बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

परिवारवाद र नातावादको घेरामा प्रधानमन्त्री

बुधबार, ३० फागुन २०८०, १४ : २५
बुधबार, ३० फागुन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारवाद र नातावादका घेराभित्र फसेका छन् । जबसम्म उनले त्यो घेरा तोड्न सक्दैनन्, तबसम्म उनले केही गर्न सक्दैनन् । 

विगतदेखि अहिलेसम्म परिवारवाद र नातावादको आरोप खेप्दै प्रचण्ड राजनीतिमा अघि बढिरहेका छन् । राजनीति सधैँ सिधा बाटोमा हिँड्दैन, उल्टोपाल्टो हुँदै हिँडिरहेको हुन्छ । त्यही बाटोमा प्रचण्ड हिँडिरहेका छन् । यसले उनलाई राजनीतिक जीवनमा कहाँसम्म र कति समयसम्म सफल बनाउने हो, त्यो भने ठयाक्कै अहिले अनुमान गर्न सकिँदैन । प्रचण्ड राजनीतिका चलायमान र चतुर खेलाडी हुन् । यो चतु¥याइँले कहिलेकाहीँ आफैँलाई पल्टाउन सक्ने खतरा पनि हुन सक्छ; यो हेक्का प्रचण्डसँग छ या छैन, त्यो भन्न सकिँदैन । 

राजनीति सधैँ एकनासले हिँडिरहेको हँुदैन । कहिलेकाहीँ उतारचढाव पनि भोग्नुपर्ने हुन्छ । प्रचण्ड दशवर्षे जनयुद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका नायक हुन् । जनयुद्धकालमा विश्वको ध्यान आफूतिर केन्द्रित गर्न सफल नेता हुन् उनी तर उनले जतिपटक सरकारको नेतृत्व गर्दै आएका छन्, त्यतिपटक नातावाद र परिवारवादको आलोचना खेपिरहनुपरेको छ । देश र जनताको मुक्तिका निम्ति उनी राजनीतिमा होमिएका हुन् भने उनले साँच्चै नातावाद, परिवारवाद, अवसरवादको घेरा तोड्नैपर्छ । 

उनले प्रधानमन्त्री कार्यालयको सचिवालय चुस्तदुरुस्त बनाउन सकेनन् । नातापाता, आफन्त, आसेपासे मात्र राखेर सचिवालय भरेका छन् । यसप्रति आम जनताको ठुलो आलोचना छ । विगतमा पनि यस्तै आलोचना नभएको होइन । आलोचना सुनेर पनि नसुनेजस्तो बहाना गर्नुहँुदैन । राजनीति भनेको आलोचना सुन्दै, सहँदै अघि बढ्ने चिज हो । त्यत्रो जनयुद्ध गरेर शान्तिपूर्ण मूलधारमा पार्टीलाई ल्याउन सफल प्रचण्ड अब यो ढंगले अघि बढ्न हँुदैन । अब उनी देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ । अब सारा घेरा तोडेर परिवारवाद, नातावाद, अवसरवादको पनि क्रम भङ्ग गर्न जरुरी छ । यसले उनको पार्टी र उनैलाई फाइदा हुने देखिन्छ । 

पहिलो संविधानसभामा बहुमत ल्याएर एक्लै सरकार बनाउन सफल भएको माओवादी पार्टी समयक्रमसँगै किन खुम्चिँदै आउनुपरेको छ । जनताले यो पार्टीलाई किन मन पराउन छाडे ? उल्टोपाल्टो गर्दै सरकारमा जानु र सरकारको नेतृत्व गर्नु ठूलो कुरा होइन । पहिलो संविधानसभामा पहिलो भएको माओवादी पार्टी त्यसपछिका चुनावमा तेस्रो दलभन्दा माथि जान सकेन । कहिले एमालेसँग गठबन्धन, कहिले काङ्ग्रेससँग गठबन्धन गरेर सरकारमा जानु र आफ्ना वरिपरिका नेतालाई मात्र मन्त्री बनाएर खुसी बनाउनु ठूलो कुरा होइन । प्रचण्ड बाँचुञ्जेल यसैगरी पार्टी चल्ला, त्यसपछि के हुन्छ ? सुरुका दिनमा माओवादी पार्टी आम जनताको भरोसा र आशाको पार्टी थियो । बिस्तारै किन यो पार्टीप्रति जनताको वितृष्णा जाग्यो ? यो माओवादी पार्टीभित्र बहस हुनुपर्ने कुरा हो । 

सुरुका दिनमा माओवादी पार्टी आम जनताको भरोसा र आशाको पार्टी थियो । बिस्तारै किन यो पार्टीप्रति जनताको वितृष्णा जाग्यो ? यो माओवादी पार्टीभित्र बहस हुनुपर्ने कुरा हो ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्ड ‘परिवारवाद’मा फस्दै गएको आरोप विगतदेखि नै लाग्दै आएको हो । आफू सत्तामा हुँदा सकेसम्म उनले परिवारका सदस्यलाई कुनै न कुनै लाभका पदमा पु¥याएका छन् । यसले गर्दा उनलाई परिवारवादमा लिप्त भएको आरोप लाग्नु स्वाभाविकै हो । विरोधीले मात्रै होइन, पार्टीभित्रकै नेताले समेत प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लगाउने गरेका छन् । अहिले फेरि आफ्ना भाइ नाता पर्ने नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाए । यसले विरोधीहरूलाई कुरा काट्ने र आरोप लगाउने आधार बनेको छ । 

फागुनमै सम्पन्न माओवादी स्थायी कमिटी बैठकबाट अध्यक्ष प्रचण्डले बुहारी बिनालाई सुदूरपश्चिम प्रदेशको सह–इन्चार्ज बनाएका थिए । सुरुमा राष्ट्रियसभा अध्यक्षका लागि उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीको चर्चा थियो । चर्चा अनुसार उनीहरूले पाउन सकेनन् । त्यसो त सुरेश आलेमगरले पनि रुचि देखाभएका थिए । उपाध्यक्ष एमालेले लिने सहमति भएपछि अध्यक्षमा अर्याललाई अगाडि बढाउने अनुमान धेरैको थियो तर अनुमानले फेल खायो । प्रचण्डले पार्टीमा आफन्तवाद भित्र्याएको यो पहिलोपटक भने होइन । यसको सुरुवात उनले २०६५ सालमा पहिलोपटक सरकारमा गएदेखि गरेका थिए । सुरुमा परिवार र त्यसपछि आफ्ना आसेपासेलाई मात्रै अवसर दिने गरेको आरोप प्रचण्डमाथि लाग्दै आएको छ । उनले छोरीलाई मेयर, स्वकीय सचिव बनाउनेदेखि भाइलाई राष्ट्रियसभा अध्यक्ष, ज्वाइँलाई मन्त्री बनाउने र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाएको छताछुल्ल छन् । यी ढाँटेर ढाँट्ने र लुकाएर लुक्ने कुरा भएनन् । यी त सबैलाई थाहा भएका कुरा हुन् । 

माओवादी दशवर्षे सशस्त्रयुद्ध गरेर शान्तिपूर्ण राजनीति मूलधारमा आएको गौरवशाली पार्टी हो । यो चानचुने पार्टी होइन । यो पार्टी बनाउन, हुर्काउन युद्धमा हजारौँ नेता–कार्यकर्ताले ज्यानको आहुति दिएका छन् । कैयौँ घरवासविहीन र कैयौँ घाइते छन् । हजारौँकै संख्यामा घाइते छन् । शरीरमा युद्धको गोली बोकेर बाँचिरहेका माओवादी नेता तथा कार्यकर्ता अहिले पनि गाउँघर, सहरतिर भेटिन्छन् । युद्धमा परिवारका सदस्य गुमाउने र बेपत्ता पारिएको परिवारको संख्या पनि हजारौँ छ । उनीहरू र उनका परिवारले किन अवसर पाउँदैनन् ? उनीहरू र उनका परिवारलाई अवसर खै ? जसले प्रचण्डलाई स्थापित गराए, तिनै योद्धा आज रोजगारीको खोजीमा कोही खाडी मुलुकतिर छन्; कोही कृषि पेसामा छन्; कोही आफ्नो गुजारा चलाउन गिटी फोरेर बसेका छन् । पार्टीमा उनीहरूको वास्ता किन गरिँदैन ? खोलो तर्ने लौरो बिर्सने काम कसैले गर्नु हँुदैन । अहिले भएको त्यही छ । 

लाभको राजनीतिमा प्रचण्डका बहिनीज्वाइँ पनि छुटेका छैनन् । प्रचण्डका बहिनीज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त गरिएको थियो । जेठी छोरी ज्ञानु दाहाल केसी (दिवंगत)का पति सागर केसीलाई तत्कालीन सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गरिएको थियो । ज्वाइँ जीवन आचार्य सांसद हुँदै मन्त्रीसम्म भइसके । यस्ता गतिविधिले हाम्रा प्रधानमन्त्री प्रचण्डको लोकप्रियता बढ्ने होइन, घट्ने निश्चित छ । अब उनले गम्भीर रूपमा यी कुरा मनन गरेर अघि बढ्नुपर्ने जरुरी देखिएको छ । अझै पनि केही बिग्रेको छैन । उनले यी कुरा सुधार गरेर जान सक्नुहुन्छ । प्रचण्डका लागि देश र जनताको पक्षमा लोकप्रिय काम गरेर देखाउने यो अवसर पनि हो । अवसर सधैँ एकनासले आफ्नो हातमा आइरहन्छ भन्ने कुनै ग्यारेन्टी छैन । जसले पनि अवसर आउँदा राम्रा काम गरेर देखाउने ढृढ संकल्प लिन सक्नुपर्छ । त्यसो भयो भने मात्र सफल हुन सकिन्छ । 

आज देशमा कुनै पार्टीको स्पष्ट बहुमत आउन नसक्दा राजनीति अस्थिर छ । अस्थिर राजनीतिले अस्थिर सरकार बनाउने हो । अस्थिर राजनीतिमा सरकार बनाउने र ढलाउने प्रक्रिया चलिरहन्छ । हाम्रो समानुपातिक प्रणाली नै त्यस्तै छ, जबसम्म समानुपातिक प्राणालीमा पुनर्विचार गरिँदैन, तबसम्म यस्तै हुने हो । यो प्राणाली रहेसम्म कुनै दलको स्पष्ट बहुमत आउँदैन । प्रचण्ड बाचुञ्जेल यो प्रणाली रहेसम्म नेकपा माओवादी केन्द्र नै सत्ताको केन्द्र भागमा रहने निश्चित छ ।

(लेखक संवाद क्लब नेपालका अध्यक्ष तथा खबरब्रेकिङ डटकमका प्रधानसम्पादक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आरपी गैरे
आरपी गैरे
लेखकबाट थप