आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
तस्करीको जालो

गन्तव्य युरोप, भिजिट भिसामार्फत दुबई

बुधबार, २२ कात्तिक २०८०, ०६ : २९
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । दाङका प्रमोद थारू (नाम परिवर्तन) दुबई पुगे । नेपालबाट पर्यटक (भिजिट) भिसामार्फत उनी दुबई पुगेका थिए । उनी दुबई जानुको उद्देश्य भने पोर्चुगल पुग्ने योजना अन्तर्गत थियो ।

प्रमोदका एक जना आफन्त वैदेशिक रोजगारीका लागि विगत ५ वर्षदेखि दुबईमै छन् । ती आफन्त मार्फत नै उनी भिजिट भिसामा दुबई पुगेका थिए । उनलाई त्यहाँ जाँदा ६ महिना जति दुबईमै काम गर्नुपर्छ, अनि पोर्चुगल जान सकिन्छ भनिएको थियो ।

प्रमोद १ वर्ष बितिसक्दा पनि पोर्चुगल जान सकेनन् । त्यसका लागि प्रमोदले ती आफन्तलाई नेपालबाटै ५ लाख नगद बुझाएका थिए । दुबई पुगेपछि थप ३ लाख जति उनलाई तिरे । तर, उनले न पोर्चुगल पठाउन सके । न त दिएको ८ लाख रूपैयाँ फिर्ता गरे ।

पोर्चुगल जाने सपना पूरा नहुने भएपछि केही समय अगाडि मात्रै प्रमोद नेपाल फर्किएका छन् । उनले वैदेशिक रोजगार विभाग मार्फत ती आफन्तविरुद्ध उजुरी हालेका छन् ।

भिटिज भिसाको नाममा दुबई केन्द्र बनाएर युरोप तथा अन्य मुलुक पठाउने गिरोह सक्रिय छन् । उनीहरूको प्रलोभनमा परेर ठगिने क्रम पनि निरन्तर बढ्दो छ । त्यसमा पनि धेरैजसो महिलाहरू छन् ।

झापा दमकका हरि शर्मा (नाम परिवर्तन) दुबई पुगेको डेढ वर्ष पूरा भयो । उनलाई एक जना गाउँकै दाइले भिजिट भिसामार्फत दुबई बोलाएका थिए । क्यानडा सजिलै जान सकिने सपना देखाएर उनलाई दुबई बोलाइएको थियो । तर, लामो समयसम्म पनि उनी क्यानडा जान सकेनन् । त्यसपछि उनी नेपाल फर्किए । त्यो बेलासम्म उनले झण्डै १० लाख रूपैयाँ खर्च गरिसकेका थिए ।

यसरी भिटिज भिसाको नाममा दुबई केन्द्र बनाएर युरोप तथा अन्य मुलुक पठाउने गिरोह सक्रिय छन् । उनीहरूको प्रलोभनमा परेर ठगिने क्रम पनि निरन्तर बढ्दो छ । त्यसमा पनि धेरैजसो महिलाहरू छन् ।

उनीहरूलाई दुबईसम्म भिजिट भिसामार्फत लैजाने र त्यहाँबाट ओमान, कुवेत, बहराइन लगायतका मुलुकमा पठाउने गरेको देखिन्छ ।

मेनपावर व्यवसायीहरूले भिजिट भिसा पूर्ण रूपमा बन्द गर्नुपर्ने बताउँदै आएका छन् । खाडी मुलुकमा भिजिट भिसामार्फत जान पाइँदैन । जसले गर्दा विकल्पको रूपमा दुबईलाई केन्द्र बनाउने गरेको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुञ्छा दोर्जे डिम्दोङ्गले बताए ।

कसरी हुन्छ भिजिट भिसाको सेटिङ ?

अहिले प्रायः गाउँघरसम्म नै मेनपावर व्यवसायीका एजेन्ट छन् । उनीहरूले एकातिर मेनपावर कम्पनीका लागि काम गर्छन् भने अर्कोतिर सम्बन्धित देशमा रहेका एजेन्टहरूसँग उनीहरूको सिधा सम्पर्क हुन्छ । त्यही आधारमा उनीहरूले अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा युरोपको सपना देखाउँछन् ।

महासचिव डिम्दोङ्गका अनुसार त्यही आधारमा भिजिट भिसामार्फत दुबई जान सजिलो भएको हो । दुबईमा तीन देखि ६ महिनासम्म लुकेर काम गर्नुपर्ने बताउने र त्यसपछि अर्को देश जान सकिने भन्दै प्रलोभनमा पार्ने गरेको उनको भनाइ छ ।

‘महिलाहरूलाई दुबईसम्म भिजिट भिसामा लैजान्छन् । अनि त्यहाँ धेरै समय एउटै बन्द कोठामा राख्छन् । त्यहाँबाट मोलमोलाई गरेर, जिउडाल हेरेर घरेलु श्रमिकको लागि लैजान्छन् । त्यसका लागि दलालहरूले पहिला नै पैसा लिइसकेका हुन्छन्,’

वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल) का अध्यक्ष इन्द्रलाल गोलेले दुबईबाट केही अपवादको रूपमा मात्र अर्को देश जाने गरेको बताए ।

‘नेपालका गाउँ गाउँमा दलालहरू छन् । उता दुबईमा समेत नेपाली दलाल नै छन् । उनीहरू दुवै मिलेर मान्छे लैजान्छन्,’ गोलेले भने, ‘दुबई पु¥याएर अलपत्र पारिदिन्छन् । भिजिट भिसामा गएको मान्छेले काम गर्न पाउँदैन । लामो समयसम्म त्यत्तिकै तड्पाएर राख्छन् । उनीहरूबाट १० औँ लाख लिन्छन् । अनि सम्पर्कविहीन हुन्छन् ।’

पुरूषहरूलाई यूरोप तथा क्यानडा, अमेरिका लगायतका मुलुकको सपना देखाउने गरेको उनको भनाइ छ । महिलाहरूको हकमा फरक रहेको उनले बताए ।

‘महिलाहरूलाई दुबईसम्म भिजिट भिसामा लैजान्छन् । अनि त्यहाँ धेरै समय एउटै बन्द कोठामा राख्छन् । त्यहाँबाट मोलमोलाई गरेर, जिउडाल हेरेर घरेलु श्रमिकको लागि लैजान्छन् । त्यसका लागि दलालहरूले पहिला नै पैसा लिइसकेका हुन्छन्,’ गोलेले भने ।

त्यसरी जानेहरूलाई परिबन्दमा पार्ने र लाखौँको डिमाण्ड गर्ने गरेको गोलेको भनाइ छ । केही राम्रो हुन्छ कि भन्ने आशमा ऋण निकालेरै भएपछि मानिसले जति भने पनि तिर्न तयार हुने गरेको उनले बताए ।

मञ्चका महासचिव डिम्दोङ्गले भिजिट भिसालाई कडाइ गर्नका लागि सरकारलाई पटकपटक आग्रह गर्दै आएको बताए । तर पनि सेटिङको आधारमा दैनिक १०० जनाभन्दा बढी भिजिट भिसामा खाडी मुलुकतिर जाने गरेको उनको भनाइ छ ।

‘एयरपोर्टमै सेटिङ हुन्छ । नत्र खाडी मुलुकमा नै कसरी जान्छन् ? दलालहरूले सबै सेटिङ मिलाइसकेका हुन्छन् । त्यही आधारमा उनीहरू बिना रोकटोक गइरहेका छन्,’ डिम्दोङ्गले भने ।

नेपालबाट ट्राभल एजेन्सी र कन्सल्टेन्सीहरूमार्फत भिजिट भिसामा जाने क्रम बढेको डिम्दोङ्गले बताए ।

कतिलाई फर्काइयो ?

भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि जाने क्रम बढेपछि गत वर्षदेखि प्रहरीले विमानस्थलमा निगरानी बढाएको थियो । मानव बेचबिखन अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ हजारभन्दा बढीलाई फर्काइसकेको छ ।

ब्यूरोको तथ्याङ्क अनुसार २०७९ को वैशाख १ गतेदेखि हालसम्म भिजिट भिसामार्फत विदेश जान लागेका ६ हजार ६३७ जनालाई विमानस्थलबाट फर्काइएको छ । जसमा ३४ जना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका थिए । हाल ब्यूरोले विमानस्थलबाट ड्युटी छाडेको छ ।

ब्यूरोले ड्युटी छाडेसँगै विमानस्थल प्रहरीले नै उक्त कार्य गर्दै आएको छ ।

Photo 1

ब्यूरोका प्रवक्ता एसपी कृष्ण प्रसाद पंगेनीले गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै ४ हजार ४७९ जनालाई विमानस्थलबाट फर्काएको बताए ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५-०७६ देखि हालसम्म ८६९ मुद्दा दर्ता भएका छन् । प्रहरीले यस्तो अवस्थामा मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गर्ने गरेको छ । जसमा सबैभन्दा बढी महिला पीडित देखिएका छन् । ती मुद्दामा १ हजार १४२ जना महिला र १२८ जना पुरूष पीडित देखिएका छन् भने १ हजार ८६७ जनालाई अभियुक्त बनाइएको छ । जसमा १ हजार ३३२ जना पुरूष छन् ।

ब्यूरोले मात्र ५ वर्षको अवधिमा २२७ मुद्दा दर्ता गरेको छ । जसमा ३१४ जना पीडित देखिएका छन् भने ७५२ जना अभियुक्त छन् ।

प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा नेपालभरका प्रहरीले १ हजार २८६ जनाको उद्धार गरेको छ । ब्यूरोले मात्र ६०९ जनाको उद्धार गरेको छ ।

photo 2

त्यसरी भिजिट भिसामार्फत खाडी मुलुकहरू दुबई, ओमान, कतार, कुवेत, बहराईन लगायतका देशमा बढी जाने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै अमेरिकी मुलुक ब्राजिल, घाना, टर्की, माल्दोभा लगायतमा भिजिट भिसामार्फत बढी जाने गरेको देखिएको छ ।

त्यस्तै यूरोपको हकमा अजरबैजान, सर्बिया, पोर्चुगल, टर्की, साईप्रस, रुस, बेलारूस, उज्वेकिस्तान लगायतका मुलुकमा बढी जाने गरेको देखिएको एसपी पंगेनीले बताए ।

त्यस्तै भियतनाम, थाईल्याण्ड, लाओस्, म्यानमार, कम्बोडिया, सिंगापुर, सुडान, इजिप्ट, मौरिसस लगायतका मुलुकमा समेत भिजिट भिसामार्फत जाने गरेको देखिएको छ ।

नक्कली कागजात बनाउने गिरोह सक्रिय  

भिजिट भिसामार्फत विदेश जान आवश्यक पर्ने नक्कली कागजात बनाउने गिरोह पनि उत्तिकै सक्रिय देखिएको छ । उक्त कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेपछि भिजिट भिसामार्फत विदेश जान नक्कली कागजात बनाउने गिरोहको पर्दाफास भएको हो ।

भिजिट भिसामा विदेश पठाउँछु’ भनेर नक्कली कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीले छापा मारेको थियो । टोखा र स्वम्भूमा सञ्चालित कारखानामा उपत्यका अपराध अनुसन्धान कार्यालयले कात्तिक १९ गते छापा मारेर १३ जनालाई पक्राउ गरेको थियो ।

सुरूमा ९ जना पक्राउ गरेको प्रहरीले पछि थप ४ जना कन्सल्टेन्सी सञ्चालकलाई समेत पक्राउ गरेको थियो । त्यसरी पक्राउ पर्ने सञ्चालकहरूमा एसिई कन्सल्टेन्सी संचालक अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका संचालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका संचालक पशुपति मैनाली, एस. टु अबरोड कन्सल्टेन्सीका संचालक सागर चापागाईं रहेका छन् ।

सल्यानका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेका थिए । त्यस्तै स्वयम्भुमा दीपक केसीले प्लस टुको नक्कली कागजात बनाउने कारखाना सञ्चालन गरेको कार्यालयका एसपी रबीन्द्र रेग्मीले बताए ।

गिरोहले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लस टु को सर्टिफिकेट र नाता प्रमाणित समेत किर्ते बनाउन गरेको पाइएको थियो । नवलपुरका जयराम श्रेष्ठले भिजिट भिसामा विदेश जान चाहने ग्राहक खोजेर नक्कली कागजात तयार गर्न दीपक र बलबहादुरकहाँ लैजाने गरेको देखिएको प्रहरीले बताएको छ ।

कीर्ते कागजात बनाएवापत गिरोहले प्रतिव्यक्ति ५० हजारसम्म लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप