सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

२०औँ एसियाडका लागि राखेको महत्त्वाकांक्षी योजना : स्वर्णसहित दोहोरो अंकमा पदक

पाँच खेलको विशेष प्रशिक्षण शुभारम्भ
आइतबार, १४ माघ २०८०, १६ : ०४
आइतबार, १४ माघ २०८०

काठमाडौँ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को २०औँ संस्करणलाई लक्ष्य बनाएर ‘महत्त्वाकांक्षी’ योजना अगाडि सारेको छ ।

काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रमबिच राखेपका सदस्यसचिव टंकलाल घिसिङले आगामी एसियाडलाई ध्यानमा राखी आफूहरुले ‘महत्वाकांक्षी तर, व्यवस्थित’ योजना अगाडि सारेको जानकारी दिए ।

सदस्यसचिव घिसिङले सोही योजनालाई मूर्तरुप दिन आफूहरुले करिब तीन वर्षअघि नै आगामी एसियाडका लागि पाँचवटा खेलको विशेष प्रशिक्षण सुरु गरेको जानकारी पनि दिए । उनले आफूहरु आगामी एसियाडमा स्वर्ण पदक जित्ने योजनासहित अगाडि बढेको दाबी पनि गरे ।

‘हामीले मिसन–२०२६ अन्तर्गत जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने महत्वाकांक्षी तर, व्यवस्थित लक्ष्य दिएका छौँ,’ कार्यक्रममा उनले भने, ‘त्यही लक्ष्य प्राप्त गर्नका लागि हामीले पाँचवटा खेलको विशेष प्रशिक्षण शुभारम्भ गरेका छौँ ।’

नेपालले पहिलो संस्करणदेखि नै एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको थियो । 

पहिलो संस्करणमा सहभागिता जनाएको ३५ वर्षपछि आएरमात्र नेपालले एसियाली खेलकुदमा पदक जित्न सकेको थियो । नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १०औँ संस्करणमा पहिलो पटक पदक जितेको थियो । एसियाली खेलकुदको त्यो संस्करणमा नेपालले बक्सिङ र तेक्वान्दोमा गरी कुल आठवटा कांस्य पदक हात पारेको थियो ।

त्येतिबेला तेक्वान्दोमा विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्रीले कांस्य पदक जितेका थिए । बक्सिङतर्फ भने दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक जितेका थिए ।

एसियाली खेलकुदमा सहभागिताको ७२ वर्ष लामो इतिहासमा नेपाल पदक तालिकामा भने रजतभन्दा माथि उक्लन सकेको छैन । नेपालले एसियाली खेलकुदमा हालसम्म तीनवटा रजत पदक जितेको छ । एसियाली खेलकुदको इतिहासमा नेपालको सबैभन्दा ठूलो उपलब्धि त्यही तीन पदक हो ।

सदस्यसचिव घिसिङले २०औँ एसियाली खेलकुदमा भने नेपाल स्पष्ट योजना, बलियो तयारी र महत्वाकांक्षी लक्ष्यसहित सहभागी हुने दाबी गरे । २०औँ एसियाडलाई ध्यानमा राखी राखेपले पहिलो चरणमा कराँते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो गरी पाँच खेलको विशेष प्रशिक्षणको शुभारम्भ गरेको हो ।  

सदस्यसचिव घिसिङले विगतको प्रदर्शन, वर्तमान अवस्था र पदकीय सम्भावनालाई ध्यानमा राखी पहिलो चरणमा यी पाँच खेलको विशेष प्रशिक्षण प्रारम्भ गरिएको जानकारी दिए । यी पाँचवटै खेलबाट उत्कृष्ट १०–१० जना खेलाडीलाई विशेष प्रशिक्षण सहभागी गराउने जानकारी उनले दिए ।

विशेष प्रशिक्षणमा सहभागी खेलाडीमध्ये २९ जना पुरुष र २१ जना महिला खेलाडी रहने छन् । विशेष प्रशिक्षणका लागि खेलाडी छनोट गर्ने जिम्मा भने सम्बन्धित राष्ट्रिय खेल संघलाई दिइएको छ । विशेष प्रशिक्षणमा प्रत्येक खेलका दुई–दुईजना प्रशिक्षकलाई सहभागी गराइने छ ।

विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई प्रतिव्यक्ति तीन सय रुपैयाँका दरले खुराक खर्च उपलब्ध गराइने जानकारी सदस्यसचिव घिसिङले दिए । यसका अतिरिक्त विशेष प्रशिक्षणका सहभागी खेलाडी र प्रशिक्षकलाई प्रतिव्यक्ति आठ हजार रुपैयाँ बराबरको किट्स पनि उपलब्ध गराइने छ ।

विशेष प्रशिक्षण अवधिभरका लागि खेलाडी र प्रशिक्षकको स्वास्थ्य बिमा पनि गरिएको छ । विशेष प्रशिक्षणका क्रममा खेलाडी फिटनेश परीक्षण, स्ट्रेन्थ पावर ट्रेनिङ, डाइट एन्ड न्युट्रशन कक्षा, उत्प्रेरणात्मक तथा खेल विज्ञान कक्षा, योग कक्षा र डोपिङ सम्बन्धी अभिमुखीकरण कक्षा पनि सञ्चालन गरिने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप