मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

कुवेतमा नेपाली श्रमिक शारीरिक र मानसिक हिंसा भोग्न बाध्य

दुबईबाट हुन्छ मोल मोलाइ
सोमबार, १६ पुस २०८०, ०९ : ३५
सोमबार, १६ पुस २०८०

काठमाडौँ । नुवाकोट तारकेश्वरकी सानुमाया तामाङ (नाम परिवर्तन) यतिबेला वैदेशिक रोजगारीका लागि कुवेतमा छिन् । उनको पेटमा गम्भीर समस्या देखिएको छ । उपचारको क्रममा डाक्टरले गम्भीर समस्या देखाउँदै उपचार गराउनु र आराम गर्न भनेका छन् । तर, उनी काम गर्ने मालिकले घर फर्किन दिन मानेको छैन ।

घरेलु कामदारको रूपमा काम गर्दै आएकी उनलाई मालिकले घर पठाउनुको साटो उल्टै शारीरिक यातना दिने गरेको छ । उनको उद्धारका लागि भन्दै घर परिवारले सरकारलाई आग्रह गरेका छन् ।

‘काम गर्न नसक्ने अवस्थामा पनि काममा पेलाउने गरेको छ । काम गरेन भने पिट्ने गर्छन् । कामै गर्न नसक्ने भनेर उद्धारका लागि वैदेशिक रोजगार विभागमा उजुरी दिएका छौँ,’ सानुमायाका एक आफन्तले भने ।

ती आफन्तका अनुसार वैदेशिक रोजगारीका लागि कुवेत गएको केही महिनामै सानुमाया बिरामी परेकी थिइन् । काम गर्न नसक्ने भएपछि उनलाई मालिकले कुटपिट गर्दै काम गराउने गरेका थिए । मालिकको यातना सहन नसकेपछि उनले उद्धारका लागि गुहार मागेकी हुन् ।

इटहरीकी एक महिला चार महिनाको गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारको रूपमा कुवेत पुगेकी उनी गर्भवती भएपछि नेपाल आएकी हुन् । उनलाई गर्भ बोकाउने केटा भने फरार भए । कुवेतमा बिचल्ली भएपछि त्यहीँ रहेका नेपालीहरूको सहयोगमा उनलाई उद्धार गरेर नेपाल पठाइएको थियो ।

त्यस्तै नुवाकोटकी पावर्ती घिसिङको समेत उद्धार गरिपाऊँ भन्दै घर परिवारले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । घरेलु कामदारको रूपमा कुवेत पुगेकी पार्वतीले निकै नै शारीरिक तथा मानसिक यातना भोग्नु परेको भन्दै उद्धारका लागि याचना गरेको परिवारका सदस्यको भनाइ छ । तर, मालिकले भने घर फर्किन नदिने अडान लिँदै आएको छ । घरेलु कामदारको लागि ल्याउँदा ठुलो रकम तिरेर ल्याएको भन्दै उसले फर्किन नदिएको हो ।

यसरी कुवेतमा थुप्रै नेपाली श्रमिक विभिन्न खालका समस्यामा पर्दै आएका छन् । विशेष गरी घरेलु कामदारको रूपमा गएकाहरू बढी समस्यामा पर्ने गरेका छन् ।

वैदेशिक रोजगार उद्धार (रेस्क्यु) नेपालका अध्यक्ष इन्द्रलाल गोलेले अहिले कुवेतमा विभिन्न खालको समस्या आउन थालेको बताए । ‘दिनमा ६÷७ जना मेरो अफिसमा आउँछन् । आफ्नो मान्छे समस्या परेकाले उद्धार गरिदिनुप¥यो भन्छन् । हामीले पनि उनीहरूलाई सहजीकरण गरिदिने गरेका छौँ,’ गोलेले भने ।

दलालमार्फत अवैध रूपमा कुवेत पुगेकाहरू बढी समस्यामा परेको उनको भनाइ छ । ‘कुवेतमा धेरै समस्या देखियो । भिजिट भिसामा गएकाहरुको समस्या बढी देखिएको छ । भिजिट भिसामार्फत गएकाहरूको सरकारले उद्धार गर्दैन । अनि हामीले हाम्रै संयन्त्र प्रयोग गरेर वा कुवेतमा रहेका संघ संस्थाको सहयोगमा उद्धार गर्दै आएका छौँ,’ गोलेले भने ।

आप्रवासी कामदारका लागि निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्दै आएको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का परियोजना संयोजक सुदीप देवकोटाका अनुसार दुबईका लागि श्रम स्वीकृति लिएर कुवेत पुगेकाहरू पनि समस्यामा पर्ने गरेका छन् ।

श्रम स्वीकृति लिएर कुवेतमा घरेलु कामदारको रूपमा जान प्रतिबन्ध छ । तर, नेपालबाट दुबईसम्मको श्रम स्वीकृति लिने र त्यहाँबाट सेटिङ मिलाएर कुवेत पठाउने दलालहरू सक्रिय छन् । जसले गर्दा नेपाली श्रमिकहरूले कुवेतमा समस्या भोग्न बाध्य भइरहेका छन् ।

‘नेपालबाट दुबईका लागि श्रम स्वीकृति नै लिएर जान्छन् । दुबईबाट विभिन्न सेटिङ मिलाएर कुवेत पठाउने रहेछन् । यहाँबाट कुवेतको सिधै मिल्दैन भनेर यस्तो उपाय अपनाउने गरेको देखियो,’ देवकोटाले भने ।

कुवेतमा कामै गर्न नसक्ने गरी टर्चर दिने गरेको उनको भनाइ छ । शारीरिक तथा मानसिक रूपमा समेत नेपाली कामदारलाई यातना दिने गरेको उनले बताए । त्यसरी यातना पाउँदा मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा चल्छ । तर, पीडितले उक्त आधारमा मुद्दा चलाउन नमान्दासमेत समस्या भइरहेको देवकोटाको भनाइ छ ।

कानुनले फोर्स लेबरलाई समेत मानव बेचबिखन मान्ने गरेको छ । तर, पीडितहरूले भने आफ्नो लागेको पैसा फिर्ता पाए हुन्छ भन्ने खालको कुरा गर्छन् । र सोही आधारमा वैदेशिक रोजगार ऐन अनुसार क्षतिपूर्तिका लागि मात्रै उजुरी जाने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा ४३ हजार ५०७ जना नेपालीले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा पुरुष ३१ हजार ६९१ र महिला ११ हजार ८१६ छन् । त्यस्तै श्रम स्वीकृति मात्रै लिएर ३१ हजार ४१० जना कुवेत पुगेका थिए । जसमा ९ हजार ४९४ जना महिला छन् ।

अन्य देशको तुलनामा कुवेतमा महिला बढी गएका छन् । कुवेतमा अन्य कामका लागि श्रम स्वीकृति लिएर गएका हुन् । अन्य देशको बाटो हुँदै, तथा दुबईसम्मको श्रम स्वीकृति लिएर कुवेतमै घरेलु कामदारको रूपमा जाने नेपाली श्रमिकको सङ्ख्या पनि निकै बढी छ ।

दुबईबाट हुन्छ मोल मोलाइ

कुवेत तथा अन्य मुलुक पुग्ने नेपाली युवती तथा महिलाहरूको मोलमोलाइ गर्दै विदेशीहरूले घरेलु कामदारको रूपमा लैजाने गरेका छन् । अध्यक्ष गोले महिलाहरूको अनुहार हेरेर मूल्य तोकिने गरेको बताउँछन् ।

‘नेपालबाट दुबईमा भिजिट भिसामा लैजान्छन् । त्यहाँ नेपाली दलालहरूले कामदार चाहिनेसँग अनुहार हेरेर ४ हजारदेखि १२ हजारसम्म पैसा लिन्छन्,’ गोलेले भने, ‘राम्रो अनुहार भयो भने १२ हजार दिनारसम्म दिन्छन् । नत्र सामान्यलाई ४ हजारसम्म तिरेर घरेलु कामदारको रूपमा लैजान्छन् ।’

गाउँदेखि सहर र सहरदेखि विदेशसम्म नेपाली एजेन्टहरू रहेको र उनीहरूकै सक्रियतामा युवतीहरूलाई दुबई लगेर मोलमोलाइ गरी बेच्ने गरिएको गोलेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप