बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘मान्छे सत्तामा पुगेपछि भ्रष्ट हुँदै जान्छ, निरन्तर खबरदारी जरुरी’

मङ्गलबार, ०१ फागुन २०८०, २० : ५६
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र निरन्तर संघर्ष गर्दै जनताको सहभागितामा उन्नत बनाउँदै लैजाने प्रक्रिया भएको बताएका छन् । 

काठमाडौँको शान्तिबाटिकामा मंगलबार आयोजित ‘लोकतन्त्रमा निषेधको राजनीति’ विषयक नागरिक बहसमा ऐक्यबद्धता जनाउँदै उनले मान्छे सत्तामा पुगेपछि भ्रष्टीकरण हुँदै जाने भएकाले नागरिकले सत्ताको विरुद्धमा निरन्तर संघर्ष गरिरहनुपर्ने बताए । 

उनले भने, ‘जब कुनै पनि मान्छे सत्तामा पुग्छ, अनि सत्ताले मान्छेलाई भ्रष्ट बनाउँछ, अन्धो बनाउँछ । त्यसैले जनताले निरन्तर सत्ताको विरुद्धमा संघर्ष गरिराख्नुपर्छ । म पनि सिंहदरबारमा बसेपछि अन्धो नबनौँ  भन्नका लागि मैले त्यो गरेको थिएँ । म जीवनभर लडिरहन्छु ।’

लोकतन्त्रको जग नै जनता भएकाले राज्यका सत्ताधारी नेताहरूले नागरिकको निगरानीमा रहनुपर्ने उनको भनाइ थियो । जनताले आफ्नो अधिकारका लागि सडकबाट निरन्तर अधिकारको आवाज उठाउनुपर्ने भन्दै उनले भने, ‘सडकको अधीनमा सांसद, सांसदको अधीनमा सरकार हुनुपर्छ ।’

मिटरब्याजका पीडितलाई समेत भेटेका भट्टराईले आफूहरू सधैँ पीडितको पक्षमा रहेको बताउँदै न्याय दिलाउने आश्वासन दिए । सडकमा सरकारले लगाएको निषेध तोड्नुपर्ने भन्दै यसका लागि कुनै पार्टीले सत्ताको आडमा जनताको आवाज बन्द गर्न नहुने उनको धारणा थियो । 

त्यस्तै, कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की भण्डारीले ठुलो आन्दोलन गरेर ल्याएको वर्तमान गणतन्त्र जनताको पीडा महसुस गर्न नसकेको बताइन् । 

उनले भनिन्,‘यति ठुलो आन्दोलन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र आयो । तर, आजभोलि नेताहरूका भाषण सुन्दा लोकतन्त्र भनेको के हो भन्ने नै बिर्सियौँ कि भन्ने लाग्छ मलाइ । लोकतन्त्र नबिर्सेको भए आज हामी यो अवस्थामा हुँदैनथ्यौ ।’ संवेदनशील क्षेत्रमा नियमन गर्नुपर्ने तर निषेधको राजनीति गर्न नहुने उनको तर्क थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप