आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
लगानी

कहाँ जाँदैछ बैंकहरुको खर्बौँको लगानी ?

उत्पादनभन्दा बढी उपभोगमा केन्द्रित
बिहीबार, ०४ माघ २०८०, ०९ : ५३
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । तर पुँजीगततर्फ बजेट खर्च ६ महिनामा मुस्किलले ४९ अर्ब २३ करोड हाराहारी मात्र हुन सकेको छ । 

आर्थिक वर्षका लागि सरकारले विकास खर्चतर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ छुट्याएको थियो । आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको सरकारले विनियोजित बजेटको जम्मा १७ प्रतिशत मात्र विकास खर्चमा छुट्याउँदा सो समेत खर्च गर्न नसक्दा मुलुक विकासमा पछि परिरहेको स्पष्ट हुन्छ । 

प्रत्यक्ष उत्पादनसँग जोडिएको विकास खर्च नै हुन नसक्ने स्थितिमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आफैमा चुनौतीपूर्ण छ । पछिल्लो समय उपभोग्य बजारको शिथिलता र व्यक्तिको क्रय शक्तिमा ह्रास आउँदा उत्पादन, बजार र प्रतिफलको चेनमा नै प्रभाव पारेको छ । 

उत्पादनसँग जोडिएका निजी क्षेत्रले कर्जा माग घटाउँदा बैंकहरुको लगानी नै घट्न पुगेको छ । यसको प्रत्यक्ष प्रभाव उत्पादनमा पर्ने देखिन्छ । 

मङ्सिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दा ४९ खर्ब ९७ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यति धेरै लगानी आखिर कहाँ जाँदैछ त ?

  • उत्पादनभन्दा बढी उपभोगमा केन्द्रित

बैंक तथा वित्तीय कम्पनीहरूले प्रवाह गरेको कर्जाको विवरण हेर्दा उत्पादनमा भन्दा बढी उपभोग क्षेत्रमा केन्द्रित देखिन्छ । करिब ५० खर्ब हाराहारी कर्जा प्रवाह भएकोमा यसको करिब २० प्रतिशत हाराहारी कर्जा घरायसी उपभोग (कन्जम्सन) क्षेत्रमा मात्र गएको देखिन्छ । 

मङ्सिर मसान्तसम्म ‘कन्जम्सन लोन’ शीर्षकमा ९ खर्ब ४६ अर्ब ९४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गएको केन्द्रीय बैंकले जनाएको छ । यो कूल कर्जाको १८.९३ प्रतिशत हिस्सा हो । 

यस्तै, व्यक्तिगत घर आवास निर्माण क्षेत्रमा ३ खर्ब ७७ अर्ब ६६ करोड ८० लाख रुपैयाँ कर्जा गएको छ । यद्यपि, यो पनि २ करोड रुपैयाँमाथिको मात्र तथ्याङ्क हो । २०८० असार मसान्तसम्ममा ३ खर्ब ४८ अर्ब ७२ करोड ५० लाख रुपैयाँ कर्जा लगानी भएकोमा पछिल्लो ५ महिनामा आवासीय कर्जामा ८.३० प्रतिशतले वृद्धि भएको देखिन्छ । 

  • १ खर्बमाथिको अटो लोन

गएको ५ महिनामा सवारी कर्जातर्फ हायर पर्चेज शीर्षकमा १ खर्बमाथिको कर्जा प्रवाह भएको देखिन्छ । प्राप्त रिपोर्ट अनुसार मङ्सिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सवारी कर्जामा १ खर्ब २९ अर्ब १ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो २०८० असार मसान्तको तुलनामा ३० अर्ब २० करोड हाराहारीले कमी हो । गत असार मसान्तसम्ममा बैंकहरुले हायर पर्चेज लोन अन्तर्गत १ खर्ब ५९ अर्ब २१ करोड ६० लाख रुपैयाँ लगानी गरेका थिए । 

सरकारले विदेशी मुद्राको सञ्चितिमा समेत दबाब पर्न थालेपछि एलसीमा कडाइ गरेपछि अघिल्लो वर्षदेखि नै गाडी आयात र खरिदबिक्रीमा प्रभाव परिरहेको छ । खासगरी कोभिड–१९ पछिल्लो खस्किएको अटो बजार हालसम्म पनि पहिलेको अवस्थामा फर्कन सकेको छैन । जसका कारण पछिल्ला वर्षहरूमा सवारी कर्जामा बैंकहरुको लगानी समेत क्रमशः घट्दो क्रममा रहेको छ । 

२०७८ असार मसान्तसम्ममा सवारी कर्जामा १ खर्ब ६० अर्ब ६५ करोड प्रवाह भएकोमा २०७९ असारमा सो घटेर १ खर्ब ५७ अर्ब १६ करोडमा झरेको थियो । तर पछिल्लो वर्ष ईभी (विद्युतीय सवारी) मा आएको लहर, दसैतिहारमा गाडीको माग बढ्दा कर्जा लगानी समेत केही बढ्न गएको छ । जसका कारण २०८० असारमा सवारी कर्जामा १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ हाराहारी कर्जा लगानी भएको छ । पुनः यो क्रम क्रमशः घट्दो छ । 

  • व्यापार क्षेत्रमा १० खर्ब बढी लगानी 

यस्तै, व्यापारको क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले १० खर्ब बढी कर्जा लगानी गरेका छन् । केन्द्रीय बैंकको रिपोर्ट अनुसार मङ्सिर मसान्तसम्म बैंकहरुले होलसेल तथा रिटेल्स क्षेत्रमा ९ खर्ब ९९ अर्ब ५३ करोड ८१ लाख रुपैयाँ लगानी गरेकामा ट्रस्ट रिसेप्ट/इम्पोर्ट लोनमा ८४ अर्ब २५ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । तथापि, प्रत्यक्ष उत्पादनसँग नजोडिने भए पनि यो क्षेत्रको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा भने योगदान रहन्छ नै । 

  • कृषि र पर्यटन

उत्पादनसँग जोडिएको कृषि र पर्यटनमा गएको बैंकिङ लगानी त्यति बढेको देखिँदैन । आर्थिक वर्षको ५ महिनामा कृषि तथा वन पैदावार क्षेत्रमा जम्मा ३ खर्ब ६५ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कर्जा गएको देखिन्छ । यो गत असार मसान्तको तुलनामा १.११ प्रतिशतको गिरावट हो । 

केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तसम्ममा कृषि क्षेत्रमा ३ खर्ब ६९ अर्ब ६२ करोड ७० लाख रुपैयाँ कर्जा गएको थियो । तर, समीक्षा अवधिमा माछापालनतर्फ भने केही लगानी बढेर १५ अर्ब ७५ करोड ६० लाख रुपैयाँ गएको छ । २०८० असार मसान्तसम्ममा सो क्षेत्रमा १५ खर्ब १ करोड २० लाख रुपैयाँ कर्जा गएको थियो । 

यस्तै, समीक्षा अवधिमा कृषि, खाद्य तथा पेय पदार्थ उत्पादनका क्षेत्रहरूमा ८ खर्ब २७ अर्ब ६९ करोड ६० लाख रुपैयाँ कर्जा गएको केन्द्रीय बैंकले जनाएको छ । जबकि गत असार मसान्तसम्ममा यो क्षेत्रमा ७ खर्ब ८२ अर्ब ५३ करोड ६० लाख रुपैयाँ कर्जा गएको थियो । 

यता पर्यटन क्षेत्रमा केही लगानी बढेको छ । २०८० असार मसान्तसम्ममा कूल २ खर्ब ११ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको पर्यटन क्षेत्रमा आर्थिक वर्षको ५ महिनामा थप ९ अर्ब ७२ करोड १० लाख रुपैयाँले लगानी वृद्धि हुँदै कूल २ खर्ब २० अर्ब ८८ करोड १० लाख रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । 

यस्तै, ५ महिनामा २ खर्ब १९ अर्ब ३७ करोड बराबरको लगानी कन्स्ट्रक्सन क्षेत्रमा गरेको बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक यातायात तथा सञ्चार क्षेत्रमा ९४ अर्ब ३३ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप