आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
मलमा गोलमाल

‘महँगोमा मल खरिद’को मोलमोलाइ, अदालतको आदेश विपरीत कृषि सामग्रीमा पोखरेलको पुनर्नियुक्ति

शुक्रबार, ११ फागुन २०८०, १६ : २२
शुक्रबार, ११ फागुन २०८०

 

काठमाडौँ । उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समितिको प्रबन्ध सञ्चालकमा पुनः विष्णुप्रसाद पोखरेलको नियुक्ति भएको छ । लिमिटेडको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गरेको नियुक्ति कार्यान्वयन नगर्न यही फागुन ६ गते अदालतले दिएको आदेश लत्याउदै पुनः नियुक्ति दिइएको पाइएको हो ।

यही फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई पुनः प्रबन्ध सञ्चालकमा नियुक्ति गरेको छ । सोही दिन उनले कृषि मन्त्रालयलाई प्रबन्ध सञ्चालककै हैसियतमा पत्राचार गरेको रातोपाटीलाई प्राप्त कागजातले देखाउँछ ।

अदालतको आदेश अटेर गर्दै ३ दिनमै उनको अर्को नियुक्तिमा ठुलो स्वार्थ लुकेको जानकारहरू बताउँछन् । भारतबाट चर्को मूल्यमा रासायनिक मल खरिदको योजना बमोजिम नियुक्ति भएको लिमिटेडका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । ‘यो महँगोमा रासायनिक मल किन्ने खेल अन्तर्गतको डिजाइन हो,’ स्रोतले भन्यो ।

Adalatlae Diyeko aadesh

सञ्चालक समितिको माघ १८ गतेको बैठकले पोखरेललाई प्रबन्ध सञ्चालक नियुक्तिको निर्णय लिएको थियो । निर्णय विरुद्ध रामचन्द्र ढकालले रिट दर्ता गरेका थिए । त्यसमा सुनुवाइ गर्दै उच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

कृषि मन्त्री डा. वेदुराम भुसाल र सचिव गोविन्द प्रसाद शर्माको समेत यो प्रकरणमा जोडिएको लिमिटेडका एक अधिकृतले बताए । त्यही कारण पोखरेल स्वयमलाई राखी बैठकको कोरम पुर्‍याएर उनको नियुक्ति भएको दाबी गरिएको छ । प्रबन्ध सञ्चालक नियुक्तिका लागि सञ्चालक समितिको बैठकमा ४ जना उपस्थित नभई कोरम पुग्दैन । ‘तर, पोखरेललाई नियुक्ति गर्ने बैठकमा उनैलाई  समेत सहभागी गराएर कोरम पु¥याइयो,’ स्रोतले थप्यो । सञ्चालक समितिको बैठकमा अध्यक्ष सवनम सिवाकोटी, सदस्यहरू चिया तथा कफी विकास बोर्डका निर्देशक विष्णु भट्टराई र अर्थ मन्त्रालयका सह–सचिव राजेश्वर ज्ञवालीको सहभागिता थियो । तर, गोलमाल गर्न लागेको सुइँको पाएपछि अर्थ मन्त्रालयका सहसचिव जनक शर्मा भने बैठकमै गएनन् ।

429058440_769051358052852_3074993368770924061_n

‘शर्मा उपस्थित नभएपछि प्रबन्ध सञ्चालकमा पुनः नियुक्ति पाउने पोखरेल नै सञ्चालक समितिको बैठकमा सहभागी बने र, आफैलाई नियुक्ति दिने निर्णय गरे’ स्रोतले भन्यो ।

कृषि, तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मा लिमिटेडको प्रबन्ध सञ्चालकको नियुक्ति नियमसंगत रहेको जिकिर गर्छन् । उच्च अदालतले हटाएका व्यक्तिलाई पुनः नियुक्ति दिइएको विषयमा भने मन्त्रालयमा छलफल चलिरहेको जानकारी उनले दिए । 

कम्पनीको कायम मुकायम प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएसँगै बुधवार नै पोखरेलले हतारहतार मल खरिद प्रक्रियाबारे बैठक राखे ।

Capture

खरिदका लागि गठित कमिटीमा कम्पनीको प्रबन्ध सञ्चालकसहित, कृषि, अर्थ, परराष्ट्र, कानुन मन्त्रालय र महालेखा परीक्षकको कार्यालयका उपसचिव र कृषि मन्त्रालयको लेखा शाखाका उपसचिव रहेका छन् । बैठकले बुधवार नै २ बुँदे निर्णय गरिसकेको छ, तर निर्णय पुस्तिकामा हस्ताक्षर गर्न बाँकी रहेको बैठकमा सहभागी एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

मल खरिदमा गोलमाल 

पोखरेलको नियुक्तिमा लिमिटेडले भारतबाट महँगो मूल्यमा मल किन्ने योजना लुकेको स्रोतहरूले दाबी गरेका छन् । कम्पनीले २५ हजार मेट्रिक टन डीएपी मल किन्न टेन्डर आह्वान गरेको थियो । भारतको आदित्य बिर्लाको मात्रै टेन्डर प¥यो, जसमा प्रतिमेट्रिक टन ७४९.१३ अमेरिकी डलर मूल्य प्रस्तावित गरियो । यही टेन्डरलाई अन्तिम मान्दै कम्पनीले मल किन्न खोजेको छ । यो बजारमा प्रचलित मूल्यभन्दा प्रति मेट्रिक टन ४१.१८ अमेरिकी डलरले महँगो छ र, १३ करोड ६९ लाख ८५ हजार बढी व्ययभार पर्छ ।

यसअघि, साल्ट ट्रेडिङ कर्पोरेसनले आह्वान गरेको ग्लोबल टेन्डरमा सन् इन्टरनेश्नलले प्रति मेट्रिक टन ७०७.९५ अमेरिकी डलरमा टेन्डर पाएको थियो । यो ग्लोबल टेन्डरमा तीन ठेकेदार कम्पनीको सहभागिता थियो । जसमध्ये सन्ले गरेका सबैभन्दा न्यून बिडको मूल्यमा नै टेन्डर पाएको हो । यसबाहेक, दोस्रो ठेकेदारले ७२२ र तेस्रो ठेकेदारले ७२९ अमेरिकी डलरमा बिड गरेका थिए ।

यद्यपि भारतसँग जिटुजीमार्फत भारतको आईपीएल मल खरिदको सम्भावना पनि छ । यो प्रक्रियामा प्रवेश गर्दा महँगोमा मल किन्नु पर्ने छैन । तर कम्पनीमा अहिले महँगोमै मल किन्ने खेल चलिरहेको छ ।

टेन्डरमा विवादै विवाद, छैन मल 

रासायनिक मल किन्ने कृषि सामाग्री लिमिटेडको यसअघिको योजना विवादै विवादमा पर्ने गरेका छन् । टेन्डर आह्वान गर्ने तर टुंगोमा नपुग्ने रोग नै बनेको छ । लिमिटेडका ५ वटा ठेक्का कामै लागेन ।

संयुक्त अरब इमिरेट्स र भारतीय लगानीको एसटीसी नामक कम्पनीले पाएको ३० हजार मेट्रिक टन युरिया मल खरिद ठेक्का असफल भइसकेको छ । यसबाहेक, आईपीएलले नै पाएको अर्को ३० हजार मेट्रिक टनको ठेक्का असफल भइसकेको छ । ५८५ मेट्रिक टन डीएपी मल ल्याउने समय अवधि घर्किदा पनि आयात हुन सकेको छैन । मल ल्याउन थपिएको ९० दिने समय त्यसै बित्यो । आईपीएलसँगकै २० हजार मेट्रिक टन डीएपी मलको ठेक्का समेत असफल भइसकेको छ । 

डीएपी चैते धानमा प्रयोग हुने रासायनिक मल हो । चैत धान लगाउने समय नजिकिँदा नेपालमा कूल ५ हजार मेट्रिक टन मल भण्डारणमा छ । युरिया मलको भण्डारण भने पर्याप्त छ ।  लिमिटेडसँग ३५ हजार मेट्रिक टन युरिया छ भने साल्ट ट्रेडिङ कम्पनीसँग १० हजार युरिया मल स्टक छ ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप