कविता : वाह सरकार वाह !
तिमी विराजमान गरी बसेको
कुर्सी मागेको थिएनन् उनले
तिम्रो आफन्तको भाग
खोस्न पनि त आएको थिएनन् ।
तिमीलाई
घाम–जुन, बर्खाबाट छेल्न
पक्की घर बनाइदेऊ भन्न आएको थिएन ।
उनले तिम्रो ऐस–आरमको जिन्दगीलाई
अप्ठ्यारो भड्खालोमा जाग्न खोजेको थिएन
उनले तिमीलाई कुबेलामा दैवले खोसेको
‘बा’लाई फिर्ता ल्याइदेऊ भनेको थिएन
उनले तिमीलाई पति बिगोगमा आँसु निख्रेको
उनकी आमाको आँखामा आँशु भरिदेऊ भनेको थिएन ।
तर किन तिमीले निहत्थामा
बोली बन्द हुने गरी चलायौ गोली
वाह सरकार वाह !
००००००
थाहा छ
मृत्यु शाश्वत सत्य हो
जन्मिँदै साथ लिएर आएको मृत्यु
अवश्यम्भावी छ, सबै सबैको
तर कालो सडक रातो हुने गरी
निमुखा जनताको रगत पोखाएर
भयो आत्मसन्तुष्टि तिम्रो ?
के भन्लान् दुनियाँले ।
स्वदेशमा गरिखाने मेलो नमिलेर
वैदेशिक रोजगारी निम्ति
खुसी, रहर, घरबारीको लालपुर्जा
सबैथोक धितो राखेर
पराइको देश परदेश जान खोजेको
युवमाथि गोली चलाएर
जीवन राम्रोसँग बाँच्न नपाएको
जीवन खोसेर धेरै ठुलो काम गर्यो तिमीले
वाह सरकार वा !
तिम्रो हैकममा पलाएका भ्रष्टाचारको ऐंजेरु
केन्द्रदेखि गाउँगाउँसम्म पुगे
भ्रष्टहरूको जिन्दगी बने
छलछाम, लुटपाट गर्नेको भाग्य चम्किए
आफ्ना मान्छे नभएका
ठुलाठालु तिमीहरू जस्तैको
साथ नपाएका
सोझासीधा निमुखाको सहारा
मलयाको रबरको जङ्गल र अरबको रमल्ल घारी
जिन्दगी बिसाउने चौतारी बने
सरकार
तिमी खोक्दै छौँ ।
समृद्धि र सुशासनको कुरा
समृद्धि अरबको मरुभूमिमा हरियो दुबो बनेर उम्रिँदै छ
सुशासन चिनले बनाएको
कालोपत्रे सडकमा
रगत बनेर पोख्दै छ ।
वाह सरकार वा !
०००००
गर्भमै ऋण बोकेर जन्मनुपर्ने बाध्य बनाए
मानी,
परिवारको प्रेमबाट टाढिन बाध्य बनाए
त्यो पनि मानी,
कोही आफ्नो आफन्तको मृत्युमा
सामाजिक सञ्जालमा टाँसेर तस्बिरमा
हार्दिक श्रद्धाञ्जली लेखेर मन भुलाउन बाध्य बनायौ,
त्यो पनि मानी,
ए सरकार भन्न हो !
कहिलेसम्म मानिरहने हो ।
थाक्यो हो अब त तिमीले भनेको मान्दा मान्दा ।
याद होला नि...
निकट–विगतको तिम्रो क्रान्तिकारी कुरा
केके मागेको थियो ?
केके गरेको थियो ?
केके तमासा गर्दै छौ
अन्तमा सरकार...
तिम्रा लागि उनी एक्लो मरे
तर उनका बाँचेकाका लागि संसार डुबे
बुढीआमाको आशाको त्यान्द्रो छिने
छोराको मृत्युको छायाले
ढाकिएको उजाड घरबार
उनको गाउँ शोकाकुल बनेको छ
उनको मृत्युको कारण
यस्तो मृत्युको मूल्य तोक्न छाडेर
आफ्नै देशमा जीवन बाँच्न पाउने
आधार तयार गरिदेऊ
अनि त्यसपछि भन्ने छु,
सकारात्मक सोचबाट
वाह क्या गर्यो सरकार तिमीले....!
०००००
पाँचखाल, काभ्रेपलाञ्चोक
हालः लिमासोल, साइप्रस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण