आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

कृषि क्षेत्रको जनशक्ति : संघमै ३० प्रतिशत दरबन्दी रिक्त, स्थानीय तहको छैन कुनै लेखाजोखा

आइतबार, २० फागुन २०८०, १३ : ३८
आइतबार, २० फागुन २०८०

काठमाडौँ । संघमा कृषि क्षेत्रको जनशक्तिको दरबन्दी ३० प्रतिशत रिक्त रहेको छ भने प्रदेश र स्थानीय तहको कृषिसँग सम्बन्धित जनशक्तिबारे कुनै लेखाजोखा नै छैन ।  

सरकारी तथ्यांकअनुसार कृषि क्षेत्रका जनशक्ति ३०.३३ प्रतिशत दरबन्दी रिक्त रहेको हो । तीनै तहमा कृषिको प्राविधिकको सङ्ख्या र आवश्यक जनशक्ति कति पर्छ भन्ने यकिन तथ्याङ्क छैन । अहिले कयौँ कृषि विज्ञले अवकाश पाएर विभिन्न पद रिक्त रहँदा पदपूर्तिका लागि पहलसमेत हुन सकेको छैन । 

समायोजन हुँदा र अवकाश हुँदा सो जनशक्ति दरबन्दी रिक्त भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता तथा सहसचिव शवनम शिवाकोटी अर्यालले बताइन् । ‘हामीलाई कति जनशक्ति आवश्यक हो भनेर म्यापिङ र प्लानिङ भएको छैन,’ उनले भनिन्, ‘संघको दरबन्दी तीनै तहमा गएको हुनाले घटेको छ । अधिकांश प्राविधिक जनशक्ति नै समायोजन भएको हो ।’ 

लोकसेवाले पदपूर्ति नगरेको, कुनै ठाउँमा सुरुदेखि नै पदपूर्ति नभएको देखिएको नेपाल पशु चिकित्सक परिषद्का रजिष्ट्रार डा. मनोज कुमार शाही बताउँछन् । 

  • जनशक्ति अभावको असर

कृषि क्षेत्रमा दरबन्दी थप्न नसक्दा गुणस्तरीय कृषि प्राविधिक सेवा प्रवाह गर्न नसकिएको सरोकारवालाले बताएका छन् । कम जनशक्ति भएकाले कृषिमा गुणस्तरीय सेवा दिन नसक्दा उत्पादन घट्ने, बजारीकरणमा समस्या, कृषि तथ्यांक संकलन र प्रगति समीक्षालगायत कार्य समयमा हुन नसकेको प्रवक्ता अर्यालले बताइन् । ‘किसानको माग नयाँ प्रविधिमा छ भने पर्यावरणीय परिवर्तनका कारणले नयाँ खालका रोग किरा देखिन्छ,’ उनले भनिन्, ‘जनशक्ति कम हुनुका साथै भएकै जनशक्तिलाई पनि नयाँ प्रविधि अनुसार सक्षम बनाउन सकेका छैनौँ ।’

लम्पी स्किन, अफ्रिकन स्वाइन फिभर, पानामालगायत पशुदेखि बालीहरूमा नयाँ–नयाँ रोग देखिएको उनको बताइन् । ‘नयाँ रोगहरू देखिएमा समयमा विवरण उपलब्ध गराउन नसक्नेजस्ता ग्यापहरू देखिएको छ,’ उनले भन्छिन्, ‘विभिन्न तथ्यांक, प्रगतिका कुराहरू, कृषि तथ्यांकका कुराहरू छन्, किसानहरूका विवरण, भइरहेको कार्यक्रमको प्रभावकारिता के भइरहेको छ भन्ने नियमन प्रभावकारी ढंगले हुनसकेको छैन ।’ 

पशु चिकित्सकमा जनशक्ति कमी भएकाले किसानले पाउनुपर्ने सेवाबाट वञ्चित भइरहेको नेपाल पशु चिकित्सक परिषद्का रजिष्ट्रार डा. मनोज कुमार शाहीले बताए । ‘किसानहरूलाई जनचेतना दिने, प्राविधिक सेवा दिने कार्य गरिन्थ्यो होला,’ उनले भने, ‘पशुसँग सम्बन्धित केही न केही सेवा पाउँथे तर किसानले सेवा पाउनबाट वञ्चित भएका छन् ।’

  • कुन निकाय अन्तर्गत कति दरबन्दी खाली ?

संघ अन्तर्गत कृषि क्षेत्रमा स्वीकृत दरबन्दी १ हजार ९१२ जनाको छ । सरकारी तथ्यांक अनुसार १ हजार ३३१ जनाको मात्रै पदपूर्ति भएको छ । ५८१ जनाको दरबन्दी रिक्त रहेको छ । 

मन्त्रालय अन्तर्गत १६१ जनाको स्वीकृत दरबन्दी छ । तर हाल १५६ जनाको पदपूर्ति भएको छ । ५ जनाको दरबन्दी रिक्त छ । 

यस्तै, कृषि सूचना तथा प्रशिक्षण केन्द्रका लागि ४४ जनाको दरबन्दी स्वीकृत छ । तर २५ जनाको मात्रै पदपूर्ति  हुन सकेको छ भने १९ जनाको दरबन्दी रिक्त छ ।  

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका लागि २२ जनको दरबन्दी स्वीकृत छ र तर १६ जनाको मात्रै दरबन्दी पदपूर्ति हुन सकेको छ । ६ वटा दरबन्दी रिक्त छ ।  

सरकारी निकायको तथ्यांक अनुसार प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा १३३ को दरबन्दी स्वीकृत छ । ७३ जनाको पदपूर्ति भएको छ भने ६० जनाको दरबन्दी रिक्त छ । 

यस्तै, कृषि विभाग र सो अन्तर्गत ४४९ जनाको दरबन्दी स्वीकृत छ । २७९ जनाको  पदपूर्ति भएको र १७० जनाको दरबन्दी रिक्त छ । 

यस्तै, पशुसेवा विभाग र सो अन्तर्गत पर्ने निकायका लागि ७३३ जना दरबन्दी स्वीकृत छ । तर ५११ दरबन्दी पदपूर्ति भएको छ भने २२२ जनाको दरबन्दी रिक्त छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यस अन्तर्गतका निकायका लागि ३७० जनाको दरबन्दी स्वीकृत छ । २७१ पदपूर्ति भएको छ भने ९९ जनाको दरबन्दी रिक्त रहेको सरकारी तथ्यांक छ । 

  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्गतका निकायहरूको जनशक्ति विवरण:

ag3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप