शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विचार

सजिलो छैन अमेरिका पस्न र बस्न

सोमबार, १४ फागुन २०८०, ०८ : ०४
सोमबार, १४ फागुन २०८०

आज मात्र होइन, धेरै अघिदेखि धेरै नेपालीका लागि अमेरिका सपनाको देश थियो । मेरै समकालीन साथीहरू आजभन्दा करिब ५० वर्षअघि (२०३२ सालतिर) अमेरिका गएका थिए, अध्ययनका लागि । अहिलेसम्म उनीहरू अमेरिकामै छन् । सायद ती साथीहरू अब नेपाल फर्किंदैनन् । उनीहरूका सन्तान त झनै नेपाल फर्किंदैनन्, किनकि उनीहरू त्यहीँ जन्मिए, त्यहीँ हुर्किए र उनीहरूले अमेरिकालार्ई नै आफ्नो जन्मभूमि, कर्मभूमि र आफ्नो धर्ती बनाइसके अर्थात्  अमेरिकी नागरिक भइसके । मेरा साथीहरू पनि अमेरिकाकै नागरिक बनिसकेका छन् । अब उनीहरू नेपाल फर्किएर आफ्नै धर्तीमा बस्ने कुनै गुन्जायस देखिँदैन । अमेरिकाको स्थायी बसाइ र त्यहाँको रहनसहनमा अभ्यस्त भइसकेकाहरू नेपाल फर्कन सक्ने अवस्था पनि सायद हुँदैन ।

पहिलेदेखि नै अमेरिका पस्न त्यति सजिलो थिएन । पहिले पनि अमेरिका जाने माध्यम भनेकै विद्यार्थी भिसा थियो, अहिले पनि विद्यार्थी भिसा नै छ । पहिले अमेरिका पस्न चोरबाटो अपनाउन पर्दैनथ्यो । बरु अमेरिकी सरकारले राखेका विभिन्न सर्त र कानुनको पालना गर्नु अनिवार्य थियो नै । सबै प्रक्रिया पूरा गर्दैमा भिसा प्राप्त हुनेमा पहिले पनि विश्वस्त हुन सकिँदैनथ्यो, अहिले पनि त्यस्तै हो । यो कुरा मूलतः अध्यागमन अधिकारीमा भरपर्दो रहेछ । तर सरकारी कर्मचारी, कुनै संस्थाको प्रतिनिधि र सरकारको सिफारिसमा देशको तर्फबाट जानेहरूका लागि भने केही सहजता हुँदोरहेछ ।

कतिपय नेपाली सानोतिनो प्रयासले अमेरिका छिर्न सक्दा रहेनछन् । त्यसकारण उनीहरू चोरबाटो प्रयोग गरी लाखौँ रुपैयाँ खर्चेर अमेरिका पुगेका पनि छन् । धेरै देश हुँदै जीवनलाई नै दाउमा राखेर अमेरिका पुग्नुको के अर्थ हुन्छ र ? यद्यपि मानिसले यही देश किन पराउँछन् ? किन मरिहत्ते गर्छन् ? किन आफ्नो देश छाड्न चाहन्छन् ? यिनै प्रश्नको उत्तर खोज्न यो सानो आलेखमा जमर्को गरिएको छ ।

कामका लागि अमेरिका प्रवेश गर्नेहरूले सुरुमा यहाँ काम पाउने भनेको निम्नकोटिकै हो । धेरै अमेरिकी नागरिकले गर्न नसक्ने र गर्न नरुचाउने कामै बाहिरबाट आउनेले गर्ने हो । तर राम्रो अध्ययन गरेर विज्ञता प्राप्त गरेकाले भने राम्रै आम्दानी गरेका पनि छन्, यस्तो अवसर कमै मात्रका लागि हुने गरेको देखिन्छ ।

अमेरिका पस्न यति कठिन छ भने यहाँ बस्न पनि त्यति सजिलो छैन । नेपालको तुलनामा यहाँको जनजीवन निकै कष्टकर छ । सामाजिक सद्भाव यहाँ देखिँदैन । जोडिएको घरसँग कुनै सम्बन्ध जोडिएको हुँदो रहेनछ । सम्बन्धको के कुरा गर्नु, आँखासम्म जुध्न सक्दो रहेनछ, सहयोग त परैको कुरो भयो ।

अमेरिकाले यसरी विश्वलाई तानेको छ कि जसरी र जे धन्दा गरेर भए पनि मानिस गएकै देखिन्छन् । नेपालकै सन्दर्भलाई जोड्ने हो भने केही समयअघि नक्कली भुटानी शरणार्थी बनेर धेरै नेपाली अमेरिका प्रवेश गरेछन् । यस काण्डमा कतिपय उच्च तहका व्यक्तिहरू पनि मुछिए । ठुला मानिसको संलग्नता भएको हुँदा निश्चय नै ठुलै आर्थिक चलखेल भएको हुन सक्छ । त्यसकारण यसरी चोरबाटोबाट जान पनि सामान्य मानिसलाई फलामको चिउरा चपाउनुजस्तै रहेछ । बरु यस्ता कुरामा प्रवेश नै नगर्नु उत्तम हुनेछ । 

krishna mani parajuli photoनिश्चय नै, अमेरिका विश्वकै विकसित मुलुक हो । अहिले विश्वमा उसैको साम्राज्य चलेको छ । यहाँ विज्ञान र प्रविधिको अत्यधिक विकास भएको छ, जसले गर्दा मानिसले लामो समय लगाएर गरिआएको काम क्षणभरमा सम्भव भएको छ । यहाँ ज्ञान छ, विज्ञान छ, सीप छ, अनि विकास छ । यिनै कारणले गर्दा अत्यधिक विकास भएको छ । सबै कुरा उपलब्ध हुने भएकाले नै मानिसको ताँती यहाँ हुँदो रहेछ ।

आफ्नो धर्ती भनेको आफ्नै हो । यो नबुझेर भौतिक लाभका लागि मात्र मानिस यहाँ आउने गर्दा रहेछन् । बाहिरबाट आउने धेरै मानिसमा यहाँको परिवेश अमिल्दो हुने भएकाले कुनै काम तथा व्यवसाय गर्न अलि कठिनै हुँदो रहेछ । हरेक कामकुरा प्रविधिमा आधारित हुने भएकाले यसमा अभ्यस्त हुन मुस्किलै पर्दोरहेछ । प्रविधिको पूर्ण ज्ञान नभएकालाई सोही अनुरूपको काम पाउन मुस्किल छ । कामका लागि अमेरिका प्रवेश गर्नेहरूले सुरुमा यहाँ काम पाउने भनेको निम्नकोटिकै हो । धेरै अमेरिकी नागरिकले गर्न नसक्ने र गर्न नरुचाउने कामै बाहिरबाट आउनेले गर्ने हो । तर राम्रो अध्ययन गरेर विज्ञता प्राप्त गरेकाले भने राम्रै आम्दानी गरेका पनि छन्, यस्तो अवसर कमै मात्रका लागि हुने गरेको देखिन्छ ।

अमेरिकी सरकारको ईडीभी कार्यक्रमअन्तर्गत आउनेहरूको पनि अवस्था कठिन देखिन्छ । व्यावसायिक र पेसागत काम उपलब्ध नहुँदा दैनिकी चलाउनका लागि जस्तो पायो, त्यही काम गर्नुपर्दा एकातिर पारिश्रमिक न्यून र अर्कोतर्फ काम पनि कठिन हुँदो रहेछ । वैधानिकता नहुने भएकाले लुकिछिपी छिरेकाहरूलाई झनै समस्या पर्दो रहेछ । काम पाउनका लागि मानिसले आफूसँग भएको वैधानिक कागजपत्र पेस गर्नैपर्र्छ । यी कागज नभएका र चोरबाटोबाट प्रवेश गर्नेका लागि जीवन धान्नैका लागि कठिन हुँदो रहेछ, अनि परिएन त फन्दामा ?

सामाजिक सुरक्षा नम्बर भएकाहरूका लागि पनि सोचेजस्तो हुँदोरहेनछ । एक त आफ्नो अनुकूलको काम पाउन गाह्रो, अर्को पाए पनि त्यसबाट पाउने पारिश्रमिकमा तिर्नुपर्ने करको रकम ज्यादै ठुलो । काम गर्‍यो–गर्‍यो सरकारलाई करबापत बुझाउँदैमा ठिक्क । सस्तो र पेट भर्ने किसिमबाट मानिसले खाइरहेकै हुन्छन्, तर घरभाडाले निकै टाउको दुखाउँदो रहेछ । एउटा सानो घर वा अपार्टमेन्ट लिनका लागि आम्दानीको तुलनामा निकै चर्को पर्दो रहेछ । यो भनेको तिर्न सक्ने क्षमता नै हुँदो रहेनछ । त्यसैले कतिपय विदेशी नागरिकहरू भिन्नभिन्न कोठामा बस्ने र किचेन सेयर गर्दा रहेछन् । यसरी कष्टकर र अप्ठेरो अवस्थामा जीवन चलाउनुले मानिसलाई के फाइदा हुन सक्छ र ? अहँ, यसरी अमेरिकामा बस्नुलाई कुनै हालतमा पनि राम्रो भन्न सकिँदैन ।

अमेरिका आउने हो भने राम्रै अध्ययन गरेर वैधानिक बाटोबाट आउनुपर्छ । अमेरिका भन्दैमा सबै कुरा राम्रो हुने होइन । विज्ञता, क्षमता, व्यावसायिकता, कार्यकुशलताजस्ता अवयव जहाँ पनि आवश्यक हुन्छन् । त्यसमा पनि अमेरिका जस्तो विकसित देशमा राम्रो काम पाउन यी कुरा हुनैपर्छ । अन्यथा दुःखको भुमरीमा परिन्छ नै । संसारको सबभन्दा विकसित देश भन्दैमा ह्वात्तै हाम फाल्न भने हुँदैन  । सकिन्छ भने अमेरिकीलाई माथ गर्ने गरी जाने, होइन भने आफ्नै धर्तीलाई गोडमेल गरेर जीवन निर्वाह गर्ने ।

(लेखक पराजुली नेपाल सरकारका पूर्वउपसचिव हुन् । हाल अमेरिकामा छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णमणि पराजुली
कृष्णमणि पराजुली
लेखकबाट थप