आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
भुक्तानी प्रणाली

नेपाल–भारत विद्युतीय भुक्तानी : अन्तर्देशीय कारोबार पारदर्शी बन्ने

फोन पेले सुरु गर्‍यो, एनसीएचएलको मार्चदेखि नै सुरु हुने
शुक्रबार, १८ फागुन २०८०, १७ : ११
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । निजी क्षेत्रको अग्रसरतामा नेपाल–भारतबिच अन्तर्देशीय विद्युतीय (क्यूआर) भुक्तानी प्रणाली सुरु भएसँगै दुई देशबिचको कारोबारमा सहज हुनका साथै पारदर्शीसमेत हुने भएको छ । नेपालमा विद्युतीय भुक्तानीका लागि ‘क्यूआर स्क्यान’माध्यम विकास गरेको फोन पेले ‘बिजनेस टु बिजनेस’ (बीटूबी) सम्झौतामार्फत दुई देशबिच विद्युतीय भुक्तानी प्रणाली सुरु गरिसकेको छ ।

नेपाल र भारत विगत लामो समयदेखि विद्युतीय माध्यमबाट भुक्तानी प्रक्रिया अघि बढाउने गरी छलफलमा थिए । दुई देशबिच विद्युतीय भुक्तानी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरीय सम्झौता नै भएको थियो । नेपाल र भारतका सरकारस्तरबाटै विद्युतीय भुक्तानी माध्यम उपलब्ध गराउँदै आएका कम्पनीबिच साझेदारी गर्ने सम्झौता थियो त्यो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सम्झौता कार्यान्वयन आउनु पहिला नै निजी क्षेत्रको पहलमा क्यूआर (विद्युतीय) माध्यमबाट भुक्तानी सुरु भएको छ । नेपालमा क्यूआर स्क्यानको माध्यम विकास गरिरहेको फोन पेले भारतको डिजिटल वालेट फोन पे र युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई)सँगको बीटूबी सम्झौता गरेर यो सेवा सुरु गरेको हो ।

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाका अनुसार सम्झौतासँगै भारतको डिजिटल वालेट फोन पे र यूपीआईले सञ्चालन गरिरहेको ‘भीम एप’का ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्छन् ।

सापकोटाका अनुसार यी दुई कम्पनीका सेवाग्राहीले सुरुवाती चरणमा नेपालका १० वटा बैंकको माध्यमबाट भुक्तानी गर्न सक्छन् । यो सेवालाई बिस्तारै विस्तार गर्दै लैजाने सापकोटाको भनाइ छ । यद्यपि, फोन पेले सुरु गरेको यो सेवामा फोन पेमा आबद्ध डिजिटल वालेट र बैंकबाट मात्रै भुक्तानी गर्न मिल्छ ।

‘अहिले १० वटा सेवाप्रदायक मार्फत नेपालमा भारतीय सेवाग्राहीले क्यूआर गर्न मिल्छ,’ सापकोटा भन्छन्, ‘थप ३ वटा बैंकले यसमा आबद्धताका लागि प्रस्ताव पठाइसकेका छन् । स्वीकृत गर्न बाँकी छ ।’

सापकोटाका अनुसार भारतका दुई सेवा प्रदायकसँगको बीटूबी सम्झौताबाट सुरु भएको क्यूआरमार्फत डिजिटल वालेटसहित बाणिज्य बैंकको एपमा भुक्तानी गर्न मिल्छ । भारतको फोन पे र भीमका प्रयोगकर्ताले नेपालमा ईसेवा, खल्ती, एभरेष्ट बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंकको मोबाइल एपमा क्यूआर गर्न मिल्छ । यस्तै, कुमारी बैंक, सिटिजन्स बैंक, एनएमबी राष्ट्रिय बाणिज्य बैंकको मोबाइल एपमा समेत क्यूआर गर्न मिल्छ ।

यसबाहेक, नबिल बैंक र नेपाल बैंकसमेत आफ्नो मोबाइल एपमार्फत भारतको फोन पे र भीमबाट क्यूआर गर्न मिल्नेगरी सेवा सुरु गर्न तयार छन् । यद्यपि, यी बैंकमार्फत दिने सेवा भने फोन पेले स्वीकृत गरिसकेको छैन ।

भारतले नेपालसहित दक्षिण एसियासहित विश्भर विद्युतीय भुक्तानीमार्फतको कारोबार अघि बढाउन चाहेको छ । यसअघि, भारतले श्रीलंका र मौरिसससँग विद्युतीय भुक्तानी प्रणाली सुरु गरिसकेको छ । यद्यपि, नेपालसँग क्यूआरमार्फत हुने विद्युतीय भुक्तानी भने सुरुवाती चरणमा एकतर्फी छ । फागुन १६ देखि सुरु भएको क्यूआर भुक्तानी प्रणाली सेवामार्फत नेपालीले भारतमा क्यूआर गर्न मिल्दैन ।

भावी दिनमा नेपालबाट भारत जाने सेवाग्राहीलाई समेत यो सेवा दिने तयारीमा नेपालको फोन पे छ । विद्युतीय माध्यमबाट भुक्तानी प्रणाली सुरु भएसँगै नेपाल–भारतबिच हुने अर्बौंको कारोबार आधिकारिक तहबाट हुने अपेक्षामा सरकार छ । योसँगै भारतबाट नेपालमा घुम्न आउने पर्यटकले नगद नबोकी आउन सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरु पौडेल बताउँछन् ।

यस्तै, भारतबाट नेपाल उपचारका लागि आउनेहरुको संख्या समेत धेरै छ । उनीहरुले समेत नेपालमा झन्झटमुक्त बनेर आउन सक्नेछन् ।

एनसीएचएलले मार्चदेखि परीक्षण गर्ने

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) यही मार्चको मध्य वा अन्तिमदेखि अन्तर्देशीय विद्युतीय भुक्तानी सुरु गर्ने तयारीमा छ । फोन पेले क्यूआरमार्फत विद्युतीय भुक्तानी सेवा सुरु गरे पनि एनसीएचएलले थप सेवा सुरु गर्न सक्छ । अर्थात् नेपाल–भारतको बैंकबाट सिधै ‘ट्रान्जेक्सन’ सेवा समेत सुरु गर्न सक्छ ।

जेठमा भएको प्रधानमन्त्रीस्तरीय भ्रमणको समयमा सुरु गर्ने भनिएको अन्तर्देशीय भुक्तानी प्रणाली एनसीएचएलले अघि बढाउने हो । यसका लागि नेपाल राष्ट्र बैंकले यही फागुन ४ गते भारतको रिजर्भ बैंक अफ इन्डियासँग सम्झौता गरिसकेको छ ।

सम्झौताअनुसार भारतको युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) ले अन्तर्देशीय भुक्तानी प्रणाली अघि बढाउने छन् । यो सेवासमेत सुरु भएपछि नेपाल–भारतबिच हुने कारोबारलाई बैंकिङ माध्यमबाट ल्याउनेछ, जसले अन्तर्देशीय अर्थतन्त्रलाई समेत पारदर्शी बनाउन सहयोगी भूमिका खेल्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप