सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

शिवरात्रिमा तीन नेपाली फिल्म जुध्दै, दाउमा ६ करोड

बिहीबार, १७ फागुन २०८०, ०८ : ५८
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । हिन्दी फिल्मसँग बजार प्रतिस्पर्धामा डराउने नेपाली निर्माताहरू आपसमा भने सधैँ भिड्न तयार हुन्छन् । अझ कुनै राम्रो मिति पर्नुपर्छ, दुई–तीन वटै नेपाली फिल्म आपसमा भिड्ने गर्दछन् ।

फागुन २५ गते शिवरात्रिकै मौका छोपेर तीन वटा नेपाली फिल्म प्रदर्शन हुँदैछन् । शिवरात्रि र त्यसपछिका केही दिन सार्वजनिक बिदा परेकाले यो मितिमा फिल्म रिलिज गर्ने होड चलेको हो ।

नेपाली चलचित्र ‘काँडेतार’, ‘उपहार’ र ‘रङ्गेली’ एक साथ प्रदर्शनमा आउन लागेका हुन् । फागुनको पहिलो साता अर्थात् ४ गते शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘जिग्री’ले दर्शक पाउन सकेन । ११ गते प्रदर्शनमा आएको ‘गोर्खा वारियर’को पनि अपेक्षा गरेजस्तो व्यवसाय भएन । यस्तो अवस्थामा २५ गते तीन वटा फिल्म एक साथ प्रदर्शनमा आउन थालेका हुन् ।

शिवरात्रिकै मौका छोपेर सबैभन्दा पहिला ‘काँडेतार’ले प्रदर्शनको घोषणा गरेको थियो । त्यसपछि ‘उपहार’ र ‘रङ्गेली’ थपियो । सिङ्गल रिलिजमा फिल्मको व्यवसाय राम्रो हुन नसकेको समय तीन वटा चलचित्र आपसमा प्रतिस्पर्धा गर्न उत्रिएपछि लगानी सुरक्षित नहुने जोखिम बढेको छ ।

  • कस्ता छन् फिल्म ?

नेपाली फिल्म रिलिजको अव्यवस्थित प्रणालीको विषयमा बेलाबेलामा चर्चा हुँदै आएको छ । जति नै बहस र आलोचना भए पनि अवस्था सुध्रिएको देखिन्न ।

२५ गते शिवरात्रिको अवसर पारेर रिलिज हुन लागेका ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ तीनै दर्शकमाझ प्रतीक्षित फिल्म हुन् । स्टार कलाकारले भरिएका यी तीन फिल्म विषयवस्तु र मेकरका हिसाबले पनि राम्रै मानिएका छन् ।

चलचित्र ‘काँडेतार’ नवल खड्काले निर्माण तथा निर्देशन गरेका हुन् । यस अगाडि राष्ट्रियताको विषयमा सफल ‘दशगजा’, ‘भीमदत्त’ जस्ता फिल्म दिएका नवलले यस फिल्मको विषय पनि राष्ट्रियताकै सेरोफेरो राखेका छन् । सीमा रक्षाका लागि देशका नागरिकले गरेको बलिदान र निर्वाह गर्नुपर्ने दायित्वलाई पर्दामा उतारिएको छ ।

फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काको अभिनय छ ।

सार्वजनिक प्रदर्शन अगाडि फिल्म देशका केही स्थानमा विशेष प्रदर्शन भइसकेको छ । विशेष प्रदर्शनबाट फिल्मले राम्रो प्रतिक्रिया पाउँदै आएको छ ।

त्यस्तै फिल्म ‘उपहार’ स्टार कलाकारको जमघट भएको र सफल मेकरले बनाएको फिल्म हो । यसै फिल्ममार्फत नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री रेखा ५ वर्षपछि अभिनयमा फर्किँदै छिन् । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन्, जसलाई हिट फिल्मका मेसिन समेत भन्ने गरिन्छ । फिल्म निर्माणमा अभिनेत्री रेखा थापा र निर्देशक ज्ञानेन्द्र देउजाले सहकार्यसमेत गरेका छन् ।

समसामयिक कथामा निर्माण भएको फिल्ममा रेखाको अलावा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जङ्ग कार्की लगायतको अभिनय छ । प्रचारका लागि सार्वजनिक गरेको ट्रेलरमा काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिसमेत देखाइएको छ ।

फागुन २५ मै रिलिज हुने ‘रङ्गेली’ अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म हो । पछिल्लो समय दयाहाङ र मिरुनाको जोडी रहेको फिल्म लगातार हिट भइरहेको छ । त्यसैले यो फिल्म पनि सफल हुने दाबी गरिएको छ ।

फिल्ममा दयाहाङ ‘ग्याङ्स्टार’को भूमिकामा देखिँदैछन् । दर्शकका लागि दयाहाङको ‘ग्याङ्स्टार’ रुप नयाँ पनि हुनसक्छ । फिल्ममा दयाहाङ र मिरुनाको अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ । अर्जुन सुवेदीले निर्देशन गरेको फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।

निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागार्ई सह–निर्माता हुन् ।

  • जोखिममा ६ करोड

अक्सर नेपाली फिल्म एक अर्कोसँग धेरै भिड्ने भनेको चाडपर्वमा हो । चाडपर्वमा केही दिन लगातार बिदा पर्ने भएकाले पनि निर्माता निर्देशकको आँखा पर्ने गरेको छ । यो शिवरात्रिमा पनि सोही कारण तीन फिल्म आएका हुन् ।

तीन फिल्म एकै पटक आउन लागेको यो पहिलो पटक भने होइन । यसअघि पनि कयौँ पटक तीन फिल्म रिलिज भएका छन् । यद्यपि चाडपर्वको मौका छोपेर रिलिज भएका सबै फिल्म सफल भने भएका छैनन् । कहिले एक–दुई फिल्म चलेका पनि हुन्छन्, त कहिले कुनै पनि फिल्मले राम्रो व्यवसाय नगरेको उदाहरण पनि छन् ।

रिलिज हुन लागेको तीन फिल्ममा गरी जम्मा करिब ६ करोड लगानी भएको चर्चा छ । अहिलेको अवस्थामा तीन फिल्म रिलिज हुनु भनेको सबै फिल्मका लागि जोखिम रहेको फिल्मकर्मी बताउँछन् ।

चाडबाडमा केही दिन बिदा हुने र त्यही बिदालाई निर्माता निर्देशकले आँखा लगाउँदा फिल्म जुध्ने गरेको निर्माता तथा वितरक रोहित कट्टेल बताउँछन् । ‘यसरी एकै मितिमा धेरै फिल्म आउँदा कहिले कुनै फिल्म चल्छ, कहिले चल्दैन’, कट्टेलले भने ‘एकै मितिमा नेपाली फिल्मको भिडन्त राम्रो होइन । म राम्रो पनि मान्दिनँ ।’

तीन फिल्म एकसाथ रिलिज हुँदा कुन फिल्मलाई कति शो दिने भन्नेमा हलवालाको पनि टाउको दुखाइ हुने उनले बताए । ‘फिल्म यसरी भिड्दाको असर सबै फिल्मलाई पर्ने देखिन्छ,’ उनले भने, ‘जसको भाग्य बलियो छ, त्यसको फिल्म सफल हुन्छ ।’

उनको विचारसँग निर्माता, वितरक तथा प्रदर्शक गोपाल कायस्थ पनि सहमत छन् ।

‘फिल्म जुधाउनु हुँदैन भनेर हामीले भन्दै आएका छौँ । अहिले त निर्माता संघका अध्यक्षको फिल्म नै जुध्न लागेको छ’, कायस्थले भने ‘अरू जुध्न आए पनि आफू जुध्न हुँदैन ।’

नेपालका दर्शकले कसको फिल्म र कस्तो फिल्म राम्रो हुन्छ भन्ने बुझिसकेको बताउने कायस्थ फिल्म राम्रो भएमात्र सिङ्गल आए पनि वा अन्यसँग भिडे पनि चल्ने धारणा राख्छन् ।  उनी भन्छन्, ‘शिवरात्रिमा आउने तीनै फिल्म जोखिमको दायरामा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप