बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
‘गणतन्त्र विकृत भइसकेको छ, त्यसलाई बचाउन जनता सडकमा आउनुपर्छ’
अन्तर्वार्ता

‘गणतन्त्र विकृत भइसकेको छ, त्यसलाई बचाउन जनता सडकमा आउनुपर्छ’

उपेन्द्र र सीकेको जुँगाको लडाइँले पूरै मधेसलाई क्षति गर्छ : खुशीलाल मण्डल
बिहीबार, १० फागुन २०८०

चालिस वर्ष कांग्रेसमा बिताएका खुशीलाल मण्डल त्यसपछिका २० वर्षभन्दा बढी समय मधेसको राजनीतिमा सक्रिय रहे । तर स्वर्गीय गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी टुक्राटुक्रा भएपछि उनी सक्रिय राजनीतिबाट टाढिए ।

हालै सप्तरी तथा सिरहाका नागरिक समाजले उनलाई नागरिक अभिनन्दन पनि गरेका थिए । देश र मधेसको राजनीति कसरी अगाडि बढेको छ, देशमा देखिएको राजनीतिक सङ्क्रमणलाई कसरी समाधान गर्ने जस्ता विषयमा ८६ वर्षीय खुशीलाल मण्डलसँग राजविराजस्थित उनको निवासमा रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • राजनीतिक रूपमा सप्तरी ऐतिहासिक ठाउँ हो । तर यही ठाउँमा जन्मेको तपाईं राजनीतिमा यतिलामो समय बिताएर अहिले गुमनाम र चुपचाप किन ?

–म चुपचाप र गुमनाम छैन । देशको राजनीतिलाई नजिकबाट नियाल्दै छु र बेलाबेलामा मैले आफ्नो प्रतिक्रिया दिइरहेको हुन्छु । सप्तरी एउटा ऐतिहासिक ठाउँ हो, जहाँ हनुमाननगर घटना भएको थियो र त्यो नेपालमा भएको क्रान्तिको पहिलो खुट्किलो हो । हनुमाननगर जेलमा रहेका राममनोहर लोहिया, जयप्रकाश नारायणलाई छुटाउनका लागि सप्तरीवासीले जुन भूमिका खेले, त्यसको परिणामस्वरुप ००७ सालको क्रान्ति भयो । त्यसपछि थुप्रै आन्दोलनको सुरुवात सप्तरीबाट भएको हो । मधेस आन्दोलनको सुरुवात पनि सप्तरीबाट भएको हो । स्वतन्त्र मधेसको मुद्दा पनि सप्तरीबाट उठेको हो । गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंह, जयकृष्ण गोइत, उपेन्द्र यादव, सीके राउत जस्ता नेताहरू सप्तरीकै हुनुहुन्छ । सप्तरी यस्ता धेरै मामिलामा चर्चित ठाउँ हो ।

यस्तो ठाउँको व्यक्ति म किन निष्क्रिय छु भन्दा अहिलेको राजनीतिमा निकै विकृति बढेको छ । राजनीतिक दलका नेताहरूको क्रियाकलापका कारण मलाई असन्तुष्ट बनाएको छ । भारतका जयप्रकाश नारायण पनि विरक्त भएर राजनीतिबाट अलग हुनुभएको थियो । नेपालको राजनीति ठिक ठाउँमा छैन, यहाँ मान्छेले मान्छेलाई पहिचान गर्न सकिरहेको छैन । सबैले आ–आफ्नो अनुकूल काम गरेका छन् ।

  • खासमा तपाईको असन्तुष्टि के हो ?

–राजनीतिक दलमा विकृति, विसङ्गति, पद लोलुपता, नातावाद, कृपावाद हाबी भएको छ । जसले मलाई अन्तुष्टमात्र बनाएको छैन, राजनीतिबाट अलग नै गरायो । मैले जवानीकालको ऊर्जा राजनीतिमा लगाएँ । २००७ सालदेखि कांग्रेसमा काम गर्न थालेँ । २०११ सालदेखि सप्तरी जिल्लाको सभापतिमा रहेर काम गरेँ । २०४८ को चुनावमा टिकट दिने कुरा भयो । हाम्रो क्षेत्रबाट एउटा दरबारियालाई टिकट दिएको थियो । त्यसपछि मेरो सामु प्रश्न आयो– त्यस्ता व्यक्तिलाई साथ दिने कि पार्टीमा विद्रोह गर्ने ? मैले नैतिकताका कारण कांग्रेस पार्टी छाडेको थिएँ । पछि मधेसी राजनीतिमा प्रवेश गरेँ । त्यहाँ पनि लामो समय संघर्ष गरेँ । तर त्यहाँ पनि त्यस्तै अवस्था भयो र म त्यहाँबाट पनि अलग भएर स्वतन्त्र बसेको छु ।

  • नेपालको राजनीतिमा यसरी लामो योगदान दिएका व्यक्ति नै बिरक्तिनु भनेको राजनीति नै गलत ट्रयाकमा गइरहेको परिणाम त होइन ?

–देशको राजनीति गलत ट्रयाकमा गइरहेको छ । नदीको मुहान सफा गरेपछि मात्र सबैतिर सफा देखिन्छ । देशको कुनै पनि पार्टी अहिले सङ्लो छैनन् । सबै पार्टीमा गुट, उपगुट, परिवारवाद, नातावादले गाँजिएको छ । सिद्धान्त र विचारको राजनीति कुनै पनि दलले गरिरहेको छैन । अहिले राजनीति होइन, व्यापार भइरहेको छ । म ४० वर्ष कांग्रेसमा बिताएको व्यक्ति हुँ । मसँग मात्र होइन, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता नेतासँग पनि त्यहाँ राम्रो व्यवहार भएन । त्यो विकृति अहिले झन् बढेको छ त्यहाँ । मधेसवादी दलको के कुरा गर्नु ? एमाले, माओवादी र अन्य दलमा पनि त्यही अवस्था छ ।

  • तपाईंले राणाकाल भोग्नु भयो, पञ्चायत र बहुदल पनि भोग्नुभयो । अहिले गणतन्त्र आइसकेको छ देशमा । तर त्यो पनि विकृत भयो भन्नुहुन्छ । यसलाई हटाएर कस्तो व्यवस्था ल्याउने त ?

–कुनै बेलामा ब्रिटेनमा यति राजनीतिक विकृति थियो कि मन्त्रीले बजेट पास गराउन ब्रिफकेसमा पैसा बोकेर संसद्मा जान्थे । सांसदलाई आफ्नो च्याम्बरमा बोलाएर पैसा दिएर बजेट पास गराउँथे । तर पछि त्यहाँ सुधार भयो । जर्मनीमा पनि यस्तै अस्थिर सरकार थियो । विभिन्न राजनीतिक विकृति थिए । फ्रान्समा लामो समयसम्म राजनीतिक उथलपुथल थियो । तर बिस्तारै त्यहाँ पनि सुधार भयो । यहाँ पनि अहिले विभिन्न विकृति देखिएका छन् । विभिन्न राजनीतिक असमझदारी देखिएका छन् । त्यसमा धेरैले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन् । ‘राजा आऊ, देश बचाउ’को नारा लाग्न थालेको छ । तर मलाई लाग्दैन कि राजा आएर देश बचाउन सक्छन् ।

  • देश कसले बचाउँछ त ?

–यो देशमा नसोचेको घटना हुनसक्छ । जस्तै सेना पनि आउन सक्छ वा देश विघटनको अवस्थामा पनि जान सक्छ । गणतन्त्र आएपछि जनताको अपेक्षा निकै बढे पनि त्यो अपेक्षा पूरा भइरहेको छैन । अपेक्षा पूरा गराउन माग बढ्दै जान्छ । त्यसलाई दबाउने प्रयास हुन्छ । जनतालाई दबाउने प्रयास भयो भने त्यहाँ विद्रोह हुन्छ । विद्रोह भएपछि जे पनि हुनसक्छ । बर्मामा अहिले पनि आर्मी शासन चलिरहेको छ तर बर्मा र नेपालको स्थिति फरक छ । नेपाली जनताले विभिन्न व्यवस्थाको सुखभोग गरिसकेका छन् । अब नेपाल पछाडि फर्किने अवस्थामा गयो भने देश विघटनको अवस्थामा पुग्छ । त्यसैले अहिलेको राजनीतिमा देखिएका विकृति र विसङ्गतिलाई हटाउनुपर्छ । यही व्यवस्थालाई परिष्कृत अवस्थामा सञ्चालन गर्नुपर्छ । योबाहेक अरू कुनै विकल्प छैन ।

  • गणतन्त्र एकाएक कसरी विकृत भयो त ?

–गणतन्त्र आउँदैमा सबैथोक राम्रो हुन्छ भन्ने होइन । फ्रान्समा पनि गणतन्त्र थियो । नामिबियामा पनि गणतन्त्र थियो । गणतन्त्रमा धेरै राष्ट्रपति भए तर कतिपय निरंकुश र तानाशाह भए । दसी, टिटो लगायतका पनि गणतन्त्रकै उपज थिए । आज सानो देश सिंगापुर कहाँबाट कहाँ पुगिसक्यो तर इन्डोनेसिया जहाँको त्यहीँ छ । त्यसैले गणतन्त्र भन्दैमा सबैथोक राम्रो हुन्छ भन्ने हुँदैन । गणतन्त्रलाई कसरी व्यवस्थापन गरेको छ, कसरी ‘ड्राइभ’ गरेको छ, त्यो मुख्य कुरा हो ।

  • संविधान पनि उत्कृष्ट हो भन्छन्, अन्य कानुन पनि राम्रै छ भन्छन्, त्रुटि कहाँ भयो त ?

–संविधानको बारेमा बीपी कोइरालाले एकपटक भन्नुभएको थियो, ‘राजा र हामी मिल्यौँ भने यो (संविधान) कागजको खोस्टोलाई जतिबेला पनि चेन्ज गर्न सकिन्छ ।’ संविधान तथा कानुनले मात्र हुँदैन । संविधान र कानुन पालनकर्ता कस्ता छन्, त्यसमा भर पर्छ । गणतन्त्र आएपछि यो देशमा सबैभन्दा बढी शासन कम्युनिस्टले गरेका छन् । केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, प्रचण्ड प्रधानमन्त्री हुनुभयो । कोही पटकपटक प्रधानमन्त्री हुनुभएको छ । कम्युनिस्टले देश सञ्चालन गरेपछि देशले के फरक अनुभूति गर्‍यो त ? जनताले के फरक कुरा पाए ? संविधानको प्रस्तावनामै समाजवाद उल्लेख छ । मलाई लाग्छ कि यी वामपन्थी नेताले समाजवाद पढ्नु भएकै छैन । समाजवाद भनेको समाजमा देखिएको विभेद अन्त्य गर्ने । साम्यवाद भनेको सबै समान हुने, बराबर हुने । कहाँ छन् समाजवाद र साम्यवाद ? जनताले गणतन्त्रको अनुभूति नै गर्न पाएको छैन । गणतन्त्र भनेरमात्र हुँदैन । यसलाई व्यवहारमा उतार्नुपर्छ । गणतन्त्र राम्रो भए पनि यसको सञ्चालक राम्रो नभएका कारण यो विकृत हुँदै गइरहेको छ ।

  • विकृत भइसकेको गणतन्त्रलाई सुसंस्कृत बनाएर जोगाउने उपाय के हो ?

–जनता अगाडि आउनुपर्छ र जुन विकृति छ, त्यसलाई सुधार्न दबाब दिनुपर्छ । जनता सडकमा नआएसम्म यो सुधार हुने अवस्था छैन । देशमा जति पनि परिवर्तन भएका छन्, जनताले नै गरेका छन् । जनताले नै गणतन्त्र ल्याए । यसलाई सुधार्न पनि जनता नै सडकमा आउनुपर्छ ।

  • यिनै पात्र रहेसम्म जनता सडकमा आउँछन् जस्तो लाग्छ तपाईंलाई ?

–अहिलेका पात्र सुध्रिएनन्, ट्रयाकमा आएनन् भने अर्को पात्र खडा हुन्छ । बेलाबेलामा यस्तै भएको हो । जसले गर्न सक्दैन, त्यो पछाडि जान्छ, जनताले हटाइदिन्छन् । नयाँनयाँ पात्र आउँछन् । पछिल्लो राजनीतिमा पुराना नेताहरू आफैँ किनारा लागेका छन्, नयाँनयाँ पात्र आएका छन् । ती पात्रले पनि केही गर्न सकेनन् भने अर्को पात्र आउँछ । समय र आवश्यकताको आधारमा पात्रहरू परिवर्तन भइरहेका हुन्छन् । सीके राउत यसरी राजनीतिमा आउँछ भने कसैले सोचेका थिए त ? थिएन नि ! रवि लामिछाने पनि त्यसरी नै आएका हुन् । कुनै बेला उपेन्द्र यादवलाई मधेसको मसिहा भनिन्थ्यो ।

  • त्यसो भए उपेन्द्र यादव र सीके राउतलाई पनि विस्थापित गर्ने बेला भइसकेको हो त ?

–यो कुरा त जनताले भन्ने हो । जनताले मूल्याङ्कन गर्ने हो । जुन अपेक्षाले उपेन्द्र यादवलाई जनताले जिताए, त्यो पूरा भएको भए जनताले उहाँलाई हराउने थिएनन् । त्यहाँ जनताले विश्वास गरेर सीके राउतलाई जिताए । तर सीके राउत पनि त्यही ट्रयाकमा हिँड्नु भएको छ । अरू दलभन्दा उहाँले केही फरक गर्नुभएको छैन । त्यही सरकार, त्यही सदनको वरिपरि उहाँ पनि घुमिरहनु भएको छ । सत्ता बिना बाँच्नै नसकिने जस्तो भएको छ उहाँलाई । त्यसले यहाँका जनता निराश भएका छन् ।

  • सप्तरीमा उपेन्द्र यादव र सीके राउतबिच द्वन्द्व केका लागि त ?

–यहाँ जुँगाको लडाइँ छ । एकले अर्कालाई स्वीकार गर्नुभएको छैन । को शक्तिशाली छ भन्नेमा दुवै जनामा प्रतिस्पर्धा छ । यदि दुवै जना ठिक भएको भए सप्तरीका लागि मिलेर विकास गर्नुहुन्थ्यो । एउटाले गरेको काम अर्कोले विरोध गरेका छन् । मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको विरोधको कुनै औचित्य नै थिएन । रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा भएको धेरै भइसक्यो तर अहिलेसम्म जग हाल्नेसम्म काम भएको छैन । कहिले हुन्छ, थाह छैन । अहिले शिलान्यास भएको कृषि विश्वविद्यालयको के हुन्छ, ठेगान छैन तर नेताहरू आपसमा लडेका छन् । यसलाई कसरी सफल बनाउने, दीर्घकालीन रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर सोच्ने बेलामा भइरहेको कामलाई विरोध गर्छन्, अवरोध गर्छन् । आखिर जे भए पनि यो विश्वविद्यालयको सुरुवात उपेन्द्र यादवले गर्नुभएको हो । यसको शिलान्यास वा अन्य कुनै गतिविधि आफूले नै गर्न पाउनुपर्छ भनेर उपेन्द्र यादवले सोच्नु जायज पनि हो । यसमा सीके राउतले विरोध गर्नुको कुनै तुक छैन । यसले सप्तरीलाई मात्र होइन, पूरै मधेसलाई क्षति गर्छ । उहाँहरू जहाँ बोल्नुपर्ने, त्यहाँ बोल्नु हुन्न तर आपसमा लड्नुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया