शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

चुपचाप लोसपा : ‘मिसन ०८४’ ले किन छोएन ?

मङ्गलबार, १९ मङ्सिर २०८०, १५ : ५०
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपालगायत साना–ठुला, नयाँ–पुराना सबै दल ‘मिसन ०८४’ (आगामी आमनिर्वाचन) मा लागेका छन् तर लोकतान्त्रिक समाजवादी पार्टीलाई भने त्यो मिसनले छोएको छैन ।

२०८४ मा हुने चुनावलाई लक्षित गरी सबै दल विभिन्न नाममा अभियान सञ्चालन गरी जनताको घरदैलोमा पुगिरहेका छन् तर महन्थ ठाकुर अध्यक्ष रहेको लोसपा अहिले चुपचाप छ । चाडपर्वमा शुभकामना विज्ञप्ति, कसैको मृत्युमा श्रद्धाञ्जली विज्ञप्तिबाहेक लोसपाले संगठन सम्बन्धी कुनै गतिविधि गरेको छैन ।

२०७८ भदौमा गठन भएको लोसपामा लामो रस्साकसीपछि गत असोजमा बल्ल केन्द्रीय समितिको नाम सार्वजनिक गरेको थियो । पार्टी गठन भएको दुई वर्षपछि केन्द्रीय समितिको नाम सार्वजनिक गरेको लोसपा त्यसपछि पनि सक्रिय भएन ।

केन्द्रीय समिति सार्वजनिक भएपछि लोसपाले कुनै राजनीतिक गतिविधि गरेको छैन । पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णले केन्द्रीय समितिको नामावली सार्वजनिक भएपछि पदाधिकारीको एउटा बैठक बसेको र त्यसपछि चाडपर्व सुरु भएकाले केही गर्न नसकिएको बताए ।

‘चाडपर्व सुरु भएपछि सबै त्यसमा व्यस्त भएका कारण कार्यक्रमहरु केही तयारी भएन,’ उनले भने, ‘अब संगठनका कामहरु अगाडि बढाउने गरी तयारी भइरहेको छ ।’

सबै दल अर्को चुनावलाई केन्द्रित गर्दै आआफ्नो तयारीमा लागिसकेको उल्लेख गर्दै कर्णले लोसपामा पनि चुनावलाई लक्षित गरी अघि बढ्नुपर्ने बताए ।

पार्टीको कुनै गतिविधि नहुँदा वरिष्ठ उपाध्यक्ष कर्ण एक महिनादेखि पर्सामै छन् । पार्टीको खासै गतिविधि नभएका कारण केही दिनदेखि आफू पर्सामा रहेको बताउँदै उनले पार्टीले कार्यक्रम बनाएपछि काठमाडौँ फर्किने बताए ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि हालै मधेसबाट काठमाडौँ फर्केका छन् । अन्य नेता तथा कार्यकर्ताहरु आआफ्नै जिल्लामा छन् । पार्टीको कुनै सांगठनिक गतिविधि नहुँदा लोसपाका नेता तथा कार्यकर्ता निराश छन् । कतिपय नेता त पार्टी छाडेर अन्य पार्टीमा गइसकेका छन् ।

लोसपाका महासचिव प्रमेश्वर साहले आफ्नो पार्टी चुपचाप नरहेको दाबी गरे । उनले भने, ‘हामी चुपचाप छैनौँ तर अन्य पार्टीको तुलनामा केही सुस्त अवश्य छौँ ।’ जिल्ला जिल्लामा पार्टी गठन, पुनर्गठन गर्ने काम जारी रहेको भन्दै उनले क्षेत्रीय कमिटी, पालिका कमिटी, भ्रातृ संगठनहरु निर्माणको काम भइरहेको दाबी गरे । उनले चाँडै कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने बताए ।

उनले भने, ‘एक वर्षभित्र महाधिवेशन गर्ने हाम्रो लक्ष्य छ, महाधिवेशनबाट नेतृत्व चयन गरेर पार्टी क्रियाशील बनाउने र ०८४ को मिसनमा लाग्छौँ ।’

छिटै कार्यकारिणी समितिको बैठक बसेर केन्द्रीय समितिको बैठक बोलाउने र त्यो बैठकबाट महाधिवेशनको तयारीमा लागेपछि पार्टी त्यतिकै पनि क्रियाशील भइहाल्ने उनको बुझाइ छ ।

२०७४ को चुनावमा प्रतिनिधिसभातर्फ १७ सिट ल्याएर तेस्रो शक्ति बनेको महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी २०७९ को चुनावमा लोसपाका नामबाट जनतामा गएको थियो । तर उक्त चुनावमा लोसपाले थ्रेसहोल्ड पनि कटाउन सकेन । त्यसअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीसँग राजपाको एकीकरण भइ जनता समाजवादी पार्टी गठन गरिएको थियो ।

तर त्यो पार्टी एक वर्ष पनि टिक्न सकेन । पार्टी विभाजन भएर लोसपा बन्यो । लोसपाले २०७९ को चुनावमा भाग लिँदा प्रतिनिधि सभातर्फ ४ सिटमा सीमित भयो ।

प्रदेशसभातर्फ मधेस प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा ३  सिट मात्र ल्याउन सकेको लोसपाले स्थानीय तहको चुनावमा चार पालिका प्रमुख मात्र जित्यो । जबकि २०७४ को स्थानीय चुनावमा २६ वटा पालिका प्रमुख जितेको थियो ।

विभिन्न आन्दोलनलाई नेतृत्व गरेका, पटक पटक मन्त्री बनेका, सांसद बनेका नेताहरु लोसपामा छन् तर ती सबै निष्क्रिय छन् । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी अहिले श्रम मन्त्री छन् । राजेन्द्र महतो र अनिल झा पार्टीका वरिष्ठ नेता हुन् । उनीहरु पनि निष्क्रिय भएर बसेका छन् ।

उनीहरु लगायत अन्य नेताहरु पनि पार्टीका अध्यक्ष महन्थ ठाकुरको भरोसामा बसेका छन् । पार्टीको बैठक बोलाइएपछि जाउँला भनेर केन्द्रीय तहकै नेताहरु यतिबेला फुर्सदिला भएर बसेका छन् । तर अध्यक्ष ठाकुरले पार्टीका सबै गतिविधि ठप्प पारेको आरोप पार्टीका कतिपय नेताहरु बताउँछन् ।

गत चुनावमा जसोतसो तीनचार सिट जितेको लोसपाले यस्तै अवस्था रहने हो भने अगामी चुनावसम्म पार्टीको अस्तित्व नै जोगाउन नसक्ने पार्टीका एक जना महासचिवले भने । ‘पार्टीको गतिविधि नहुँदा नेता तथा कार्यकर्ता अन्योलमा छन्, आफ्नै छेउमामा अन्य पार्टीका गतिविधि भइरहेका हुन्छन् तर हामी चुपचाप हातमा हात राखेर बसेका हुन्छौँ,’ उनले भने, ‘यसरी कति दिन चल्छ ?’

लोसपामा नेता तथा कार्यकर्तालाई अब कसरी जोगाउने र कसरी इङ्गेज गराउने भन्नेबारे पार्टी नेतृत्वले नसोचेको उनको गुनासो छ ।

अध्यक्ष ठाकुर आफ्नो जिल्लाबाहेक अन्य कुनै जिल्लामा पाइला टेकेका छैनन् । पार्टीका वरिष्ठ नेता भण्डारी पनि आफ्नो जिल्लाभन्दा बाहिर कतै नगएको नेता तथा कार्यकर्ताको गुनासो छ ।

वरिष्ठ नेता अनिल झाको अवस्था पनि त्यस्तै छ । उनले रौतहटमा अस्पताल खोलेका छन्, उनको अधिकांश समय त्यसैमा बित्छ ।

राजेन्द्र महतो छठअघि सर्लाहीदेखि मोरङसम्म पुगेर नेता तथा कार्यकर्तालाई भेटेर शुभकामना आदानप्रदान गरेका थिए । त्यसपछि उनी पनि चुपचाप छन् ।

लोसपाको ३११ सदस्यीय केन्द्रीय समितिमा ६३ जना पदाधिकारी छन् तर हाल सबैजसो निष्क्रिय छन् । ६ जना वरिष्ठ उपाध्यक्ष र १५ जना उपध्यक्ष छन् । त्यस्तै १६ जनालाई त लोसपाले महासचिव नै बनाएको छ । त्यस्तै आठ जना सहमहासचिव, ११ जना सचिव, एक जना प्रवक्ता र एक जना सह–कोषाध्यक्ष छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप