शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

किन कमजोर भयो थारुवानमा माओवादी ?

शुक्रबार, ०९ चैत २०८०, १४ : ४०
शुक्रबार, ०९ चैत २०८०

कुनै समय थियो, पश्चिम नेपालमा नामको पछाडि थारु र चौधरी जोडिनेबित्तिकै उसलाई माओवादी भनेर चिनिन्थ्यो । तत्कालीन राज्यले थारु जाति भएकै कारण पनि सयौँ निर्दोष नागरिकको हत्या गरेको थियो । थारु भएकै कारण धेरैले अमानवीय यातना भोग्नुपर्‍यो । जनस्तरमा पनि थारुहरू स्वतः माओवादी हुन्छन् भन्ने मान्यता स्थापित थियो । 

माओवादी जनयुद्धमा हजारौँ थारु लागेका थिए । थारु बाहुल्य क्षेत्र माओवादी आधार इलाका बनेका थिए, रोल्पा–रुकुमजस्तै । यही कारण पनि जनयुद्धमा मगरपछि धेरै बलिदानी थारु समुदायबाट भएको देखिन्छ । जनयुद्धमा बस्ती–बस्तीमा पसेर राज्यले आतङ्क मच्चाएको थियो; हत्या, दमन, आगजनी र बलात्कारका दर्जनौँ घटना तत्कालीन राज्य सत्ताबाट भएका थिए; यसले गर्दा पनि थारु समुदायका आम सर्वसाधारण विद्रोहमा सामेल भएर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सफलतापूर्वक नेतृत्व गरे; यी इलाका माओवादीका आधार इलाका थिए । २०६४ को पहिलो संविधानसभामा थारु बाहुल्य सबै निर्वाचन क्षेत्रमा नेकपा माओवादी भारी मतका साथ विजयी भएको थियो । 

थारुवान प्रदेशबाट निस्केर समग्र जनयुद्धको नेतृत्व गर्ने कैलाली टीकापुरका मंगलप्रसाद चौधरी, कैलालीकी जोखन चौधरी, जगत चौधरी, जुना चौधरीलगायत जनतामा स्थापित सयौँ नेताले सहादत प्राप्त गरे । कैलालीकै विनोद चौधरीलगायत दर्जनौँ नेता बेपत्ता बनाइए । राज्यको त्यो चरम दमन र आतङ्क चिरेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङलगायत थारुवानका जिल्ला माओवादीका आधार इलाका बनेका थिए । थारु समुदायबाट उदाएका नेता कमरेड रामचरण चौधरी, लक्ष्मण थारु, सन्तकुमार थारु, इन्द्रजित थारु, नेपबहादुर चौधरी, देवीलाल चौधरी, रूपासोसी थारु, वीरमान चौधरीलगायत दर्जनभन्दा बढी नेता माओवादी आन्दोलनका लागि थारुवान प्रदेशका आधारस्तम्भ भएर निस्किएका थिए । जसले गर्दा थारुवान आधार इलाका बनेको थियो । यति ठूलो त्याग, वीरता, बलिदान गरेको थारु समुदाय अहिले माओवादी आन्दोलनबाट किन ओझेल पर्न खोजेको छ ? यस आलेखमा यो विषय उठाउन प्रयत्न गरेकी छु । 

सैद्धान्तिक रूपमा वर्गीय मुक्ति आन्दोलनलाई जातीय मुक्ति आन्दोलनसँग जोड्ने र भूमिपुत्र थारु समुदाय बाहुल्य क्षेत्रलाई थारुवान राज्य बनाउने निर्णयले तत्कालीन सत्ताका एकाध दलालबाहेक आम थारु समुदाय उत्साहित भयो र जनयुद्धमा जोडियो

सुरुवाती चरणमा थारुहरू माओवादी जनयुद्धमा सुस्तसुस्त जोडिएका थिए, जब माओवादीले वर्गीय मुक्ति आन्दोलनमा जातीय मुक्ति आन्दोलनलाई जोड्यो, त्यसपछि बस्तीका बस्ती थारुहरू जनयुद्धमा हाम फालेको देखिन्छ । थारु समुदायका कतिपयलाई जात, भाषा, भूगोल र रङका आधारमा कमैया–कमलरी बनाइएको थियो । जमिनदारको घरमा नारकीय दास जीवन जिउन बाध्य तराईका भूमिपुत्र मानव भएर जिउन पाएका थिएनन् । उनीहरू स्थानीयदेखि राजधानीसम्मका कथित ठुलाबडाका घरमा घरेलु दास भएर नारकीय जीवन जिउन बाध्य पारिएको थियो । त्यसका विरुद्धमा माओवादीले उठाएको हतियारबद्ध आन्दोलनले स्वाभाविक प्रभाव पार्‍यो । अझ आफ्नो भूगोल र पहिचानको विषय अगाडि आएपछि थारु समुदायले जनयुद्धलाई आफ्नो मुक्तियुद्धका रूपमा लिएको थियो । 

सैद्धान्तिक रूपमा वर्गीय मुक्ति आन्दोलनलाई जातीय मुक्ति आन्दोलनसँग जोड्ने र भूमिपुत्र थारु समुदाय बाहुल्य क्षेत्रलाई थारुवान राज्य बनाउने निर्णयले तत्कालीन सत्ताका एकाध दलालबाहेक आम थारु समुदाय उत्साहित भयो र जनयुद्धमा जोडियो । उत्पीडित जातजाति, वर्ग र समुदायका सवालमा जनयुद्धमा उठाइएका मुद्दाबाट माओवादी पार्टी आज पनि विचलित भएको छैन, प्रतिबद्ध नै छ । अहिले थारु समुदाय माओवादीप्रति आकर्षित हुन सकेको छैन, यसैको फाइदा उठाउँदै केही जातीय र क्षेत्रीय विषय मात्र उठाउने जातीय झिल्का पनि देखिए । हिजो पनि र आज पनि थारुको भाषा–संस्कृतिको रक्षासहितको पहिचानका विषयमा माओवादी पार्टी प्रतिबद्ध छ । यद्यपि आफ्ना एजेन्डाको उठान गर्ने र आफ्नै भाइ, छोराछोरीले सहादत प्राप्त गरेको माओवादी पार्टीप्रति थारु समुदाय आज किन विश्वस्त हुन सकेन ? यसमा मूलभूत रूपमा तीन कारण रहेका हुन सक्छन् । 

सुरुवाती चरणमा थारुहरू माओवादी जनयुद्धमा सुस्तसुस्त जोडिएका थिए, जब माओवादीले वर्गीय मुक्ति आन्दोलनमा जातीय मुक्ति आन्दोलनलाई जोड्यो, त्यसपछि बस्तीका बस्ती थारुहरू जनयुद्धमा हाम फालेको देखिन्छ । थारु समुदायका कतिपयलाई जात, भाषा, भूगोल र रङका आधारमा कमैया–कमलरी बनाइएको थियो ।

पहिलो कारण— माओवादी पार्टी शान्ति प्रक्रियामा प्रवेश गर्दै गर्दा तत्कालीन शक्ति सन्तुलनका हिसाबले सबै एजेन्डा पूर्ण हुन सकेनन् । पहिलो संविधानसभाजस्तो दोस्रो संविधानसभा हुन सकेन, यसले गर्दा जनताका कैयौँ विषयलाई संविधानमा समेट्न सकिएन । हामी आफ्नो विचारमा प्रतिबद्ध छौँ भनी जनतामा जान माओवादी पार्टीले ढिला ग¥यो । यसैको फाइदा उठाउँदै केही साम्राज्यवादी शक्तिबाट परिचालित तत्त्वले उत्पीडित समुदायमा भ्रम सिर्जना गरे र माओवादी आन्दोलनलाई उत्पीडित समुदायबाट कटाएर कमजोर बनाउने खेल सुरु भयो; जसलाई माओवादी पार्टीले समयमै चिर्न सकेन । 

दोस्रो कारण— जनयुद्धको कुशलतापूर्वक नेतृत्व गरेका कमरेड रामचरण चौधरीजस्ता नेताको देहावसानले ठूलो क्षति भयो । युद्धकालमै माओवादी पार्टीको शीर्ष तहमा पुग्नुपर्ने नेताहरू तत्कालीन राज्यबाट हत्या गरिए; उनीहरूको सहादतले आन्दोलनमा ऊर्जा त थप्यो; नेतृत्वको अभाव भने खड्की रह्यो । केही नेता माओवादी आन्दोलनबाट विचलित हुन पुगे । पार्टी शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि बाँकी नेतृत्व पनि आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित रहँदा समग्र थारु समुदायले आफ्नो समुदायको नेतृत्व अभिभावक देखेन । जसका कारण त्यो समुदाय निराश हुन पुग्यो । 

तेस्रो कारण— पार्टी केन्द्र, प्रदेश र जिल्लाले पनि माओवादी पार्टी नीतिमा स्पष्ट रहेको कुरा प्रस्ट पार्दै उत्पीडित समुदायबाट नेतृत्व विकासमा जोड दिनुपर्ने थियो, जुन अपेक्षाकृत हुन सकेन । जसले गर्दा थारु समुदायका कतिपयले माओवादी पार्टीप्रति आस्था त्याग्दै गए । यसमा केही जातीय र क्षेत्रीय शक्तिहरू पनि लागे र माओवादी आन्दोलनलाई कमजोर बनाउने प्रयत्न गरियो । 

अतः अहिले माओवादी पार्टीले सञ्चालन गर्न लागेको हुलाकी राजमार्गको अभियानमा थारु र मधेसी समुदायलाई माओवादी पार्टीको नीतिका बारेमा र उत्पीडित समुदायको विषयमा आफ्नो धारणा प्रस्ट पार्दै जहाँ जुन समुदायको बाहुल्य छ, त्यहाँ त्यही समुदायको नेतृत्व विकास गर्ने काममा जोड दिनुपर्छ, त्यसो गर्न सकेमा हिजो जनयुद्धमा आफ्नो सम्पूर्ण सुम्पिएको थारु समुदाय फेरि उत्साहित हुनेछ र थारुवान क्षेत्र पुनः माओवादीको आधारभूमि बन्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मी चौधरी
लक्ष्मी चौधरी
लेखकबाट थप