सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नियात्रा

डोल्पालाई एक फन्को लगाउँदा...

शनिबार, १२ फागुन २०८०, २० : १०
शनिबार, १२ फागुन २०८०

एकपटक डोल्पा घुम्ने रहर पहिलेदेखि पालेकी थिएँ । त्यहाँको कला, संस्कृति, रहनसहन र पौराणिक शैलीमा बनेका घरहरूको बारेमा सुनेर, तस्बिर वा भिडियोमा देखेर मलाई त्यहाँ जान उत्कट इच्छा जागेको थियो । यसपटक भने डोल्पाको दुनैसम्म पुग्ने अवसर जुर्‍यो । गएको माघको अन्तिमतिर दाङ सदरमुकाम घोराहीबाट राप्ती लोकमार्ग हुँदै हामीले दुनैको यात्रा सुरु गर्‍यौँ । 

रुकुम पश्चिममा रहेका आफन्तलाई भेटघाट गरी डोल्पासम्म पुग्ने योजनामा हामी थियौँ । घोराहीबाट बिहानै हायस चढेर हामी रुकुमतर्फ लाग्यौँ । सल्यानको रागेचौरमा चिया–खाजाका लागि केहीबेर रोकियौँ । सल्यान र रुकुमको सिमानामा पुगेदेखि चारैतिर हिमाल देखिन थालिहाल्यो । त्यसमाथि चिसो हावा चल्दा हिमालनजिकै पुगेको आभास हुन्थ्यो । 

करिब १२ बजेतिर हामी रुकुमको सदरमुकाम मुसिकोट खलङ्गा बजार पुग्यौँ । यहाँबाट फेरि आठबिसकोटको यात्रा तय गर्नु थियो । दिउँसोको खाना खाएर अर्को गाडी पक्री हामी आठबिसकोटको राडीतर्फ लाग्यौँ । सानीभेरी र ठुलीभेरीको तिरैतिर हुँदै बेलुका करिब ४ बजेतिर राडीबजार पुगियो । यहाँ पुग्दा शरीरलाई हिमाली हावाको चिसोपनले छुन थालिसकेको थियो । 

जाजरकोट र डोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र रहेछ, आठबिसकोट । वरिपरि डाँडैडाँडाले घेरिएको र बिचमा उपत्यका बनेको राडीबजार प्रकृतिको सुन्दर उपहार रहेछ । शान्तसँग आफ्नै लयमा बगिरहेकी ठुलीभेरीको काखैमा रहेको राडीबजारले मनमा थप आनन्द थपिदियो । त्यहाँको तीनदिने बसाइपछि हामी आठबिसकोटबाट डोल्पाको यात्रामा निस्कियौँ । बिहान ४ बजे जाजरकोटको बगारादेखि गाडीमा चढेर डोल्पासम्मको यात्रा तय भयो । जाजरकोटको तल्लुबगर पुगेपछि फेरि रुकुम पश्चिमतर्फ मोडियौँ, तल्लुको भेरी नदीमा बेलिब्रिज भएकाले गाडी फेर्न परेन । जाजरकोट पार गरेर रुकुमको गोतामकोटको त्रिवेणी बजार पुग्यौँ । बिहानै हिँडेकाले यहाँ खाजा खाएर फेरि यात्रा सुरु भयो । जाजरकोट, रुकुम र डोल्पा जिल्लाको संगमस्थल भएकाले यसलाई त्रिवेणी भनिएको रहेछ । त्रिवेणी पार गरेपछि रुकुम सकिएर डोल्पा जिल्ला सुरु भयो । मध्याह्न १२ बजेतिर हामी खदाङ हुँदै श्रीबिण्डे पुग्यौँ । चट्टानै चट्टानले घेरिएको सडकमुनि भेरी नदी देख्दा मनमा केही डर उत्पन्न नभएको होइन, तर वरपर मनमोहक दृश्यहरू देखेर डर त्यसै हराउँदै गयो । 

विशाल नदीले घेरेको ठाउँ, बिचैमा उठेको जमिन अनि त्यसैको थाप्लोमा अडिएको त्रिपुराकोट मन्दिरबाट तल हेर्दा जिउ जिरिङ्ग हुन्थ्यो । त्रिपुरासुन्दरी मन्दिरको चारैतिर विशाल काठका ध्वजावाहक लिङ्गाहरू ठड्याइएका थिए, त्यसले बेग्लै सौन्दर्यको आभास गरायो । चारैतिर सेताम्मे हिमाल, हावासँगै लहलह झुलेका धान, मकै, गहुँ, जौलगायत अन्नबाली, काठ र माटोले बनेका घरहरूको बस्तीले मेरो मनलाई तानिरहे । 

dolpa1

त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेर डोल्पाको सदरमुकाम दुनैतर्फ लाग्यौँ । एकातर्फ भीर, अर्कोतर्फ भेरी नदीको तीर हुँदै दुनै बजार पुगियो । ठुलीभेरी नदीको किनारामा सानो गाउँजस्तो देखिने दुनै बजार शान्त, सुन्दर र सफा देखिन्थ्यो, मान्छेको त्यति चहलपहल देखिएन ।

दुनै बजारलाई एक फन्को लगाएर हामी जुफालतर्फ अघि बढ्यौँ । सदरमुकाम दुनैदेखि करिब ११ किलोमिटर दक्षिण पश्चिमको अग्लो भागमा छ जुफाल । यहाँ विमानस्थल पनि छ, नेपालगन्जदेखि दैनिक तीन–चार उडान हुने । दुनैभन्दा अग्लो स्थानमा रहेकाले दुनैमा हिउँ नपर्दा पनि यहाँ पर्दोरहेछ । जुफालबाट तलतिर ठुलीभेरी र अग्ला हिमालहरूको सुन्दर दृश्यलाई सजिलै नियाल्न सकिन्छ । घरमाथि घर खाँदिएको जुफाल सिमी, उवा, खुर्सानी र स्याउ उत्पादनका लागि राम्रो मानिन्छ । जुफाल र वरपरका दृश्यावलोकनपछि हामी घर फर्किने निर्णय गर्‍यौँ । फेरि त्यही भेरी नदीको किनारमा अवस्थित त्रिपुरासुन्दरी मन्दिर हुँदै फर्कियौँ । ढुंगामा धान राखेर काठको मुंग्राले हानेर कुट्दै गरेका डोल्पालीहरू, ठाउँ ठाउँमा बनाइएका मन्दिर र नेपाली पोषाकमा घोडामा सवार डोल्पाली बाटोमा भेटिए ।

डाँडाको माथि–माथि ठुल्ठूला गाउँ सडकबाट देख्न सकिन्थ्यो । जुफाल, दुनै बजारको वरिपरिका डाँडामा हिउँद सुरु भएदेखि नै हिउँ पर्दोरहेछ । लगातार परेको हिउँले सेताम्मे बनेका छन्, पाखा, पखेरा र पहाडहरू । हिउँले वरिपरि घेरिएको सुन्दर डोल्पा आँखाले हेर्न नभ्याउँदै ओझेल पर्‍यो । 

हिमाली र पहाडी जनजीवन, हिमाली संस्कृति एवं रीतिरिवाज, माटोले छाएका परम्परागत घर, यहाँको आफ्नै भाषाले मलाई आकर्षित गरेको थियो । पूर्वमा मुस्ताङ र तिब्बत, पश्चिममा मुगु र जुम्ला, उत्तरमा तिब्बत, दक्षिणमा जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र म्याग्दीको बिचमा रहेको भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा प्र्राकृतिक रूपले सुन्दर छ, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण ।  खोला तर्न तयार पारिएका स्थानीय प्रविधिका साँघु र काठेपुलहरूले आफ्नै कथा र सौन्दर्य बोलिरहेका थिए । हिमाल, पहाड, पाखा–पखेराहरू, जल, जङ्गल र जडीबुटीका असीमित स्रोतले धनी छन् यी भेकहरू  । दुर्लभ वन्यजन्तु, (चितुवा, भालु, रेड पाण्डा, कस्तुरी) राष्ट्रिय चरा डाँफे, मयुरको बासस्थान पनि हुन् यी पहाडहरू । बौद्ध, बोन र हिन्दु संस्कृतिको सम्मिश्रण रहेको जीवनशैली उपल्लो डोल्पामा पाइन्छ । 

सुख्खा पाखा र नाङ्गा कहालीलाग्दा पहाडलाई हिउँले छोपेपछि डोल्पा पूरै सेताम्मे, स्वच्छ अनि सुन्दर देखिएको थियो । अझ माथिल्लो भेकमा सफा, शान्त र निर्मल पानी । छिनछिनमा पानीको रङ परिवर्तन भइरहने— कहिले गाढा नीलो, कहिले मलिन हरियो । देशको सबैभन्दा गहिरो तथा दोस्रो ठूलो ताल डोल्पाको फोक्सुण्डोको चरित्र हो यो । अग्लो ठाउँमा हाँसिरहेका हिमाल र यहाँको सरल जीवनशैलीले यहाँ आउने जो–कोहीलाई पनि आकर्षित गर्छ । डोल्पा साँच्चिकै सपनाको गन्तव्य बन्यो । यो यात्राले आनन्द मात्रै पैदा गरेन, यहाँको जनजीवन, रहन–सहन र सौन्दर्यतालाई नजिकबाट नियाल्ने अवसर दियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शुसी बस्नेत
शुसी बस्नेत
लेखकबाट थप