बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय
अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र

डरले गाँजिएको हाम्रो सामाजिक मनस्थिति

दलहरू डोरबहादुर विष्टले औँल्याएको चार खुट्टामा आधारित प्राइभेट कम्पनीजस्ता भए
बुधबार, २४ माघ २०८०, १७ : ०३
बुधबार, २४ माघ २०८०

मलाई कविता पढ्न मन पर्छ । रघुवीर सहाय जो दिनमानको सम्पादक हुनुहुन्थ्यो, उहाँको ‘दो अर्थ का भय’ शीर्षकको लामो कविताको छोटो अंश यहाँ उद्धृत गर्न चाहन्छु । यो कविता हिन्दीमा छ, मधेसीको उपस्थिति देखाउन नै मलाई यस प्यालनमा आमन्त्रण गरिएको छ । नभए त बहुसंख्यक बाहुन हुन्थे । यस प्यालनमा एकजना महिला, एकजना मधेसी छन् तर एकजना दलित छुटेछन् । 

म मधेसी भएकाले हिन्दीमा पढ्न गाह्रो नहोला । रघुवीर सहायका यी पंक्ति बहुत साधारण छन्–

मैं सब जानता हूँ पर बोलता नहीं 
मेरा डर मेरा सच एक आश्चर्य है 
पुलिस के दिमाग मे वह रहस्य रहने दो 
वे मेरे शब्दों की ताक में बैठे हैं 
जहाँ सुना नहीं उनका गलत अर्थ लिया और मुझे मारा 
इसलिए कहूँगा मैं 
मगर मुझे पाने दो 
पहले ऐसी बोली 
जिसके दो अर्थ न हों ।

द्विअर्थी शब्दहरूको द्विअर्थले हाम्रो समाजलाई गाँजेको छ । राजनीतिको व्याकरण भनेको संविधान हो । संविधान नै द्विअर्थी शब्दहरूको सँगालो हुन गएको छ । उदाहरणका लागि, धर्मनिरपेक्षता त तपाईंहरू सबैलाई थाहा छ । सनातन धर्मसापेक्ष धर्मनिरपेक्षता नितान्त नेपाली संविधानको एउटा नवशब्द हो, नवव्याख्या हो, नवपरिभाषित शब्दावली हो । 

संस्कार र कानुनमा द्वन्द्व भयो भने कालान्तरमा संस्कार फेरिन्छ । त्यसका लागि राजनीतिले अलिकति जोखिम उठाउनुपर्छ । जोखिम उठाउन हाम्रा नेताहरू कति इच्छुक छन् ?

संघीयताकै कुरा गरौँ, संघीयताको स्थापित परिभाषा पहिलो संविधानसभाले तोकेकै थियो- पहिचान, सम्मान, स्वशासन, सहशासन, सुशासन र सक्षमता भनेर । यीमध्ये अहिलेको संघीयताले के कति अंगीकार गरेको छ ? कहिल्यै सदनमा यसको बारेमा छलफल भएको छ ? 

अब लोकतन्त्रको कुरा गरौँ । लोकतन्त्र नवप्रवर्तक हो, डेमोक्रेसी भनेको प्रजातन्त्र नै हो, खासमा बहुसंख्यकवाद हो डेमोक्रेसी । गणतन्त्र भने पनि एक किसिमको वर्चस्ववादी समूहको बहुसंख्यकवादबाटै जन्मेको हो । लोकतन्त्र भनेको नितान्त नयाँ अवधारणा हो । यसले लोकको सर्वजन हिताय, सर्वजन सुखाय, न्याय र सहभागिता सुनिश्चित गर्ने शासन व्यवस्थालाई समेट्छ । 

सन् २००६ देखि २०१५ सम्म नौ वर्ष हामीले लोकतन्त्रका बारेमा विभिन्न नागरिक समाजका मञ्चमा छलफल गर्‍यौँ । लगभग तत्कालीन सबै दलका सबै ठुला नेताहरूलाई हामीले भनेका थियौँ, लोकतन्त्रलाई प्रजातन्त्रभन्दा फरक भनी बुझ्नुस् है । डेमोक्रेसीको नेपाली अनुवाद लोकतन्त्र बनाएर संविधानमा हामीले राखिदियौँ । त्योभन्दा अगाडि बढ्ने हिम्मत चाहिँ आएन । 

अब प्रक्रियाको कुरा गरौँ । लोकतन्त्रको प्रक्रियामा साधारणतः विधि हुनुपर्छ, आधुनिक निर्वाचन हुनुपर्छ, निरन्तर जनसम्पर्क हुनुपर्छ । यसमा नेतृत्व सादगी हुनुपर्छ, उनीहरूमा इमान–जमान र पारदर्शिता हुनुपर्छ । लोकतन्त्रको विधि र प्रक्रियालाई हामीले कहाँसम्म हेरेका छौँ ? 

डोरबहादुर विष्टले नेपाली समाजको चरित्रलाई चार खुट्टामा उभिएको भनेका थिए । ती चार खुट्टा थिए— बाहुनवाद, भाग्यवाद, चाकडी र आफ्नो मान्छे । त्यो बेला स्पष्टसँग भन्न त सकिँदैनथ्यो, त्यसैले उनको संकेत गरेको हुनुपर्छ, यी चारवटा खुट्टामै राजतन्त्र उभिएको छ ।

अभ्यासको कुरा गरौँ । अभ्यास विभिन्न हुन्छन् । संगीतको अभ्यासमा के हुन्छ भने एउटै रागलाई पटकपटक अभ्यास गर्दै जाँदा अभ्यास गर्ने व्यक्तिको गायनमा सुधार आउँछ । साहित्यको अभ्यासमा के हुन्छ भने, सेक्सपियरको एउटै नाटक अथवा देवकोटाको एउटै कविता पटकपटक पढ्यो भने विभिन्न अर्थ आउँदै जान्छन् । गणितमा सूत्र गलत छ भने जति अभ्यास गरे पनि केही पनि आउनेवाला छैन । शून्यलाई करोडले गुना गरे पनि शून्य नै हुन्छ । एकले अर्बलाई गुना गरे पनि अर्ब नै हुन्छ । तर शून्यमा पुगेपछि यो शून्य हुन्छ । 

हामी कस्तो अभ्यास (संविधानको अभ्यासको सन्दर्भ)मा गयौँ भने, सन् १९९० को संविधान होस् अथवा २०१५ को संविधान होस्, यिनमा हामीले पाँचले पाँचलाई गुनेपछि पाँच सय आउँछ भन्ने खालको अपेक्षा गर्‍यौँ । पाँचले पाँचलाई जतिपटक गुने पनि आउने २५ नै हो । 

हामीले साहित्य र गणितको नभएर संगीतको अभ्यास गरिरहेका छौँ । राग यही नै हो, यसलाई गाउन श्वासलाई कसरी व्यवस्थित गर्ने, ताललाई कसरी व्यवस्थित गर्ने भन्नेमै हामी अल्झेका छौँ । आज यहाँ जुन विषय राखिएको छ, ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’, यस अभ्यासमा व्याकरणको गडबडी छ । व्याकरणको गडबडी भए पनि कहिलेकाहीँ भाषा सम्प्रेषित हुन्छ, तर समग्र र स्पष्ट सम्प्रेषणका लागि सबैमा जागरुकता चाहिन्छ । जुन किसिमको जागरुकता चाहिनुपर्ने हो, त्यो जागरुकता जनतामा पनि हुनुपर्‍यो, राजनीतिकर्मीमा पनि हुनुपर्‍यो, स्वतन्त्र चिन्तन गर्नेहरूमा पनि हुनुपर्‍यो । अघि डा. देवेन्द्रराज पाण्डेले भन्नुभएको थियो कि उपचरात्मक हुनुपर्‍यो । तपाईंहरू कुनै राम्रो डाक्टरकहाँ जानुभयो भने डाक्टरले ओखती लेखिदिन्छ, व्यायाम गर्नुस् भन्छ, खानपानमा ध्यान दिनुस् भन्छ, त्यसलाई मान्नुपर्ने रोगीले हो । रोगीसँगसँगै त्यसलाई मान्ने जिम्मेवारी रोगीको परिवारको पनि हुन आउँछ । 

हाम्रो सामाजिक मनस्थिति नै डरले गाँजिएको छ । राजा गयो भने देशै रहँदैन । संघीयता आयो भने देश टुक्रिन्छ । समावेशी सहभागिता ल्यायौँ भने अक्षम मानिसहरू राज्य संयन्त्रमा आइपुग्छन्, कति नै सक्षम मान्छे हाबी भएजस्तो ! यही पृष्ठभूमिमा हाम्रो संविधान बनेको छ । यो डरबाट समाज निस्कनुपर्ने र समाजमा बौद्धिकता स्थापित हुनुपर्ने देखिन्छ ।

राजनीतिकर्मीलाई रोगी भनेर हामीले बडा कराइकराई भनिरहेका छौँ । विज्ञहरूले चिकित्सा पनि राम्रोसँग गरिराख्नुभएको छ । हाम्रो समाज जो एउटा व्यापक परिवार हो, त्यसले कुन किसिमको दबाब दिइरहेको छ त राजनीतिकर्मीहरूमाथि ! मलाई ठेक्कापट्टा चाहियो, नियुक्ति चाहियो, तिमीले मलाई नोकरी दिएनौ भने म रुसको सेनामा भर्ना हुन्छु, म घाइते भएँ भने मलाई फिर्ता ल्याउने जिम्मेवारी तिम्रो हो भन्नेजस्ता दबाब दिइरहेका छौँ कि ? हामीले जुन किसिमको परिवार बनाउनुपर्ने हो, यो परिवार कस्तो हुन गइरहेको छ, यी कुरामा अझ बढी बहस हुनुपर्ने हो । यो हुन नसकेको कारण के हो भने, हाम्रो सामाजिक मनस्थिति नै डरले गाँजिएको छ । राजा गयो भने देशै रहँदैन । संघीयता आयो भने देश टुक्रिन्छ । समावेशी सहभागिता ल्यायौँ भने अक्षम मानिसहरू राज्य संयन्त्रमा आइपुग्छन्, कति नै सक्षम मान्छे हाबी भएजस्तो ! यही पृष्ठभूमिमा हाम्रो संविधान बनेको छ । यो डरबाट समाज निस्कनुपर्ने र समाजमा बौद्धिकता स्थापित हुनुपर्ने देखिन्छ । वीर र बहादुर नेपाली भन्ने त अर्काका लागि रहेछ, त्यो शारीरिक रूपमा रहेछ । बौद्धिक रूपमा आत्मविश्वास र बहादुरी जबसम्म समाजमा आउँदैन, तबसम्म हामीले यस्ता बहस वा चर्चा गर्नुको सार्थकता रहँदैन । यस्ता चर्चा हामीले धेरै गरिसकेका हुनाले यसप्रति मेरो रुचि घट्दै गएको छ । 

कुनै नयाँ कुरा गर्ने व्यक्तिलाई यो डराएको समाजले बौलाहा वा दुश्मन घोषणा गरिदिन्छ । मचाहिँ दुवै श्रेणीमा परिसकेको छु । 

आजभन्दा ३०–३५ वर्षअगाडि डोरबहादुर विष्टले नेपाली समाजको चरित्रलाई चार खुट्टामा उभिएको भनेका थिए । ती चार खुट्टा थिए- बाहुनवाद, भाग्यवाद, चाकडी र आफ्नो मान्छे । त्यो बेला स्पष्टसँग भन्न त सकिँदैनथ्यो, त्यसैले उनको संकेत गरेको हुनुपर्छ, यी चारवटा खुट्टामै राजतन्त्र उभिएको छ । राजतन्त्रमा न्याय राजाको इच्छाले हुन्छ, राज्यको मुख्य काम न्याय सुनिश्चित गर्नु हो । त्यसैले राजा भएको देशमा न्याय पाइँदैन । विकास भनेको त जनताले गर्छन्, जनताको सहभागिता भएन भने विकास हुँदैन । 

अहिले राजा गए, तर समाजको स्थायी सत्ता त्यही चार खुट्टामा उभिएको छ, जसलाई निर्जातीय राष्ट्रवाद भनिन्छ । ती चारवटा खुट्टा यथावत छन् भने राजनीतिको नवप्रवर्तन कसरी हुन्छ ? लोकतन्त्र कसरी हुन्छ ? 

यहाँ शिक्षाभन्दा संस्कार बलियो हुँदो रहेछ । चन्द्रमामा रकेट पठाउने बेला नरिवल फोर्छ । जतिसुकै पढे–लेखेको भए पनि जातीय विभेद गर्छ, छुवाछुत गर्छ । उसले आमाका कारण भनेर बहाना बनाउला, कारण त्यो मात्रै होइन, संस्कारको कुरा पनि हो । त्यो संस्कारलाई बदल्ने काम गर्नुपर्ने राजनीतिले हो । के भनाइ छ भने, संस्कार र कानुनमा द्वन्द्व भयो भने कालान्तरमा संस्कार फेरिन्छ । त्यसका लागि राजनीतिले अलिकति जोखिम उठाउनुपर्छ । त्यो जोखिम उठाउने हो भने परिवर्तन आउँछ, त्यो जोखिम उठाउन हाम्रा नेताहरू कति इच्छुक छन् त ? 

यिनै विषयलाई लिएर सन् २०१५ मा डा. बाबुराम भट्टराई, देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला लगायत हामी चार–पाँचजना ठुला भनिएका नेता र प्रधानमन्त्रीकहाँ गएका थियौँ । सबैको भनाइ हुन्थ्यो- हाम्रो बाध्यता बुझिदिनुस् । देश चलाउन जिम्मा लिएको सबैभन्दा ठुलो नेताले बाध्यता बुझिदिनुस् भन्छ भने जोखिम कसले उठाउने ? जुन पोलिटिकल स्कुलिङ छ, त्योबाट बाहिर निस्कन राजनीतिकर्मीलाई गाह्रो हुन्छ । नेपाली कांग्रेसको स्कुलिङ के ? न आर्थिक नीतिमा बहस भएको छ, न सामाजिक र सांस्कृतिक परिवर्तनमा बहस भएको छ । क्रान्ति भनेको बहुआयामिक हो । न त्यस्ता साहित्य लेखिएका छन्, न त्यस्ता गीत गाइएका छन्, न त त्यस्ता कविता रचना भएका छन् । 

कम्युनिस्टहरू— माक्र्सवादी, लेलिनवादी, माओवादी जे भन्नुस्, उनीहरूले पश्चिम बंगाल र केरलका लागि हिन्दीमा अनुवाद भएर आएका पुस्तकहरू संस्कृत पारामा कण्ठ गरेको बाहेक स्कुलिङ बाहिर गएकै छैन ।

कम्युनिस्टहरू- मार्क्सवादी, लेलिनवादी, माओवादी जे भन्नुस्, उनीहरूले पश्चिम बंगाल र केरलका लागि हिन्दीमा अनुवाद भएर आएका पुस्तक संस्कृत पारामा कण्ठ गरेको बाहेक स्कुलिङ बाहिर गएकै छैन । पञ्चायतको राजनीतिकर्मीको कुरा गर्ने हो भने विचारभन्दा माथि देश, देशभन्दा माथि नरेशमै सीमित छ ।

नवप्रवर्तन गर्ने जुन किसिमको राजनीतिक अग्रसरता हुनुपर्ने हो, त्यो राजनीतिक दलहरूमा देखिएन, राजनीतिक दलमा त्यो वातावरण पनि भएन । राजनीतिक दलहरू दुई–चारजना नेताहरूका आ–आफ्ना प्राइभेट लिमिटेड कम्पनीजस्ता भए, डोरबहादुर विष्टले उहिल्यै औँल्याएर गएको चार खुट्टामा आधारित रहेर चलाउने प्राइभेट लिमिटेड कम्पनीजस्तो । चाकडीबाजहरू, आसेपासेहरू त्यहाँ भए । ब्राह्मणवाद त्यहाँ रह्यो । यसलाई परिवर्तन कसरी गर्ने भन्नेमा निश्चित सूत्र छैन । त्यस्तो भइदिएको भए अमेरिकामा ट्रम्प र भारतमा मोदी आउने नै थिएनन् । त्यही भएर नागरिक समाजले सडकलाई खाली छाड्नुहुँदैन । सडकलाई तताइराख्नुपर्छ, त्यो भयो भने त्यहाँबाट विभिन्न किसिमको विचार आउँछन्, नदेखिने गरी । त्यो विचार तुरुन्तै देखिँदैन तर परिवर्तन आउँछ । सन् १९९० पछि नेपाली कांग्रेसको प्रतिनिधि भन्नासाथ मनमोहन भट्टराई हुनुहुन्थ्यो, उहाँको कुरा नेपाली कांग्रेसमा कसले सुन्ने ? अहिले मनमोहन भट्टराईको स्थान डा. मीनेन्द्र रिजालले पाउनुभएको छ । उहाँले हाम्रो कुरा सुन्नुहोला तर शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई परिवर्तन गर्ने कुरा मैलेभन्दा त उहाँ (रिजाल)ले धेरै जान्नुभएको छ । उहाँ पीएचडी हो, मैलेभन्दा संघीयता बढी बुझ्नुभएको छ, लोकतन्त्र बढी बुझ्नुभएको छ । 

गर्ने कुरा धेरै थिए, तर यहाँ छोट्टयाउन भनियो, छोट्ट्याउने काम कविताबाट मात्रै हुन्छ, भाषणबाट हुँदैन । 

  • रघुवीर सहायकै एउटा कविता छ : 

हमने बहुत किया है
हम ही कर सकते हैं
हमने बहुत किया है
पर अभी और करना है
हमने बहुत किया है
पर उतना नहीं हुआ है
हमने बहुत किया है
जितना होगा कम होगा
हमने बहुत किया है
जनता ने नहीं किया है
हमने बहुत किया है
हम फिर से बहुत करेंगे
हमने बहुत किया है
पर अब हम नहीं कहेंगे
कि हम अब क्या और करेंगे
और हमसे लोग अगर कहेंगे कुछ करने को
तो वह तो कभी नहीं करेंगे । 

(नेपाल अध्ययन केन्द्रले २३ माघमा राजधानीमा आयोजना गरेको ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ शीर्षकको गोष्ठीमा राजनीतिक विश्लेषक सिके लालबाट व्यक्त विचारको सम्पादित अंश ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिके लाल
सिके लाल
लेखकबाट थप