शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट खर्च

कोशी प्रदेशको पहिलो चौमासिक : पुँजीगत खर्च ७.५४ प्रतिशतमा सीमित, जम्मा खर्च १३.६६ प्रतिशत

चालु आर्थिक वर्षको सुरुआतदेखि नै भएको सरकार गठन र विघटनको मार बजेट कार्यान्वयनमा देखियो
शुक्रबार, ०८ मङ्सिर २०८०, ०८ : ०३
शुक्रबार, ०८ मङ्सिर २०८०

विराटनगर । चालु आर्थिक वर्षको सुरुआतदेखि नै कोशी प्रदेशमा सरकार गठन र विघटनमा राजनीतिक दल लाग्दा त्यसको असर बजेट कार्यान्वयनमा देखिएको छ । पहिलो चौमासिक (कार्तिकसम्म)को बजेट कार्यान्वयनको अवस्था हेर्दा निराशाजनक देखिएको हो ।

कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार पहिलो चौमासिकमा कोशी प्रदेश सञ्चित कोषमा ७ अर्ब ४४ करोड ४६ लाख २९ हजार ३१८ रुपैयाँ जम्मा भएको छ । यो बजेटको २०.५४ प्रतिशत हो । प्रदेश सरकारले हालसम्म जम्मा खर्च भने ४ अर्ब ९५ करोड ३७ लाख १४ हजार २५९ रुपैयाँ अर्थात् १३.६६ प्रतिशत गरेको छ । प्रदेशको सञ्चित कोषमा २ अर्ब ४९ करोड ९ लाख  १५ हजार ५९ रुपैयाँ बाँकी छ ।

प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ थियो । जुन बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालुतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड राखेको छ ।

जसमध्ये प्रदेश सरकारले पहिलो चौमासिकमा चालुतर्फ ३ अर्ब ५७ करोड ८२ लाख १३ हजार २९४ रुपयाँ अर्थात् १९.८७ प्रतिशत खर्च गरिसकेको छ । पुँजीगत तर्फ भने १ अर्ब ३७ करोड ५५ लाख ९६५ रुपैयाँ अर्थात् ७.५४ प्रतिशतमात्रै खर्च गरेको छ ।

पुँजीगततर्फ प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी ८८ करोड ३० लाख १२ हजार ९६६ रुपैयाँ खर्च गरेको छ भने खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले ४० करोड ७३ लाख ९४ हजार ५६० रुपैयाँ खर्च गरेको छ । यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३ करोड ८७ लाख ५ हजार ९८४ रुपैयाँ खर्च गरेको छ भने स्वास्थ्य मन्त्रालयले ५८ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका हुन् । उक्त बजेट असार १४ गते बसेको प्रदेशसभा बैठकमा टेबुल भएको थियो । तर, असार १५ गते नै कार्की नेतृत्वको सरकार ढलेपछि उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनै सकस भयो ।

बजेटको समयावधि भदौ १० गतेसम्म मात्रै थियो । उक्त समयसम्ममा बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नुपर्ने सरकारको दायित्व थियो । तर, असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका उद्धब थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो । त्यसबिचमा प्रतिस्थापन विधेयक ल्याउने थापा नेतृत्वको सरकारले पनि सकेन । पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम थियो । तर, उनले त्यसअगाडि नै भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिए ।

विश्वासको मत लिने यो प्रक्रियालाई सर्वोच्चको भदौ ७ गतेको अन्तरिम आदेशले पुनः असंवैधानिक भन्यो र थापा नेतृत्वको सरकारलाई कामचलाउमा परिणत गरिदियो ।

काम चलाउ सरकारले समयमै प्रतिस्थापन विधेयक मार्फत बजेट ल्याउन सकेन । त्यसैकारण झण्डै दुई हप्ता लामो बजेट शून्यता प्रदेशले खेप्यो । भदौ २१ गतेको सर्वोच्चको आदेशबाट मुख्यमन्त्री थापा पुनः पदमुक्त भएपछि फेरि हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बने । उनै मुख्यमन्त्री कार्कीले बजेट शून्यतालाई चिर्न भन्दै भदौ २४ गते बजेट सम्बन्धी अध्यादेश जारी गरेका थिए । सो अध्यादेश जेठ ३२ गते ल्याएकै अध्यादेश थियो । हाल सोही अध्यादेशबाट आएको बजेट कार्यान्वयनमा छ । उक्त अध्यादेश असोज १७ गते बसेको प्रदेशसभा बैठकमा पेस भएको छ । संवैधानिक व्यवस्था अनुसार मंसिर १६ गतेसम्ममा अध्यादेशबाट आएको बजेट प्रतिस्थापन गरिसक्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप