आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
आईओईमा किचलो

पुल्चोक इन्जिनियरिङ : सतहमा शुल्क वृद्धिको विवाद, भित्री कथा भने अर्कै

शुक्रबार, १९ असोज २०८०, १९ : १९
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । मूल ढोकामा ताल्चा लगाइएको छ । ढोका बाहिर दायाँ बायाँ दुइटा कुर्सी छ । ‘प्राडा शशीधर राम जोशी डीन बाहिर’ भन्दै नेमप्लेट कुर्सीमाथि छ । यो दृश्य पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) डीन कार्यालय भित्रको हो । डीन कार्यालय सुनसान छ । डीनको कोठामा ताला लगाएर राखिएको छ । ढोकामा पर्चा राखिएको छ । त्यहाँ केही नोटिस देखिन्छ । यो आज मात्र नभएर केही दिनदेखि नै यसरी राखिएको हो । 

आईओईमा गत भदौदेखि किचलो छ । विद्यार्थी संगठन, स्ववियु, शिक्षक कर्मचारीका संघ संगठनको किचलो डीन जोशीका लागि टाउको दुखाई बनिरहेको छ । 

engineering-pulchok (7)

डीन कार्यालय नजिकै रहेको पुल्चोक इन्जिनियरिङ कलेज पनि अचेल शान्त छ । परीक्षा सकिएपछि विद्यार्थीहरू घरमै छन् । नयाँ विद्यार्थी भर्ना प्रक्रिया स्थगित छ । जसले गर्दा पुल्चोक क्याम्पस र डीन कार्यालय सुनसान देखिएको हो । सतहमा देखिने विवाद शुल्क वृद्धिको हो । तर, त्यसको भित्र कथा भने अर्कै देखिन्छ । अहिले स्नातक तह नयाँ सत्रको लागि भर्ना प्रक्रिया अगाडि बढाइरहेको बेला संस्थानलाई अस्तव्यस्त बनाउने गिरोह सक्रिय बनेको देखिन्छ । जसले गर्दा शुल्क वृद्धिको बहानामा प्रवेश परीक्षा धकेल्न खोजिएको हो । र, उनीहरूको उद्देश्यसमेत पुरा भएको छ । 

त्रिविका उपकुलपति, रेक्टर, डीन लगायतले विद्यार्थीहरूसँग सहमति गरेका थिए । शुल्क वृद्धि नगर्ने र पुरानै शुल्कमा पठनपाठन गर्ने । त्रिवि, आईओई र विद्यार्थी संगठनहरूबीच शुल्क विवाद समाधानका लागि तीन पटक सम्झौता भइसकेको छ । पहिलो पटक शुल्क बढाएपछि नेविसंघ, अखिल क्रान्तिकारी लगायतसँग सम्झौता भएको थियो । त्यसपछि अनेरास्ववियुसँग छुट्टै खालको सम्झौता गरियो । 

engineering-pulchok (2)

हालै मात्र नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, स्ववियुहरूसँग पुरानै शुल्कमा पठनपाठन गराउने र असोज २२ गते प्रवेश परीक्षा गर्ने गरी सम्झौता भएको थियो । तर, त्यो सम्झौता कार्यान्वयन गर्ने क्रममा आईओईबाटै विरोध भएपछि परीक्षा स्थगित हुन पुग्यो । 

पुल्चोक क्याम्पस स्ववियु सभापति विराज अर्यालले अहिले वार्ता तथा छलफलको कुनै प्रयास नभएको बताए । ‘हामी परीक्षा सकेर घरमै छौँ । सरहरू पनि कोही हुनुहुन्न । कता हुनुहुन्छ ? सम्पर्क नै छैन । केही दिनमा केही न केही निकास निस्किएला । अहिले कुलिङ पिरियडमा छौँ ,’ उनले भने । 

डीन, सहायक डीन लगायतले सम्झौता गर्ने तर, अन्य पदाधिकारीहरूले भने सम्झौता अस्वीकार गर्दै आएपछि समस्या भएको उनको भनाई छ । ‘डीन सर, सहायक डीन सर वार्तामा बोलाउनुहुन्छ । सम्झौता गर्नुहुन्छ । तर, प्राध्यापक तथा विभागीय प्रमुखहरू यो सम्झौता मान्दैनौँ भन्छन् । अनि सम्झौता कार्यान्वयन कसरी हुन्छ ?,’ उनले भने । 

अप्लाइड साइन्स एण्ड केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख प्राडा हेमराज पन्तले वार्ता भइरहेको र केही दिनमा निकास पाउने बताए । विद्यार्थीहरूले जबरजस्ती सम्झौता गर्न लगाएको भन्दै अहिलेको अवस्थामा शुल्क बढाउनुको विकल्प नभएको उनको भनाई छ । 

‘अहिले वार्ता भइरहेको छ । सहमति नजिक पुग्दैछ । भिसी कार्यालयमा वार्ता भइरहेको छ । मलाई लाग्छ, २/३ दिन भित्रमा केही सहमति हुन्छ होला । पठनपाठन रोकिएको छैन । आन्दोलन चले पनि पढाई र जाँचको कार्यलाई अवरोध गरिएको छैन,’ पन्तले भने ।  

engineering-pulchok (8)

अहिलेको अवस्थामा ३० प्रतिशत मात्रै स्थायी शिक्षक कर्मचारी कार्यरत छन् । ७० प्रतिशत अस्थायी तथा करारमार्फत् पठनपाठन गराउँदै आएका छन् । ती सबैलाई संस्थान तथा कलेजहरूको आन्तरिक स्रोतबाट तलब खुवाइँदै छ । विगत केही वर्षदेखि संस्थान घाटामा रहेको र शिक्षक कर्मचारीलाई तलब खुवाउनै समस्या भइरहेको संस्थानको दाबी छ । यसका लागि शुल्क बढाउनुपर्ने वा सरकारले अनुदान दिनुपर्ने दुइटा विकल्प मात्र आफूहरूले अघि सारेको उनको भनाई छ । 

यो वर्ष प्रवेश परीक्षा हुनुभन्दा अगाडि शुल्कको समस्या समाधान गर्न नसकेको खण्डमा पठनपाठनमा समस्या पर्ने उनीहरूको भनाई छ । जसले गर्दा त्रिवि तथा संस्थानले सहमति गर्दासमेत पदाधिकारी, विभागीय प्रमुख तथा प्राध्यापकहरू सम्झौता मान्न तयार छैनन् । 

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अहिलेको अवस्थामा आईओईका पदाधिकारी आन्दोलनकारी जस्तो र विद्यार्थीहरू आईओईका पदाधिकारी जस्तो भइरहेको बताए । 

गौरवमय इतिहास बोकेको आईओईलाई ध्वस्त पार्ने खेलमा लागेको गिरोहका कारण भएको सहमतिसमेत कार्यान्वयनमा जान नसकिरहेको उनको भनाई छ । 

‘हामीले पटक पटकको छलफलको क्रममा अहिले प्रवेश परीक्षा धेकेल्ने काम नगरौँ, परीक्षा गरौँ । शुल्क बढाउनुपर्ने वा सरकारबाट अनुदान ल्याउने कुरामा हामी सधैँ लाग्छौँ भनेका छौँ । तर, उनीहरू जसरी पनि परीक्षा धकेल्ने खेलमा लागेका छन्’, अध्यक्ष शेर्पाले भने ।

engineering-pulchok (1)

न्यूनतम १०/१५ प्रतिशत शुल्क बढाउनु पर्नेमा एकाएक १४४ प्रतिशतले शुल्क वृद्धि गरेपछि समस्या आएको उनको भनाई छ । उनले कुनै निकास ननिस्किए आफूहरू पुनः आन्दोलनमा जाने चेतावनी दिए । 

विगतमा विद्यार्थी प्रवेश परीक्षामा कुनै असर नपरोस् भनेर आफूहरूले आन्दोलनका कार्यक्रम रोकेको उनको भनाई छ । ‘अहिले त्रिविसँग वार्ता भइरहेको छ । आइतबारसम्ममा कुनै समाधान आएन भने हामी पुनः आन्दोलनमा जान्छौं । त्यसका लागि त्रिवि गम्भीर हुनु जरुरी छ,’ उनले भने । 

आईओईका केही पदाधिकारीहरू यताको परीक्षा धकेलेर पोखरा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर चलाइरहेका आफ्ना कलेजहरूलाई प्रशय दिने खेलमा लागेकोले समस्या देखिएको उनको भनाई छ ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले दसैँपछि प्रवेश परीक्षा गर्ने गरी अनौपचारिक छलफल भइरहेको बताए । ‘अनौपचारिक छलफल भइरहेको छ । पुरानै शुल्कमा पढाउने भन्ने छ । सरकारबाट अनुदान ल्याउने कुरा चलिरहेको छ । यसमा केही दिनमा सम्झौता हुन्छ होला । अहिले त्यसैमा लागिरहेका छौँ,’ उनले भने । 

पदाधिकारीहरूले विद्यार्थी संगठनहरूसँग सम्झौता गर्ने तर पछि कार्यान्वयनमा पछि हट्ने कारण समस्या आएको उनको भनाई छ ।  

engineering-pulchok (5)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप