शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लगानी सम्मेलन

लगानी सम्मेलन : दुई दर्जन देशबाट आयो ‘कन्फर्मेसन’, कुन देशबाट कति ?

सोमबार, २६ चैत २०८०, १४ : ४०
सोमबार, २६ चैत २०८०

काठमाडौँ । सरकार यतिबेला तेस्रो लगानी सम्मेलनको अन्तिम तयारीमा जुटेको छ । सम्पूर्ण राज्यशक्ति वैशाख १६ र १७ गते काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलनमा केन्द्रित छ । सरकारका सबैजसो निकाय लगानीका लागि बाधक बनिरहेका कानुन संशोधन एकमुष्ट रूपमा गर्नेदेखि आयोजनाको पहिचान र लगानीकर्तालाई निम्तो पठाउनेसम्मको काम भइरहेको छ ।

सम्मेलन आयोजनाको अग्रमोर्चामा रहेको लगानी बोर्ड धमाधम सम्मेलनमा लगानीका लागि आह्वान गरिने आयोजनाको पहिचान गर्ने र विदेशीलाई निम्तो पठाउनतर्फ केन्द्रित छ । प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार बोर्डले हालसम्म विश्वभरका ११ सयभन्दा बढी लगानीकर्ता, सरकारी पदाधिकारी र अन्य व्यक्तिलाई सहभागीताका लागि निम्तो पठाइसकेको छ । र, यो काम अहिले पनि चलिरहेको उपाध्यायले रातोपाटीलाई बताए ।

आइतबार साँझसम्ममा बोर्डले ११ सय ७ जनालाई सम्मेलनमा सहभागिताका लागि निम्तो पठाएको छ । जसमध्ये ४५ जना उच्च ओहोदा अधिकारीलाई निम्तो गएको छ । यस्तै दूतावास र निजी क्षेत्रबाट सिफारिस भएका ४८५ जनालाई निम्तो जाँदा नेपाल सरकारका विकास साझेदार, विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र अन्य वित्तीय साझेदार संस्थाका ६० पदाधिकारीलाई समेत सम्मेलनमा बोलाइएको छ ।

यसबाहेक, १६७ जना विदेशी कूटनीतिज्ञ, नेपालमा पहिलादेखि नै लगानी गरिरहेका र बोर्डसँग साझेदारीमा रहेका संस्थाका २७० जनालाई समेत निम्तो पुगिसकेको छ । लगानी सम्मेलनमा सहभागिताका लागि वेबसाइटबाट नाम दर्ता गर्ने १५ जनाले समेत निम्तो पाउँदा विभिन्न ठाउँबाट आएको सिफारिसअनुसार ६५ जनाले समेत निम्तो पाएका छन् ।

यसमध्ये झण्डै डेढ दर्जन ‘हाइप्रोफाइल’ले समेत नेपाल सरकारबाट निम्तो पाएका छन् । जसमध्ये विश्व बैंकका प्रमुख, एलन मस्क, बिल गेट्स, जेफ बेजोस, मुकेश अम्बानी, ज्याक मा र गौतम अडानीजस्ता ‘हाइप्रोफाइल’ व्यवसायीले समेत निम्तो पाएका हुन् । यीमध्ये चिनियाँ अर्बपति तथा अलिबाबाका संस्थापक ज्याक माले आफू अन्यत्रै व्यस्त रहेकाले सहभागिता हुन नसक्ने जानकारी गराइसकेका छन् । यसबाहेक अन्य ‘हाइप्रोफाइल’ लगानीकर्ताले आफ्नो उपस्थिति वा अनुपस्थितिबारे जानकारी गराइसकेका छैनन् ।

  • कति जनाको आयो ‘कन्फरमेशन’ ?

उद्यमी, व्यवसायी र लगानीकर्ताहरू निकै व्यस्त समयलाई व्यवस्थापन गरेर चल्ने गर्छन् । सोहीअनुसार विश्व धनाढ्यहरूको ‘सेड्यूल’ ६ महिना अघि नै तय हुने बताइन्छ । तर, नेपाल सरकारले भने २ महिना अघिदेखि मात्रै ‘हाइप्रोफाइल’ लगानीकर्ता र उद्यमी–व्यवसायीलाई लगानी सम्मेलनको जानकारी पठायो । छोटो समय अवधिमा विश्व धनाढ्यहरू नेपाल आउने अपेक्षाभन्दा पनि औपचारिकता पुरा गरेकोजस्तो मात्रै देखिन्छ ।

बोर्डबाट आइतबार साँझसम्म निम्तो पाएका ११ सयभन्दा बढीमध्ये १६९ जनाले लगानी सम्मेलनमा सहभागिताको ‘कन्फर्मेसन’ गरेका छन् । बोर्डका अनुसार ‘कन्फर्मेसन’ पठाउनेमध्ये १३५ जना उद्यमी, व्यवसायी र लगानीकर्ता छन् भने २४ जना ‘डेलिगेट्स’ छन् । सम्मेलनमा सहभागिता जनाउने गरी २५ देशका लगानीकर्ताले बोर्डमा इमेल पठाएका छन् । यस्तै, युरोपेली युनियन, इन्टरनेश्नल मनिटरी फण्ड् (आईएमएफ), यूनेस्को र यूएनडीपीका प्रतिनिधिले समेत सहभागिता पुष्टि गरेका छन् ।

‘आइतबार साँझसम्म कूल १६९ जनाले लगानी सम्मेलनमा नेपाल आउने पुष्टि गरेका छन्,’ प्रवक्ता उपाध्याय बताउँछन्, ‘यो सङ्ख्या नेपालबाट सहभागी हुन आएको ५६ जनाको ‘कन्फर्मेसन’ सहितको हो । र, दिनदिनै बढ्दो छ ।’ सम्मेलनमा आउन सबैभन्दा धेरै अमेरिकाबाट १५ जनाले पुष्टि गरेका छन् । यसपछि, भारतबाट १२ जनाले पुष्टि गरेका छन् भने चीनबाट ६ जनाले पुष्टि गरेका छन् । यस्तै, कोरियाबाट ५ जनाले, स्वीजरल्याण्ड, जापान, अस्ट्रेलिया, बेलायत र पाकिस्तानबाट समान ३–३ जनाले सहभागिता पुष्टि गरेका छन् ।

नेदरल्याण्ड्स, बहराइन, युरोपियन युनियन, यूनेस्को, आईएमएफ र संयुक्त अरब इमिरेट्सबाट समान २–२ जना लगानीकर्ता आउने भएका छन् । यसबाहेक, साउदी अरेबिया, फिलिपिन्स, मलेसिया, जर्मनी, रुस, नर्वे, यूएनडीपी, माल्दिभ्स, थाइल्याण्ड, साइप्रस, इजिप्ट, श्रीलङ्का, अस्ट्रिया र हङकङबाट समान १–१ जनाले सम्मेलनमा सहभागिता जनाउने गरी बोर्डलाई जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप