शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो कच्चा तेलको भाउ

बुधबार, १५ कात्तिक २०८०, १६ : २७
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । बुधवार कच्चा तेलको भाउ बढेको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडल रिजर्भ समेत विश्वका ठुला केन्द्रीय बैंकका नीतिगत बैठकको नतिजाको पर्खाइमा रहँदा एसियाली बजारमा तेलको भाउ बढेको हो । इजरायल–हमासबीच जारी द्वन्द्व कतातिर जाला भन्ने भयले पनि बजारलाई टेवा दिएको विश्लेषण गरिएको छ ।

लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा जनवरी डेलिभरीको ब्रेन्ट क्रुड फयूचर्सको भाउ बुधवार प्रतिब्यारेल शून्य  दशमलव ८ प्रतिशतले बढेर ८५ डलर ६८ सेन्टमा उक्लिएको थियो । अघिल्लो दिनको कारोबारमा अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १ प्रतिशतभन्दा धेरैले घटेको थियो । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ शून्य दशमलव ६ प्रतिशतले बढेर प्रतिब्यारेल ८१ डलर ५४ सेन्टमा उक्लिएको थियो । अघिल्लो दिनको कारोबारमा डब्ल्यूटीआई १ दशमलव ६ प्रतिशतले घटेको थियो ।

फेडको ब्याजदर निर्धारण समितिको माइन्यूट्स जारी हुनु अघि बुधवार तेल बजार हरियालीमा छ । अमेरिकामा तेलको उत्पादन कीर्तिमानी स्तरमा रहेको भएपनि मध्यपूर्वको भूराजनीतिक जोखिमले सोको असरलाई उल्ट्याइरहेको छ । गएको हप्ता अमेरिकामा कच्चा तेलको इन्भेन्टरी १३ लाख ब्यारेलले बढेको तथ्यांक आएको छ । फेडले महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाइरहेको छ । यो वर्ष सकिनु अघि अर्को एक पटक पनि ब्याजदर बढ्ने अनुमान अहिले तीव्र बनेको छ । ब्याजदर बढेमा आर्थिक वृद्धिदर सुस्ताउने छ भने तेलको माग घट्नेछ । बुधवार सकिने नीतिगत बैठकमा फेडले ब्याजदर यथावत् राख्ने अपेक्षा गरिएको छ ।

सेप्टेम्बरमा यूरोजोनमा महँगी घटेर २ वर्षयताकै न्यून स्तरमा आएको छ । यस्तोमा यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले छिटै ब्याजदर बढाउने सम्भावना नभएको विश्लेषण गर्न लागिएको छ । बेलायतमा पनि बैंक अफ इंगल्यान्डको नीतिगत बैठक बिहीबार बस्दै छ । विश्वको सबैभन्दा ठुलो तेल आयातकर्ता चीनमा कारखाना गतिविधि सुस्ताएको तथ्याङ्कले एकातिर त्यहाँको आर्थिक पुनःबहालीबारे प्रश्न उब्जाइरहेको छ भने अर्कोतिर तेलको आयात घट्ने चिन्ता बढाएको छ । आगामी वर्षको जुन सम्ममा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल सय डलरमा पुग्न सक्ने अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्सका विश्लेषकहरूको अनुमान छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप