आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दा गोभीमा हुन्छ मस्तिष्कमा छिर्ने फित्ते जुका ?

मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : १४
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । अहिले चिसो मौसम सुरु भइसकेको छ । बजारमा हरिया सागसब्जीहरू टन्नै आउन थालिसकेका छन् । काउली, बन्दा गोभीजस्ता तरकारीको मौसम पनि यही हो । 

बन्दा गोभीको पात काँचै खायो भने यसमा हुने फित्ते जुका (टेप वर्म) मस्तिष्कमा पुग्ने बताइन्छ । केहीले त बन्दा गोभीलाई उमाल्दासमेत यसमा भएको जुका मर्दैन पनि भन्ने गरेका छन् । कतिलाई भने यस्तो कुराको अत्तोपत्तो छैन ।

मस्तिष्कमा जुका पुगेर उत्पन्न हुने स्थितिलाई मेडिकलको भाषामा न्यूरोसिस्टीसर्कोसिस भनिन्छ । बन्दा गोभी राम्रोसँग पकाएर खाइएन भने यसमा भएको फित्ते जुका शरीरभित्र छिर्न सक्छ अनि यो प्राणघातक साबित हुन सक्छ भनेर केही रिपोर्टहरूले दाबी पनि गरेका छन् ।

 यो जुका हामीले बन्दा गोभी खाँदा खेरी पेटमा जाने अनि आन्द्रा भएर रक्तसञ्चारको मद्दतले दिमागसम्म पुग्ने बताइन्छ । यस्तो कुरा तपाईंले सुन्नु भएको थियो कि थिएन ? बन्दा गोभी खाँदा यसमा भएको जुका हाम्रो दिमागमा पुग्ने कुरा सत्य हो त ? के यस्तो जुका प्राणघातक हुन्छन् ?

 के हो फित्ते जुका ?

फित्ते जुका एक खाले चेप्टो परजीवी किरा हो । चेप्टो हुने भएकोले यसलाई फित्ते जुका भनिएको हो । यसले जनावर वा मनुष्यलाई सङ्क्रमित गर्छ । 

यो आन्द्रामा हुन्छ । आन्द्रामा रहेर यसले मनुष्य वा जीवहरूले खाएको पोषक तत्त्वलाई चुस्छ । 

शरीरलाई पर्याप्त पोषक तत्त्व नपुगेर कमजोरी, थकानजस्ता लक्षणहरू देखिन थाल्छ  । यस्तो किरा प्रायः मासु खाने जीवहरू बिरालो कुकुर अनि मनुष्यमा पाइन्छ । 

फित्ते जुकाको टाउको आन्द्रामा टाँसिएको हुन्छ । यहीबाट किराले भोजनमा रहेको पोषक तत्त्वलाई सोस्छ । यसले अन्डा पनि पार्छ । मानव वा जीवको दिशामार्फत यो शरीर बाहिर निस्किन्छ । खेतबारीमा बोटमै भएको बेलामा आन्द्रामा फित्ते जुका भएका कुनै जनावरले त्यसमाथि दिशा वा पिसाब गरे भने बन्दा गोभीमा फित्ते जुका वा त्यसको अन्डा टाँसिएर बस्छन् । 

यसलाई राम्रोसँग धोएर पखालेर खाइएन भने यो हाम्रो पेटमा जान्छ । अनि शरीरको साथसाथै यी किरा वा अन्डा मस्तिष्कमा समेत पुग्छ ।

 के हो न्यूरोसिस्टीसर्कोसिस ?

 केही विज्ञहरूका अनुसार सादा पानीले पखालेर मात्रै बन्दा गोभीमा भएको टेपवर्म नष्ट हुन्न । अधकल्चो वा काँचो बन्दा गोभी खाँदा यसमा भएको टेपवर्म पनि हाम्रो शरीरमा जान्छ । 

मस्तिष्कमा टेपवर्म हुनु अर्थात् न्यूरोसिस्टीसर्कोसिस आम समस्या हो भन्छन् डाक्टरहरू । राम्रोसँग नपखालिएको काँचो बन्दा गोभी मात्रै होइन गाजर, राम्ररी नपाकेको सुँगुर वा बङ्गुरको मासु खाँदा फित्ते जुका वा यसको अन्डा शरीरभित्र पुग्छ ।

 कसरी सफा गर्ने बन्दा गोभी ?

बन्दा गोभीमा पाइने यी किरालाई सिस्टीसर्कस भनिन्छ । बन्दा गोभी वा गाजरलाई राम्रोसँग उमाल्ने वा पकाउने गर्दा पनि यसको बाहिरी तहमा टाँसिएर बस्ने फित्ते जुका र किराका अन्डा नष्ट गर्न सकिन्छ । 

तरकारी पखाल्दा यसमा नुन वा पोटासियम परम्याग्नेटको पनि प्रयोग गर्न सकिन्छ । केही गरी किरा वा अन्डा मस्तिष्कमा पुग्यो भने पनि यसको उपचार छ । शल्यक्रिया गर्नु पर्दैन । औषधि खाएरै यो समस्या निवारण गर्न सकिन्छ ।

 मस्तिष्कमा किरा पुगेको लक्षणहरू के हुन् ?

फित्ते जुका खानाबाट आन्द्रामा पुगेपछि यो आन्द्रालाई छेडेर रक्त नलीसम्ममै पुग्छ अनि रगतबाट मस्तिष्क, कलेजो र आँखा जस्ता अन्य अङ्गमा पुग्छ । 

पेट दुख्ने, बारम्बार दिशा लागिरहने, कमजोर महसुस हुने, बान्ता आउने, रिँगटा लाग्ने, सास फेर्न समस्या हुने जस्ता कयौँ समस्या यसका लक्षण हुन् । यस्ता लक्षण कसैमा तुरुन्तै देखिन्छ भने कसैमा निकै ढिला मात्रै देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप