सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बैंक

सानिमा बैंक : ब्यालेन्स नै माइनसमा ?

खातामै पैसा नभए पनि बैंकले काट्यो लिँदै नलिएको सेवाको शुल्क
आइतबार, १८ चैत २०८०, २३ : ०१
आइतबार, १८ चैत २०८०

काठमाडौँ । गत मार्च १२ अर्थात् फागुन २९ गते राति ९ः४१ बजे करुना काफ्लेको मोबाइलमा एउटा म्यासेज आयो । म्यासेज सानिमा बैंकबाट आएको थियो र म्यासेजमा उल्लेख थियो, तपाईंको खाताको ब्यालेन्स माइनस १६३२ रुपैयाँ ३५ पैसा । अर्थात् बैंकको खाता नै ऋणात्मक र त्यस खाताबाट कुनै कारोबार गर्नु परेमा पहिले १ हजार ६ सय ३२ रुपैयाँ ३५ पैसा तिर्नुपर्थ्यो र त्यसपछि मात्रै कारोबार गर्न पाइन्थ्यो ।

करुणा काफ्लेले सानिमा बैंकको बुटवल शाखाबाट करिब ३ वर्ष पहिले खाता खोलेकी थिइन् । केही समय उक्त खाताबाट कारोबार गरेको भए पनि पछि उक्त खाताको आवश्यकता नभएको र आफू समेत सोही स्थानमा नभएको कारण उनी सानिमा बैंक छाडेर अन्य बैंकमा कारोबार गर्न पुगिन् ।

उनले बैंकको खाता खोल्दा प्रयोग गरेको ९८६७१६xxxx नम्बरको मोबाइल पनि केही समय नचलाई राखेकी थिइन् । तर जब केही समय पहिलेबाट उक्त सिमकार्ड पुनः प्रयोगमा ल्याइन्, त्यसपछि मात्रै मोबाइलमा बैंकको म्यासेज आउन थाल्यो र बारम्बार पैसा काटिन थाल्यो ।

पहिले मिनिमम ब्यालेन्स जिरो वा १ सय रुपैयाँमा खाता खोलेर त्यसलाई आफूखुसी बढाएर मिनिमम ब्यालेन्स बढाएर ग्राहकको खाता माइनसमा लगेको समेत पाइएको थियो ।

पैसा काटिन थालेको म्यासेज आए पनि उनको बैंक खातामा भने रकम थिएन । पहिले भएको रकम पनि बैंकले काटेर सकाइसकेको थियो । तर कति रकम थियो र कति रकम काटियो भनेर उनी यकिनसाथ भन्न भने सक्दिनन् । उनले रातोपाटीसँग भनिन्, ‘कति रकम थियो र त्यो पनि काटिएर सकिएपछि ब्यालेन्स माइनसमा गएको हो भन्ने थाहा छैन । तर अहिले मलाई आएको म्यासेजमा माइनस १६ सय भन्दा बढी देखाएको छ ।’

  • के छ कानुनी व्यवस्था

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलका अनुसार ग्राहकको खाता माइनस वा ऋणात्मकमा लैजान पाइँदैन । पहिले मिनिमम ब्यालेन्स जिरो वा १ सय रुपैयाँमा खाता खोलेर त्यसलाई आफूखुसी बढाएर मिनिमम ब्यालेन्स बढाएर ग्राहकको खाता माइनसमा लगेको समेत पाइएको थियो । त्यस सम्बन्धमा धेरै गुनासो र उजुरी आएपछि राष्ट्र बैंकले ग्राहकको खाता माइनसमा लैजान नपाउने नियम बनाएको हो । 

करुणा काफ्लेको नाममा रहेको उक्त बैंक खातामा तिर्नुपर्ने रकम १ हजार ६३२ रुपैयाँ ३५ पैसा देखिएको र यदि उनले खातामा रकम राखेमा त्यो रकम बैंकले खिच्ने बताए ।

त्यसबाहेक राष्ट्र बैंकले बैंकहरुलाई एकीकृत निर्देशिका जारी गर्दै वार्षिकरुपमा नवीकरण गर्नुपर्ने सेवाहरू नवीकरण गर्दा ग्राहकको अनुमति लिन अनिवार्य गरेको थियो । सहायक प्रवक्ता पोखरेलका अनुसार कुनै पनि बैंकले ग्राहकले लिएको सेवा वार्षिकरुपमा नवीकरणीय हो भने ग्राहकसँग अनुमति नलिई नवीकरण गर्न मिल्दैन । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ लगायतका अन्य शुल्क लाग्ने सेवाका सन्दर्भमा नवीकरण गर्दा ग्राहकको अनुमति लिनै पर्ने हुन्छ । यदि अनुमति नलिई आफैँ नवीकरण गरिदिएर रकम काटिएको हो भने त्यो निर्देशिका विपरीत रहन्छ र त्यस्तो बैंकलाई कारबाही समेत हुन्छ । 

  • के भन्छ बैंक ?

यस सम्बन्धमा सानिमा बैंकका सीईओ निश्चल पाण्डेले बैंकिङ सिस्टममा तिर्नुपर्ने दायित्वमा देखिएको स्वीकार गरे । करुणा काफ्लेको नाममा रहेको उक्त बैंक खातामा तिर्नुपर्ने रकम १ हजार ६३२ रुपैयाँ ३५ पैसा देखिएको र यदि उनले खातामा रकम राखेमा त्यो रकम बैंकले खिच्ने बताए ।

Sanima

तर वार्षिकरुपमा नवीकरण गर्नुपर्ने सेवा ग्राहकलाई जानकारी नदिई किन स्वतः नवीकरण भएको हो भन्ने रातोपाटीको प्रश्नमा एटीएम कार्ड लगायतका केही सेवा लिँदा ५ वर्षका लागि नै पहिले नै अग्रिमेण्ट हुने र वार्षिकरुपमा काटिने भएकाले खातामा पर्याप्त रकम नभएको कारण काटिएको हुनसक्ने बताए ।

सीईओ पाण्डेले भने, ‘हामी राष्ट्र बैंकको नीति र निर्देशनमा नै चल्ने हो । हामी पूर्णरुपमा नीति र निर्देशिका फलो गर्ने पक्षमै रहन्छौँ । कहिलेकाहीँ केही कारणवश निर्देशिका भन्दा फरक पनि पर्न सक्छ । ग्राहकलाई एकपटक बैंकमै पठाइदिनुस्, उहाँको समस्याको सम्बोधन हुन्छ ।’

  • एउटै बैंकले वार्षिक कम्तीमा एक हजार रुपैयाँ सेवाका नाममा शुल्क लिन्छन्

अहिले एउटा बैंकले विभिन्न शीर्षकमा औसतमा वार्षिक १ हजार रुपैयाँको सेवा शुल्क लिइरहेका हुन्छन् । बैंकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ आदिका नाममा शुल्क लिइरहेका हुन्छन् । 

ग्राहक करुणा काफ्लेको बैंक खाता माइनस १ हजार ६ सय ३२ भएको पाइएपछि हामीले सानिमा बैंकले कुन कुन शीर्षकमा के कति शुल्क लिन्छ भनेर हेरेका थियौँ । 

  • सानिमा बैंकको सेवा शुल्कको मूल्य सूची अर्थात् स्ट्याण्डर्ड ट्यारिफ एण्ड चार्जेज (एसटीसी) मा उल्लेख भए अनुसार यस्तो छ सेवा शुल्क :

१. चेक जारी भई चेक लिन नगएमा : ३००

२. भिजा एटीएम कार्ड : एकैपटकमा २ हजार वा वार्षिक ५ सय । कार्ड हराएर अर्को बनाउनु परेमा पनि सोही शुल्क ।

३. एटीएमा कार्ड बनाएर लिन नगएमा : २५० रुपैयाँ ।

४. इ कमर्स इनरोलमेण्ट फि : १०० रुपैयाँ 

५. इन्टरनेट बैंकिङ : ३०० रुपैयाँ (वार्षिक)

६. मोबाइल बैंकिङ : ३०० रुपैयाँ

७. एसएमएस बैंकिङ : ३०० रुपैयाँ

८. प्रायोरिटी बैंकिङ : ३०० रुपैयाँ

यसरी सानिमा बैंकमा खाता खोल्दा अहिले अनिवार्य जस्तै देखिएको एटीएम कार्ड, चेक बुक, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको सुविधा लिने भनेर फारम भर्ने तर यी कुनै सुविधा प्रयोग नगरेको अवस्थामा पनि वार्षिक कम्तीमा १ हजार १ सय रुपैयाँ बैंकले काटिरहेको हुन्छ । 

मोबाइल बैंकिङको ३ सय रुपैयाँ, इन्टरनेट बैंकिङको ३ सय रुपैयाँ र एटीएम कार्डको वार्षिक ५ सय रुपैयाँ मात्रै जोडे पनि वार्षिक कम्तीमा १ हजार १ सय रुपैयाँ बैंकले काटिरहेको हुन्छ । यद्यपि वार्षिकरुपमा नवीकरण गर्नुपर्ने प्रकृतिको सेवा लिएको भए वार्षिकरुपमा नवीकरण गर्ने हो कि होइन भनी बैंकले ग्राहकसँग सहमति भने लिनैपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप