बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बीआरआई परियोजनाको पहिलो दशक पूरा

मानव जातिको भाग्यमा एकरुपता स्थापना गर्ने महत्त्वपूर्ण अभ्यास: श्वेतपत्र
मङ्गलबार, २३ असोज २०८०, १० : ३१
मङ्गलबार, २३ असोज २०८०

चीन । चीनको राज्य परिषद् अन्तर्गतको कार्यालयले ‘बेल्ट एण्ड रोड’ (बीआरआई) विकास परियोजना निर्माणबाट मानव जातिको भाग्य एकरुपता स्थापना गर्ने महत्त्वपूर्ण अभ्यास भएको भन्दै मंगलबार श्वेतपत्र जारी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वको सरकारले सन् २०१३ मा सुरु गरेको बीरआरआई परियोजना एक दशक पूरा गरेको अवससरमा समीक्षा र श्वेतपत्र जारी भएको हो । आगामी साता (अक्टोबर १७ र १८) चीनको राजधानी बेइजिङमा बीरआरआईको तेस्रो सम्मेलन आयोजना हुँदैछ ।

परियोजना सुरु भएदेखि हालसम्म एकसय ५२ वटा देश र ३२ वटा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग बीआरआई परियोजना अन्तर्गत रहेर काम गर्ने सम्झौता र समन्वय भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले  जनाएको छ ।

बीआरआई परियोजना सुरु भएको दश वर्षको समीक्षा गर्दै परियोजनाले विकास निर्माणको क्षेत्रमा प्राप्त उपलब्धिहरुको बारेमा चर्चा गरेको छ । श्वेतपत्रमा बीआरआई परियोजना चीनबाट सुरु भएर अहिले विश्वभर फैलिएको यो योजनालाई अझ प्रभावकारी बनाउने लक्ष्य अगाडि सारेको छ । यो परियोजनाले विश्वसँग संयुक्त विकास अभ्यास र समृद्धिको यात्रामा अगाडि बढ्ने उल्लेख छ ।

बीरआरआई परियोजनाको निर्माणको काम भनेको सहकार्य मार्फत आदानप्रदान गरिने समेत उल्लेख छ । बीआरआईले उच्चस्तरीय विकास परियोजनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको समेत उल्लेख गरिएको छ ।

चिनियाँ भाषा बाहेक अंग्रेजी, रुसी, जर्मनी, स्पेनिस, अरबी, जापानी, फ्रेन्च भाषामा समेत प्रकाशित गरेका श्वेतपत्रमा भनिएको छ, ‘परियोजनाले विश्व शान्ति र विकास शक्ति प्रदान गरिएको छ । चीनले यो परियोजना मार्फत चीनको गरेको विकासको अनुभवलाई विश्वसँग साझेदारी गर्ने लक्ष्यलाई द्रूत गतिमा अगाडि बढाउने भनेको छ ।’

नेपालले सन् २०१७ मा बीआरआईसँग सम्झौता गरेको थियो । सम्झौता भएको ६ बर्षको बिचमा नेपालमा कुनै पनि परियोजनाका काम हुन सकेको छैन ।

सन् २०१९ मा बीआरआईको दोस्रो सम्मेलनमा नेपालको तर्फबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाएकी थिइन् ।

तेस्रो सम्मेलनमा नेपालको तर्फबाट कसले सहभागिता जनाउने भन्नेबारे नेपाल सरकार र पराराष्ट्र मन्त्रालयबाट कुनै खबर नआएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । चीनको तर्फबाट ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधार मन्त्रीलाई मात्र निम्तो दिइएको छ । नेपालबाट उपप्रधानमन्त्री स्तरबाट सहभागिता जनाउने भन्नेबारेमा तयारी भएको छ । त्यसका लागि हालसम्म मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सेप्टेम्बर महिनाको अन्तिम साता भएको चीन भ्रमणको क्रममा नेपालको तर्फबाट बीरआरआई परियोजनालाई अगाडि बढाउने सहमति भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप