आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
यात्रा निबन्ध

तेङ्बोचेको उकालो काट्न मलाई कति समय लाग्ला ?

शनिबार, १३ माघ २०८०, ०८ : १३
शनिबार, १३ माघ २०८०

‘अहिले तपाईं हिँड्नुपर्ने उकालो ऊ त्यही जङ्गलको बिचमा देखिएका बाङ्गाटिङ्गा सेता धर्साहरूजस्ता बाटा हुन् । जङ्गलमाथि देखिएका घरहरू तेङ्बोचेका होटल हुन् । त्यही ठाउँमा हो तपाईंको आजको बास ।’ सनासाको बिसौनीमा एकजना यात्रीले मेरो जिज्ञासा यसरी मेटाइदिएका थिए ।

आफ्ना औँलाले औँल्याउँदै मलाई पूर्वको दृश्य देखाउँदै आजको मेरो गन्तव्यबारे यसरी जानकारी दिएका थिए ।

त्यहाँ घर थिए । पर्यटकका लागि पसल पनि थिए । बुद्धको मूर्ति, सगरमाथाको तस्बिर, अमादब्लम र अन्य हिमशिखरका तस्बिर बेच्नका लागि राखिएका थिए । नेपाली झन्डा, बेसक्याम्पको नक्सा, पदयात्राका लागि चाहिने चस्मा, लौरी, डोरी, टोपी, मोजा, ज्याकेट आदि सबै थिए ।

‘उकालो त गाह्रो होलाजस्तो पो छ । दुई घन्टामा त उकालो चढिएला नि भाइ ?’ मैले उनलाई सोधेँ ।

‘एक घन्टामा तेङ्बोचेको उकालो काट्नुहुन्छ ।’ उनले आफूले हिँडिरहेको बाटो हिँड्न सजिलै सकिने अनुभव सुनाए ।

यति भनेर आफ्नो झोला बोकेर उनी नाम्चेतिर उकालिए । तेङ्बोचे पुग्न सनासाबाट म लैसासाको ओरालो ओर्लिन थालेँ ।

बाटो छेउको बडेमान ढुङ्गामा ‘ओम् माने पेमे हुँ’ लेखिएका सुन्दर अक्षर कुँदिएका थिए । यति ठूलो पहाडजस्तो ढुङ्गामा पनि कसरी अक्षर कुँदेको होला भन्ने कुतूहल हुन्थ्यो । उत्तरतिर यस्तै ठुलो चट्टानी पहाड गजधम्म उभिएका थिए । पूर्वीभागमा हिमाली लस्करैमुनि तेङ्बोचे पाहुना पर्यटक पर्खिएर बसिरहेझैँ लाग्थ्यो ।

एक भारी घाँसको दश हजार पर्छ रे । उँभो हिमाली भेगमा घाँस नपाइने हुँदा घाँसको भारी बोकेरै माथि पुर्‍याइने रहेछ । बाटोमा अनेक भरिया भेटिन्थे । कसैले कोकफेन्टाका बोझिला भारी मरुन्जेल बोकेका थिए, कसैले चाउचाउको ।

कैयौँ कुइनेटो टेकेर बस्दै, बिसाउँदै हिँडियो । यसरी तल झर्दै गर्दा कति यात्री कहाँ पुगे, कति नयाँ यात्री भेटिए ? यसको हिसाब–किताब केही भएन । अग्ला भारी बोकेका भरिया पनि भेटिए, उनीहरुको भारी अलि अनौठो लाग्दो थियो । सोध्दा थाहा भयो– त्यो भारी चौँरी–घोडाको घाँस रहेछ । एक भारीको दश हजार पर्छ रे । उँभो हिमाली भेगमा घाँस नपाइने हुँदा घाँसको भारी बोकेरै माथि पुर्‍याइने रहेछ ।

बाटोमा अनेक भरिया भेटिन्थे । कसैले कोकफेन्टाका बोझिला भारी मरुन्जेल बोकेका थिए, कसैले चाउचाउको । किलोका हिसाबले ज्याला आउने भएकाले भरियाले सकुन्जेल बोक्दा रहेछन् । पर्यटकका झोला लगायत सामान बोक्नेले पनि राम्रै ज्याला पाउँदा रहेछन् । बाटोमा चौँरी, घोडा पनि गह्रुङ्गो भारी बोकेर मरितरी हिँडिरहेका थिए ।

IMG_20231104_083525

भरिया र पथप्रदर्शकको काममा प्रायः पुरुषहरू र घरको काम (खासगरी होटल व्यवसाय)मा महिलाहरू सक्रिय रहेको देखियो । भारी बोकेर हिँडेका महिला कतै देखिएनन् । अनि होटलको काममा पुरुषहरूको उपस्थिति कमै मात्र देखियो ।

पैदलयात्री पाहुनाहरूको हिँडाइ पनि गज्जबकै देखिन्थ्यो । कोही फोटो खिच्नमै व्यस्त, कोही गीत सुसेल्दै त कोही चुपचाप हिँडिरहेका थिए । यस्तैमा एकजना गज्जबको विदेशी भेटियो । आधार शिविरमा पुगेर फर्किएको खुसीमा ऊ यति आनन्दित थियो कि उकालोको कुनै पर्वाह नगरी गितार बजाएर गीतमा मस्तले झुम्दै उक्लिरहेको थियो । गितार पनि उसले यति लामो बाटो बेस क्याम्पसम्म बोकेर बजाउँदै पुगेको रहेछ । ऊ रमाउँदै फर्किएको देख्दा लाग्थ्यो, हिँडाइ र दुःख त केही पनि होइन, मनको चाहना पूरा भएपछि खुसी स्वतः आउँदोरहेछ ।

तल दूधकोशी बगेको आवाज कानमा ठोकिन थालिरहेको थियो । ढुङ्गे बिसौनीमा भरियाहरू सुस्ताइरहेका थिए । उनीहरूले बोकेको क्यासेटको गीत फिक्का थियो । नदीले सबै आवाज खाएको थियो । तैपनि मेरो कान तिखै हुनुपर्छ, भरियाहरू बोलेको कुरा मेरो कानमै ठोक्किन आइरहेथ्यो ।

‘जिउँदोभन्दा मरेको मासुले ज्यान खायो ।’ भन्दै बिसौनीमा केही भरिया कुरा गरेको मेरो कानमा पर्‍यो । कुरा सुन्दा अचम्म पनि लाग्यो । कुतूहलले कुत्कुत्याएपछि मैले सोधेँ– ‘के भयो भाइ ?’

तिनीहरू केही बोलेनन् । मुखामुख मात्र गरे । मलाई झन् अनौठो लाग्यो । डर र शङ्का पनि भयो ।

यसैबिच मुस्किलले भारी बोकेर झरिरहेका केही बटुवासँग जम्काभेट भयो । मैले झ्वाट्ट देखिहालेँ मासुको भारी । मलाई यो दृश्य अचम्मको लाग्यो । किनभने मासुकै भारी यसरी बोकेर यति कठिनको बाटोमा हिँडेको मैले यसअघि देखेको थिइनँ ।

‘के को भारी हो भाइ यो ?’ मैले तिनीहरूलाई पनि यही प्रश्न गरेँ ।

‘मासु हो हजुर ।’ एकजनाले भने । 

‘कहाँ पुर्‍याउने हो ?’ अचम्म मान्दै मैले फेरि सोधेँ ।

‘लुक्लाबाट ल्याएको, बङ्गुरको मासु तेङ्बोचेको होटलमा पुर्‍याउने हो ।’ अर्का भरियाले भने ।

चिसो ठाउँ भएकाले यतातिर मासु राख्न फ्रिज नचाहिँदोरहेछ । साता दिनभन्दा बढी समयसम्म मासु नबिग्रँदो रहेछ ।

‘किन त्यति टाढाबाट मासु बोकेर ल्याएको ? उतै तेङ्बोचेमै जिउँदै बङ्गुर लगेर काट्नु हुँदैनथ्यो र ?’ मैले सोधेँ ।

‘ओहो, कहाँ हुन्छ र ? यता काटमार गर्न पाइँदैन । त्यही भएर काटेको मासु यसरी बोक्नुपरेको ।’ मासुको भारी मिलाउँदै आफ्नै सुरमा एकजनाले भने ।

झ्वाट्ट देखिहालेँ मासुको भारी । मलाई यो दृश्य अचम्मको लाग्यो । किनभने मासुकै भारी यसरी बोकेर यति कठिनको बाटोमा हिँडेको मैले यसअघि देखेको थिइनँ । लुक्लाबाट ल्याएको बङ्गुरको मासु तेङ्बोचेको होटलमा पुर्‍याउने रे ।

हेर्दा लाग्थ्यो, मासु बोक्ने यी भाइहरू गल्नुसम्म गलेका छन् । आफूले बोकेको भारीबाहेक उनीहरूको ध्यान अरूतिर छैन । उनीहरूको बोली र व्यवहारबाट मैले अनुमान गरेँ, कहिले होटल पुर्‍याएर फर्कौंला भन्ने मात्र ध्याउन्न छ उनीहरूलाई ।

‘कहिले होटल पुर्‍याएर फुक्का भई फर्कने होला ? अझै त्यत्रो उकालो बाँकी नै छ ।’ नभन्दै उनीहरूको मुखबाट यही कुरा निस्कियो । पारिको तेङ्बोचे पुग्ने उकालो नियाल्दै उनीहरू यही कुरा भनिरहेका थिए । 

‘किन यता काटमार गर्न नहुने तर मासु खान र बेच्न चाहिँ हुने ?’ मैले सोधेँ ।

IMG_20231104_092803

‘खुम्बु क्षेत्रमा ठुला गुम्बाहरू छन् । गुम्बामा लामा गुरूहरू बस्छन् । बौद्ध धर्ममा काटमार गर्न पाइँदैन । त्यही भएर धेरै पहिलेदेखि यता काटमार गर्न पाइँदैन । टुरिस्टका लागि काटेका मासु बोकेर यहाँ ल्याइन्छ ।’ उनीहरूबाट मैले यति जानकारी पाएँ ।

अब ओरालो निख्रिनै लागिसकेको थियो । तर तेङ्बोचेको कठिन उकालो सामुन्ने उपस्थित थियो ।

लुक्लाबाट यतिका दिन हिँडिसकियो तर पुग्नुपर्ने गन्तव्य अझै टाढै छ । हिँड्नुपर्ने बाटोको कठिनाइ अझै बाँकी नै छ । सानो सुख र थोरै खुसी पाउनका लागि कति ठुलो दुःखको पहाड चढ्नुपर्ने ?

बाटैभरि पदयात्री बाह्य पर्यटकको भिड त्यही सुख भेट्न लम्किरहेको थियो । सामान बोकेका खच्चडहरूको उस्तै लस्कर । कुनै घुम्तीमा पाँच मिनेट नै पालो पर्खिनुपर्ने । यस्तो रहस्यको गन्तव्य सगरमाथा जाने बाटो । संसारकै मानिसको ओहोरदोहोर बाह्रै महिना ।

पाखामा निस्फिक्री वन्यजन्तु चरिरहेका देखिन्थे । अनेक जातका चराहरू उडिरहेका, च्याँच्याँचुँचुँ कराइरहेका सुनिन्थे । जङ्गलको बाटो, बिसौनी, लज, रेस्टुरेन्ट हुँदै पुनः ठाडो ओरालो । साह्रै सफा, कञ्चन दूधजस्तै सेतो दूधकोशी उन्मुक्त जलप्रवाहमा बगिरहेको । एकछिन पानीको छाल, तरङ्ग र भेल हेरेर आनन्दित हुन्छु ।

दूधकोशीको झोलुङ्गे पुल तरेर पारि जानुअघि पुलछेउमै चिटिक्कको रेस्टुरेन्ट देखिन्छ । फुलिरहेका फूलहरू गमलामा सजाइएका छन् । बोट वनस्पति पनि हेरिरहौँ जस्तो लाग्ने किसिमका छन् । सफासुग्घर त्यस्तै, एकैछिन भए पनि बसौँ जस्तो । आरामले विश्राम लिएर मात्रै उकालो लागौँ जस्तो । यस्तो राम्रो बिसौनीलाई छाडेर उकालो उक्लिनुको सास्ती सम्झिँदा सात्तो जान्थ्यो ।

पारि बगरछेउमा पनि प्रशस्तै होटल छन् । तिनमा पर्यटकको घुँइचो देखिन्छ । वातावरण साह्रै मनमोहक छ । बेँसी भएकाले चिसोको मात्रा कम छ । शान्त–शीतल र सुन्दर प्रकृतिमा मन त्यसै रमाउँछ । आँखाहरू हिमालतिर, भीरपाखा, पखेरातिर चहार्छ । परन्तु ओरालो ओर्लिएकाले खुट्टा थकित छ । त्यसैले अब उकालो चढ्न खुट्टा कामिरहेको छ ।

‘भाइ, तेङ्बोचेको उकालो काट्न मलाई कति समय लाग्ला ? हिजोदेखि नै उकालो देखेर तर्सिरहेको छु । कत्तिको गाह्रो होला ?’ गाह्रो र सजिलोको कुरै भएन । रेस्टुरेन्टका शेर्पा भाइले मलाई धेरै कुरा सम्झाए–सुनाए । हौसला दिएर मलाई आश्वस्त पारे । हुन पनि उनको कुरा सुनेर सजिलै छिनभरमै तेङ्बोचे पुगेजस्तै मलाई महसुस भयो ।

उकालो उक्लिरहेकाहरू हेर्छु, भर्खरका युवाले बडेमानको भारी सजिलै बोकेर हिँडिरहेका छन् । पर्यटक पनि भारीमै कसिएर हिँडिरहेका छन् । यिनै दृश्यलाई साक्षी राख्छु र साहस लिएर म हल्का आठ किलोको भारीले अर्रिंदै तेङ्बोचेको उकालो लाग्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप