सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
निबन्ध

हामी बुझक्कडहरू, हामी अबुझहरू

शनिबार, ०४ कात्तिक २०८०, १६ : ५२
शनिबार, ०४ कात्तिक २०८०

हामी धेरै नै बुझक्कडहरू । हामी अति नै अबुझहरू पनि । जान्ने, सुन्ने र धेरै बुझ्ने पनि हामी । केही नबुझेका पाखे, पछौटे पनि हामी ।

सम्बन्धहरूको सुमधुर दैनन्दिनले जीवन व्यतीत । जीवनमा कति सम्बन्धहरू हुन्छन् । कति असम्बन्धहरू हुन्छन् । कति भेट र विछोडहरू हुन्छन् । कतिसँग घनिष्ट सम्बन्धको सिलसिलाले बेग्लै मिठास दिन्छ । सम्बन्ध विच्छेदका घटनाले अप्रिय अवस्था आउँछ । 

जीवनको रीति, थिति, परिस्थिति, अवस्थिति कति–कति ! जीवनको मति, गति, बुद्धि, विवेक र विचार सबै अलग्ग–अलग्ग । फरक धर्म, लिङ्ग, जाति, क्षेत्र, भूगोलका मानिसबीच बोली र बुझाइमा फरक । अनि त्यहीँ जन्मिने रहेछ बुझक्कड र अबुझहरूको फरक परिभाषा ।

बुद्धिमानहरू यहीँ छन् । बुद्धिभ्रष्ट, मतिभ्रष्ट, दुष्ट र सज्जन, महाजन, धेरै जनहरू यतै छन् । प्रियजन, अप्रियजन, दुःखी र सुखीजन । 

नजान्ने, नबुझ्नेको कुरा छोडौँ । जान्ने, सुन्ने र बुझकीहरूकै बोलीको ठेगान छैन, कामको भाँती देखिन्न । तिनलाई पर्गेल्न र पगाल्न सकिन्न ।

तथापि अबुझहरूको समाजमा ऊ महा बुझक्कड हो । बुझक्कडहरूको समाजमा ऊ झन् महान् अबुझ हो । खासमा अबुझ जति ज्ञानी अरू कोही हुनै सक्दैन । बुझक्कड जस्तो अज्ञानी अरू कोही हुँदैन ।

परन्तु बुझ्नु जस्तो कठिन र सजिलो कुरा संसारमा अरू केही छैन । नबुझ्नु जस्तो कठिन र सजिलो कुरा पनि यो संसारमा अरू केही छैन । बुझक्कड र अबुझहरूको द्वन्द्व र द्वीविधा यहीँनिर हुन्छ ।

सामाजिक अभियन्ताहरू, अगुवा र पछौटेहरू । कतिसँग मीठो र नमीठो सम्बन्धका अनुभवहरू सँगाल्नुपर्छ । यी सँगसँगै कति बुझक्कडहरू समाजमा छन् । अबुझहरू पनि उत्तिकै भेटिन्छन् । बुझक्कड र अबुझहरूबाट गुज्रिदै जिन्दगी सुखद अनुभूतिहरूले विभोर हुने रहेछ । 

नहिँड्नेलाई हिँडाउन मुस्किल हुन्छ । नबोल्नेलाई बोलाउन कठिन हुन्छ । नखानेलाई खुवाउन सकिँदैन । नपढ्नेलाई पढ–पढ भनी पटक–पटक भनिरहनु पर्दैन । हिँड्दैन त किन हिँडाउनै प¥यो । बोल्दैन, खाँदैन, पढ्दैन, केही कामै गर्दैन भने किन त्यही नगर्नेमै जिद्धि गरिरहनु र ! 

हाम्रो स्वभाव जे नहुने कुरा त्यही गर्नुपर्छ । जहाँ जे नपाइने चीज त्यही चाहिन्छ । चाहिने कुरा गर्न आउँदैन । पाइने चीज चाहिँदैन ।

हुन्ज्याल त्यसको कुनै आवश्यकता ठानिन्न । जब हुँदैन, पाइँदैन तब त्यही कुराको खाँचो हुन्छ, महत्व बढ्छ । हामी धेरै बुझक्कड र थोरै अबुझहरूको पनि यही बानी ।

बुझक्कड र अबुझहरूको साथ र सङ्गतमा जीवनका आरोह–अवरोधहरू धेरै हुने रहेछ । कहिले उकालीका पीडाहरू । कहिले ओरालीका दुखाइहरू । विश्राम र बिसौनीका आरामले दिने आनन्दका आभासहरूको पाटो बेग्लै । घामको तातो रापले पसिना–पसिना हुँदै शीतल खोज्दै हिँडेको बाटोको कुरा अलग्गै । पानीको मुसलधारेमा भिजेर निथ्र्रुक्क हुँदै ओत लाग्ने ठाउँसम्म नपाएको सास्तीको कुरा बेग्लै । 

जीवनलाई केही गरे पनि हुँदैन । जसो गरे पनि, जे भए पनि चित्त बुझ्दैन । तातो भए पोल्छ । चिसो भए जाडो हुन्छ । घाम लागे पानी परे हुन्थ्यो भन्ने प्रार्थना । पानी दर्के घाम लागिदिए हुन्थ्यो भन्ने चाहना । तर समय कहिले पनि एकनासको हुँदैन । मौसम परिवर्तन भइरहन्छ । परिवर्तन त हुनुपर्छ ।

‘सुख’ भन्ने कुरा आफैँमा भर पर्ने रहेछ । ‘दुःख’ भन्ने कुरा समयले निर्धारण गर्दो रहेछ । 

‘प्राप्ति भन्नु’ सर्वोत्तम खुसीका कुराहरू रहेछन् । ‘पाएको हुनु’ सौगात–सौजन्य हुँदो रहेछ । ‘लिएको ठान्नु’ र ‘सन्तुष्टि मिलेको मान्नु’ साह्रै प्यारो कुरा हुने रहेछ ।

लिएर कोही ‘धनी’ होला र ! दिएर कोही ‘गरिब’ बन्ला र ! सेवाभावको पवित्र मानवीय कर्म हो यो । पूर्वीय मान्यतामा ‘दान लिनु’ र ‘दान दिनु’ दुवै ठूलो धर्म हो ।

कहिलेकाहीँ बुझक्कड र अबुझहरूको समाजमा प्यारो कुरा गर्नु भनेको जीवनकै सर्वाधिक खुसीको पल हो । यस्तो प्रिय, पे्रमिल कुरा गर्न पाउनु अहोभाग्य मानिन्छ, मान्नुपर्छ । 

सर्वाेत्तम खुसी सन्तुष्टि र आफूलाई रूचि धेरै के विषयमा छ, त्यसमै लागिरहँदा सफलताले शिखर चुम्न सकिन्छ । रूचिको विषयमा मन लाग्नुपर्छ । अभिरूचिको क्षेत्रमा मन लाग्न चाहन्छ ।

सफलता भेट्न आतुर हामी । खुसी र सुखका प्राप्तिमा मार्न, मर्न तत्पर हामी । दयामाया, करूणाले नेटो काटिसकेको बेला आफू मात्रै शिखर पुगौँ भन्ने एकलौटी सोँच हाम्रो ।

यही एकलकाँटे विचारले एक्लिँदै, विभाजित हुँदै, ‘विचरा’ कठै हामी । कतिसम्म बुझक्कड र अबुझहरू हामी । जान्दै नजाने पनि बुझ्दै नबुझे पनि धेरै ‘जानिफकार बुझक्कड’ हामी । तर ‘बुझेर’ पनि ‘अबुझ’ हामी नै ।

कुनै पनि काम, विधा, क्षेत्र, विषय नराम्रो हुँदैन । तर राम्रो हो भन्दैमा एकै व्यक्तिले धेरै क्षेत्रमा हात हाल्दा परिणाम राम्रो आउँदैन । अबुझहरू एकोहोरो हुनु त ठिकै हो तर बुझक्कडहरूसमेत अबुझ हुनु उचित होइन । यही कुराले नै फरक पार्छ । फरक कित्तामा विभाजन गर्दो रहेछ ।

कोहीलाई ‘केही भन्नै पर्दैन’, ‘बोल्न र बुझाउन पर्दैन’ । तिनले ‘आँ’ गर्दा ‘अलङ्कार’ बुझ्छन् । अनि बुझाउन थाल्छन् । बोल्दै, हाँस्दै उन्मुक्त मुस्कानले बिर्सिनसक्नु व्यवहार गर्छन् । 

आखिर जीवन भन्नु वस्तुतः यही मुस्कानसहितको बोली र व्यवहार नै त हो नि । रूखो बोली तीतो–टर्रो व्यवहार कसैलाई मन पर्दैन । अरूलाई मन नपर्ने व्यवहार किन गर्नु र ! अरूलाई चोट लाग्ने बोली, अरूको मन दुख्ने बोली किन बोल्नु र !

बोल्नु त बोल्नु ‘अमृतवाणी’ नै किन नबोल्नु ? हाँस्नु त हाँस्नु ‘मादक मुस्कान’ किन नपस्किनु ? हिँड्नु त हिँड्नु घर भित्र–बाहिरको मात्रै हिँडाइ होइन, हुँदैन । हिँडेपछि चारकोश पर, चारभञ्ज्याङ बाहिर किन नजानू । 

बोल्नु परे मीठो बोले केही विग्रिँदैन । नबोले पनि मुसक्क हाँसिदिँदा के खिइन्छ र । विग्रिँदैन, खिइदैन, लिनु–दिनु पनि केही पर्दैन भने किन टाढाको ठान्नु, किन पराइ मान्नु र ! नमाने भैगो । हाँसो साटौँ । दुःख बाँडौँ । खुसीलाई बराबर भागवण्डा लगाऔँ । कित्ताकाट गरेर सिमानाले छेकाबार लगाएर किन टाढिनु ? बुझक्कड र अबुझ किन हुनु ? 

सबै आफन्त हामी । मित्र–मिजास एउटा अभिन्न सम्बन्धको बिहान । एकाघरका एकै परिवार, सबैजना सुमधुर मिलनमा एकाकार । 

यद्यपि जिन्दगी मात्तिन, पात्तिन र आत्तिनका लागि होइन । जिन्दगी ठुस्किन, फुर्किन, तर्किनका लागि पनि होइन । चञ्चलता, उच्छृङ्खता र चरित्रहीनता होइन । सबल, सक्षम, सुयोग्य एउटा अनुपम जीवन सिलसिला ।

अलिकति जीवन सोँच्नका लागि रमाइलो । अलिकति बोल्न, बुझ्न र घुम्नका लागि रमाइलो । अलिकति जीवन सम्झन–बिर्सनका लागि पनि रमाइलो । 

बाँचुन्ज्यालको साथ, सहयोग, सम्झना र मरेपछि श्रद्धाञ्जली रहेछ जिन्दगी । त्यही श्रद्धाञ्जलीमा श्रद्धाका दुई थोपा आँसु, एक थुँगा फूल रहेछ जिन्दगी । यस्तोमा कहाँ हाँस्न सक्नु ! कहाँ रमाउन पाउनु ! 

अफसोस, अपठ्यारो भीरमा फलेको फर्सीजस्तो जीवन । बाढीले बगाएको बस्ती जस्तो । बसाइँ गएको गाउँघर जस्तो शून्य–शून्य । उराठ मरूभूमि जस्तो एकनाशको बलौटे संसार । सुक्खा खडेरीले ग्रस्त जमिन जस्तो धाँजा फाटेर चिरा परेको भूमि ।

तथापि हिजोआज मानिसमा अहम्को मात्रा अधिक हुँदै गइरहेछ क्रमशः । स्वार्थको जालोले बेह्रिँदै गइरहेछन् मानिसका मनहरू क्रमशः । मर्दै, मूर्छा पर्दै संवेदनशील मनहरू । बुझक्कड र अबुझहरूको कति ठूलो गहिरो खाडल ।

बुझेर धेरै तर व्यवहारमा प्रयोग थोरै केही राम्रो होइन, हुँदैन । बुझे जति काम, बुझे जस्तो काम, बुझेकै काम साह्रै असल काम ! पढेर, घुमेर, सुनेर, देखेर, भोगेर बुझेको समाज र संसार । बुझ्नेका लागि पृथक परिवेश हो । एउटा अलग्ग भू–स्वर्ग नेपाल । 

घुमघामले कति ज्ञान ? पठनपाठनले कति आत्मज्ञान ? अरूका कुरा सुनेर झन् कति ज्ञान ? आफैँले अनुभव गरेर पाएको ‘ज्ञान’ अझ कति ? जसले जीवन बन्छ ‘शान’ को ‘ईज्जत’ को र ‘इमान–जमान’ को । 

ज्ञानको प्राप्ति जता र जहाँ पनि हुन्छ । केवल ग्रहण गर्न सक्ने क्षमता चाहिन्छ । ज्ञानले जीवन बन्छ । मानिस चिनिन्छ । कति चाहिँ ज्ञानका दरिद्र तर धनका कुवेर हुन्छन् । कति ज्ञानका कुवेर तर धनका पिलन्धर हुन्छन् ।

वास्तवमा ज्ञान भन्ने कुरा जहाँ पनि, जता पनि, जो बाट, जसरी पनि मिल्छ । परन्तु, त्यसलाई ग्रहण गर्ने मानसिकता हुनुपर्छ । बुझक्कड स्वभाव हुनुपर्छ । बुझ्ने मन र चाहना चाहिन्छ ।

यी कुरामा हामी अबुझ हुन सुहाउँदैन । यसमा बुझक्कड हुनु भन्ने कुरा अहम् मान्न सकिँँदैन । परिस्थितिअनुसार चल्नुपर्ने हुन्छ ।

आखिर यी सबै उल्लिखित कुरा कुनै नौलो ‘दर्शन’ होइन । यो ‘प्रवचन’ पनि होइन । यो उपदेश, सन्देश, सूचना केही होइन । मात्र जीवन भोगाइको एकपल, एक मृगतृष्णा, एक सपना, एक विपना । अनुभवहरूको अभिव्यक्ति, एक उद्गार, एक उच्छ्वास, एक अभिलेख । मात्र विभेदको खाडल पुर्नुपर्छ । अन्तरको द्वन्द्व मेटाउनुपर्छ । आपसी हितमा हातेमालो गर्नुपर्छ ।

वास्तवमा जसले बुझेको छैन, उसले बुझ्न चाहन्छ । उसलाई बुझाउन सकिन्छ । बुझाउन पनि सजिलो हुन्छ । तर जसले बुझेको छ, उसले बुझ्न चाहँदैन । बुझे पनि उसले बुझ पचाउँछ । नबुझेको बहाना गर्छ । र, उसले पटक–पटक नबुझेको अभिनय गर्छ । 

अन्ततः उसलाई केही गरेर पनि बुझाउनै सकिँदैन । सम्झाएर, बुझाएर, फकाएर, फुल्याएर कुनै उपायले पनि ऊ बुझक्कड बन्दैन । अबुझ नै रहन्छ । हैरान पार्छ, कायल गर्छ ।

वास्तवमा यस्ता व्यक्तिले बुझेको हुन्छ । अनावश्यक कुरा गर्न, धाराप्रवाह प्रवचनमा ऊ यति विज्ञ, यति जानिफकार हुन्छ कि पत्याउनै सकिन्न ।

‘बाघको बङ्गारामा हुन्छ रे धनसम्पत्ति र सुख ।’ भीरमौरीको मह काड्ने ज्यान नियालौँ । कहालीलाग्दो चट्टानमा डोरीको भरमा मह काड्छन् । त्यसलाई पाउन मरिहत्ते ज्यानै जोखिममा राखेर लाग्नुपर्छ । 

भनिन्छ, पाउनका लागि केही गुमाउनुपर्छ । ‘मौकामा हीरा फोर्नुपर्छ’ । पाउनका लागि ‘शत्रुको पनि पाउ मोल्नुपर्छ ।’ त्यस्तै ‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउमै पहिरो छ ।’ भने जस्तै त्यस्तै हो बुझक्कड र अबुझबीचको फरक । मूलतः बुझ्नु मात्र पर्याप्त हुँदैन । 

भनाइ नै छ– ‘केवल जान्नु मात्र पर्याप्त हुन्न । त्यसलाई प्रयोगमा पनि ल्याउन सक्नुपर्छ ।’ 

वास्तवमा आफूलाई बुझक्कड मात्रै मान्नु भएन । आफूलाई अबुझ मात्रै पनि ठान्नु भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप