शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मोरङ अध्यक्षका लागि चार नेताको दौड

मोरङका स्थापित एमाले नेता विनोद ढकाल र अध्यक्ष ऋषिकेश पोखरेल पक्षबिच प्रतिस्पर्धाको तयारी
शनिबार, १० चैत २०८०, १९ : ४३
शनिबार, १० चैत २०८०

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशका सबै जिल्ला अधिवेशनको दौडमा छ । केही दिन अगाडि विराटनगरमा बसेको प्रदेश समितिको बैठकले ११ जिल्लाको जिल्ला अधिवेशनको मिति पनि तोकेको छ । तर, मोरङ र सुनसरीको भने अधिवेशनको मिति तोकेको छैन । यद्यपि आउँदो जेठ मसान्तसम्ममा सबै जिल्लाको अधिवेशन गरिसक्ने एमालेले जनाएको छ । 

जनसङ्ख्या र निर्वाचन क्षेत्रको हिसाबले पनि मोरङ प्रदेशकै सबैभन्दा ठुलो जिल्ला हो । यस्तै मोरङ एमाले नेता मनमोहन अधिकारी र मदन भण्डारीको गृह जिल्ला पनि हो । त्यही कारण पनि एमालेको मोरङ जिल्ला अधिवेशनलाई पार्टी नेताहरूले महत्वका साथ हेरेका छन् । 

अधिवेशनको मिति नजिकिएसँगै एमाले मोरङको अध्यक्षका आकाङ्क्षीहरूको दौडधुप पनि सुरु भएको छ । मोरङमा हालसम्म ४ जनाले अध्यक्ष बन्ने बताउँदै आएका छन् । जसमा महेश भट्टराई, बाबुराम कार्की, सागर थापा र राजकुमार ओझा रहेका छन् । ओझा हाल प्रदेश समितिका सचिवालय सदस्य छन् भने कार्की मोरङ जिल्ला उपाध्यक्ष हुन् । थापा विराटनगर महानगरपालिकाका अध्यक्ष तथा भट्टराई प्रदेश समितिमा पराजित भएका एमाले नेता हुन् ।

एमालेले मोरङका सबै वडाको अधिवेशन सम्पन्न गरिसकेको छ । पालिकाहरूको भने बाँकी रहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । पालिकाको अधिवेशन सकेर जिल्लाको अधिवेशन गर्ने भन्ने तयारी रहेको भए पनि पार्टी केन्द्रले जिल्ला अधिवेशन सक्न निर्देशन दिएपछि सोहीअनुसार अभियानमा जुटेको उनले जनाए । ‘वैशाखभित्र हामीले वैचारिक अभियान सक्छौँ र यही क्रममा हामीले जिल्ला अधिवेशनको तयारी पनि गर्छौँ,’ पोखरेलले भने ।

एमालेले दोहोरो जिम्मेवारी नहुने गरी पार्टीको जिम्मेवारी दिने नीति बनाएको छ । अध्यक्ष पोखरेल प्रतिनिधिसभाका सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति पनि हुन् । त्यही कारण पोखरेलले अध्यक्षको दाबी नगर्ने एमाले स्रोत दाबी गर्छ । पोखरेलले भने पार्टीले भने अनुसार अगाडि बढ्ने बताएका छन् । 

एमाले मोरङमा गत वर्ष नवीकरण भएका र अनलाइनमा प्रविष्ट भएका पार्टी सदस्यहरूको सङ्ख्या २६ हजार पुग्ने अध्यक्ष पोखरेलको अनुमान छ । अघिल्ला एमालेका जिल्ला अधिवेशनमा १ हजार ८ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुने गरेका थिए । यसपटक भने १ हजार ५ सयभन्दा माथि पुग्ने पोखरेलले बताए । एमाले मोरङको अधिवेशन आयोजक समितिमा २ सय हाराहारीमा रहेका छन् । 

एमालेले सङ्खुवासभामा अधिवेशन सम्पन्न गरिसकेको छ । एमालेले आउँदो चैतको १३ र १४ गते उदयपुर, चैत १५ र १६ गते झापा, चैत १७ र १८ गते पाँचथर, चैत २३ र २४ गते सोलुखुम्बु, चैत २६ र २७गते ओखलढुङ्गा, चैत २८ र २९ गते खोटाङको अधिवेशन हुने मिति तय गरेको छ ।

यस्तै वैशाखको ३ र ४ गते भोजपुर, वैशाखको २३ र २४ गते ताप्लेजुङ, वैशाखकै २५ र २६ गते तेह्रथुम र वैशाख २८ र २९ गते धनकुटाको अधिवेशन गर्ने मिति एमालेले तय गरेको हो । मोरङ र सुनसरीको भने केही प्राविधिक पक्ष मिलाउनु पर्ने भएकोले मिति तय नगरिएको एमालेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप