शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
‘मधेसवादी दलले एजेन्डा, माओवादीले विचार छाड्यो, दुवै एक साथ कमजोर भए’
अन्तर्वार्ता

‘मधेसवादी दलले एजेन्डा, माओवादीले विचार छाड्यो, दुवै एक साथ कमजोर भए’

मधेसवादी दलले त भ्रष्टाचार समेत गर्न जानेनन् : रोशन जनकपुरी, वामपन्थी विश्लेषक
बुधबार, १९ वैशाख २०८१

वामपन्थी विश्लेषक रोशन जनकपुरीले लामो समय माओवादीमा रहेर राजनीति गरे । ६५ वर्षीय जनकपुरी हाल कुनै पनि पार्टीमा आबद्ध छैनन् तर, वामपन्थी विचारलाई प्रचार गर्न, त्यसलाई विस्तार गर्न अहिले पनि उत्तिकै सक्रिय छन् ।

वामपन्थी लेखकको रूपमा परिचय बनाएका जनकपुरीले अहिले आफ्नो अधिकांश समय लेखनमा नै दिएका छन् । पत्रकारिता पृष्ठभूमिका उनीसँग देशको पछिल्लो राजनीतिक अवस्थाको बारेमा रातोपाटीले अन्तर्वार्ता गरेको छ । मधेस सरकार र माओवादीप्रति उनको धारणालगायतका विषयमा रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरको वासी हुनुहुन्छ । मधेस सरकारलाई नजिकबाट हेरिरहनु भएकै होला । वर्तमान प्रदेश सरकारबारे तपाईंको धारणा के छ ?

–अन्य प्रदेशभन्दा मधेस प्रदेश विशेष र फरक हुनुपर्ने थियो । तर त्यस्तो देखिएन । जसरी अन्य प्रदेशका सरकार चलिरहेका छन्, त्यसरी मधेस प्रदेश सरकार पनि चलिरहेको छ । त्यही परम्परागत शैलीबाट सरकार सञ्चालन भइरहेको छ । सरकारले खासै केही नयाँ गर्न सकेको छैन ।

जनताको हितभन्दा पनि अहिलेको राजनीति पेसाको रूपमा विकसित भइसकेको छ । हुन त राजनीति एउटा पेसा नै हो । तर, त्यो आर्थिक लाभका लागि होइन, जनता लाभका लागि हुनुपर्छ । अहिलेको राजनीति आर्थिक उपार्जनका लागि भइरहेको छ । यो मामिलामा मधेस प्रदेश धेरै अगाडि छ ।

यहाँका नेताहरूले राजनीतिलाई व्यापार बनाइसकेका छन् । व्यापारीले जसरी आफ्नो व्यापारमा लगानी गरेर त्यसबाट फाइदा लिने काम गर्छ, त्यसरी नै यहाँ राजनीतिमा पनि लगानी गर्ने र त्यसबाट आर्थिक लाभ लिने काम भइरहेको छ । राजनीतिमा गरेको खर्च कसरी उठाउनेतिर मात्र दलहरूले ध्यान दिएका छन् ।

roshan janakpuri (1)

  • तपाईंले मधेस प्रदेश पनि अन्य प्रदेश जसरी चलिरहेको छ भनेर भन्नुभयो । तर यहाँ भूगोललगायत धेरै कुराहरू फरक छन् । त्यस हिसाबले केही फरक हुनुपर्ने होइन र ?

–पक्कै पनि । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा भूमिका खेलेको आधारमा मधेस प्रदेश अरू प्रदेशभन्दा केही फरक हुनुपर्ने हो । धेरैको अपेक्षा पनि त्यही छ । तर मधेस प्रदेश सरकारले आफूलाई फरक देखाउन सकेन । मन्त्री हेरफेर, सरकार परिवर्तनजस्ता कुराहरू अन्य प्रदेशसँग मिल्दोजुल्दो छ । विकास निर्माणको मामिलामा पनि हालत उस्तै छ । यहाँ पनि भ्रष्टाचारका घटनामा कोही न कोही मुछिरहेका नै हुन्छन् ।

  • नेपाली जनताले मधेस प्रदेशलाई फरक ढंगले हेर्छन् । मधेसका बारेमा नकारात्मक टिप्पणीहरू भइरहेका हुन्छन् नि ।

–यो पुरानै कुरा हो । मधेसलाई हेर्ने दृष्टिकोण पहिलेदेखि नै फरक हो । यहाँका केही नेता र व्यक्तिमा समस्या छ । राजनीतिको बारेमा जानकार नै नरहेका, गैरराजनीतिक पृष्ठभूमि भएका कतिपय आएका छन् । उनीहरूलाई के गर्ने हो भन्ने कुनै आइडिया नै हुँदैन ।

मधेसवादी दलको यो देशमा हैसियत के छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । उनीहरूमध्ये कोही नेपाली कांग्रेसको पुच्छर भएका छन् भने कोही नेकपा एमालेको त कोही माओवादीको पुच्छर भएका छन् ।

तपाईंले सुन्नु भएकै होला बिना योजना नै कार्यक्रम सञ्चालनका लागि कुनै मन्त्रीले आफ्नो छोरालाई बजेट दिनुभएको कुरा । यस्ता धेरै अपरिपक्वताहरू देखाइएको छ । यसले गर्दा मधेस प्रदेश सरकारको आलोचना हुने गरेको छ । यस्ता घटनाहरू अरू प्रदेशहरूमा पनि हुन्छन् । तर, उनीहरूले मिलाएर भ्रष्टाचार गर्छन् । मधेस प्रदेशमा त भ्रष्टाचार गर्न पनि जानेका छैनन् । त्यही कारणले उनीहरू बढी बदनाम भइरहेका छन् ।

  • मधेस प्रदेशमा एउटै पार्टीले सात–आठ वर्षदेखि नेतृत्व गर्दै आइरहेको छ । तैपनि सरकारले गति लिन नसक्नुको कारण के हुनसक्छ जस्तो लाग्छ तपाईंलाई ?

–जुन पार्टी (जसपा)ले मधेस आन्दोलनको नेतृत्व गर्‍यो, त्यही पार्टीको नेतृत्वमा सरकार बन्यो । त्यही पार्टीसँग जनताको अपेक्षा पनि धेरै थियो । तर जनताको अपेक्षामा त्यो पार्टी खरो उत्रन सकेन ।

वास्तवमा मधेस आन्दोलन कुनै वैचारिक आधारमा अगाडि बढेको थिएन, त्यो निश्चित एजेन्डाको आधारमा भएको थियो । अहिले ती एजेन्डाहरू सकिएका छन् । जनतामा बेच्नका लागि अब ती दलहरूसँग केही पनि छैन ।

मधेसवादी दलको यो देशमा हैसियत के छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । उनीहरूमध्ये कोही नेपाली कांग्रेसको पुच्छर भएका छन् भने कोही नेकपा एमालेको त कोही माओवादीको पुच्छर भएका छन् । आफ्नो मनले उनीहरू केही पनि गर्न सकिरहेका छैनन् । यसको प्रभाव प्रदेश सरकारमा पनि परेको देखिन्छ । त्यसैले जनताको नजरमा मधेस सरकार र त्यसको नेतृत्वमा रहेको दलको लोकप्रियता घटेको छ ।

वास्तवमा मधेस आन्दोलन कुनै वैचारिक आधारमा अगाडि बढेको थिएन, त्यो निश्चित एजेन्डाको आधारमा भएको थियो । अहिले ती एजेन्डाहरू सकिएका छन् । जनतामा बेच्नका लागि अब ती दलहरूसँग केही पनि छैन । त्यही भएर उनीहरू दिनानुदिन अलोकप्रिय हुँदै गइरहेका छन् ।

कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलबाट आएका नेताहरूले मधेस आन्दोलन गरेका थिए । एजेन्डा नै सकिएपछि ती नेताहरू पनि पुरानै पार्टीमा फर्किरहेका छन् । आन्दोलनको एजेन्डा नै सकिएपछि क्षेत्रीय पार्टी चलाइराख्नुको अर्थ पनि हुँदैन । त्यही भएर पनि उनीहरूको अलोकप्रियता बढ्दै गएको हो । तर अलोकप्रियताको अपजसको भागिदार जसपा नै बढी हुनुपर्छ । मधेस सरकारको नेतृत्व गर्ने पार्टी भएकाले ऊ अलि बढी दोषी देखिन्छ ।

  • अहिले मधेस प्रदेशकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ, यदि गणतन्त्रमाथि कुनै आँच आयो भने त्यो मधेस सरकारकै कारण हुनेछ भन्ने टिप्पणीहरू भइरहेका छन् । के साँच्चै मधेस प्रदेश दोषी होला जस्तो लाग्छ तपाईंलाई ?

–होइन, यो एउटा न्यारेटिभ खडा गर्ने काम मात्र हो । मधेसप्रति गलत सोच राख्नेले मात्र यस्तो अभिव्यक्ति दिने गरेका छन् । वास्तवमा गणतन्त्र मधेसका कारण होइन, संघीय सरकारको कारण, ठुला नेता तथा दलका कारण खतरामा छ । संघीयताविरोधी शक्तिहरू केन्द्रीय सरकारमा सहभागी भएका छन् । उनीहरूको गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ । राजतन्त्रको वकालत गर्ने राप्रपासँग कांग्रेस, एमाले र माओवादीले सत्ता सहकार्य गरेकै हो । संघीयताको पक्षमा नदेखिएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग गठबन्धन बनाइएको छ भने मधेस प्रदेशका कारण कसरी गणतन्त्र खतरामा हुन्छ ? त्यो भनेको मधेसलाई बदनाम गराउने काम मात्र हो । तर यति भनिरहँदा मधेस प्रदेशका दलहरू पनि संघीयताप्रति गम्भीर भने छैनन् । संघीयतालाई संस्थागत गर्न उनीहरू पनि गम्भीर देखिएका छैनन् ।

roshan janakpuri (3)

  • देशमा गणतन्त्र ल्याउनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका मधेसवादी दल र माओवादी केन्द्रको रहेको थियो । गणतन्त्र आइसकेपछि सबभन्दा बढी सत्तामा यिनै दलहरू गएका छन् । तैपनि गणतन्त्रमाथि यो खालको टिप्पणी किन भइरहेको छ ?

–लेनिनले भनेका छन्, लोकतन्त्र दुई खालका हुन्छन् । एउटा सुसंगत लोकतन्त्र र अर्को असंगत लोकतन्त्र । यस्तो लोकतन्त्र जसले समाजवादतिर डोर्‍याउँछ, समाजवादको बाटो तय गर्छ र जनताका अधिकारहरू सुरक्षित राख्छन्, त्यो लोकतन्त्र सुसंगत लोकतन्त्र हो । कम्युनिस्टहरूले त्यसको अभ्यास गर्नुपर्छ ।

त्यस्तै लोकतन्त्र जसले समाजवादको बाटोमा अवरोध सृजना गर्छ, जनतासँग धोकाधडीको सम्भावनालाई अगाडि लैजान्छ, त्यस्तो लोकतन्त्र असंगत लोकतन्त्र हो । कम्युनिस्टहरूले त्यस्तो लोकतन्त्रको अभ्यास गर्नुहुँदैन । तर माओवादीले त्यही गल्ती गर्दैछ ।

उसलाई बजारले घेर्‍यो, पुँजीवादले घेर्‍यो, साम्राज्यवादी शक्तिहरूले घेरे । उसले आफूले नै विरोध गर्दै आइरहेको कुरालाई एकपछि अर्को गर्दै स्वीकार गर्दै गयो ।

माओवादीसँग जनताले निकै ठुलो अपेक्षा गरेको थियो । माओवादीसँग नयाँ जनवादी राज्यको अपेक्षा थियो । गरिबहरूको अपेक्षा थियो । जो सबभन्दा तल थिए, ती सबैभन्दा अगाडि आउँछन् भन्ने अपेक्षा थियो । जो सबैभन्दा भोको थिए, उनीहरूले सबैभन्दा पहिले खान पाउँछन् भन्ने अपेक्षा थियो । तर सत्तामा आएपछि माओवादीले सबै कुरा छाडिदियो ।

उसलाई बजारले घेर्‍यो, पुँजीवादले घेर्‍यो, साम्राज्यवादी शक्तिहरूले घेरे । उसले आफूले नै विरोध गर्दै आइरहेको कुरालाई एकपछि अर्को गर्दै स्वीकार गर्दै गयो ।

लोकतन्त्रले जनताको आकाङ्क्षा पूरा गरिरहेको छैन । माओवादी आएपछि सरकारी स्कुल, सरकारी अस्पतालहरूमा जनताका लागि सुविधा बढ्नुपर्ने हो, तर त्यस्तो भएको छैन । बरु सुविधा झन् कमजोर भएको छ, जनताले झनै दुःख पाइरहेका छन् । निजी स्कुल र अस्पताललाई अगाडि बढाउने काम भइरहेको छ । निजी स्कुलहरूले सरकारलाई टेरिरहेको छैन । यसको अर्थ पुँजीवाद बढिरहेको छ । समाजवादलाई अगाडि बढाउनुको सट्टा पुँजीवादलाई अगाडि बढाउने काम भइरहेको छ ।

  • माओवादी यसरी बिग्रिनुको कारण के हो ?

–माओवादी बिग्रिनुको कारण आफ्नो लक्ष्यबाट विचलित हुनु र जनवादी चरित्र छाड्दै जानु नै हो । माओवादीले राम्रा मुद्दाहरू उठाएकाले जनयुद्धमा धेरैले साथ दिएका थिए । तर उनीहरूबाट पनि जनताको अपेक्षा पूरा नहुने भएपछि साथ गुमाउँदै गएको छ ।

यसले पनि पुष्टि हुन्छ, माओवादी प्रयोग मात्र भइरहेको छ ।

पहिलो संविधान सभामा एक नम्बरको पार्टी बनेको माओवादी त्यसपछि बिस्तारै तल तल किन झर्दै गयो ? जनताको त्यत्रो मत कहाँ गयो ? अहिले पनि माओवादीले आफूलाई नसच्याउने हो भने झन् तल जाने पक्का छ ।

अर्कोतर्फ माओवादी सत्तामा भए पनि पुँजीवादले उसलाई पत्याइरहेको छैन । माओवादीले आफ्नो सम्पूर्ण दस्ताबेज नै परिवर्तन नगरेसम्म पुँजीवादले पत्याउँदैन पनि । पुँजीवादीहरूले माओवादीलाई प्रयोग मात्र गरिरहेका छन् । पार्टी व्यापारी, ठेकेदारहरूले भरिभराउ छ । पुँजीवादको घेरामा हुँदा पनि माओवादीको भोट किन बढिरहेको छैन ? यसले पनि पुष्टि हुन्छ, माओवादी प्रयोग मात्र भइरहेको छ ।

  • यसको प्रभाव सबैभन्दा बढी मधेसमा किन पर्‍यो ? मधेसमा नै माओवादी सबैभन्दा कमजोर कसरी भयो ?

–जनयुद्ध लड्ने बेला मधेसमा मधेसवादी दलहरू बनेका थिएनन् । त्यसले गर्दा मधेसमा माओवादीको राम्रो उपस्थिति थियो । मधेसले माओवादीलाई साथ पनि दिएको थियो । तर जनयुद्धपछि जब मधेस केन्द्रित दलहरू बन्न थाले, अनि माओवादीको आकार घट्न थाल्यो । माओवादीले मधेसको एजेन्डा पनि छाड्दै गएपछि अन्य दलहरू बलिया हुँदै गए ।

माओवादीले आफ्नो एजेन्डा र लक्ष्य छाड्दै गएपछि पहिचानवादी शक्तिहरू एक ठाउँमा सङ्गठित हुन थाले । मधेसवादी दलहरूले पनि आन्दोलनमार्फत माओवादी जस्तै एउटा ह्वीम खडा गरेको थियो । एजेन्डा सकिएपछि अहिले मधेसवादी दल कमजोर भए, उता आफ्नो विचार छाड्दै गएपछि माओवादी कमजोर भयो ।

  • अन्य प्रदेशको तुलनामा माओवादी मधेसमा सबैभन्दा कमजोर अवस्थामा छ । मधेसमा नै किन माओवादीको अवस्था यस्तो भयो ?

–मधेसमा मधेसवादी दलहरू एजेन्डामा आधारित राजनीति गरिरहेका छन् । त्यसैमा आधारित रहेर राजनीतिलाई लिड गरिरहेका छन् । अरू प्रदेशमा त्यसरी एजेन्डामा आधारित राजनीति भइरहेको छैन । अन्य प्रदेशमा परम्परावादी ढंगले राजनीति गरिरहेका कांग्रेस र एमालेजस्ता पार्टीको बिचमा मात्र प्रतिस्पर्धा छ, तर मधेसमा त्यस्तो छैन । यहाँको राजनीतिलगायत धेरै कुरा फरक छ ।

जनयुद्धको बेलामा जसरी माओवादी सबै उत्पीडनहरू विरुद्धको आवाज बनेको थियो, त्यसरी नै अहिले पनि आवाज बन्नुपर्छ ।
  • त्यसो भए मधेसमा माओवादीले ‘ड्यामेज कन्ट्रोल’ कसरी गर्छ ?

–मधेस मुक्तिका लागि जनवादी एजेन्डालाई अगाडि बढाउनुपर्छ । मधेसमा देखिएको समस्या समाधानका लागि माओवादीले एजेन्डा बनाउनुपर्छ । आवश्यक परे मधेसका लागि माओवादीले सडक आन्दोलन नै गर्नुपर्छ । संगठन निर्माणमा आमूल परिवर्तन गर्नुपर्छ । यहाँको गरिबको बारेमा बोल्नुपर्छ, मजदुर र किसानको बारेमा बोल्नुपर्छ ।

जनयुद्धको बेलामा जसरी माओवादी सबै उत्पीडनहरू विरुद्धको आवाज बनेको थियो, त्यसरी नै अहिले पनि आवाज बन्नुपर्छ । जतिबेला जनयुद्ध चलिरहेको थियो, त्यतिबेला एउटा मुसहरले पनि आफूलाई शक्तिशाली ठानेको थियो । ठूल्ठूला जमिनदार, धनी व्यक्तिहरू पनि उनीहरूसँग डराउँथे । दलितहरूले पनि आफूलाई ताकतवर मानिरहेका थिए । पिछडिएकाहरू आफूलाई समाजमा सम्मानित महसुस गर्न थालेका थिए । जमिनदार तथा धनीहरूलाई के थाहा थियो भने यी दलितहरूको पछाडि माओवादीहरू छन् ।

अहिले माओवादीमाथिको विश्वास टुटेको छ । त्यो विश्वास मात्र जगाउन सक्यो भने माओवादी पुनः बलियो भएर आउँछ । अनि मात्र माओवादीले ड्यामेज कन्ट्रोल गर्न सक्छ । जनवादी लडाकु चरित्र पुनः विकास गर्‍यो भने ड्यामेज कन्ट्रोल हुन्छ ।

roshan janakpuri (2)

  • तपाईंको विचारमा माओवादीले फेरि हतियार उठाउनुपर्छ त ?

–देशमा आमूल परिवर्तनका लागि हतियार नै उठाउनुपर्छ, सशस्त्र आन्दोलन नै गर्नुपर्छ । तर अहिलेको अवस्थामा हतियार नउठाई पनि आन्दोलन गर्न सकिन्छ । किसानले बीउ, मल पाएन भने कृषि कार्यालय घेर्नुपर्छ । खानेपानी पाएन भने खानेपानी कार्यालय घेर्नुपर्छ । अर्थात् जनतालाई के आवश्यकता छ, त्यसको लागि माओवादीले आवाज उठाइदिनुपर्छ । जनताको आवश्यकता पूरा गर्न दबाब दिनुपर्छ । जनतालाई लागोस् कि माओवादीले मेरो लागि काम गरिरहेको छ । जनताको पार्टी भएपछि अरू केही गर्नै पर्दैन, जनताले साथ दिइहाल्छ ।

खासमा भन्ने हो भने माओवादीमा माओवादको विचार नै रहेन । नाम माओवादी भए पनि दस्ताबेजमा आधिकारिक रूपमा माओवाद छैन ।
  • तपाईंले माओवादीको वैचारिक र सैद्धान्तिक कुरा गर्नुभयो । तर माओवादी मधेसमा कमजोर हुनुको कारण पार्टीभित्रको गुटबन्दी पनि कारक हो जस्तो लाग्दैन ?

–हो, पार्टीमा यहाँ द्वन्द्व छ । अवसरवादीहरू हाबी भएका छन् । विचारबाट अलग भएपछि नै पार्टीभित्र नेता–नेता बिच द्वन्द्व सुरु भएको हो, गुटबन्दी सुरु भएको हो । जनताका लागि राजनीति नगर्ने र कुर्सीका लागि राजनीति गर्नेहरूको बिचमा यस्तै हुन्छ । जहाँ स्वार्थको राजनीति हुन्छ, त्यहाँ यस्ता गुटबन्दी र खुट्टा तान्ने राजनीति हुन्छ । माओवादीमा त्यही भइरहेको छ । एकता केन्द्र र माओवादीबिच एकीकरण भएको लामो समय भइसक्यो तर उनीहरूले अहिलेसम्म गुट चलाइरहेका छन् । पार्टीभित्र लिडरसिप कमजोर भएको कारणले पनि यो अवस्था आएको हो । पार्टीको लिडरसिपमा नै स्वार्थ देखिएको छ ।

  • माओवादीमा देखिएको यस्तै विचलनले गर्दा तपाईंले माओवादी छोड्नु भएको हो ?

–खासमा भन्ने हो भने माओवादीमा माओवादको विचार नै रहेन । नाम माओवादी भए पनि दस्ताबेजमा आधिकारिक रूपमा माओवाद छैन । माओवादीमा अवसरवादीहरू बढ्दै गइरहेका छन् जुन कुराको जानकारी मैले पार्टीमा पटक–पटक गराएको थिएँ । तर त्यसको कुनै सुनुवाइ भएन । त्यसपछि म माओवादी छाडेर मोहन वैद्यको साथमा लागेँ । तर मोहन वैद्यको पार्टीमा सिर्जनात्मकताको अभाव छ । त्यहाँ अलि शास्त्रीयता बढी देखियो । मैले त्यो कुरा पनि पार्टीमा राखेँ तर मोहन वैद्यजीले त्यसै गरी पार्टी चलाउन खोज्नुभयो । अनि म त्यहाँबाट पनि अलग भएँ । अहिले म कुनै पार्टीमा छैन ।

  • त्यसो भए माओवादी अब सकिने भयो होइन त ?

–माओवादी भनेको संसदीय राजनीतिको पार्टी हो, माओवादी विजय पनि हो, माओवादी आन्दोलन पनि हो, माओवादी एउटा विचार पनि हो । यसलाई कुन रूपमा हेर्ने, त्यो मुख्य कुरा हो । राजनीतिक रूपमा माओवादी सकिँदैन, एउटा परम्परावादी पार्टीको रूपमा रहिरहन्छ । तर कुन रूपमा रहन्छ त्यो हेर्न बाँकी छ । माओवादीभित्र पनि केही इमानदार नेताहरू छन्, जो त्यहाँभित्र छटपटाइरहेका छन् । उनीहरू उकुसमुकुसको अवस्थामा रहेका छन् । तर उनीहरूले पनि केही गर्न सकिरहेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया