शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
यात्रा संस्मरण

निकुञ्ज जङ्गल सफारी र वीर आत्माहरूको स्मृति

शनिबार, ०७ पुस २०८०, १३ : ०७
शनिबार, ०७ पुस २०८०

ढड्डीघारी छिचोलेपछि आउने नन्दभाउजूताल । त्यसैको दाहिना किनारै किनारको सालघारि कटेपछि पुगिने चुरेपहाडको फेदी । त्यस ठाउँमा उठेको सानो ढिस्को वरिपरि काठको घेरबार । अनि बिचमा काठैकाठैको फल्याकले बनेको सानो घर । दायाँ गेटको तगारो छेवैमा श्री खड्गदल गण सुरक्षा पोस्ट । साइली माइली लेखेको साइन बोर्ड । एउटा सानो सैनिक ब्यारेक छेउमा पुग्दा घडीमा बिहानको ११ः४५ बजेको थियो ।

Badri aryal4

मेघौलीदेखि गोलाघाटसम्म राप्ती नदीमा बोटिङ । त्यसपछि जङ्गल वाकिङका लागि अनुमति लिएर नेचर गाइडका केही साथीसमेत दिनभरीका निम्ति जङ्गल घुम्न निस्केका हामी त्यहाँ पुग्दा अलिक सुरक्षित महसुस गर्दै थियौँ । फुर्सद भयो कि फोन खेलाउने आदत भएका हामी मोबाइल झिकी कल गर्न खोज्दा थाहा पायौँ । कुनै पनि नेटवर्क नटिप्ने ठाउँ रहेछ । पानी खाई केही समय थकाइ मार्ने बाहनाले अडिएका भए पनि ड्युटीमा रहेका सैनिकसँग गफिने मेरो मनसाय थियो । डडेलधुरा स्याउले घर बताउने हवल्दार सापबाट चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका दौरान नरभक्षी बाघ, भालु, गैँडा हात्ती लगायतका जनावरसँग जम्काभेट हुँदाका क्षणहरूमा बाल बाल बचेको बयान सुन्दा जङ्गल घुम्न कस्सिएर निस्केका हाम्रै केही साथी त्रसित बनेको पनि देखियो ।

सुकिभार पोस्टमा रहँदा धुर्बे हात्तीको आक्रमणबाट मुस्किलले बाँचेको अनि धुर्ब पोस्टमा रहँदा आफ्नै टोली कमान्डरलाई धुर्बे हात्तीले झुक्याएर आक्रमण गरी मार्दाको त्यो बीभत्स दृश्यको वर्णन सुन्दा आङ नै सिरिङ्ग बनायो । सेनाको बर्दी पहिरिएपछि साथी मर्‍यो भन्दैमा जिम्मेवारी छाडेर हिँड्न मिल्दैन सर ! के गर्नु यही पोस्टकै नजिकै एउटा साथीलाई गैँडाले हानेर मार्‍यो । जतिसुकै सावधानी अपनाए पनि हिंस्रक जनावरबाट बच्न मुस्किल पर्छ । हिउँदको ठण्डी, वर्षात्को भेल, चैत वैशाखको उखर्माउलो गर्मी के दिन के रात हप्तामा सातै दिन, बाह्रै महिना, बाह्रै काल यतिकै दौड्नु पर्छ । विषम परिस्थितिमा समेत अविचलित रही अविच्छिन्न रूपमा निकुञ्ज सुरक्षामा खटिएका हवल्दारसापको दृढ आत्मविश्वास देख्दा मन गर्विलो बन्यो । निकुञ्ज सुरक्षाको जिम्मेवारीलाई सामान्य सम्झने मेरो अहिलेसम्मको बुझाइलाई त्यो छोटो वार्तालापले पूर्णबिराम लगाई सकेको थियो ।

Badri aryal1

टेम्पल टाईगर हुँदै सेरी पुगेर फर्कने भनेर हिँडेका हामीले फायरलायनको बाटोमा ठुलो आर्मी झोला बोकेर हिँडिरहेका अधिकृतसहितको अर्काे गस्ती टोलीलाई समेत भेट्यौँ । दक्षिणी सीमा स्तम्भ अनुगमन तथा चुरेपहाड इलाकामा हप्ता दिनभन्दा बढी विशेष स्विप अपरेसनबाट फर्किंदै गरेको त्यो टोलीले बिहानको खाना खाने तयारी गरिरहँदा दिनको साढे एक बजिसकेको थियो । गस्तीमा निस्कने हाम्रा प्रत्येक टोलीहरू हरेक बखत ट्रयाकिङ सिस्टमबाट मोनिटर भइरहेका हुन्छन् । यस चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा टोलीले मात्रै पनि हरेक दिन १५०० किलोमिटरभन्दा बढी दुरी पार गरेको सिस्टमले देखाएको हुन्छ । टोली कमान्डर सैनिक अधिकारीले बताए । चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा हिँड्ने सैनिकहरूले पार गर्ने प्रत्येक दिनको दुरी त, पूर्व मेचीदेखि पश्चिम महाकाली पुगेर पुनः मेची फर्किए जतिकै दुरी पो हुँदो रहेछ । त्यो कुरा सुन्दा अचम्म लाग्यो । सेरी नपुग्दै नारायणी तीरैतीर डुङ्गाबाट गस्ती गर्दै फर्किंदै गरेका अर्काे सैनिक गस्ती टोलीसँग भेट भयो । बाघमारा छेउछाउमा आइपुग्दा खोरिया मुहानदेखि हात्तीबाट स्विपको कारबाही गर्दै गरेको अर्काे गस्ती टोलीसमेत भेटियो । विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका दुईवटा राष्ट्रिय निकुञ्जमा चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङे गैँडाका निम्ति प्रख्यात छ ।

Badri aryal3

यही निकुञ्जको सेरोफेरोमा सयौँ जङ्गल, लजलगायत हजारौँ होमस्टे सञ्चालनमा रहेका छन् । वातावरण सन्तुलनमा पुर्‍याउने योगदानका अलवा पर्यटकहरूले जिप तथा पैदल सफारी गरेबापत राज्यले करोडौँ रकम राजस्व प्रत्यक्ष आम्दानी गर्दै आएको छ । साँच्चिकै भन्नुपर्दा चितवनको पहिचान भन्नु नै यही चितवन राष्ट्रिय निकुञ्ज बनेको छ । निकुञ्जको सामुन्ने रहेको जङ्गल छेउको मचानमा बसेर साथीहरूले राप्ती नदीलाई नियाल्दै साँझलाई रङ्गीन बनाइरहँदा आफूलाई भने तिनै बर्दीधारी सैनिकहरूकै सम्झनाले पछ्याइरह्यो, जो दशकौँदेखि यसैगरी कुदिरहेका छन् । प्रकृति संरक्षणमा नेपाली सेनाले पुर्‍याएको योगदानका बारेको वर्णन र त्यसको प्रशंसा मेरो लेखनीको क्षमताभित्र पर्दैन, त्यो अतुलनीय छ । निकुञ्ज सुरक्षा ड्युटीमा खटिएका बखत विभिन्न समयमा जीवन उत्सर्ग गर्ने ती वीर आत्माहरूको स्मृतिले मन भारी बनायो । ती सबै सबैलाई सलाम जसको रगत र पसिनाले नै हामीले यो सम्पदालाई हाम्रो चितवनको हो भन्न पाएका छौँ ।

चितवन, मेघौली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्री अर्याल
बद्री अर्याल
लेखकबाट थप