गराएका छन् । मुक्तिधाम, बराहक्षेत्र, गोसाइकुण्ड, पाथीभरा माता, हलेसी आदि कस्तो ज्यानको जोखिम मोलेर तीर्थयात्रीहरू जान्छन् । कस्तो विकट र अप्ठ्यारोमा भगवान्को बासस्थान छ । यिनै कठिनाइलाई उछिनेर पुगेपछि भेटिन्छ भगवान्, शान्ति र आनन्द ।

विश्वासको कुरा हो, भगवान् भरोसाले बचाउँछ पनि । अप्ठ्यारोबाट जोगाउँछ पनि । सफलताको सिँढी चढाएर माथि–माथि पुर्‍याउँछ पनि । मूलतः मनमा विश्वास हुनुपर्‍यो । हृदयभित्रैबाट श्रद्धा जाग्नु पर्‍यो । विश्वासको ठुलो महत्त्व छ । श्रद्धाको ठुलो मूल्य छ । विश्वासले टिकेको संसारमा विश्वासको सङ्कट आइपर्‍यो भने मानिसको जीवनमा दशा सुरू हुन थाल्छ । 

मूलतः भगवान् भनेको ‘राम्रो र असल मान्छे’ हो । असल विचार र विवेक भएको मान्छे नै वास्तवमा ‘भगवान्’ हो । हामीले कसैको दुःख निवारण गरिदियौँ भने दुःखी आत्माले हामीलाई भगवान् ठान्छन् र हार्दिक कृतज्ञता व्यक्त गर्छन् । खासमा बगिरहेका आँसु, तड्पिरहेका, भड्किरहेका  आत्मा र एक्लिरहेका जीवनलाई बलियो सहारा दिनु, साथ सहयोग गर्नु ‘भगवान्’ हुनु हो । हामीभित्रै छ भगवान्, हामी नै हो ‘भगवान्’ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप