आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

नेपालमा कति हुन्छ तरकारी उत्पादन ?

सात महिनामा १९ अर्ब ५० करोड ८७ लाख रुपैयाँको तरकारी आयात
आइतबार, १३ फागुन २०८०, १० : ३९
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । नेपालमा वार्षिक झण्डै ३ लाख हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । सरकारी तथ्याङ्क अनुसार २ लाख ८९ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ, जसबाट वार्षिक ४१ लाख ५३ हजार मेट्रिक टन उत्पादन हुँदै आएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ८९ हजार ८३९ हेक्टर जमिनमा तरकारी खेती हुँदै आएको छ । सो जमिनबाट ४१ लाख ५३ हजार १५७ मेट्रिक टन तरकारी उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ८४ हजार १२१ हेक्टर क्षेत्रफलमा तरकारी खेती भएकोमा ३९ लाख ९३ हजार १६७ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा २ लाख ८१ हजार १३२ हेक्टर क्षेत्रफलबाट ४२ लाख ७१ हजार २७० मेट्रिक टन तरकारी उत्पादन भएको थियो ।

  • तरकारीको उत्पादकत्व कति ?

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा तरकारीको उत्पादकत्व प्रतिहेक्टर १४.३३ मेट्रिक टन थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा १४.०३ मेट्रिक टन र आर्थिक वर्ष २०७६/०७७ मा १४.०९ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व थियो ।

  • तरकारीको आयात-निर्यात कति ?

नेपालमा पछिल्लो समय तरकारी आयात कम हुँदै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा १९ अर्ब ५० करोड ८७ लाख रुपैयाँको तरकारी आयात भएको छ । भारत, चीन लगायत मुलुकबाट तरकारी आयात भएको हो ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी नेपालले आयात गरेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ३६ अर्ब ५४ करोड रुपैयाँको तरकारी आयात भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ३८ अर्ब ५० करोडको आयात भएको थियो ।

यस्तै, चालु आर्थिक वर्षको सात महिनामा ५४ करोड ६१ लाख रुपैयाँको तरकारी निर्यात भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ७४ करोड ५९ लाख रुपैयाँको तरकारी निर्यात भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा ७७ करोड ६२ लाख रुपैयाँको निर्यात भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ६९ करोड ९८ लाख रुपैयाँको तरकारी निर्यात भएको छ । नेपालबाट भारत, चीन लगायतका मुलुकमा तरकारी निर्यात हुँदै आएको छ ।

tar

स्रोत: भन्सार विभाग

  • तरकारीमा व्यापारघाटा कति ?

नेपालले चालु आर्थिक वर्षको सात महिनामा तरकारीमा १८ अर्ब ९६ करोड २५ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ३१ अर्ब १२ करोड ६५ लाख रुपैयाँ घाटा बेहोरेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ३५ अर्ब ७६ करोड ८३ लाख र आर्थिक वर्ष २०७७/०७८ मा ३७ अर्ब ८० करोड ७ लाख व्यापार घाटा भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

  • कस्तो छ तरकारीको बजार ?

पछिल्लो समय तरकारी उत्पादन र बजारीकरणमा किसानको संलग्नता बढेसँगै नेपालमा खपत हुने तरकारीमध्ये करिब ६० प्रतिशत आन्तरिक उत्पादनले धानेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए ।

‘कालीमाटी बजार लगायत कृषि बजारमा ६० प्रतिशत हाम्रो उत्पादन छ,’ उनले भने, ‘आलु, प्याज, विभिन्न फलफूल विदेशबाट आयात हुन्छ, यी तीन–चार वस्तु झिक्ने हो भने धेरैजसो ८० प्रतिशत आन्तरिक उत्पादनले पुगेको छ ।’

पछिल्लो समय व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्या बढेकाले आन्तरिक उत्पादनबाट ६० प्रतिशत माग धान्ने गरेको पौडेलले बताए । ‘पछिल्लो समय कृषि पकेट क्षेत्रमा व्यावसायिक उत्पादन बढेको छ,’ उनले भने, ‘पहिला आफ्नो घरायसी प्रयोजनका लागि मात्रै कृषि कर्म गर्ने प्रचलन थियो, अहिले केही आम्दानी गर्न सक्ने गरी उत्पादन गरेका छन् ।’

उत्पादित तरकारी बजारसम्म पुग्नका लागि चारदेखि पाँच तह पार गर्नुपर्ने उनको भनाइ छ । ‘वस्तु बजारसम्म पुर्‍याउन मध्यस्थकर्ता आवश्यक पर्छ,’ उनले भने, ‘धेरै तह हुँदा उपभोक्तासम्म आइपुग्दा उत्पादनकर्ताले पाएको मूल्यभन्दा मध्यस्थकर्ताले धेरै रुपैयाँ पाउने र उपभोक्ताले धेरै रुपैयाँमा खरिद गर्नुपर्ने अवस्था छ ।’

उनले तह घटाउन सके तरकारीको उपभोक्ता मूल्य घट्ने र उत्पादनकर्ताले पनि मूल्य पाउने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप