श्रीकृष्ण सिम्खडाका चार कविता
१) सुतिरहेको बाघ
सुतिरहेको बाघ
देखेर तिमीहरू
जिस्काउँदै छौ भने
तिमीहरू
खतरामा पर्दै छौ
बाघ बिउँझनुअघि नै
तिमीहरू त्यहाँबाट भागिसक्नु
नत्र बाघले आफ्नो धर्म
निभाउनैपर्ने हुन्छ ।
२) हुस्सु लागेको जङ्गल
हुस्सु लागेको जङ्गल
जङ्गलभित्र म
र, मेरो त्यो यात्रा
सायदै भुल्नेछु
छिचोल्दै गरेका झाडीहरू
मैले भोगेका
धेरै रमाइलोमध्ये
एउटा अभूतपूर्व रमाइलो
तर आज
म छु
जङ्गल पनि छ
तर हुस्सु छैन ।
हुस्सु छैन र त
जङ्गलभित्रको यात्रा
यात्राजस्तो पनि छैन
अभूतपूर्व खुसीको
त्यो अनुभूति पाउन
फेरि एकपटक
जङ्गलमा
हुस्सु लाग्नैपर्छ ।
३) बाटो
ओइलियो नभन्ठान्नु
फक्रिँदै छ फूल
भत्कियो नभन्ठान्नु
बन्दै छ पुल
हराएको कुनै दिन
भेटिनेछ बाटो
तिमीले मैले टेकेको
फरक छैन माटो
तिमी अलि अगाडि छौ
म अलि पछाडि
जिन्दगी नि यस्तै हो
अगाडि पछाडि
अगाडि छौँ र त
मैले देखिरहेको छु
हेर्दै तिमीलाई
कविता लेखिरहेको छु ।
४) बोका
मृत्युपछिको शोकमा
तिमीहरू के गर्दै छौ
मलाई थाहा छैन
मानौँ म मरिसकेँ
तर, हिजो
म बाँचिरहेका बेला
तिमीहरूले
केसम्म ग¥यौ
त्यो थाहा छ
मरेको लासमाथि
खेलबाड गर्ने
लासलाई समेत
बाँकी नराख्ने
हे, मान्छे हो
तिमीहरूले
स्वार्थका लागि
केही बाँकी राखेनौ
पाप पखाल्ने आशामा
लाखौँ खर्च गरेर
सप्ताह लगाएको देख्दा
मेरो मृत्यु समेत
हाँसिरहेछ ।
स्याउला देखाएपछि
बोका लोभिन्छन्
स्याउला खान गएको
बोका स्याउला खान नपाई
तुरुन्तै काटिन्छ
मलाई काट्न स्याउला देखाएको भन्ने बुझेको भए
बोका काटिने थिएन
काट्न ठिक पारेको बोका हुँ भन्ने बुझ्न सकेन उसले
तब त ऊ बोका हो
बुझोस् पनि कसरी !
घाम–पानीले
सेकेको र भिजेको
स्याउला पनि होइन
स्याउला सुकेको होस् कि पोसिलो
आखिर खान नपाउने
स्याउला देखेर
बोका लोभियो
सुकेको स्याउलाको लोभमा
सहरमा एउटा इमानदार
बोका काटियो ।
ख्याल गर बोका हो
दुःख लाग्छ
सुकेको स्याउलाको
लोभमा फसेर
सहरमा आज
फेरि इमानदार
बोका काटियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण