सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
छोरा सम्पर्कविहीन हुँदाको पीडा

बम्जनको आश्रममा गएका छोरा ८ वर्षदेखि बेपत्ता

पीडित परिवार भन्छन्– अब केही पत्ता लाग्छ कि !
शुक्रबार, २७ पुस २०८०, १२ : १६
शुक्रबार, २७ पुस २०८०

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१८ का हस्तबहादुर आलेले २०७२ साल जेठ १६ गते छोरा सुरेश आलेलाई अन्तिमपटक राम बहादुर बम्जनको आश्रमका लागि घरबाट बिदाइ गरेका थिए ।

बिदाइ गर्ने बेला छोराको हातमा हजार रुपैयाँको नोट राखेको हस्तबहादुरलाई अझै याद छ । बाराको हलखोरिया जङ्गलमा बम्जनको आश्रम थियो । सुरेश आले सो आश्रमस्थलमा २०६०/६१ सालदेखि आउजाउ गरिरहन्थे । बम्जनको आश्रममा सुरेशले बेलाबेलामा आफ्नो बुबाआमालाई पनि लग्थे ।

पछिल्लो पटक २०७२ साल वैशाख १२ गतेको भूकम्पछि सुरेश आलेले आश्रममा आउजाउ गर्न छोडेका थिए । सोही वर्ष जेठ १६ गते घरमा बिहानको खाना खाँदै गरेका आलेलाई बोलाउन छिमेकी जसबहादुर वाइवा आए । जसबहादुरसँगै सुरेश सिन्धुपाल्चोकस्थित बम्जनको आश्रमका लागि घरबाट निस्किए ।  

ra3

घरबाट निस्कने बेला ८० वर्षीय हजुरआमा सुकीमाया आलेले सुरेशलाई नजान अनुरोध गरेकी थिइन्, तर उनी रोकिएनन् । २०७२ साल जेठमा घरबाट निस्किएका आले सम्पर्कबिहीन भएको ८ वर्ष हुन लागेको छ । तर उनको कुनै अत्तोपत्तो छैन ।

घरमा बृद्ध हजुरआमा, बुबाआमासँगै आफन्तहरु आज पनि उनको बाटो हेरिरहेका छन् । मध्यम वर्गका आले घर छेउको निजी बोर्डिङ्ग स्कुलमा विज्ञान विषय पढाउँथे । फुर्सदको समय उनी खेतीपाती गर्ने, आफ्नै ट्याक्टर चलाउने कामसमेत गर्दथे । छोराले घरव्यवहार धानेर बसेकोमा हस्तबहादुर खुसी थिए ।

तर छिमेकी जसबहादुर वाइवाको सम्पर्कमा आएर रामबहादुर बम्जनको आश्रम स्थलमा आउजाउ गर्न थालेपछि उनले बोर्डिङ्ग स्कुलमा पढाउन छोडे । बम्जन १६ वर्षको हुँदा सुरेश आले २० वर्षका थिए । राम्रो अङ्ग्रेजी बोल्न जानेका कारण आश्रममा आउने विदेशीहरुसँग आलेको राम्रो सम्बन्ध थियो । बम्जनको बोधी श्रवण धर्म संघ नामक संस्थाको आले सचिवसमेत भएका थिए ।

ra5

तर, छोरा वर्ष दिनसम्म घर नफर्किएपछि हस्तबहादुर छोराको विषयमा बुझन् छिमेकी जसबहादुरलाई भेट्न गए । हस्तबहादुरले मेरो छोरा खै भनेर सोध्दा सुरुमा जसबहादुरले थाइल्याण्ड गएको छ भनेर जवाफ दिए । तर पछि प्रहरीसँगको बयानमा भने बम्जनको आश्रममा जिम्मा लगाएको र बाँकी कुरा आफूलाई थाहा नभएको उनले बताएका थिए ।

केही उपाय नलागेपछि हस्तबहादुर छोरा खोज्न ललितपुर, भैंसेपाटीमा रामबहादुर बम्जनको कार्यक्रमस्थल र उनको आश्रममा पुगे । ‘हामीले रामबहादुर बम्जनलाई भेट्न धेरै पटक कोसिस ग¥यौँ तर यस्ता त कति आए कति गए भनेर बम्जनको आश्रमस्थलबाट हामीलाई फर्काइदिए,’ हस्तबहादुरले सुनाए, ‘तर अहिले बम्जनलाई प्रहरीले प्रकाउ गरेको छ भन्ने सुनेको छु । अब बम्जनले मेरो छोरा कहाँ लगेर के ग¥यो भनेर भन्ला, मलाई मेरो छोरा चाहियो ।’

हस्तबहादुरलाई ८ वर्षदेखि बेपत्ता छोरा जिउँदै छ कि भन्ने आशा छ । सीआईबीले बम्जनलाई पक्राउ गरेपछि आफ्नो छोराको बारेमा पनि केही पत्ता लाग्ने उनको विश्वास छ ।

‘अब सरकारले केही न केही गर्छ कि, मेरो छोराको विषयमा केही पत्ता लगाउँछ कि भन्ने आशा छ, मलाई मेरो छोराको श्वास चाहियो कि लास चाहियो,’ उनले भने ।

८० वर्षीय सुकीमाया आले भने नातिलाई कसैले ठटाएर मारे कि भन्ने चिन्ता छ । ‘एक्लै गएको, अहिले जेठमा ठ्याक्कै ८ वर्ष हुन्छ, फर्किएर आएको छैन, नागरिकता र मोबाइल पनि सँगै लगेको थियो, तर कहिल्यै फोन गरेन,’ सुकीमायाले भनिन्, ‘८० वर्ष पुगिसकेँ, अझै पनि नाति आउँछ कि भनेर बाटो हेरिरहेको छु ।’

ra7

यता, सुरेश आलेकी आमा नन्दकुमारी आले भात खाएर चिसै हात जसबहादुर वाइवासँग घरबाट निस्किएको छोरा त्यसयता नफर्किएको बताउँछिन् । उनलाई छोरा फर्किन्छ कि भन्ने अझै आशा छ ।

‘छिमेकमा गएका अरु सबै साथीहरु आए तर हाम्रो छोरा अझै फर्किएको छैन,’ नन्दकुमारीले भनिन्, ‘अझै पनि आउँछ कि भन्ने आशा छ ।’

ra9

छोरोको विषयमा सोधीखोजी गर्न गएका सञ्चारकर्मीसामु हस्तबहादुरको परिवार रुँदै छोरोको खोजीमा सहयोग गरिदिन आग्रह गर्छन् ।

बारा, निजगढ स्थायी घर भएका बम्जन लामो समय हलखोरिया जङ्गलमा गुम्बा बनाएर बसेका थिए । बम्जन बारामा बस्दा हस्तबहादुरका छोरासँगै धेरै छिमेकी बम्जनको आश्रममा गएका थिए । तर बम्जनको आश्रममा पुगेका धेरै घर फर्किए पनि उनका छोरा भने फर्किएनन् । बम्जन पक्राउ परेपछि भने छोराको बारेमा पत्ता लाग्ने आश उनीहरुलाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप