शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कवि विप्लव प्रतीकको  हाइकुहरूको सङ्ग्रह ‘शाडेनफ्रोएडा’ सार्वजनिक

शनिबार, १७ चैत २०८०, १५ : ४०
शनिबार, १७ चैत २०८०

 काठमाडौँ । लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु सङ्ग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक‘शाडेनफ्रोएडा’  शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरूमाझ यसलाई पस्केको घोषणा गरेका थिए । समारोहको सुरुवातै विप्लवले उपस्थितहरूको स्वागतमा रचना गरेको हाइकु सुनाएर गरेका थिए ।

पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्महरू समेट्दै अघि बढेको छ भने यसले दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको‘शाडेनफ्रोएडा’  लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।

कविता सङ्ग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरू छाड्दै आएका विप्लवले सूक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु सङ्ग्रह पहिलोपटक पाठकहरू माझ प्रस्तुत गरेका हुन् ।

‘सन् २००६ तिर म यो विधासँग नजिकिएको हुँ,’ समारोहमा विप्लवले भने, ‘कविता सुनाउन भक्तपुर गएका बखत ख्याल ख्यालमै लेखेको एउटा हाइकुले मलाइ यहाँ सम्मको यात्रा गराएको हो ।’

तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने लेखकले बताए ।

यस पुस्तकका अक्षरहरू कम्प्युटरका लिपि नभई स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित भएकाले पाठकले त्यसको रसास्वादन पनि गर्न पाउनेछन् ।

पुस्तक भित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकुहरू समेटिएका छन्, जसले भावहरूको आरोह अवरोहयुक्त यात्रा गराउँछ ।

विप्लवको प्रस्तुत‘शाडेनफ्रोएडा’  लाई पब्लिकेशन नेपालयले अडियो बुकका रूपमा पनि प्रस्तुत गर्दैछ । अर्थात्, पढ्ने पाठकहरूले विप्लवका हस्ताक्षरमै पुस्तकको रसास्वादन गरेजस्तै सुन्ने पाठकहरूले पनि कविकै स्वरमा त्यसको आनन्द लिन सक्नेछन् ।

पुस्तकको चार सय ९५ रुपैयाँ मूल्य राखिएको यो किताबलाई नेपा~लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रूपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।

यो पुस्तक मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप