शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कालिकोट जाने यात्रुलाई पनि जुम्लासम्मकै टिकट !

सुरक्षाका लागि पहिलो पटक ड्रोन प्रयोग गर्दै प्रहरी
सोमबार, २२ असोज २०८०, ११ : ००
सोमबार, २२ असोज २०८०

काठमाडौँ । दसैँमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ । सोमवार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरु भएको हो । 

काठमाडौँसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर यात्रुहरूले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भए पनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् । त्यस्तै कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट काट्न बाध्य बनाइएको उनीहरूले गुनासो छ । उनीहरूले सम्बन्धित जिल्लाका सांसदहरूले यस विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए । उनीहरूले जिल्लावाइज टिकट काउन्टर राख्न सुझाव दिएका छन् ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भूपेन्द्रबहादुर खत्रीले यात्रुहरूको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको बताए । उनले काठमाडौँ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको जानकारी दिए । उनले यस पटक सुरक्षाका लागि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने उल्लेख गरे ।

उनले भने, ‘यात्रुहरूको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौँ जिल्लाका लागि मात्रै यसअन्तर्गत हामीले १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ । आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन सुरक्षा प्रदान गर्न र थप जनशक्तिसहित विभिन्न टेक्नोलोजी तयार गरेका छौँ । सिसिटिभी र ड्रोन लगायत हामीले काठमाडौँ उपत्यकामा प्रयोग गर्ने क्रममा छौँ । ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौँ ।’

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरू लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताउनु भयो । उहाँले बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरू गन्तव्य स्थल लैजान असहज रहको भन्दै सरकारले सडक स्तरोन्नति गर्नुपर्ने बताउनु भयो । उहाँले सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र अग्रिम टिकट बुकिङ खुलाएको औचित्य नहुने बताए।

चाडबाडको बेलामा यात्रुहरूलाई ठग्न सक्ने भन्दै परिचय पत्र र पोसाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्न उनले आग्रह गरे । हरेक वर्ष दसैँ, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । विशेष गरी संघीय राजधानी काठमाडौँबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप