सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कान्तिपुर सहकारी ठगी प्रकरण

पूर्वअध्यक्ष सिबी लामा एक्लैले अपचलन गरे १ अर्बभन्दा बढी रकम

सहकारीको रकम लगेर आफू र आफन्तका नाममा घरजग्गा खरिद
मङ्गलबार, २९ फागुन २०८०, ११ : ५२
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामा भन्ने चन्द बहादुर तामाङ एक्लैले निक्षेपकर्ताको एक अर्बभन्दा बढी रकम अपचलन गरेको पाइएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको ठगीको मुद्दामा पूर्वअध्यक्ष रहेका सिबी लामा एक्लैले निक्षेपकर्ताको एक अर्ब भन्दा बढी रकम ठगी गरेको पाइएको हो ।

प्रहरी वृत्त बानेश्वरको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालबाट दायर भएको ठगी मुद्दामा कान्तिपुर सहकारीले ८५२ जना निक्षेपकर्ताबाट मात्रै १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको हो । जाहेरी नदिएका वा कानुनी प्रकृयामा नआएका अन्य हजारौँ निक्षेपकर्ताबाट थप रकम ठगी भएको हुनसक्ने भएपनि जाहेरीमा उल्लेख भएको बिगा रकमलाई मात्रै आधार लिई प्रहरीले पूर्वअध्यक्ष सिबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी लगायतका ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्दा दायर गरेको छ । 

काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको ठगी मुद्दामा सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानु कान्छा लामा, नारायण प्रसाद रिमाल, ईन्दु थापा, देवराज पराजुली, लेखा सुपरीवेक्षण समितिको संयोजक कञ्चन तामाङ, लेखा सुपरीवेक्षण समितिका सदस्य उद्धव प्रसाद पाण्डे, लेखा सुपरीवेक्षण समितिका सदस्य अम्बिका थपलिया र पूर्वअध्यक्ष एवम् व्यवस्थापक सिबी लामा भन्ने चन्द्र बहादुर तामाङलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ । मुद्दा दायर भएकाहरूमध्ये अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी मात्रै पक्राउ परेका छन् । अन्य सबै प्रतिवादीहरू फरारको सूचीमा रहेका छन् । 

कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आकर्षक ब्याज दिन्छु भन्दै निक्षेपकर्तालाई फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई डिपोजिटको रकम फिर्ता नगरी अन्यत्र घर जग्गा, होटल, रेष्टुरेन्ट, रिसोर्ट, अस्पताल आदिमा लगानी गरेका थिए । यसमा लामो समयदेखि अध्यक्ष रहेका सिबी लामा नै मुख्य भूमिकामा देखिएका थिए । निक्षेपकर्ताको रकममध्ये सिबी लामा एक्लैले १ अर्बभन्दा बढी रकम व्यक्तिगतरुपमा अपचलन गरेका थिए । 

चक्रलाल श्रेष्ठसमेतका ८५२ जना जाहेरीकर्ता तथा उनीहरूको आफन्तको निक्षेप रकम मात्रै १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी भएको र फिर्ता नपाएको दाबी गरिएको छ । त्यस्तै अन्य बचतकर्ताहरूको रकम समेत गरी करिब ६ अर्ब रुपैयाँ कान्तिपुर सहकारीले तिर्न बाँकी रहेको बुझिएको छ ।

  • एक्लैले अपचलन गरे १ अर्बभन्दा बढी रकम 

निक्षेपकर्ताको रकम अपचलन गरेको कसुरमा पक्राउ परेका कान्तिपुर सहकारीका वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीले प्रहरीसमक्ष दिएको बयानमा पूर्व अध्यक्ष सिबी लामा एक्लैले निक्षेपकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेको र उक्त रकमको सावाँ तथा ब्याजसमेत नतिरेको बयान दिएका छन् । 

अध्यक्ष ठकुरीले दिएको बयानको अंशमा पूर्व अध्यक्ष लामाले पहिले नै पशुपति सहकारी पनि डुबाएपछि कान्तिपुर सहकारी आफूहरूले सम्हालेको र थोरै थोरै गर्दै बचत फिर्ता गरिरहेकामा पछि सबैजना एकैपटक रकम माग गर्न आएकाले दिन नसकेको बयान दिएका छन् । 

अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीको बयानको केही अंश यस्तो छ 

‘...निज चन्द्रबहादुर तामाङसँग चिनजान भई निजसँग भेटघाट सम्पर्क भई एक आपसमा राम्रै सम्बन्ध भइसकेपछि २०५३ सालतिर निज सिबी लामा भन्ने चन्द्र बहादुर तामाङले मिलेर सहकारी संस्था खोलौँ तपाईं लगायत अन्य साथीहरू पनि सेयर सदस्य बन्नुपर्छ भनी भनेपछि म लगायत अन्य थुप्रै मानिसहरू भई कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी संस्था खोली स्थानीय मानिसहरूको बचत रकम सङ्कलन गरी ऋण प्रवाह गर्ने, बचत कर्तालाई रकम बचत गरे बापत ब्याज दिने जस्ता कार्य गर्दै आई रहेका थियौँ । सो समयमा उल्लेखित सहकारी संस्था दर्ताको सम्पूर्ण प्रक्रिया निज सिबी लामा भन्ने चन्द्र बहादुर तामाङले नै गरेका थिए ।

अध्यक्षमा निज सिबी लामा नै थिए भने प्रतिवादीहरू प्रेमध्वज लामा कोषाध्यक्ष, जोगलाल लामा सचिव पदमा कार्यरत थिए भने म, सानु कान्छा लामा, ईन्दु थापा, नारायण प्रसाद रिमाल सञ्चालक समितिको सदस्य भई कार्य सम्पादन गर्दै आई रहेका थियौँ । सहकारी संस्था सरल रूपमा चल्दै आई रहेको थियो भने बचतकर्ताहरूको सङ्ख्या पनि थपिँदै गई सहकारीको निक्षेप सङ्कलन पनि राम्रै भई रहेको थियो । केही समयपछि बचतकर्ताको रकम धेरै हुनुका साथै बजारमा ऋणको मागमा कमी आएपछि आम्दानी भन्दा खर्च बढी हुने स्थिति आएको थियो । त्यसपछि बचतकर्ताको सावाँ र ब्याज रकम फिर्ता दिनुका साथै अन्य खर्च तथा कार्यालय तथा कर्मचारीको व्यवस्थापनको लागि सञ्चालक समितिले निर्णय गरी सहकारी संस्थालाई सुचारु रूपले सञ्चालन गर्न बचतकर्ताहरूबाट सङ्कलन हुन आएको बचत रकमबाट केही रकमले जग्गा जमिनको कारोबार गरी जग्गा जमिन खरिद बिक्री गर्नुका साथै जिल्ला काठमाडौँ स्थित सुविधानगरमा कान्तिपुर अस्पताल प्रालि समेत सञ्चालन गरि रहेका थियौँ ।

नाफा हुन आएको रकमलाई बचतकर्ताको सावा तथा ब्याज समेत भुक्तानी गर्ने कार्य गरी राम्रै कारोबार हुँदै आई रहेको थियो । यसै क्रममा कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष सिबी लामाले २०५५ साल देखि नै आफू अध्यक्ष भई पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक अर्को सहकारी संस्था समेत सञ्चालन गर्दै आई रहेका थिए । २०७५–०७६ साल तिर उल्लेखित पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड को कारोवारमा समस्या आई बन्द हुने अवस्था आएको थियो । निज सिबी लामा भन्ने चन्द्र बहादुर तामाङ कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको अध्यक्ष भई काम गरेमा कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई समेत असर पर्ने अवस्था आएपछि अन्य साथीहरू कोही अध्यक्ष बन्न नमान्नुका साथै सहकारी विभागले समेत एकै व्यक्तिलाई दुई ठाउँमा अध्यक्ष भई काम गर्न नपाउने नीति ल्याएपछि, सञ्चालक समितिका अन्य साथीहरूले मलाई अध्यक्ष बन्न आग्रह गरेपछि २०७६ साल पौष महिनामा साधारण सभा भई मलाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेका थिए भने कोषाध्यक्ष एवम् प्रबन्ध सञ्चालकमा प्रेमध्वज लामा स्थापना काल देखि नै काम काज गर्दै आई रहेका थिए ।

सो समयमा उल्लेखित सिबी लामाले आफू अध्यक्ष भएकै कारण आफ्नो नाममा र आफ्ना आफन्तहरूको नाममा साँवा र ब्याज गरी करिब एक अर्ब रुपैयाँ भन्दा बढी चलाएका थिए । उल्लेखित रकम समेत सिबीले हाल सम्म फिर्ता गरेका छैनन् । तर पनि अन्य सञ्चालक समितिका साथीहरूले मलाई नै अध्यक्ष बन्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरे पनि हामीले उल्लेखित कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई सुचारु रूपले चलाउँदै आई रहेका थियौँ । सिबी लामा पूर्व अध्यक्ष भएको हैसियतले आफूले लिएको करिब एक अर्ब रुपैयाँ फिर्ता बुझाई सहकारी सञ्चालनमा भूमिका खेल्नु पर्नेमा हालसम्म उल्लेखित रकम फिर्ता दिएका छैनन् । निजले समेत एक अर्ब भन्दा बढी रकम लिएका छन् ।’

अध्यक्ष मल्लको बयानमा आफू बाध्यात्मक अवस्थामा अध्यक्ष बनेको र आफूले बचतकर्ताको निक्षेप रकम ठगी नगरेको स्पष्टीकरण समेत दिएका छन् । 

अध्यक्ष मल्लको बयानमा सहकारीको व्यापार बिस्तार गर्ने उद्देश्यले १७ स्थानमा शाखा कार्यालय खोली सञ्चालन गरेको र केही रकम घर जग्गामा समेत लगानी गरेको तर आर्थिक मन्दीका कारण समयमै घर जग्गाको विक्री वितरण हुन नसक्दा बचतकर्ताको रकम समयमै तिर्न नसकेको बताएका छन् । 

मल्लको बयानमा भनिएको छ,

 ‘... प्रतिवादी जोगलाल लामा २०५६ साल देखि सचिव पदमा कामकाज गर्दै आई रहेका थिए भने सदस्यहरूमा सानु कान्छा लामा, नारायण प्रसाद रिमाल, ईन्दु थापा भई काम काज गर्दै आई रहेका थियौँ । हामीहरूले सहकारी संस्थालाई बिस्तार गरी करिब १७ वटा शाखा समेत बिस्तार गरि सकेका थियौँ । नेपालमा कोरोनाको महामारी सुरु पश्चात् आर्थिक मन्द हुनु, जग्गा जमिनको कारोबारमा गिरावट आउनुका साथै कान्तिपुर अस्पताल सञ्चालन गर्ने कार्यमा कठिनाइ भएपछि हामीले सगरमाथा सहकारी संस्था लिमिटेड, कुटिर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मेरिगोल्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा मर्ज गरी संस्थालाई सञ्चालन गर्दै आई रहेका थियौँ । यसै क्रममा प्रतिवादी देवराज पराजुलीलाई पनि सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका थियौँ ।

म प्रतिवादीहरू प्रेमध्वज लामा, जोगलाल लामा, सानुकान्छा लामा, देवराज पराजुली, नारायण प्रसाद रिमाल र ईन्दु थापासमेत भई उल्लेखित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको नाममा खरिद गरिएका धन सम्पत्तिहरू बेचबिखन गरी बचतकर्ताहरूको बचत गरेको साँवा, ब्याज रकमहरू, मुद्दती खातामा जम्मा गरिएका रकमहरू फिर्ता गर्ने कार्य गर्दै आई रहेकोमा म समेतको नाममा चक्रलाल श्रेष्ठ समेतका मिसिल संलग्न जाहेरी दरखास्त दिने मानिसहरूको रकम ठगी गरेको भनी जाहेरी दरखास्त दिएकोमा प्रहरीद्वारा पक्राउ परेको हुँ । हामीले अलि अलि गरी जग्गा बिक्री वितरण गर्दै पैसा फिर्ता गरि रहेकोमा अन्य सहकारीहरूमा समस्या आई रहेको देखिएपछि बचतकर्ताहरू सबै जना एकैपटक पैसा फिर्ता माग्न आएका कारण बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकिएको हो ।’

  • संस्थाको कर्मचारी तथा सञ्चालकको आफन्तको नाममा समेत घर जग्गा

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले निक्षेपकर्ताको रकमबाट सहकारीको नाममा मात्रै घरजग्गा जोडेको छैन, सहकारीका सञ्चालक, उनीहरूका आफन्त र कर्मचारीको नाममा समेत घर तथा जग्गा जोडेको पाइएको छ । अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीले प्रहरीसमक्ष दिएको बयानमा सहकारी तथा सहकारी संस्थासँग सम्बन्धित मानिसहरूको नाममा समेत गरी साढे ४ अर्बको अचल सम्पत्ति रहेको बताएका छन् । 

त्यस्तै सहकारीले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको तर ती ऋणहरू तत्काल उठ्न नसकेको कारण निक्षेपकर्ताको बचत तत्काल फिर्ता गर्न नसकिएको समेत जनाएको छ । 

मल्लले आफ्नो बयानमा भनेका छन्,

‘... कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको बजारमा लगानी भएको रकम नउठ्नुका साथै जग्गा जमिनको कारोबारबाट आएको रकमबाट बचतकर्ता कै रकमको सावाँ ब्याज भुक्तानी गर्नका लागि खरिद गरेको जग्गा जमिन समयमै बिक्री नभएका कारण रकम फिर्ता दिन नसकिएको हो । मैले जाहेरवालाहरूको मिसिल संलग्न जाहेरी दरखास्तमा उल्लेखित रकम ठगी गरेको होइन । करिब साढे चार अर्ब रुपैयाँ बराबरको स्थिर सम्पत्ति कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाम र संस्थासँग सम्बन्धित मानिसहरूको नाममा छ भने साढे पाँच अर्ब रुपैयाँ जति बजारमा ऋण प्रवाह गरेका छौँ ।’

यसरी सुविधानगरमा रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले हजारौं बचतकर्ताको करिब ६ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरी समयमै फिर्ता नदिई ठगी गरेको अनुमान गरिएको छ । 

  • महँगो मूल्यमा जग्गा भिडाउने षडयन्त्र

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडकी एक निक्षेपकर्ता अनामिका थापाका अनुसार सहकारीले सस्तो जग्गालाई पनि महँगोमा किन्न लगाएर उल्टै ठगी गर्न लागेको आरोप लगाइन् । थापाले रातोपाटीसँग भनिन्, ‘सहकारीमा गरिएको बचत रकम फिर्ता गर्न डेढ वर्षभन्दा लामो समयदेखि धाइरहेँ । तर सहकारीले रकम फिर्ता गर्न नै मानेन । बरु सहकारीले आफ्नो तथा आफन्तको नाममा सस्तोमा किनेको जग्गा देखाएर महँगो मूल्यमा बचतकर्तालाई किन्न दबाब दिइरहेको छ । बचत फिर्ता नपाएपछि म पनि एक स्थानमा जग्गा हेर्न गएँ, त्यहाँ चलनचल्तीको मूल्य प्रतिआना १७ लाख रुपैयाँ थियो, तर सहकारीले प्रतिआना २५ लाखमा जग्गा भिडाउन खोज्यो । त्यस्तो भएपछि त न जग्गा बिक्छ, न हाम्रो बचत नै फिर्ता हुन्छ ।’

  • पशुपति सहकारी पनि डुबाएका थिए लामाले

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड मात्रै होइन, सिबी लामाले पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड पनि यसैगरी डुबाएका थिए । २०७७ साउन महिनादेखि बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेपछि २०८० साउनमा पशुपति सहकारीलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीमा निक्षेपकर्ताको ५३ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नभई अपचलन भएको थियो ।

सहकारीको रकम अपचलन भएपछि सहकारी विभागले गत वर्षको फागुन २९ गते नै उक्त सहकारीलाई समस्याग्रस्त घोषित गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो भने गत जेठ १९ गते सहकारीका अध्यक्ष सिबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गर्न सीआईबीलाई पत्राचार समेत गरेको थियो । त्यसलगत्तै लामा फरार भएका थिए ।

२०५५ सालमा लामाले पशुपति बचत तथा ऋण सहकारी संस्था खोलेर श्रीमतीलाई अध्यक्ष बनाएका थिए भने आफू कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष बनेका थिए । तर सहकारी ऐन, २०७४ आएपछि एकै परिवारका व्यक्ति दुईवटा सहकारीमा अध्यक्ष हुन नपाउने व्यवस्था गरेपछि लामाले कान्तिपुर सहकारी छाडेर पशुपतिमा अध्यक्ष बनेका थिए । त्यहाँबाट पनि लामाले रकम अपचलन गरी आफू, परिवारका सदस्य र अमुक व्यक्तिहरूका नाममा जग्गाजमिन जोड्नुका साथै रिसोर्ट, रेस्टुरेन्ट, अस्पताल आदिमा लगानी गरेका थिए । घरजग्गाको विक्री वितरण ठप्प भएपछि सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेर सहकारी समस्यामा परेको थियो । 

  • ७ वर्षसम्मको कैद सजायको मागदाबी

सहकारी संस्था सञ्चालन गरी बचतकर्ताको निक्षेपको दुरुपयोग गरी ठगी गरेको कसुरमा प्रहरीले संस्थापक अध्यक्ष सिबी लामासहित वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी र सञ्चालकरुविरुद्ध ७ वर्षसम्मको कैद सजायको मागदाबी लिई बिगो रकम असुल गरी पीडितलाई भराउन माग समेत गरेको छ । प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको भन्दै उनीहरूलाई सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजायको मागदाबी लिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ मा ठगी गर्न नहुने सम्बन्धी कसुरबारे उल्लेख गरिएको छ । उक्त दफाको उपदफा १ मा कसैले कसैलाई ठगी गर्न नहुने र उपदफा २ मा ‘उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पुर्‍याएमा वा आफ्नो वा अरू कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ’ भनी उल्लेख गरेको छ । 

यसरी ठगी गर्ने व्यक्ति वा संस्थाका पदाधिकारीलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही कानुनी व्यवस्था बमोजिम उनीहरूलाई कैद तथा जरिवानाको मागदाबी समेत लिइएको छ भने बिगो बराबरको सम्पत्ति पीडितलाई भराउन मागदाबी लिइएको छ ।

(नोट : प्रहरी प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हुँदा ८५२ जाहेरीकर्ताबाट आफू तथा परिवारका सदस्यको नाममा निक्षेपमा राखिएको १,५१,८५,५२,०२७.१९ रुपैयाँ बिगो कायम भए पनि पेश गरिएको कागजातको सबै रकम जोड्दा १,६१,३४,३४,८६९ रुपैयाँ हुन आउँछ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप