सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रा संस्मरण : बेलायत भ्रमण गर्दा नेपालको अनुभूति

आइतबार, ०३ मङ्सिर २०८०, १६ : ०४
आइतबार, ०३ मङ्सिर २०८०

संसारको विकसित देशमध्ये एक हो– बेलायत । १८औँ शताब्दीको मध्यतिर बेलायतमा भएको औद्योगिक क्रान्ति नै आधुनिक औद्योगिक विश्व विकासको प्रारम्भिक चरण हो । दोस्रो विश्वयुद्धभन्दा अघि संसारको सुपर पावरका रूपमा रहेको बेलायती साम्राज्यले पृथ्वीको २५ प्रतिशत भूभाग कब्जा गरेको थियो । 

दोस्रो विश्वयुद्धपछि सुपर पावरको हैसियत बेलायतले गुमाए पनि बेलायतको वैश्विक राजनीतिक प्रभाव अहिले पनि शक्तिशाली मानिन्छ । प्रजातन्त्रको जन्मदाता रहेको बेलायत भौतिक विकासका लागि मात्र हैन, विकासको मानक मानिएको हरेक क्षेत्रमा उत्तिकै सबल र सक्षम रहेको देख्न सकिन्छ । ग्लोबल सिटीको एउटा प्रमुख स्थल लन्डन र बेलायत घुम्ने क्रममा गरेको छोटो अनुभवलाई यहाँ प्रस्तुत गरेको छु ।

हानेदा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल तीनको भिडलाई छिचोल्दै बोर्डिङ पास लिएदेखि नै हामी उत्साहित भइसकेका थियौँ । चेकइन कउन्टरको औपचारिकता सकेर झन्डै एक घण्टाको प्रतीक्षापछि हामी विमानतर्फ लाग्यौँ । घण्टौँको लामो उडानपछि बेलायतको मुटुमा रहेको लन्डनको हिथ्रो विमानस्थलमा निर्धारित समयभन्दा करिब १५ मिनेट डिलेसहित सकुशल अवतरण ग¥यौँ । 

झ्यालबाट बाहिरको दृश्य नियाले । नेपालको पुस माघ जस्तै धुम्म कुहिरो लागेको थियो । हल्का सिमसिम पानी परिरहेको थियो । जापानभन्दा जाडो भएको अनुमान गरेँ ।  जापानमा अहिले पनि गर्मीले रेकर्ड बनाउला जस्तो गरेर सताउँछ त्यस्तै सम्झेर हाप पाइन्ट र टिसर्टबाहेक अरू कपडा बोकेको थिइनँ । बाहिर निस्केपछि साँच्चै जाडोको महसुस भयो । समय मिल्नासाथ एउटा ज्याकेट लिने सोच बनाएँ । हामीलाई बाहिर प्रकाश दाइले पर्खिरहनुभएको थियो । बेलाबेला उहाँसँग म्यासेन्जरमा च्याट गरिरहेको थिएँ । 

इमिग्रेसन हलमा मान्छेको भिड र लाइन थाम्न नसकिने खालको थियो । त्यो कटाउन दुई घण्टाभन्दा बढी कुर्न प¥यो । लाइनमा सबै रङ र रूपका यात्रुहरू थिए । चीन र भारतीयको सङ्ख्या अलि बढी थियो । चिनियाँहरूले यात्राका क्रममा कैयौँ पटक हामीलाई चिनियाँ सम्झेर चाइनिज भाषामा कुरा गर्थे । हामी अक्क न बक्क भएपछि फेरि अङ्ग्रेजीमा कुरा गर्थे । लाइन बसेर हामी थकित भइसकेका थियौँ । त्यतिकैमा हाम्रो लाइन पनि इमिग्रेसन अफिसरको अगाडि पुगिसकेछ । 

हाम्रो अगाडि इमिग्रेसन अफिसरले यात्रुहरूलाई विभिन्न खाले प्रश्नहरू सोधेर ¥याख ¥याख्ती पारेको देखिन्थ्यो । हाम्रो पालो आयो । इमिग्रेसन सर्भिस टिमको मान्छेले ३३ नम्बरमा जान सङ्केत गरे । मनमा के के सोध्लान् भन्ने लागिरहेको थियो । तर धेरै सोधेनन् । किन आएको ? कति दिन घुम्ने ? भनेर सोधे । सरल उत्तर दिएँ । त्यसपछि इमिग्रेसन प्रक्रिया सकेर हामी ब्यागेज भएको ठाउँतिर लाग्यौँ । 

IMG_0301

वैध र अवैध बाटो हुँदै बेलायत आएर यही नक्कली शरण खोज्नेहरूको सङ्ख्या धेरै भएपछि यहाँको सरकारले यहाँ आउने प्रत्येक यात्रुहरूलाई कडा निगरानी र सोधपुछ गर्दोरहेछ । प्रत्येक वर्ष अवैधानिक बाटो हुँदै बेलायत आउने आप्रवासीहरूको सङ्ख्या धेरै नै रहेछ । केही वर्षअगाडि मात्र यसरी नै ट्रकमा लुकेर आउँदा ३९ जना आप्रावसीहरूको ट्रकमा नै निधन भएको खबरले धेरैलाई निराश बनाएको थियो । 

एक्जिट भएपछि प्रकाश दाइसँग भेट भयो । हामी गफिँदै रेडिङतर्फ लाग्यौँ । हामी पुग्दा करिब रातको ११ बज्न लागिसकेको थियो । घरमा पुग्दा छम (भाउजू) हाम्रो प्रतीक्षामा हुनुहुँदो रहेछ उहाँसँग दर्शनभेट ग¥यौँ । ठूलोबुवाहरू (पप्छे र मम्छे) सुतिसक्नुभएको रहेछ । त्यसपछि केही पारिवारिक गफसहित हामीले खाना खायौँ र भोलिपल्ट घुम्न जाने लोकेसनहरू तयार गरेर सुत्यौँ ।

रेडिङदेखि डर्डुल डुअर

बिहान सबेरै उठेँ । सुतिरहेको कोठाको झ्याल खोलेँ, बाहिर कुहिरोले छपक्क छोपेको थियो । जाडो जस्तो मौसम लाग्यो । मनमनै यो कुहिरो हटेर चट्ट आकाश खुलिदिए पनि हुने भन्ने सोचेँ अनि मुख धुन बाथरुमतिर लागेँ । त्यति बेलासम्म मम्छेले (बडीआमा) बिहानको खाजा र चिया तयार पारिसक्नुभएको रहेछ । 

पप्छे र मम्छेसँग गत वर्ष नेपालमा भेटेको थियौँ । उहाँहरू हामीलाई बधाई दिनका लागि आउनुभएको थियो । भेटघाट भएको ठ्याक्कै एक वर्ष भएछ तर त्यतिबेला बसेर लामो गफ गर्ने समय थिएन । हामी घरको कार्जे सकाउने हतारमा थियौँ । उहाँहरू पनि फर्किने हतारमा हुनुहुन्थ्यो । बिहान चिया र खाजासँगै गफिन थाल्यौँ । जिच्छेन र युडेन नयाँ मान्छे देखेर अनौठो मान्दै थिए । दुवै जना शान्त र ज्ञानी थिए । जिच्छेन प्रस्टसँग सबै कुरा बुझ्न र बहिनी युडेनको पूरा ख्याल गर्न सक्ने रहेछ । छिरिङ छम र प्रकाश दाइ चाँडै निस्किनका लागि हतार गर्दै चिया र खाजा लिइरहनु भएको थियो । हामीले पनि लय मिलायौँ । 

त्यस दिनको हाम्रो यात्रा थियो डर्डुल डुअर । रेडिङबाट सभा दुई घण्टा हुइँकिएपछि गन्तव्यमा पुग्यौँ । जापानमा देखिरहेको दृश्यभन्दा विल्कुल फरक स्वाद आँखाले लिइरहेको थियो । खुला खर्कमा भेडा, घोडा र गोरुले चरन भरिरहेको दृश्यले घरि घरि नेपालकै जस्तो अनुभूति हुन्थ्यो । घरहरूको बनावट र अरू संरचना पनि फरक देखिन्थ्यो । कहीँ कतै नेपालको जस्तो अग्ला पहाडको बनवट र रङरोगन एकै प्रकारको हुँदा रहेछन् । गाउँबस्ती पातालो थियो । यसरी हामी वारेहामस्थित डर्डुल डुअरको हिल स्टेसनमा पुग्यौँ । त्यहाँबाट देखिने दृश्य साँच्चिकै मनमहोक थियो । एक टकले अडिएर आँखाले भ्याइन्जेल हेरेँ । गज्जबको भौगलिक बनावट रहेछ । छमले यहाँबाट अझै १५ मिनेट जति ओरालो झर्नुपर्छ भन्नु भयो । त्यसपछि हामी हिँडेर डर्डुल डुअरको ठ्याक्कै भ्युपइन्टमा पुग्यौँ । मन पर्ने पोजमा फोटोहरू खिच्यौँ, दशौँ हजार वर्ष पहिले प्राकृतिक रूपमा डर्डुल डुअर बनेको रहेछ । यो ढुङ्गाको बनावट संसारमा प्रख्यात रहेछ । सबै प्रकारको पर्यटकलाई यसले आकर्षित गर्दाेरहेछ । फोटोग्राफी क्याम्पेनिङ रक पुलिङ र यहाँबाट देखिने आश्चर्य चकित दृश्यका लागि यो ठाउँ लोकप्रिय रहेछ ।

बेलायत घुमाइको क्रममा बुद्धिस्ट कम्युनिटी सेन्टर युकेको सचिव रिन्जी लामासंग विन्जार्ड क्यास्टल र बेलायतमा नेपाली समुदायद्वारा निर्मित टाशी दोंगक छोलिंग गुम्बा घुम्ने अवसर प्राप्त भयो ।  रेडिङबाट ४० मिनेटजति ड्राइभ गरे पछि विन्जार्ड पुगिने रहेछ ।

विन्जार्ड वरपर घुम्ने क्रममा एउटा सानो घर जुन कोल्टो परेको भत्किन लागेको जस्तो तर सफा चट थियो । दुईतलाको सानो घर माथिल्लो तलामा पब र तलचाहिँ कफी पसल थियो । त्यो घरको मूल ढोका भन्दामाथि घर बनेको मिति रहेछ (१७१८ ) ३०५ वर्ष भन्दा पुरानो घर भए पछि भत्किनै लागेको जस्तो देखिनु अस्वाभाविक लागेन ।

 हामीले त्यही घरको पहिलो तलामा बसेर कफी पिएर छोटो समय बितायौँ । बेलायतमा पब कल्चर जताततै रहेछ । ग्रामीण जीवनदेखि सहरी जीवनसम्म पबमा सफ्ट ड्रिकसदेखि हार्ड ड्रिकंसको भेराइटी पाइने रहेछ ।  पब हुने घरको संरचनाचाहिँ पुरानो शैलीको हुँदो रहेछ झन्डै काठमाडौँको गल्लीमा पाइने मदिरा भट्टीजस्तै । नेपालमा चिया पसलमा जम्मा भएर आफ्नो रुचि अनुसारको गफ पिटे जस्तै यहाँ पनि युवाहरू पबमा आफ्नो रुचिको विषयमा गफिँदै मस्त हुँदो रहेछ । त्यति बेलासम्म विन्जर्ड क्यास्टलको खुल्ने समय भइसकेको थियो । त्यस पछि हामी क्यास्टलको प्रवेशद्वारतिर प्रवेश गर्‍यौँ । ११औँ शताब्दीमा राजा विलियमद्वारा स्थापित यस दरबारलाई ४० शाही परिवारले प्रयोग गरेको रहेछ ।

अहिले पनि बेलायती राजपरिवार यसको प्रयोग गर्दा रहेछन् । वर्षमा केही महिना आम सर्वसाधारण र पर्यटकका लागि सशुल्क खुल्ला गरिँदो रहेछ । दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरू भिजिट गर्दा यसको आम्दानीको ब्यारोमिटर पनि अग्लो हुने कुरा रिन्जी दाइले सुनाउनु भयो ।  संसारको सबै भन्दा पुरानो र क्षेत्रफलको हिसाबले दोस्रा ठुलो महल रहेछ ।  क्यास्टलको बाहिरबाट यसको भव्यताको आङ्कलन गर्न जति सकिन्छ त्यो भन्दा भव्यभित्र रहेछ । 

क्यास्टलको भ्रमण र अवलोकनपछि हामी टाशी दोंगक छोलिंग गुम्बातिर लाग्यौँ । गुम्बाको पार्किङमा पुगेर हाम्रो गाडी रोकियो ।  त्यो दिन मौसम चिसो चिसो पानी पर्न लागिरहेको थियो । हामी जुत्ता खोलेर गुम्बाको दर्शन गर्न भित्र प्रवेश गयौँ ।  रिन्जी दाइले गुम्बाभित्र बन्दै गरेको नयाँ संरचनाको बारेमा जानकारी दिनुभयो ।  किचेनमा केही दिदीबहिनीहरू मेसको काम गरिरहनु भएको थियो ।  हामी पूजा कोठामा गयौँ ।  लामा गुरुहरु भर्खर पूजा सकेर उठ्नु भएको रहेछ । रिन्जी दाइले हामीलाई जापानबाट आएको पाहुना र शेर्पा संघ जापानको निबर्तमान अध्यक्षको रूपमा त्यहाँका लामा गुरुहरूसँग परिचय गराइदिनु भयो । 

 गुम्बामा नियमित लामा, खेन्पो र रिन्पोछे रहने र पूजा पाठ हुँदाे रहेछ दर्शनपछि हामीसँग भएका केही सिक्काहरू दान गर्ने बक्समा चढायौँ गुम्बाको भित्रि भाग ब्यबस्थापन राम्रो रहेछ । नेपालकै कुनै गुम्बामा भएको जस्तो अनुभव गर्‍यौँ ।  गुम्बाबाट बाहिर मुख्य प्रवेश द्वारतिर निस्केर सहरको अवलोकन गर्न सकिने रहेछ । बुद्धको मूर्तिलाई दलाई लामाले अनावरण गर्नु भएको कुरा उल्लेख गरिएको थियो ।  शेर्पा संघ युके,तमुधि युके,तामांग समाज युके,मगर संघ युके लगायतको एकल जातीय संस्थाहरुले यसको नेतृत्व र सञ्चालन गर्दा रहेछन् । 

 गुम्बाको माथिल्लो तलामा मेडीटेशन हल र रिन्पोछेको कोठा रहेछ । किचनमा रिन्जी दाइ त्यहाँ रहेका साथीभाईहरुसंग एकैछिन गफिनुभयो भयो ।   बाहिर रेस्टुरेन्टमा गएर खान खाने हाम्रो पहिल्यै योजना बनेको थियो ।  हामी निस्कने बेला त्यहाँ खान खाने समय भएको रहेछ । लामा गुरु र त्यहाँका दिदी बहिनीले हामीलाई खान खाएर मात्र जना ताकेता गर्नु भयो ।  त्यस पछि हामीले त्यहीँ खाना खायौँ  र मिठो खानको लागि धन्यवाद दिएर निस्कियौँ । 

बेलायतको विशाल सहरको बिचमा बुद्ध धर्ममा आस्था राख्ने  शान्तिप्रेमी बुद्धिस्टहरूको यति विशाल गुम्बा देखेपछि बेलायतको नेपाली समुदाय धनले मात्र हैन मनको पनि धनी भएको महसुस गरेँ ।  आफ्नो धर्म संस्कृति र परम्परालाई पृथ्वीको अर्को कुनामा पनि उत्तिकै जीवित राख्न गरिएको सचेत प्रयासको खुलेरै प्रशंसा र खुसी व्यक्त गर्न मन लाग्यो  । त्यसपछि हामी नेपालीहरूको अत्यधिक बसोबास रहेको अल्डरसट हुइँकियौँ ।  हामी गाडी बाट ओर्लिदा पनि परिरहेको थियो ।  

सिमसिमे पानीमा रुझ्दै हामी अल्डरसटको विभिन्न पसलहरू चहार्न थाल्यौँ  । किराना पसल, ज्वेलर्स, नेपालीपन झल्कने नेपाली रेस्टुरेन्ट लुगाकपडा आदिको पसल प्रशस्तै रहेछ। जता जोसंग ठोकिए पनि नेपाली नै ठोकिन पुग्ने रहेछ भन्दै हामीले ठट्टा पनि गर्यौं  ।अल्डरसटको केहीमाथि  एउटा पार्क रहेछ ।  पार्कमा सिम्बोलिक रूपमा युद्धको क्रममा घाइते भएको गोरालाई गोर्खे आर्मीले बोकिरहेको स्टायचु रहेछ ।  यो देखेर मलाई विश्वयुद्धको घटना  र त्यति वेला गोर्खेहरूले बेलायतलाई गरेको सहयोग प्रति चासो र गौरवको अनुभूति दिलायो ।  विश्वमा नेपाली नपुगेको सहर अथवा देश कमै होलान् । सङ्ख्यात्मक हिसाबले कहीँ थोरै त कहीँ धेरै छ ।  बेलायतसंगको नेपालको सम्बन्ध पुरानै हो ।  दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको मात्र पनि झन्डै सय वर्ष पार भैसकेको छ। यसबिचमा यहाँ बसोबास गर्ने यस देशलाई आफ्नो कर्मभूमिको रूपमा विस्तार गर्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दावा लामा
दावा लामा
लेखकबाट थप