शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
विचार

आध्यात्मिक चेतना र आदर्श नेतृत्व

शनिबार, १० चैत २०८०, १४ : २१
शनिबार, १० चैत २०८०

आध्यात्मिक चेतना र आदर्श नेतृत्व सम्बन्धमा विद्वान्का आ–आफ्नै धारणा र विचार रहेका हुन्छन् । यस आलेखमा यी दुवैबारे प्रस्ट्याउने कोसिस गरिएको छ ।

शाब्दिक रूपमा अध्यात्म भन्नाले आत्मा र जगत्लाई प्रधान मान्ने एक प्रत्ययवादी विचार हो । वास्तवमा अध्यात्मको अर्थ आफूभित्रको चेतना तत्त्वको दर्शन अर्थात् आफ्ना बारेमा आत्मप्रज्ञ हुनु हो । यसैले गीताको आठौँ अध्यायमा आफ्नो स्वरूपलाई अध्यात्म भनिएको छ— ‘परमस्वभावो ऽध्यात्ममुच्चयते ।’ 

अध्यात्मको अनुभूति सबै प्राणीले समान रूपबाट निरन्तर रूपमा गरिरहेका हुन्छन् । प्रत्यक्ष होस् वा परोक्ष रूपमा, मानिसहरू स्वयंको खोजी गरिरहेका हुन्छन् । मानवलाई आत्मज्ञान अर्थात् ‘म को हुँ’ भन्ने नबुझीकन जीवनका आयामलाई बुझ्न सक्दैन । 

यं यं वापि स्मरन्भावं त्यज्यन्ते कलेवरम् ।
तं तमेवैति कौन्तेय सदा तदाभाव भावितः ।।

अर्थात् हे कुन्तीपुत्र अर्जुन ! मनुष्यले अन्तकालमा जुन–जुन भाव स्मरण गरेर यो शरीर त्याग्छन्, त्यसैको प्राप्ति गर्छन्, किनकि यो सधैँ त्यही भावबाट भावित रहन्छ । अध्यात्म त्यो वास्तविकता हो, जुुन चर्मचक्षुले देखिँदैन । यसलाई बुझ्नका लागि आत्मज्ञान आवश्यक हुन्छ । चेतना, ईश्वर, आत्मा र परमात्मा अलौकिक शक्तिलाई जीवन र जगत्को पहिलो आधार मान्ने अज्ञय दृष्टिकोण आदर्शवाद हो ।

अब कुरा गरौँ, आदर्श नेतृत्वको । आदर्श भन्नाले सवोत्तम स्थिति वा अनुकरणीय कुरा हो भनी बुझ्नुपर्छ । महामानवहरूको गुणका अतिरिक्त ग्रहणयोग्य अवलोकनीय नमुना नै आदर्श हो । कुनै पनि विशेष विषयवस्तुको अनुकरण गरेर त्यसको नजिक पुग्नु आदर्श हो ।

यस्तै नेतृत्व भनेको एउटा प्रक्रिया हो । यसमा केही व्यक्ति सामाजिक प्रभावद्वारा अन्य व्यक्तिको सहायता लिएर एक सर्वनिष्ठ कार्य सम्पन्न गर्छन् भने त्यसलाई नेतृत्व भन्ने बुझ्नुपर्छ । एलन किनकिथ गेनेटेकको परिभाषा छ, ‘नेतृत्व त्यो हो, जो मानवका लागि एक यस्तो मार्ग बनाउँछ; जसबाट मानव आपूmले योगदान दिएर कुनै असाधारण कार्य गर्न सक्छ ।’

नेतृत्व भन्नाले व्यक्ति, समूह र संगठनको अगुवाइ गर्ने कौशल हो । नेतृत्वकर्तामा अरुलाई उत्प्रेरित गर्ने कला हुन्छ । वर्तमान परिपे्रक्ष्यमा नेतृत्वलाई सामान्य ढङ्गबाट बुझ्ने र मनन गर्ने गरिन्छ तर समयानुकूल वहाबलाई मूलधारमा ल्याउन सक्ने आदर्श विचार र गुणले युक्त हुनुपर्छ नेतृत्व । आदर्श नेतृत्वले नै हरेक क्षेत्रमा दुरगामी परिणाम हासिल गरेको छ । 

आदर्श नेतृत्वका सम्बन्धमा हार्वड विश्वविद्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा सातवटा तत्त्व माथि प्रकाश पारेको छ । दृष्टिकोण, साहस, एकता, मानवता, रणनीतिक योजना, केन्द्रबिन्दु, समन्वय अर्थात अन्तर्वैयक्तिक सीप— यी सात तत्त्व अभिन्न अङ्ग मानिन्छन् । वास्तवमा स्वयंले स्वयंलाई नेतृत्व गर्नु नै आदर्श नेतृत्व हो । 

नेतृत्व गर्नका लागि व्यक्तिमा केही अन्तर्निहित गुण हुन आवश्यक देखिन्छ । श्रीकृष्णले दानवीर कर्णलाई भनेका थिए, ‘हे कर्ण तिमी कौन्तेय हौ । पाण्डवका पक्षबाट युद्ध लडेर हस्तिनापुरको राज्य भोग गर ।’ यसको जवाफमा कर्णले भने, ‘म योद्धा हुँ तर आदर्श शासक हुन सक्दिनँ । यसका लागि युधिष्ठिर उपयुक्त छन् ।’ 

आदर्श नेतृत्वको चाहना जनमानसमा पूर्वकालदेखि नै भएको पाइन्छ । नेतृत्वलाई प्रकारान्तरका दृष्टिले एउटै क्षेत्रमा मात्र सीमित गर्न सकिँदैन । पौराणिककालमा पनि धर्म दर्शनबाट ओतप्रोत भएका व्यक्ति नेतृत्वका लागि अगाडि आउँथे । त्रेतायुगमा राजा रघु, दिलीप, भपगरथ, मान्धाता, हरिश्चन्द्र दशरथ र राम; द्वापर युगमा दुष्यन्त, भरत, भीष्म, कृष्णजस्ता महान् हस्तीहरूले जनचाहना अनुसार युगसापेक्ष नेतृत्व प्रदान गरेका थिए । यस प्रकारको आदर्श नेतृत्वले समाज, राष्ट्र र नागरिकलाई मार्गदर्शन दिन सफल भएको थियो । 

भारत वर्षमा मौर्य वंशका चन्द्रगुप्त, अशोकजस्ता शासकले आफ्नो नेतृत्वमा आदर्शवादी छनक दिएका थिए । लिच्छवि राजामा मानदेव, अंशुवर्मा, नरेन्द्रदेवजस्ता राजाले आदर्शको अमिट छाप छाडेको कुरा इतिहासमा पाइन्छ । राजा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल, भक्तपुरका राजा भूपतिन्द्र मल्ल र काठमाडौँका राजा महेन्द्र मल्लको अहिले पनि नेपाली समाजमा चर्चा पाइन्छ । 

राज्य प्रशासनका दृष्टिले मात्र नेतृत्व आदर्श हो वा होइन भनेर छुट्ट्याउँदा विषयको गाम्भीर्यतामा धमिलोपन आउँछ । धार्मिक दृष्टिले हेर्दा— आदर्श नेतृत्वकर्ताले समाजलाई सत्मार्गमा डोर्‍याउन गहन भूमिका खेलेका हुन्छन् । धार्मिक अभियन्ताका रूपमा बुद्ध, जैन, मोहम्मद, नानक, आदि शंकराचार्य, गुरु पद्मसम्भवजस्ता महान् व्यक्तित्वले कुशल तथा आदर्श नेतृत्व गरेको पाइन्छ । यी अभियन्ताले समाजको एकता र वास्तविकतालाई मजबुत बनाएका थिए, जुन अझै गठिलो र संगठित छ । 

नेतृत्व गर्नका लागि सत्य, धर्म, न्याय र निष्ठाबाट विचलित नभएको दृढ, धीर व्यक्तित्व हुनुपर्छ । नेतृत्व गर्ने व्यक्ति मन, वचन र कर्मले अनुप्राणित भएको; खोज, अनुसन्धानबाट चुरो पत्ता लगाउन सक्ने; विशेषतः अरुभन्दा बढी खट्न सक्ने; पढाइ, लेखाइ, गराइ, भोगाइ, बुझाइ र सङ्घर्षको रापतापले सेकिएको हुनुपर्छ ।

प्रकारान्तरका दृष्टिले समाजलाई नेतृत्व गर्ने, सही मार्गदर्शन गरी असल र आदर्श समाजको स्थापना गर्ने  व्यक्तिलाई दार्शनिक भनिन्छ । यी दार्शनिकले आ–आफ्ना दर्शनबाट समाज, राष्ट्र र मानव जातिलाई डोर्‍याएका थिए । पौराणिककालका राजा जनक (शिरध्वज), महाभारतकालका व्यास, विदुर, कृष्ण आदिले खेलेको भूमिका गहन थियो । त्यसैगरी ऐतिहासिक कालमा पश्चिमी जगत्का प्लेटो, सुकरात, अरस्तु, हेगल तथा चीनका कन्फ्युसियस, भारत वर्षका आचार्य चाणक्य, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द सरस्वती, दयानन्द सरस्वती, राजा राममोहन रायका भूमिकाले आदर्शवादी सामाजिक सुधारको नेतृत्व गरेको हुनाले समाजले आजसम्म गतिशील चरित्र देखाइरहेको छ । नेपालमा समाज सुधारक मानवतावादी नेता जयपृथ्वीबहादुर सिंह, दयावीर सिंह कंसाकार, तुलसी मेहर श्रेष्ठ, गुरु फाल्गुनन्द लिङदेनजस्ता व्यक्तित्वले आदर्शको आधारमा समाजमा असल मूल्य र मान्यता स्थापित गरी समाजलाई अगाडि बढाए । 

  • आदर्श नेतृत्व कस्तो हुनुपर्छ ?

वर्तमान परिपे्रक्ष्यमा मानवता र उत्तरदायित्वबाट हरेक क्षेत्रको नेतृत्ववर्ग स्खलित हुँदै गएको छ । राज्य र समाजलाई नेतृत्व दिने राजनीतिक दलहरू जिम्मेवारी, उत्तरदायित्व र कर्तव्यबाट विमुख हँुदै गएको देखिन्छ ।

आदर्श नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुनै सैद्धान्तिक सूत्र प्रतिपादन भएको पाइँदैन । व्यवहार र अनुभवबाट खारिएर आएको कुशलताले युक्त व्यक्तिहरूले नै आदर्श नेतृत्व गर्न सक्छन् । नेतृत्व गर्नका लागि सत्य, धर्म, न्याय र निष्ठाबाट विचलित नभएको दृढ, धीर व्यक्तित्व हुनुपर्छ । नेतृत्व गर्ने व्यक्ति मन, वचन र कर्मले अनुप्राणित भएको; खोज, अनुसन्धानबाट चुरो पत्ता लगाउन सक्ने; विशेषतः अरुभन्दा बढी खट्न सक्ने; पढाइ, लेखाइ, गराइ, भोगाइ, बुझाइ र सङ्घर्षको रापतापले सेकिएको हुनुपर्छ । करुणा, प्रेम, मैत्री, भ्रातृत्व, परमात्मा र आत्माका बिच सम्मिलन देख्ने निष्ठावान् व्यक्ति नै आदर्श नेतृत्वका लागि उपयुक्त हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।

सामान्यतया आदर्श नेतृत्व भन्नाले अनुकरणीय नेतृत्व भन्ने बुझ्नुपर्छ । आदर्शको पदमार्ग पहिल्याएर गन्तव्यमा पुग्न कठिन हुन्छ । आदर्शको अनुकरण गरी जीवन र जगत्मा आभा छर्न सङ्घर्षको दियालो बालेर कठिनताको यात्रा गर्नुपर्छ । राम, कृष्ण, भीष्म र विदुरले जुन आदर्श स्थापित गरे, त्यो आदर्श स्थापित गर्नका लागि अनवरत तल्लिन रहनुपरेको दृष्टान्त पाइन्छ । सुकरातले सत्य र निष्ठाका लागि जीवन उत्सर्ग गर्नुपर्‍यो, तर आदर्श स्थापित भयो । आदर्श नेतृत्व स्थापनाका लागि गम्भीर किसिमको त्याग, तपस्या र समर्पण आवश्यक हुन्छ । 

आदर्श नेतृत्वकर्ताहरूको अनुकरण हामी हाम्रा पुराण र धर्मशास्त्रबाट पनि गर्न सक्छौँ । त्रेतायुगका राजा हरिशचन्द्र, मान्धाता, अज, रघु, दिलीप र रामका आदर्शलाई युग युगान्तरसम्म अनुशरण गरिन्छ । द्वापर युगका राजाहरूमा दुष्यन्त, भरत, युधिष्ठिर, परीक्षित, जन्मेजयजस्ता राजाहरूको शास्त्रीय चर्चा पाइन्छ । 

राजा जनकको नेतृत्व आदर्श मात्र नभएर एक युगान्तकारी पदमार्ग थियो । दर्शनका दृष्टिले बुद्ध, महावीर जैन, मोहम्मद आदिले युग प्रवर्तक नेतृत्व गरेका हुन्, जुन अत्यन्त सफलीभूत भए । यिनीहरू आत्मा मात्र नभएर परमात्माका अंश थिए भन्ने शास्त्रीय मत पाइन्छ । 

वर्तमान युगमा विज्ञानको चमत्कारलाई सर्वग्राह्य मानिन्छ, तर विज्ञानले जति विकास गरे पनि मृत्युमाथि विजय हासिल गर्न सकेको छैन । यो जगत् शान्त, सुस्थिर ढङ्गले अगाडि बढ्नका लागि भौतिकवादीभन्दा आध्यात्मिक तवरबाट गरिएको नेतृत्व सफलीभूत भएको पाइन्छ । आदर्श नेतृत्वका लागि आध्यात्मिक चेतना अपरिहार्य तत्त्व हो । दार्शनिक तथा धर्मगुरुले अध्यात्मवादी चिन्तनबाट प्रेरित भएर आदर्शवादी नेतृत्वमै जोड दिइरहेका हुन्छन् । महाभारतको युद्धलाई रोक्नका लागि कृष्ण, भीष्म, कृप, द्रोण र विदुरजस्ता महात्माले प्रयास गरेका थिए तर भौतिकवादी सोच भएका दुर्योधन र सकुनीहरूले महाभारतजस्तो विनाशकारी युद्ध रोजे ।

  • आदर्श नेतृत्वमा हुनुपर्ने गुण 

आदर्श नेतृत्व तालिम वा उच्च शिक्षाबाट प्राप्त हुने कला होइन । यसका लागि व्यक्तिमा अन्तर्निहित गुण पनि सकारात्मक हुनुपर्छ । सकारात्मक सोचले आदर्शको मार्ग निर्माण गर्छ भन्ने विद्वान्को मत छ । समग्रमा आदर्श नेतृत्वमा यस्ता गुणहरू हुनुपर्र्छ भन्ने मत पाइन्छ ः 

(क) राष्ट्र, जनताप्रति अनुप्राणित हुने । 

(ख) राष्ट्र र जनताप्रतिको आफ्नो दायित्व र कर्तव्यप्रति सचेत हुने ।

(ग) अध्यात्मवादप्रति आकर्षण भएको र अरुलाई उदाहरण प्रस्तुत गर्न सक्ने ।

(घ) आफ्ना विचार र गुणले अरुलाई प्रेरणा प्रदान गर्न सक्ने ।

(ङ) नयाँ सोच प्रतिपादन गरी नमुना प्रस्तुत गर्न सक्ने ।

(च) नियम, अनुशासनको पालना गर्ने र गराउने क्षमता भएको ।

(छ) प्रजातान्त्रिक सोच भएको, चरित्रवान, अरुको विचारको कदर गर्न सक्ने ।

(ज) राजनीतिक स्वार्थको दलदलबाट उन्मुक्त भई सामाजिक एकतामा जोड दिने र राष्ट्रिय स्वार्थलाई गहन ठान्ने ।

अध्यात्मवादबाट प्रेरित भएको नेतृत्वले मात्र जीवन र जगत्लाई सही ढङ्गले हाँक्न सक्छ । हरेक मुलुकले आउँदो पिँढीलाई मुलुकको भविष्य कर्णधारका रूपमा लिने गर्छ । यस्ता भविष्यका कर्णधारलाई आदर्श नेतृत्वका रूपमा कसरी अगाडि बढाउने ? यो गहन चिन्तनको विषय हो । भावी पिँढीमा आदर्श नेतृत्वका लागि निम्न कुराको आवश्यक देखिन्छ :

(क) हामीले स्वधर्म, स्वराज र स्वतन्त्रतालाई विश्वसामु मौलिक पहिचानका रूपमा कायम राख्दै मुलुकको पहिचालाई तीव्र गति दिनका लागि पूर्वीय सभ्यता, संस्कृतिबाट अनुप्राणित भएको शास्त्रीय मूल्य–मान्यतालाई हृदयंगम गरी अध्यात्मवादको मर्मलाई बुझेको र नैतिकतासँग जोडिएका सवाललाई कठोरतापूर्वक पालना गर्ने गराउने क्षमताले युक्त बनाउनुपर्छ ।

(ख) मन, वचन र कर्मको संयोजन भएको; आत्मिक शुद्धता भएको; विश्वबन्धुत्वको भावना भएको; सहअस्तित्व, समन्वयकारी भूमिकामा अग्रणी र सेवाभावले अनुप्राणित नेतृत्वको विकास गर्नुपर्छ ।

(ग) निर्णय क्षमता भएको, समयको पूर्णपालना गर्ने, इमानदार र उदात्त दृष्टिकोण भएको नेतृत्व हुनुपर्छ ।

(घ) सञ्चार सीप भएको अर्थात् सुन्ने, बोल्ने, बुझ्ने, बुझाउने र आफ्नो विचार मातहतका व्यक्तिमा पुर्‍याउन सक्ने नेतृत्व हुनुपर्छ । यस्तै, करुणा र कृतज्ञले युक्त दूरदृष्टि; समूहलाई सञ्चालन र परिचालन गर्ने सीप भएको नेतृत्व हुनुपर्छ ।

(ङ) उद्देश्यलाई मूल मर्म ठानेर अविचलित रूपले कार्यमा निरन्तरता दिने धैर्यवान हुनुपर्छ ।

(च) आत्मा र परमात्माको सम्बन्ध बुझी, प्रेम, करुणा, मैत्रीजस्ता भावबाट अविचलित भएको; चिन्तन, मनन, दृढता, संस्कृति, धर्म, दर्शन, विचारले खारिएको नैतिक रूपले बाँधिएको नेतृत्व हुन आवश्यक छ । 

(छ) नेतृत्वकर्ताले खोज, अनुसन्धान गर्नुपर्छ ।

(ज) जीवन र जगत्मा अध्यात्मवादका सद्गुण र सद्व्यवहारयुक्त संस्कारले युक्त भई पूर्वजझैँ नमुना प्रस्तुत गर्न सक्ने नेतृत्व हुनुपर्छ । 

हाम्रो नेतृत्व विगत लामो समयदेखि बिस्तारै स्खलित हुँदै गइरहेको छ । राजनीतिक, सामाजिक, आर्थिक र नैतिक रूपमा हामी पूर्वजका तुलनामा निरन्तर स्खलित हुँदै गइरहेका छौँ । यी विविध विषयवस्तुलाई मध्यनजर राखेर भावी नेतृत्व वर्तमानलाई केन्द्रमा राखेर भविष्यको योजना बुन्न सक्ने दूरदृष्टि भएको व्यक्तित्व हुनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजनाथ दंगाल
तेजनाथ दंगाल

author

लेखकबाट थप