बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
केमिकल बाधक

पुनर्वासमा रसायनका कारण सयौँ बिघा धान बाली नष्ट, क्षतिपूर्ति माग

केमिकल कहाँबाट आयो पुष्टि हुन सकेन : कर्णबहादुर शाही, कृषि शाखा प्रमुख
शनिबार, २० असोज २०८०, ०९ : ०४
शनिबार, २० असोज २०८०

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रसायनबाट स्थानीयको सयौं विघा धान बाली नष्ट भएको पुष्टि भएको छ । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ नं वडामा धान र उखु नष्ट भएको थियो ।

पानीमा बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) को मात्रा बढी भएका कारण २४२.९ बिघामा लगाइएको धान र ११०.३ बिघामा लगाइएको उखु नष्ट भएको परीक्षणबाट पुष्टि भएको पुनर्वास नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगको समन्वयमा पुनर्वास नगरपालिकाको कार्यालयले साउन ३० र भदौ १ गते सम्बन्धित ठाउँको खेतबाट पानीको नमूना सङ्कलन गरेको थियो । 

संकलित नमूना परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा पठाइए पनि उपकरण नभएका कारण त्यहाँ परीक्षण हुन सकेन । पछि काठमाडौंस्थित निजी प्रयोगशाला वाटर इञ्जिनीयरिङमा परीक्षण गर्दा साउन ३० गते संकलित नमूनामा बिओडी ५७ मिलिग्राम प्रतिलिटर र सिओडी ११४ मिलिग्राम प्रतिलिटर फेला परेको थियो । 

भदौ १ गते संकलित नमूनामा बिओडी चार र सिओडी ११ मिलिग्राम प्रतिलिटर पानीमा भेटिएको थियो । पानीमा बिओडी १० मिलिग्राम र सिओडी २० मिलिग्रामभन्दा बढी भएमा बोटविरुवा र जलीय प्राणी मर्ने गरेको पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले बताए ।शाहीले भने, ‘धानबाली केमिकलकै कारण नष्ट भएको पुष्टि त भयो तर केमिकल कहाँबाट आयो भन्ने पुष्टि हुन सकेन ।’

उता, रक्सी बनाउन प्रयोग हुने पदार्थ नगरपालिकास्थित भागेश्वर सुगर मिलबाट बाढीमा बग्दा यस्तो भएको किसानको दाबी छ । यसैले, कृषिबाली सोत्तर पारेको भन्दै मिलबाट क्षतिपूर्ति भराउन प्रदेश सदनमा समेत आवाज उठेको छ । 

कञ्चनपुरका प्रदेशसभा सदस्य वीरबहादुर थापाले भागेश्वर चिनी मिलबाट बगेको रसायनका कारण नै किसानले ठुलो नोक्सान बेहोर्नु परेको बताए । उनले मिलबाट किसानलाई क्षतिपूर्ति भराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

विगतमा त्यस्तै बाढी आउँदा पनि यसरी क्षति नहुने ठाउँमा एकाएक धान, उखुबाली सुकेपछि किसान अचम्मित भएका थिए । दोदा नदीको माथिल्लोतिर रहेको सिमरी नदीको बाढी ओभरफ्लो भएर खेतमा जाँदा कृषिबालीमा क्षति भएको जनाइएको छ । 

‘डुबान भएपनि मिलभन्दा माथि तिरको कृषि बाली नोक्सान भएन । तर मिल र नदीभन्दा तल्लो क्षेत्रमा रहेको भू–भागमामात्रै धान र उखु सुकेको थियो ।’

केमिकलका कारण कृषिबाली सोत्तर भएको पुष्टि भएपछि पुनर्वास नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले किसानलाई राहत÷क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ । नियमानुसार किसानलाई राहत÷क्षतिपूर्ति दिनका लागि जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला प्रहरी कार्यालयमा सिफारिस पठाइएको विपद् व्यवस्थापन शाखाका स्रोतव्यक्ति ओमनाथ ढकालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप