आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हिँडडुलमा समस्या छ ? अल्जाइमरको लक्षण हुन सक्छ

मङ्गलबार, ३० असोज २०८०, १६ : ३२
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । हिँडडुल गर्न समस्या हुनु अल्जाइमरको शुरुवाती लक्षण हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । अक्टोबर ११ मा करेन्ट बायोलोजी नामक जर्नलमा छापिएको अध्ययन प्रतिवेदनअनुसार हिँडिरहँदा यता जाऊँ कि उता जाऊँ भएर खुट्टा दोधारमा रहनु अल्जाइमरको संकेत हो । आफू जान लागेको स्थानसम्मको दूरीबारे भेउ नहुने, हिँड्न कता पाइला टेक्नु पर्ने हो भनेर थाहा पाउन नसक्नेलगायत बाटोमा अलमलिरहने अवस्थालाई अनुसन्धानकर्ताहरूले अल्जाइमरको शुरुआती लक्षण बताएका छन् ।

हिँडाइमा समस्या देखिनु अल्जाइमरको संकेत हो कि होइन भनेर अध्ययन गर्ने क्रममा उनीहरूले स्वस्थ ज्येष्ठ नागरिकहरुको हिँडाइको तरिकालाई भर्चुअल रियालिटी मोडलबाट हेरेका थिए । यो भीआर मोडललाई नयाँ कुरा सम्झन, सिक्नमा समस्या भएका, एकोहोरिइने अनि दैनिक जीवनलाई प्रभावित पार्ने खालको निर्णय गर्नै समस्या अर्थात् माइल्ड कग्निटिभ इम्पेयरमेन्ट भएका मानिसहरूसँग तुलना गरिएको थियो । भीआर मोडलको नतिजालाई अध्ययनमा स्वस्थ युवायुवती र स्वस्थ वृद्ध वृद्धासँग पनि तुलना गरिएको थियो ।

माइल्ड कग्निटिभ इम्पेयरमेन्ट नभएका मानिसका तुलनामा सो समस्या भएकाहरूलाई आफ्नो अवस्थिति सही ढंगले मापन गर्न कठिनाइ भएको अनि उनीहरूले आफू कहाँ छु भनेर थाहा पाउन नसकेको भेटियो । म्यासाचुसेट्स जनरल अस्पतालको न्यूरो विभागको मेमोरी डिष्अर्डर युनिटका डाक्टर जोन डिकसनका अनुसार चाल समन्वय (पाथ इन्टिग्रेशन)ले व्यक्ति कहाँ छ र उ कसरी हिँडिरहेको छ (गति, दिशा) बारे थाहा पाउने संज्ञानात्मक क्षमता केलाउँछ । आफू कहाँ छु र अनि कहाँ जाने भन्ने प्रतिक्रिया जनाउन अनि आफ्नो अवस्थाबारे तालमेल मिलाउन गर्नु पर्ने हिसाब पनि यसमै आउँछ । अल्जाइमर्सले सुरुमा इन्टोराइनल कार्टेक्ससमेत मस्तिष्कभित्र पाथ इन्टिग्रेशनलाई हेर्ने मुख्य हिस्सालाई क्षति पुर्‍याउँछ ।

मस्तिष्कको यो हिस्सामा ग्रिड सेल भनिने विशेष कोष हुन्छन् । यो कोषले मानिसलाई आफू कहाँ कसरी बसेको छु भन्ने बुझ्न सघाउँछ । अल्जाइमर विकास हुँदै गर्दा ग्रिड सेलमा पनि क्षति पुग्छ । जसले गर्दा व्यक्तिको चालमा समस्या आउँछ । अल्जाइमर्सले इन्टोराइनल कार्टेक्सबाहेक प्यारिएटल लोबमा पनि क्षति पुर्‍याउँछ । अल्जाइमर्सको शुरुआती समयमा मस्तिष्कको कुन कुन हिस्सामा ठ्याक्कै असर गर्छ भनेर अनुसन्धान गर्न बाँकी नै भएको डिक्सन बताउँछन् । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप